Harsamaya
माघ २९ : रोटाभेटरले काटेर दुई बालिकाको मृत्युदेखि विश्वकपमा नेपाल पराजितसम्म
ग्राफिक्सः हर समय/Har Samaya

काठमाडौँ - आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आज सम्पन्न खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो। नेपालले प्रस्तुत गरेको १२४ रनको सामान्य लक्ष्य इटालीले मात्र १२.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो । इटालीका ओपनर जस्टिन मोस्का र एन्थोनी मोस्काले अविजित रहँदै टोलीलाई सहज जित दिलाए ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

राजनीति : प्रधानमन्त्री सुशीला कार्कीले कोशी प्रदेशमा निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सरोकारवाला अधिकारीहरूसँग जानकारी लिएकी छन् । सोलुखुम्बु र भोजपुरको भ्रमणपछि इटहरीमा आयोजित छलफलमा प्रमुख सचिव, सुरक्षा निकायका प्रमुख तथा मुख्य निर्वाचन अधिकृतहरूको उपस्थिति रहेको थियो । बैठकमा शान्तिपूर्ण र सुरक्षित निर्वाचनका लागि भइरहेको तयारीबारे समीक्षा गरिएको जनाइएको छ । यता, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरि चुनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । बिहीबार रुपन्देहीमा आयोजित निर्वाचन केन्द्रीत पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले प्रतिष्पर्धाका नाममा दुश्मनीको खडा गरेर वा  बिपक्षीलाई गाली गरेर नभइ कांग्रेसले अघि सारेका एजेण्डाका आधारमा चूनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् । नेपालका सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र आवश्यक कानुनहरु बनाउने कामका लागि बदलिएर आएको कांग्रेसले देशको नेतृत्व गर्ने गरि पार्टीलाई पहिलो दलको रुपमा स्थापीत गराउनुपर्ने उहाले बताए । शर्माले चुनाव जित्नका लागि यसअघि कांग्रेसले गरेका कामहरु नै प्रयाप्त रहेको दावी गरे । 

यस्तै, भारत सरकारले निर्वाचनका लागि नेपाल सरकारलाई आवश्यक सवारीसाधन हस्तान्तरण गरेको छ । बिहीबार गृह मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई भारत सरकारले उपहारस्वरुप प्रदान गरेको सवारीसाधन हस्तान्तरण गरेका हुन् । भारतले पहिलो लटमा ६१ वटा, दोश्रो लटमा २५४ वटा सवारी हस्तान्तरण गरेको थियो भने बिहीबार तेश्रो लटमा २२३ वटा सवारी साधन प्राप्त भएको गृह मन्त्रालयमा प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।  

यता, नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । कारबाहीसँगै उनको प्रदेश सभा सदस्य पद खारेज गर्ने प्रक्रिया अघि बढाइएको छ । प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार कारबाहीसम्बन्धी पत्र बुधबार प्रदेश सभा सचिवालयमा पठाइएको छ । २०७९ को निर्वाचनमा रुकुम पश्चिमबाट निर्वाचित शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीका कर्णाली इन्चार्जसमेत हुन् । यस्तै, नेपालले बदलिँदो विश्वव्यापी चुनौती र अनिश्चितताको समयमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको जनाएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राईले राष्ट्रिय प्रयास र विश्वव्यापी प्रक्रियाबीचको सेतुको रूपमा सार्कको भूमिका महत्वपूर्ण रहेको बताए ।

समाचार : यता, मन्थली–६ तामाकोसी नदीमा भएको बस दुर्घटनाका मृतकका परिवारलाई नगरपालिकाले जनही २० हजार रुपैयाँ राहत दिएको छ । प्रशासनले कानुनबमोजिम सुविधा र थप सहयोग गर्ने आश्वासन दिएपछि आन्दोलनरत आफन्तसँग सहमति भएको छ । पोस्टमार्टमपछि परिवारले शव बुझेका छन् । यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश, धर्म र संस्कृति जोगाउने पत्रकारिता आवश्यक रहेको बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै मिलेर देश जोगाउन अग्रसर नभए डरलाग्दो अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिए । ‘हामीलाई देश वा मुलुक जोगाउने, धर्म र संस्कृति जोगाउने पत्रकारिता चाहिएको छ । अब हामी सबैजना मिलेर देश जोगाउन लागेनौं भने डरलाग्दो स्थितिको सामना गर्न तयार रहनुपर्छ,’ प्रसाईंले भने । 

यता, कर्णालीका विभिन्न स्थानमा बँदेलको आक्रमण बढेपछि क्षतिपूर्ति माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ । बँदेल आतंक बढेको स्थानलाई विपद् संकट क्षेत्र घोषणा गर्न, बँदेलको आक्रमणबाट मृत्यु भएकाहरूको परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च उपलब्ध गराउन माग दावी सहित उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको हो । यस्तै, दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक किशोरको हत्या गरिएको छ । फुटबल खेलेर घर फर्किँदै गरेका १६ वर्षीय प्रकाश खनालको चक्कु प्रहारबाट मृत्यु भएको हो । दुल्लू अस्पताल नजिकै भएको उक्त घटनामा सङ्लग्न रहेको अभियोगमा प्रहरीले दुल्लू नगरपालिका–१० गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षीय विभूषण शाहीलाई नियन्त्रणमा लिएको छ । तीनै जनाबीच विवाद भएपछि उक्त घट्ना घटेको प्रहरीले जनाएको छ । 

यता, नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अर्का एक विद्यार्थी घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका देवचुली–१४ का १४ वर्षीय रिप्सन सुनारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । यस्तै, बैतडीमा बसको ढोकबाट खसेर एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प. प्र. ०२ ००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका ६५ वर्षीय पदमराज भट्टको मृत्यु भएको छ । दशरथचन्द राजमार्गअन्तर्गत दशरथचन्द नगरपालिका–१ गुरुखोलास्थित मोडमा आज साँझ बसको ढोकाबाट खसेर भट्ट घाइते भएका थिए । तत्कालै उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यता, महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरा गाउँमा आज ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु भएको छ । आज दिउँसो रोटाभेटरले काटेर स्थानीय इमरान राइनकी छोरी सात वर्षीया फरहाना खातुन र समतुल्लाह राइनकी छोरी आठ वर्षीया रफियाखातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए । ज १ त ९७८२ नम्बरको ट्याक्टरमा बसाएर स्थानीय गरिब आलमको खेत खेत जोतिरहेका बेला अचानक दुवै बालिका रोटाभेटरमुनि खस्दा घाँटी काटिएर घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता भट्टले बताए । यस्तै, बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन् । बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बोर्डिङ स्कूल’को ग ३ च ८६२१ नम्बरको बस आज दुर्घटना भएको हो । दुर्घटनाका घाइतेलाई उपचारका लागि धौलागिरि अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जनाकारी दिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उक्त स्कूल बस मध्यपहाडी लोकमार्गबाट करिब ६० मिटर तल खसेको सहायक प्रजिअ बरालले बताए ।  

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  कार्यालय बर्दिवासमा धनुषा जिल्लाका भ्रष्टाचारसम्बन्धी उजुरी सबैभन्दा बढी दर्ता भएका छन् । कार्यालयका अनुसार चालु आर्थिक वर्षका पछिल्ला छ महिनामा दुई हजार ५२५ वटा उजुरी दर्ता भएकामा धनुषाका ७८० उजुरी छन् । प्रदेश राजधानी रहेको यस जिल्लामा १८ वटा पालिका रहेका छन् । कार्यालयका उपसचिव प्रकाश पोखरेलले दर्ता भएका उजुरीमध्ये ८१२ वटा उजुरी फर्छ्यौट भएका र एक हजार ७१३ उजुरी छानबिनको क्रममा रहेका बताए । उनका अनुसार दर्ता भएका उजुरीमध्ये ७२ दशमलव ६१ प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेका छ ।

अर्थ : एशियाली विकास बैंक (एडीबी) ले आफ्नो दक्षिण एसिया विभागको महानिर्देशकमा नेपाली नागरिक सोना श्रेष्ठलाई नियुक्त गरेको छ । मनिलास्थित एडीबी मुख्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार श्रेष्ठले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा कार्यक्रम सञ्चालनको नेतृत्व गर्नेछिन् । भैरवी गाउँपालिका–१ जलजलेमा करिब ८० अर्ब ७० करोड घनमिटर खनिज ग्यास भण्डारण भएको पुष्टि भएको छ । यता, चीनको ‘चाइना जियोलोजिकल सर्वे’कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम प्रतिवेदनले यो तथ्य प्रमाणित गरेको हो । खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार प्रारम्भिक अध्ययनले १ अर्ब १२ करोड घनमिटर ग्यासको अनुमान गरेको थियो, तर थप परीक्षण र विस्तृत अन्वेषणले धेरै ठूलो परिमाण पत्ता लागेको देखाएको छ । यस्तै,  साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । साताको सुरुदेखि निरन्तर ओरालो लागेको बजार अन्तिम दिन भने सुधार देखिएको हो । बिहीबार नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.५१ अंकले बढ्दा फ्लोट इण्डेक्स ०.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले उकालो लागेको छ ।

स्वास्थ्य : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित हेटौँडा अस्पतालमा बुधबार साँझ छड्के अनुगमन गरेका छन् । अस्पतालमा लापरबाही तथा डिउटी समयमा डाक्टर नबस्ने विषयमा लगातार गुनासा आएपछि उनले आकस्मिक अनुगमन गरेका हुन् । अनुगमनका क्रममा केही डाक्टर डिउटी समयमा उपस्थित नभेटिएपछि मुख्यमन्त्री बानियाँले अस्पताल व्यवस्थापनप्रति असन्तुष्टि जनाएका थिए । यता, काठमाडौं महानगरपालिकाले बालबालिकाहरुमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न विद्यालयहरुमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसको प्रारम्भ चारवटा सामुदायिक विद्यालयहरुमा नमूना कार्यक्रममार्फत हुने महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन् । यस्तै, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हाल सुङ्गुर/बङ्गुरमा अफ्रिकन स्वाइनफिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । अहिलसम्म रोगविरुद्धको कुनै खोप उपलब्ध नभएकाले सुङ्गुर/बङ्गुपालन फार्ममा जैविक सुरक्षा अपनाउन तथा अस्वाभाविक रूपमा सुङ्गर, बङगुर मरेमा तत्काल संघ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवा केन्द्र वा सम्बन्धित निकायलाई खबर गर्न मन्त्रालयले आग्रह गरेको हो । घरपालुवा सङ्गुर, बङ्गुर तथा जङ्गली बँदेल प्रजातिमा विषाणुका कारण अफ्रिकन स्वाइनफिभर लाग्ने भएकाले ती पशुमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्री) आउने, कान पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुनेलगायत लक्षण देखिन्छ ।

खेलकुद : आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रङ्गशालामा आज भएको खेलमा मनाङले एपिएफ क्लबलाई २–१ गोलले पराजित गर्‍यो।एपिएफले ११औँ मिनेटमा युवराज राईको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। दोस्रो हाफमा मनाङका रोनिश राजभाक (५७औँ) र सुरेश कुमाल (७७औँ) ले गोल गर्दै टोलीलाई जित दिलाए।फागुन ९ गतेसम्म चल्ने प्रतियोगितामा १२ टोली सहभागी छन्। विजेताले १४ लाख एक हजार र उपविजेताले सात लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै,  भोजपुर नगरपालिकामा भएको तेस्रो मेयरकप भलिबल प्रतियोगिताको उपाधि जिल्लाको आमचोक गाउँपालिकाले उचालेको छ ।  नगरको वडा नं ४ सिद्धेश्वर दावास्थित कृष्णलक्ष्मी स्पोट्र्स कम्प्लेक्स परिसरमा आज रामप्रसाद राई गाउँपालिकासँग भएको फाइनल खेलमा आमचोकले उपाधि जितेको हो । आमचोकले तीनवटै सेट २५–२२, २५–२३ र २५–२१ ले जित्दै विजेता बनेको हो । योसँगै उक्त टोलीले रु दुई लाख २२ हजार २२२ प्राप्त गरेको छ । यस्तै, उपविजेता बनेको रामप्रसाद राई गाउँपालिकाले रु एक लाख ११ हजार १११ प्राप्त गरेको छ । 

अन्तर्राष्ट्रिय : उत्तरी सुडानको नाइल नदीमा डुङ्गा डुब्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ। स्थानीय सरकार र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै एएफपीले यो जानकारी दिएको छ।स्थानीय अधिकारीहरूले भनेका छन् कि दुर्घटना तैबा अल–खवाद र दिम अल–कराई गाउँहरू बिचको नदी पार गर्ने क्रममा भएको हो। दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट भएको  छैन।प्रत्यक्षदर्शीहरूका अनुसार डुङ्गामा करिब ३० जना सवार थिए। मृतकको शव बरामद भइसकेको छ भने केही यात्रु अझै बेपत्ता छन् । सुडानीज डक्टरस नेटवर्कले डुङ्गामा सवार ६ जना यात्रु जीवित रहेको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update