बिहान उठेपछि खाली पेट तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने चिकित्सकहरूले बताएका छन् ।उनीहरूका अनुसार तातो पानीले रातभर सुस्त भएको पाचन प्रणालीलाई सक्रिय बनाउने, पेट सफा राख्ने र शरीरभित्र जम्मा भएका विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुर्याउँछ ।विशेषज्ञहरूका अनुसार बिहान नियमित रूपमा तातो पानी पिउँदा कब्जियतको समस्या कम हुनुका साथै ग्यास, अपच र पेट फुल्ने समस्या नियन्त्रणमा आउन सक्छ ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
सुनिल थापाको निधन: वरिष्ठ कलाकार सुनिल थापाको आकस्मिक निधनले नेपाली चलचित्र उद्योग शोकमा डुबेको छ। उनको निधनलाई चलचित्र क्षेत्रका लागि अपूरणीय क्षति भएको भन्दै कलाकार तथा चलचित्रकर्मीहरूले गहिरो दुःख व्यक्त गरेका छन्। कलाकार प्रशान्त ताम्राकारले सुनिल थापाको निधनको खबरले आफू अत्यन्तै स्तब्ध भएको बताएका छन्। उनले भने,‘हिजो राति साढे आठ बजेसम्म हामी सुटिङमा सँगै थियौँ। बिहान एक्कासी यस्तो खबर आयो, विश्वास नै गर्न सकिन। यो चलचित्र उद्योगका लागि ठूलो क्षति हो।’
आयोग भन्छः सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरिसकेको जानकारी दिए। उनले अहिले सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले त्यसलाई रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अध्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने पनि जानकारी दिए।
गगन थापा : नेपाली काङ्ग्रेसका सभापति गगन थापाले घटनाको जिम्मेवारी लिनु पर्छ भनेर भदौ २३ र २४ गतेको घटनालाई अस्वीकार गर्ने प्रवृत्ति देखा परेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं– ५ को सदस्य भेला कार्यक्रममा उनले जिम्मेवारी लिने आँट नभएको भदौ २३, २४ को घटनालाई षडयन्त्र चलखेल भन्ने र अस्वीकार गर्ने प्रवृत्ति देखा परेको बताए ।
झापा गोल्डकप सुरुः सातौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा भएको उद्घाटन खेलमा आयोजक झापा-११ फुटबल क्लबले नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । घरेलु दर्शकको उल्लेख्य साथ पाएको झापा–११ ले सुरुआतदेखि उत्कृष्ट खेल प्रस्तुत गरेको थियो ।
कांग्रेस सच्चिएर आएको छ: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने अपेक्षा गरेका छन् । काठमाडौं ५ मा क्षेत्रीय कार्य समितिले आयोजना गरेको सदस्य भेलामा बोल्दै सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका उनले भदौ २३ को आन्दोलनले आफूहरुलाई नै खबरदारी गरेको भन्दै कमजोरी स्वीकार गरेर नागरिकले चाहेजस्तै परिमार्जन र रुपान्तरण गरेर पार्टी निर्वाचनमा होमिएको बताए ।
रास्वपाले एकल बहुमतको सरकार चलाउनुपर्छ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेताले बोलेको कुरा तोकिएको समयमा पूरा नगरे जनताले सजाय दिनुपर्ने बताएका छन् । चितवनस्थित पोखरा बसको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले नेताहरूले प्रतिबद्धता पूरा नगरी हाँसेर हिड्न नपाउने स्पष्ट पारेका हुन् ।

