नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–ट्वान्टी विश्वकपको पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ। आइतबार वानखाडे क्रिकेट स्टेडियममा खेलिएको खेलमा इङ्ल्यान्डले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो। लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनायो। नेपालका लागि दीपेन्द्र सिंह ऐरी ले सर्वाधिक ४४ रन बनाएका थिए भने लोकेश बम र रोहित कुरमा पौडेल ले समान ३९–३९ रनको योगदान दिएका थिए। बलिङतर्फ इङ्ल्यान्डका लागि लिम डसनले दुई विकेट लिए।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
राजनीति: नेपाली कांग्रेसको विशेष महाधिवेशन र निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिटमा कांग्रेस केन्द्रीय कार्यालयले आइतबार सर्वोच्च अदालतको म्याद बुझेको छ।विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिने आयोगको निर्णयलाई चुनौती दिँदै दायर रिटमा सर्वोच्चले लिखित जवाफ माग गरेको हो। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले आयोग, देउवा र थापालाई छलफलमा बोलाउने आदेश दिएको छ। पार्टीका तर्फबाट लिखित जवाफ पेस भएपछि मुद्दाको सुनुवाइ अघि बढ्नेछ। देउवा–खड्का पक्षले थापा नेतृत्वको कार्यसमितिलाई कामकारबाही गर्न नदिन माग गरेको अन्तरिम आदेशलाई सर्वोच्चले तत्कालका लागि अस्वीकार गरिसकेको छ।
यत, जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा भएका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रसाईंलाई माघ १९ गते पक्राउ गरेको थियो। आइतबार सरकारी वकिल कार्यालयमा बयान लिइएपछि उनलाई छाड्न निर्देशन दिइएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरी शर्मा काफ्लेले जानकारी दिए। सरकारी वकिलको निर्देशनपछि दुई दिन हिरासतमा रहेका प्रसाईं रिहा भएका हुन्। उनी वीरगञ्जबाट निर्वाचन बिथोल्ने अभियान सुरु गर्न लागेको सूचनाका आधारमा पक्राउ परेका थिए।
यस्तै,नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको छ। कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले विधानअनुसार समितिको गठन गर्ने निर्णय गरेको हो। समितिमा केन्द्रीय सदस्य धना खतिवडा र सुवासकुमार पोखरेल सदस्य रहेका छन् ।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको भविष्य निर्माणको निर्णय नेपाली जनताको हातमै राख्नको लागि राजा, राजनीतिक दल र नवयुवा पुस्ताकाबीच नविनतम सम्झौता आवश्यक रहेको बताएका छन् । उनले वर्तमान समस्याको समाधान चुनाव नभएपनि एउटा प्रजातान्त्रिक पार्टी भएकाले विद्रोहमा जानुभन्दा चुनावको उपयोग गरौं भनेर होमिएको बताए ।
समाचार : कञ्चनपुरको लालझाडी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणमा परी ६ वर्षीया बालिकाको मृत्यु भएको छ भने एक वृद्धा गम्भीर घाइते भएकी छन् । आइतबार बिहान करिब साढे २ बजे लालझाडी गाउँपालिका–६ ढक्का चानदेवस्थित किसान सिंह साउदको घरमा जङ्गली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । घरबाट ज्यान जोगाउन भाग्ने क्रममा हात्तीको आक्रमणमा परेकी ६ वर्षीया रोजिना साउद र उनकी ५५ वर्षीया हजुरआमा पार्वती साउद घाइते भएका थिए । यता, बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२–००१ज ०६२४ नम्बरको सो सवारी साधन सिल्लेगडा–बडिया सडकखण्डको घोडेधारनजिक गए राति दुर्घटनामा परेको हो । यस्तै, धादिङको थाक्रे गाउँपालिका–स्थित महादेवबेँसी नजिक दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५२ नम्बरको बस आज बिहान दुर्घटनामा परेका हुन् ।
अर्थ : अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको छ। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपालमा उत्पादन बढ्नु र भारतबाट पनि अण्डा आयात हुनुका कारण मूल्यमा गिरावट आएको हो। समर्थन मूल्यअनुसार अहिले ठूलो अण्डा प्रतिक्रेट ३७५ र मिडियम ३३५ कायम गरिएको छ। यता, साताको पहिलो कारोबारको दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो। शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ५ सय रुपैयाँमा कारोबार भैइरहेको छ । यस्तै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०.२५ अंकले घटेर २,६९८.४४ बिन्दुमा कायम भएको छ। आज ३३० कम्पनीका दुई करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर एक लाख ११ हजार ९७८ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ पुगेको नेप्सेले जनाएको छ।
निर्वाचन: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत र बर्दघाट–सुस्ता पश्चिम नवलपरासी गरी यी जिल्लामा मतपत्र छपाइ र प्याकिङ्ग दुवै सम्पन्न भइसकेको छ।
अपराध : नेपाल प्रहरीले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहको कोठामा चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौँ महानगरपालिका–४ चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको शाहको कोठा चोरी गर्ने तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजुका ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोक लिसङ्खुपाखर घर भई काठमाडौंको गैरीगाउँ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का र डोटी घर मई हाल धादिङको खानीखोला बस्ने ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् ।
विदेश : रुसी वरिष्ठ सैन्य गुप्तचर अधिकारी भ्लादिमिर एलेक्सेयेभलाई मस्कोमा गोली हानी घाइते बनाएको आरोपमा एक जना रुसी नागरिकलाई दुबईबाट पक्राउ गरिएको छ। रुसी सुरक्षा सेवा एफएसबीले आइतबार उक्त जानकारी दिएको हो। संयुक्त अरब इमिरेट्समा पक्राउ परेका करिब ६० वर्षीय संदिग्धलाई रुस सुपुर्दगी गर्ने प्रक्रिया अघि बढाइएको छ। एलेक्सेयेभ शुक्रबार मस्कोस्थित एक अपार्टमेन्टमा गोली लागेर गम्भीर घाइते भएका थिए। रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले उक्त घटनाको योजनाकार युक्रेन भएको आरोप लगाएका छन्। यस विषयमा किएभले कुनै टिप्पणी गरेको छैन। यस्तै इरानले संयुक्त राज्य अमेरिकासँग जारी वार्ताका क्रममा आफ्नो राष्ट्रिय हित र कूटनीतिक अडान स्पष्ट रूपमा राख्दै संवादलाई निरन्तरता दिने संकेत दिएको छ। ओमानमा भएको पछिल्लो भेटवार्तालाई इरानी राष्ट्रपति मसुद पेजेस्कियानले शान्तिपूर्ण समाधानतर्फको सकारात्मक प्रगति भएको बताएका छन्।
खेलकुद : एक्स्ट्रिम सातौँ झापा गोल्डकप–विनोद बस्नेत स्मृति संस्करणमा आज त्रिभुवन आर्मी फुटबल क्लबले चर्च ब्वाइज युनाइटेडलाई ३–० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पहिलो हाफमा नविन लामाले दिनेश योञ्जनको पासमा गोल गरे। नवयुग श्रेष्ठले अर्को गोल थपे र दोस्रो हाफको अन्त्यतिर जर्ज प्रिन्स कार्कीको ‘फ्रिकिक’गोलले जीत सुनिश्चित गर्यो। प्रतियोगितामा विजेताले १५ लाख, उपविजेताले ७ लाख ५० हजार पुरस्कार पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाइकल, र उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ३५ हजार पुरस्कार दिइनेछ।


