काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभई राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले शक्ति र पदका आधारमा कोही पनि कानुनी जवाफदेहिताबाट मुक्त हुन नसक्ने विश्वास आम नागरिकमा स्थापित गराउने गरी आयोगले अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।
यस्तै, प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अंगको नै भएको स्पष्ट पारेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त संरचना तथा कानुनी र नीतिगत व्यवस्था हुँदाहुँदै पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरिन् ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
राजनीति : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थितिमा निर्वाचनको विकल्प नरहेको बताएका छन्। जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यसको समाधान निर्वाचनबाट मात्रै सम्भव हुने धारणा राखे। ‘यो हामीले चाहेर आएको निर्वाचन होइन, असाधारण परिस्थितिका कारण आएको हो,’ उनले भने, ‘इमानदार कम्युनिष्ट र देशभक्तका लागि जनतामा जाने बलियो माध्यम निर्वाचन नै हो।’केही दलहरूले संसद् पुनःस्थापना र सर्वदलीय सरकार गठनको एजेन्डा अघि सारे पनि नेकपाले त्यसतर्फ ध्यान नदिएको उनको भनाइ छ।
यता, मोरङ क्षेत्र नं. ६ का नेपाली कांग्रेसका उम्मेदवार तथा प्रभावशाली नेता डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ७ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका छन्। आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बुढीगंगा गाउँपालिका वडा नं. १, २, ३, ४,५, ६ र ७ का पार्टी कार्यालयको वरिष्ठ नेता कोइरालाले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बुढीगंगा गाउँपालिकामा पछिल्ला वर्षहरूमा उल्लेख्य विकास निर्माणका काम भएको दाबी गरे।
यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती र जनताले भोग्नुपरेको सास्तीप्रति चिन्ता व्यक्त गर्दै ‘डिजिटल गभर्नेन्स’ को आवश्यकता औंल्याएका छन् । सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले आम नागरिकका लागि सामान्य सरकारी सेवा लिनु पनि हैरानीको विषय बनेको उल्लेख गरेका छन् ।
समाचार : प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरोकारवालासँग समन्वय गरी आसन्न निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न निर्देशन दिएका छन् । जङ्गी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठकको समापन सत्रलाई आज सम्बोधन गर्दै उनले एकीकृत सुरक्षा योजना–२०८२ अनुसार समन्वयात्मकरूपमा निर्वाचनमा परिचालित हुन निर्देशन दिए । प्रधान सेनापति सिग्देलले सकलदर्जाको सामूहिक भावना र एकढिक्कापनलाई कायम राख्दै जिम्मेवारीमा खटिइन निर्देश गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उहाँले पृतनास्तरमा भएको प्रभावकारी कार्यका लागि पृतनापतिलाई धन्यवादसमेत दिए ।
यता, संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो तीन दिने औपचारिक भ्रमणका लागि भोलि नेपाल आउँदै छन्। भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटघाट र पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन गर्ने कार्यक्रम छ। सैनिक जनसम्पर्क निर्देशनालयले भ्रमणले नेपाल–अमेरिका सम्बन्ध प्रगाढ बनाउने र मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा सहकार्य बढाउने विश्वास व्यक्त गरेको छ।
यस्तै, लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा भ्रष्टाचारसम्बन्धी ४ हजार ४२८ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका छन्। आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुटवल कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा मात्र १ हजार ८५३ उजुरीमध्ये ८६.३६ प्रतिशत फछ्र्यौट गरिएको छ। चालु आवको पुस मसान्तसम्म १ हजार १८८ उजुरी परेकामा ५४५ फछ्र्यौट भएका छन्। देशभर भने सो अवधिमा ३७ हजार २६ उजुरी दर्ता भएका छन्, जसमध्ये झण्डै ५४ प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन्। भूमि तथा वन, कृषि–पशु अनुदान, आयोजना निर्माण तथा खरिद, शिक्षा र स्वास्थ्य क्षेत्रमा बढी उजुरी पर्ने गरेको आयोगले जनाएको छ।
यता, आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि फिल्डमा खटिने भएका छन् । भर्ना तथा छनोटपछि १० दिने तालिम पूरा गरेका एक लाख ४९ हजार ‘निर्वाचन प्रहरी’ अर्थात् म्यादी प्रहरी अब नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोलीसँगै खटिन लागेका हुन् ।नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० र सशस्त्रले १५ हजार १ सय १० निर्वाचन प्रहरीलाई गएको माघ १८ मा नियुक्तिपत्र दिएको थियो।
यस्तै, मकवानपुरको भीमफेदी–८ महादेवटार छोक्रेडाँडास्थित काठमाडौं–तराई/मधेस द्रुतमार्ग अन्तर्गत पुल नम्बर १ मा टुचन मेसिन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। साँझ करिब ६ बजे खाडल खन्ने काम सकेर टुचन मेसिनमा सवार भई माथि आउँदा अचानक ब्रेक फेल भएर करिब २१ मिटर तल खसेको थियो। सिन्धुपाल्चोक–पाँचपोखरीका २९ वर्षीय अर्जुन थिङ घटनास्थलमै मृत्यु भए भने ३७ वर्षीय जुल्फे तामाङ घाइते भएका छन्।
यता, काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थ तहमा कायम रहेको छ। ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) अनुसार मध्याह्नसम्म प्रदूषण १९२ मापन गरिएको छ। आइतबार १७५ एक्युआई रहेको प्रदूषण घट्न नसकेको वातावरण विभागले जनाएको छ।
अपराध : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित १० जनालाई इमेलमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका एक व्यक्तिविरुद्ध ६ वटा मुद्दा दर्ता गरिएको छ। अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ घर भई हाल फिलिपिन्समा बस्दै आएका ३४ वर्षीय प्रकाश पाठकलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी आजै नेपाल ल्याइएको हो। उनलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ।
अर्थ: अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि सरकारले चालु आर्थिक वर्षमा करिब एक लाख मेट्रिक टन रासायनिक मल कम आयात गर्ने भएको छ। कृषि मन्त्रालयका अनुसार बजेटमा विनियोजन गरिएको रकमबाट ५ लाख ५० हजार टन आयात गर्ने लक्ष्य थियो, तर मूल्य वृद्धि भएपछि करिब ८४ हजार टन कम हुने देखिएको छ। हाल ४ लाख ६६ हजार टन मल आयातका लागि बोलपत्र भइसकेको छ, केही आइपुगेको र केही बाटोमै रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से बुधबार भने झिनो अंकले मात्रै घटेको छ ।यस दिन नेप्से परिसूचक ०.०४ अंक घटेर २६६२.०९ विन्दुमा बन्द भएको छ । सेन्सेटिभ इण्डेक्स ०.८१ अंक बढेको छ । त्यस्तै, फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले उकालो लागेको छ । नेप्से करिब स्थिर रहे पनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ । मंगलबार ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा बुधबार ३२९ स्टकको ८२ हजार ४५० पटकको कारोबारमा ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको २ करोड २२ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यता, बुधबार नेपाली बजारमा सुनको मूल्य ११ सय रुपैयाँले वृद्धि भएको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । मंगलबार ३ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
खेलकुद: सातौँ झापा गोल्डकपअन्तर्गत आज भएको क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले भूटानको रोयल थिम्पू कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा भएको खेलको छैटौँ मिनेटमै अग्रता लिएको एपिएफका कप्तान हरि कार्कीले ह्याट्रिक गर्दै टोलीको जित सुनिश्चित गरे।भूटानले ७९औँ मिनेटमा पेनाल्टीमार्फत सान्त्वना गोल फर्कायो। किञ्जाङ तेञ्जिङ शेर्पालाई डिबक्समा फल भएपछि प्राप्त पेनाल्टीलाई शेर्पाले नै गोलमा परिणत गरेका थिए।
यता, टी–२० विश्वकप अन्तर्गत आज भएको समूह चरणको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको छ । बुधबार भारतको नरेन्द्र मोदी स्टेडियममा दक्षिण अफ्रिकाले दुई सुपर ओभरमा अफगानिस्तानलाई पराजित गराउँदै रोमाञ्चक जित निकालेको हो ।पहिलो सुपर ओभरमा अफगानिस्तानले दिएको १८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७ रन बनाउँदै खेल दोस्रो सुपर ओभरमा लगेको थियो। दोस्रो सुपर ओभरमा पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले २४ रनको लक्ष्य दिएको थियो । २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले दोस्रो सुपर ओभरमा १९ रन मात्र जोड्न सफल भयो ।
विदेश : श्रीलंकाको गम्पाहा उच्च अदालतले सन् २०२२ मा तत्कालीन सांसद अमराकिर्थी अथुकोराला र उनका एक सुरक्षा अधिकारीलाई हत्या गरेको अभियोगमा १२ अभियुक्तलाई बुधबार मृत्युदण्डको सजाय सुनाएको छ । हत्याको सम्बन्धमा कुल ४२ जनालाई अभियोग लगाइएको यो निर्णय एक विस्तारित सुनुवाइपछि आएको हो । मृत्युदण्डको सजायका अतिरिक्त अदालतले अन्य चार व्यक्तिलाई पनि छ महिनाको जेल सजाय सुनाएको छ । अन्य २३ जना अभियुक्तलाई अदालतले सफाइ दिएको थियो ।
यता, दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा दुई साताअघि डुबेको ‘एमभी त्रिशा केर्स्टिन–३’ डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको छ। फिलिपिन्स कोस्ट गार्ड (पीसीजी) ले बुधबार अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै २७ जना अझै बेपत्ता रहेको जनाएको छ। पीसीजीका अनुसार डुङ्गामा कुल ३७२ जना सवार रहेको पुष्टि भएको छ। हालसम्म २९३ जनालाई जीवित उद्धार गरिएको छ। पहिचान प्रमाणीकरण प्रक्रियापछि यात्रु र अघोषित चालक दलका सदस्यहरूको विवरण अद्यावधिक गरिएको जनाइएको छ।
यस्तै, ब्रिटिस कोलम्बियाको टम्बलर रिजमा मङ्गलबार भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। विद्यालय परिसरबाट सात जनाको शव फेला परेको थियो र एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो। साथै, एक घरबाट थप दुई जनाको शव बरामद गरिएको प्रहरीले जनाएको छ।


