काठमाडौँ - गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई हाई अलर्टमा काम गर्न निर्देशन दिएका छन् । केन्द्रीय सुरक्षा समितिको बैठकमा उनले विगतका निर्णयको समीक्षा गर्दै थप सुरक्षा चुनौतीहरूको सामना गर्न रणनीति तय गर्न निर्देशन दिएका हुन् । बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार जनशक्ति परिचालन र बन्दोबस्ती योजनाको अवस्था पनि समीक्षा गरेको गृह मन्त्रालयले जनाएको छ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
निर्वाचन : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमानाका निर्वाचनको ४८ घण्टाअगावै बन्द गरिने भएको छ। विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीचको समन्वय बैठकले सो निर्णय गरेको सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । बैठकमा सीमा सुरक्षा, अवैध घुसपैठ, मानव बेचबिखन, लागुऔषध र नक्कली मुद्रा नियन्त्रणमा सहकार्य बढाउने सहमति भएको छ।
राजनीति: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र उम्मेदवारी रहेको दाबी गरेका छन्। ललितपुरमा आयोजित निर्वाचन विशेष भेलामा उनले कुनै पनि क्षेत्रमा रुख बाहेक अन्य चुनाव चिन्हमा मतदान गर्नुपर्ने अवस्था नरहेको बताए। अन्य दलको भने सबै क्षेत्रमा उम्मेदवारी नरहेको उनको भनाइ थियो। यता, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट पार्टी नै अहिलेको सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको दाबी गरेका छन्। मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले नेकपा एमालेका केही महत्वपूर्ण नेताहरू पार्टीमा समायोजन भएको बताए। समायोजन भएर आएका नेताहरूले केपी शर्मा ओलीप्रति आग्रह–पूर्वाग्रह देखिने धारणा राखेको उनको भनाइ थियो।
यता, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको अवस्थामा रहेकाले देशलाई निकास दिने जिम्मेवार राजनीतिक शक्तिको खाँचो रहेको बताएका छन्। कांग्रेस कास्कीको सभामा बोल्दै उनले उत्तेजना होइन, धैर्यपूर्वक समाधान दिन सक्ने शक्तिका रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताए।
यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई जनतासँग जोड्ने मुख्य जिम्मेवारी स्थानीय तहका नेताहरूको भएको बताएका छन्। विराटनगर–६ मा मतदातासँग अन्तर्क्रियामा उनले हरेक नेता हरेक घरमा पुग्न नसक्ने भए पनि स्थानीय नेताले पार्टीको प्रतिनिधित्व गर्नुपर्ने बताए। कोइरालाले पार्टी नेतृत्वभन्दा संगठन र कार्यकर्ताको भूमिका प्राथमिक भएको पनि स्पष्ट पारे।
यता, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा निर्वाचनमा जनताको मत र जीतको असली हकदार जसपा नेपाल मात्रै भएको दाबी गरेका छन्। सप्तरी–७, विष्णुपुरमा आयोजित चुनावी भेटघाटमा उनले मधेशमा पार्टीको निरन्तर संघर्ष र जनता केन्द्रित एजेन्डालाई आधार बनाएर यो दाबी गरेका हुन्।
समाचार : सुदूरपश्चिम प्रदेश सरकारले बैतडी पुर्चौंडीमा भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई जनही १ लाख रुपैयाँ मानवीय सहायतास्वरुप उपलब्ध गराउने निर्णय गरेको छ। दुर्घटनामा घाइतेहरूको उपचार खर्च सरकारले व्यहोर्नेछ र आवश्यक परे काठमाडौँसम्म हेलिकप्टरबाट लैजान पनि व्यवस्था गरिएको छ। दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ३५ घाइते छन्। यता, झापाको शिवसताक्षी–११ मा माटोको ढिस्कोले पुरिएर ३५ वर्षीय रमेशकुमार यादवको मृत्यु भएको छ। एनसेलका कर्मचारी यादव फाइबर जडानका लागि खाल्डोमा काम गर्दै थिएँ। घाइतेलाई दमक अस्पताल लगिएको थियो जहाँ उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ। घटना सम्बन्धी अनुसन्धान जारी छ।
स्वास्थ्य : स्वास्थ्य मन्त्री सुधा गौतमले सरकारले यो आर्थिक वर्षमा बीमाको लागि १० अर्ब रुपैयाँ छुट्टाएको बताएकी छन्। उनले बजेटको परिधिभित्र कार्यक्रम सञ्चालन गर्नुपर्ने र त्यसभन्दा बाहिर जान नहुने स्पष्ट पारेकी छन्। यस्तै, नेपाल चिकित्सक संघले दैनिक प्रयोग हुने दन्तमञ्जन र सौन्दर्य सामग्रीमा अत्यधिक सिसा (लिड) भेटिएको भन्दै कडा नियमनको माग गरेको छ। सेफेडको अध्ययन अनुसार ३१ प्रतिशत नमूनामा स्वीकृत मापदण्डभन्दा बढी सिसा थियो, जसमा दन्तमञ्जनका ४५ प्रतिशत नमूना समावेश छन्। संघले बालबालिका र आमनागरिकको स्वास्थ्यमा असर पर्ने भन्दै गुणस्तर मापन र कडा अनुगमनको आग्रह गरेको छ।
अपराध: सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट एक ग्राम ५६० मिलिग्राम ब्राउन सुगर र नाइट्राजेपाम ३१ ट्याब्लेट बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतका २१ वर्षीय अर्जुनकुमार प्रजापति, वडा नं ७ का २२ वर्षीया ललितासिंह ठकुरी, नरहरिनाथ गाउँपालिका–९ कालीकोटका १८ वर्षीय रमेश रावल र ठाकुरबाबा नगरपालिका–७ बर्दियाका २२ वर्षीया अर्जुन बुढा रहेका छन् । गोप्य सूचनाका आधारमा गरिएको विशेष अप्रेसनका क्रममा उनीहरूलाई शंकास्पद अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।त्यसैगरी, जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त भूपेन्द्रसिंह ठगुन्नालाई काठमाडौँबाट पक्राउ गरी सुर्खेत ल्याइएको छ।
यस्तै, वीरगञ्ज महानगर–१३ राधेमाईमा मोटरसाइकल पार्किङको विषयमा भएको झगडामा कुटपिट हुँदा ६५ वर्षीय केपी चन्द राउत बरईको मृत्यु भएको छ। गम्भीर घाइते बरईको उपचारका क्रममा तराई अस्पतालमा मृत्यु भएको जनाएको छ । घटनामा संलग्न आरोपमा ३२ वर्षीय अर्जुन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यता, सर्लाहीको लाल बन्दीमा रहेको एक लघुवित्त कार्यालयमा अज्ञात समूहले दिँदाहाडै लुटपाट गरेको छ। ५–६ जनाको समूहले कर्मचारीमाथि छुरा प्रहार गरी रकम र सामग्री लुटेको प्रहरीले जनाएको छ। घाइते कर्मचारीको अवस्था सामान्य रहेको बताइएको छ। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान र आरोपी खोजीमा जुटेको छ।
यस्तै, वीरगञ्ज महानगर क्षेत्रमा मान्छे नभएको घर लक्षित गरी दुई चोरीका घटना भएका छन्। पर्सा प्रहरीले चोरीमा संलग्नको खोजी तीव्र बनाएको छ। चालु आर्थिक वर्षमा पर्सामा २६ चोरीका मुद्दा दर्ता भइसकेका छन्, जसमा ४४ जना पक्राउ परेका र ९ जना फरार रहेका छन्।
सूचना/प्रविधि : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा हानिकारक सूचना उत्पादन तथा सम्प्रेषण गर्ने १८१ कन्टेन्ट उत्पादक/सम्प्रेषकलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाएको छ। त्यसैगरी, सात जनालाई नेपाल दूरसञ्चार प्राधिकरण, ४० लाई प्रेस काउन्सिल नेपाल र ४७ लाई निर्वाचन आचारसंहिता उल्लंघनमा कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ। आयोगका अनुसार मिथ्या, भ्रमपूर्ण र घृणास्पद सूचना नियन्त्रणका लागि सूचना सदाचार प्रवर्द्धन एकाइ सक्रिय छ।
विश्व : पाकिस्तानको राजधानी इस्लामावादस्थित एक शिया मस्जिदमा शुक्रबार आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । १६९ भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ।शुक्रबारको प्रार्थनापछि गेटमै आक्रमणकारीले विस्फोट गराएको सुरक्षा स्रोतले जनाएको छ। घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।
यस्तै, इयूले चिनियाँ स्वामित्वको टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’ लाग्ने खालका डिजाइन परिवर्तन गर्न वा इयूको डिजिटल सामग्री नियमहरू अन्तर्गत भारी जरिवानाको जोखिम लिन तयार रहन शुक्रबार निर्देशन दिएको छ। दुई वर्ष अघि खोलिएको अनुसन्धानको प्रारम्भिक निष्कर्षमा युरोपेली आयोगले टिकटकले विशेष गरी नाबालिग र कमजोर वयस्कहरूमा एपको नकारात्मक प्रभावलाई सम्बोधन गर्न प्रभावकारी कदम नचालेको बताएको छ ।
खेलकुद : पोखरामा जारी यू–१९ साफ महिला च्याम्पियनसिपको उपाधिका लागि शनिबार बङ्गलादेश र भारत भिड्नेछन्। खेल पोखरा रङ्गशालामा दिउँसो २ बजे हुनेछ। बङ्गलादेश तीनै खेल जित्दै शीर्षस्थानमा रहँदै फाइनल पुगेको हो भने भारत दुई जितसहित उपविजेता बनेर फाइनलमा प्रवेश गरेको हो।
यता, आईसीसी टी–२० पुरुष विश्वकप आइतबारदेखि भारत–श्रीलंका संयुक्त आयोजना हुने क्रममा सुरु हुँदैछ। नेपालले आफ्नो पहिलो खेलमा विश्व विजेता इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै दोस्रोपटक विश्वकप यात्रा सुरु गर्नेछ। सबै खेलहरू मुम्बईको वानखडे रंगशालामा हुनेछन्।
यस्तै, धरानमा जारी २६औँ बुढासुब्बा गोल्डकपमा झापा–११ क्वाटर फाइनलमा प्रवेश गरेको छ। झापाले रोयल थिम्पु क्लब, भुटानलाई २–० गोल अन्तरले हराउँदै जित सुनिश्चित गरेको हो। खेलमा सुनिल खड्का र राजेश दाहालले गोल गरे, जसमा दाहाल ‘म्यान अफ द म्याच’ घोषित भए ।

