Harsamaya
माघ २७: रामेछापमा बस दुर्घटना देखि भ्रष्टाचार सूचकांकमा नेपालको अवस्था कमजोरसम्म
ग्राफिक्सः हर समय/Har Samaya

काठमाडौं - रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिंह धामीले जानकारी दिए । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो । 

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

राजनीति: संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र विकास गर्दै देशलाई समाजवादतर्फ अग्रसर गराउने लक्ष्यसहित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित विशेष कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै बहुलतायुक्त समाजअनुकूल समावेशी लोकतान्त्रिक संरचना निर्माण, सुशासन र आर्थिक मोडल सिफ्ट नै पार्टीको प्रमुख एजेन्डा भएको बताए । यता, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेनजी विद्रोहले अहिलेको चुनाव सम्भव भएको बताएका छन् । सिराहाको धनगढीमाइ नगरपालिकाको बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले मधेसमा कांग्रेसले चुनाव जित्ने यहाँको माहोलले बताइसकेको जिकिर गरे । उनले भने, ‘मलाई तपाईंहरूले विश्वास गरेर बोलाउनुभयो । यहाँको माहोल देख्दा कांग्रेसले जित्नेछ भन्ने आशा लिएको छु। जिताएर पठाउनु हुन अनुरोध छ ।’

यस्तै,  निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगको आजको निर्णयअनुसार यस्तो निर्देशन दिइएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम फागुन ३ गतेभित्र घोषणापत्र बुझाउनुपर्ने आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको उनले बताए । यता, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आर्थिक रुपान्तरणको कुरा नगरी राजनीतिक पार्टीहरुले आफ्नो अस्तित्व बचाउन नसक्ने धारणा राखेका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले उज्यालो नेपाल पार्टी देशको उज्यालोको लागि स्थापना गरेको बताउँदै भाषण गरेर भन्दा पनि काम गरेर देशमा परिवर्तन गर्नुपर्छ भन्ने मान्यताले आफूहरु अगाडि आएको बताए ।

समाचार: पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी–२ दुलेगौँडामा आज सवारी दुर्घटनामा परी व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैसहित चार जना घाइते भएका छन् । जिल्लाको दुलेगौँडाबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०६४ प ०७८३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको ग१ज ४६६७ नम्बरको ट्याक्सी एकापसमा ठक्कर खाएपछि ट्याक्सी अर्को सामान बोक्ने भ्यानमा ठक्किएको थियो । पोखराबाट दुलेगौँडातर्फ आउँदै गरेको ध१ज ६२४ नंको भ्यानमा ठोक्किएपछि ट्याक्सीमा सवार उपप्रमुख दरै, उनका छोरा २७ वर्षीय हेमन्त दरै, ट्याक्सी चालक कास्की पोखरा महानगरपालिका–५ मालेपाटनका ३८ वर्षीय सन्देश गोले र पोखरा महानगरपालिका–१४ चाउथेका १८ वर्षीय  मोटरसाइकल चालक समेशकुमार थापा रहेका छन् ।

यस्तै, दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्ती सोमबार राति मृत फेला परेका हुन् । यस्तै, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२५ अनुसार नेपालले यस वर्ष पनि ३४ अंक प्राप्त गरेको छ। गत वर्षकै अंक दोहोरिँदा भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय सुधार हुन नसकेको देखिएको छ। १८० देश समेटिएको सूचकांकमा नेपाल मध्यमभन्दा कमजोर अवस्थामै रहेको छ।

स्वास्थ्य: खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङस्थित निगालबासमा सामूहिक झाडापखालाको प्रकोप देखिएको छ ।स्थानीय विवाह भोजमा सहभागी व्यक्तिहरूमा एकैसाथ झाडापखाला, वान्ता, ज्वरो तथा टाउको दुखाइका लक्षण देखापरेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन् ।गत माघ २१ गते आयोजित एक विवाह कार्यक्रममा करिब २५० जना सहभागी थिए । सोही कार्यक्रमा गएर भोज खाएका व्यक्तिहरूमध्ये पहिलो बिरामी माघ २२ गते राति १ बजे चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेका थिए । 

अर्थ: अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार चालु आवका लागि विनियोजित कुल बजेटको करिब एक तिहाइ मात्र खर्च भएको छ भने पुँजीगत खर्च अपेक्षित स्तरमा पुगेको छैन।मन्त्रालयका अनुसार, चालु आवका लागि कुल रु १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएकोमा पुस मसान्तसम्म रु ६ खर्ब ९० अर्ब खर्च भएको छ। चालु खर्च ४१.२५ प्रतिशत, पुँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थामा ४०.९५ प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि प्रदेश सरकारहरूको खर्च अवस्था निराशाजनक देखिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘आव २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन’अनुसार सातवटै प्रदेशको कुल खर्च पुस मसान्तसम्म १४.१६ प्रतिशतमा सीमित रहेको छ।प्रतिवेदनअनुसार चालु आवका लागि प्रदेशहरूको कुल बजेट दुई खर्ब ८७ अर्ब ७० करोड ३३ लाख रहेकामा चालुतर्फ २१.४३ प्रतिशत र पुँजीगततर्फ मात्र ९.३३ प्रतिशत खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको  ९७ करोड ५० लाखमध्ये पुससम्म शून्य खर्च देखिएको छ।

विदेश: पूर्वी लिबियाको कुफ़्रा क्षेत्रमा रहेको अल‑सर्रा एयर बेस नजिक हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा हेलिकोप्टरमा सवार सैनिक र स्वास्थ्यकर्मीहरू समावेश छन्। स्थानीय मिडियाका रिपोर्ट अनुसार हेलिकोप्टर मरुभूमिमा भएको सडक दुर्घटनामा घाइते सैनिकलाई उद्धार गर्न उडेको थियो। दुई जना विदेशी नागरिक पनि सवार रहेको खबर बाहिरिएको छ, तर अधिकारीहरूले यसबारे औपचारिक पुष्टि गरेका छैनन्। यस्तै, जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६ जनाको मृत्यु हुनुका साथै ५५८ जना घाइते भएको फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीको ताजा तथ्यांकले मङ्गलबार देखाएको छ । जनवरीको अन्त्य देखि जारी हिमपातले उत्तरी समुदायहरूलाई चरम दोहन गर्नुका साथै ट्राफिक जन्य समस्या निम्त्याएको जनाइएको छ ।

खेलकुद: थाइल्यान्डमा हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ।  मंगलबार आयोजित एक विशेष कार्यक्रमका बीच नेपाल क्रिकेट संघ (क्यान)ले टोलीलाई बिदाइ गरेको हो । कप्तान इन्दु बर्मा चोटका कारण कम्तीमा ८ साताका लागि मैदानबाहिर रहने भएपछि यस पटक टिमको कप्तानी पूजा महतोले गर्ने भएकी छिन्। यस अघि उपकप्तान रहेकी पूजाको कप्तानीमा नेपालको १५ सदस्यीय टोली पनि घोषणा गरिएको छ। पूजाले पहिलोपटक सिनियर टोलीको कप्तानी गर्न लागेकी हुन् । 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  २१:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update