Harsamaya
माघ २६: जाँचबुझ आयोगको म्याद थपदेखि सामाजिक सञ्जाल विधेयक फिर्तासम्म
ग्राफिक्सः हर समय/Har Samaya

सरकारले गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा भएको भौतिक र मानवीय क्षतिको छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार मन्त्रिपरिषद्को बैठकले आयोगको म्याद थप्ने निर्णय गरेको हो। आयोगको संयोजक पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले २०८२ असोज ५ गते गठन भएको थियो।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

राजीनीति: राष्ट्रिय सभाले सरकारबाट आएको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ । सभाका अध्यक्ष नारायण दाहालले निर्णय घोषणा गरेका हुन् । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले समितिको प्रतिवेदन पेश गर्दै विधेयकमा विभिन्न चरणमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र सरोकारवालासँग छलफल भएको जानकारी दिइन् ।

यता, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेता–कार्यकर्तालाई कुनै पनि व्यक्तिलाई गाली नगरी, सभ्य र एकढिक्का भएर आगामी निर्वाचनमा लाग्न आग्रह गरेका छन्। उपसभापति शर्माले भने, ‘हामीले कसैलाई गाली नगरौँ । आफ्ना कुरा जनतालाई बुझाऔँ, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौं । हाम्रो इतिहास र सभ्यताको ख्याल गर्दै चुनावमा लागौँ ।’

यस्तै,  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान जटिल राजनीतिक परिस्थितिमा जनतामाझ जाने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन नै भएको बताएका छन् । सोमबार काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ ले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले देश निर्वाचनको संघारमा पुगेको उल्लेख गरे ।

यता, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको गति सुस्त हुनुमा सतही कारण मात्र नभई प्रणालीगत समस्या मुख्य दोषी रहेको बताएका छन् । निर्देशन दिने, ठेकेदारलाई तर्साउने वा कर्मचारीलाई गाली गर्ने जस्ता ‘जादु टुना’ शैलीले विकास सम्भव नहुने भन्दै उनले अबको ५ वर्षमा पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका आफूसँग रहेको दाबी गरेका हुन् ।

समाचार: नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति दिएको छ। कम्पनीले प्राधिकरण र हवाई दुर्घटना अनुसन्धान आयोगका २३ बुँदे सुरक्षा सुझावहरू पूरा गरी सेफ्टी अडिटमा ६५ प्रतिशतभन्दा माथि अंक प्राप्त गरेको थियो। सौर्य एयरलाइन्सले विराटनगर र भद्रपुरमा नियमित उडान सुरु गर्ने योजना बनाएको छ। हाल कम्पनीसँग दुई विमान छन्, जसमा ९ एन–एएनएम कलसाइनको विमानबाट उडान सेवा दिइनेछ। निकट भविष्यमा एटीआर ७२–६०० जहाज थप गर्ने योजना पनि रहेको छ।

यता, धनुषा हंसपुर नगरपालिकाका मेयर प्रदिप कुमार यादवको सोमबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको छ। गत बिहीबार राति मस्तिष्क घात भएपछि उनी जनकपुरको न्युरो अस्पतालमा भर्ना भएका थिए र थप उपचारका लागि शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो। मेयर यादव नेपाली कांग्रेसबाट निर्वाचित थिए। यस्तै,  तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा भोजमा मासु खानेक्रममा हड्डी अड्किँदा ४१ वर्षीया गङ्गामाया तामाङको मृत्यु भएको छ। प्रहरीका अनुसार तामाङले ल्होसार पर्व मनाउन आफन्तको घरमा गएको बेलामा कुखुराको मासु खाँदा हड्डी घाँटीमा अड्कियो। तुरुन्त उपचारका लागि त्रिशूली अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा उनको निधन भएको छ। 

अर्थ: नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा विक्रीवितरण नियमित भइरहेकाले अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । निगमले आज विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक मात्रै ग्यासको खरिद गर्न तथा अनावश्यक सञ्जिती नगर्न आग्रह गरेको हो । आसन्न आमनिर्वाचनलाई मध्यनजर गर्दै ग्यासको बढीभन्दा बढी आयात गर्न फ्रेबुअरी महिनाको निर्धारित कोटामा दुई हजार मेट्रिक टन थप गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । हाल दैनिक औसत ११० बुलेट ग्यास नियमित रूपमा आयात भइरहेको उनले बताए । यता, नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ हजार १ सय रुपैयाँले बढेको हो । आइतबार ३ लाख ५ सय रुपैयाँमा कारोवार भैइरहेको सुन आज बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै,नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५ अंकले घटेर दुई हजार ६७२ दशमलव ३९ को बिन्दुमा कायम भएको छ । आज विभिन्न ३२४ कम्पनीको दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर एक लाख दुई हजार २८१ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्वास्थ्य: स्वास्थ्य बीमा बोर्डले औषधि तथा स्वास्थ्यजन्य सामग्रीहरुको न्यून दररेट मात्र दाबी गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । सोमबार बोर्डले ,बोर्ड र सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको दररेटमध्ये जुन न्यून छ सोही दररेट मात्र दाबी गर्ने निर्देशन दिएको हो ।बोर्डका अनुसार पुस २४ को बोर्डको निर्णय अनुसार स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीमा संस्थाहरुले ‘आइटम तथा सर्भिसेस’ को न्यूनतम दाबी गर्न छुट्टै महल थप गरिएको छ । 

अपराध:  वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा ललितपुर धापाखेल बस्ने ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया विन्दा महर्जन, बागलुङ काठेखोला गाउँपालिका–२ की ४३ वर्षीया कोपिला शर्मा, धनकुटा नगरपालिका–२ का ३१ वर्षीय सन्तोष राई तथा काभ्रे चौंरीदेउरीली नगरपालिका–९ की ४८ वर्षीया कुमारी तामाङ छन्।

यता, सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार फेला परेको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट गरी कारागारबाट बाहिर निकाल्ने प्रयास गरेका थिए।पक्राउ परेका १३ जनालाई कारागारबाट झिकेर प्रहरीले हिरासतमा राखेको छ। प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘हामीले उनीहरूलाई कारागारबाट झिकेर हिरासतमा राखेका छौँ र अन्यत्र पठाउने तयारी भइरहेको छ।’

यस्तै, सिन्धुपाल्चोक–१ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोलमा तनाव बढेको छ। चौतारा साँगाचोकगढी नगरपालिका–२ का स्थानीय व्यापारी उमेश ढुंगानामाथि नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष सुदिप श्रेष्ठले हातपात गरेको आरोप लागेको छ ।  सोमबार चुनावी प्रचारका क्रममा घरदैलोमा पुगेका श्रेष्ठलाई ढुंगानाले आफूले पाउने रकम माग्दा कुटपिटको भागीदार हुनुपरेको बताए ।

यता,  मोरङको उर्लाबारीमा सनम शाक्यको विभत्स हत्या प्रकरणमा मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरले थप १० वर्ष कैद सजाय सुनाएको छ । तर बहुचर्चित ३८ क्विन्टल सुन तस्करी प्रकरणमा भने अदालतले संगठित अपराध पुष्टि हुन नसक्ने ठहर गरेको छ । न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजालासले जिल्ला अदालत मोरङको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर गरेको हो । यससँगै उप्रेतीले कर्तव्य ज्यान मुद्दामा पाएको जन्मकैद (२० वर्ष) बाहेक थप १० वर्ष कैद भोग्नुपर्ने भएको छ ।

खेलकुद: आयोजक झापा–११ बिर्तामोडमा जारी सातौँ झापा गोल्डकप फुटबल प्रतियोगितामा पहिलो क्वाटरफाइनलमा सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई ४–३ गोल अन्तरले टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि विजेताको निर्णय टाइब्रेकरबाट भएको थियो। झापा–११ का रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र बिवेक मगरले गोल गरे। सिङलिङका सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङले गोल गरे भने सुजन सुब्बाको प्रहार झापाका गोलकिपर विवेक मगरले रोके।

यता, आइसिसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटालीलाई ७३ रनले पराजित गरेको छ। भारतको कोलकतास्थित इडेन गार्डेनमा भएको खेलमा स्कटल्यान्डले पहिले ब्याटिङ गर्दै २० ओभरमा चार विकेट गुमाउँदै २०७ रन बनायो। जर्ज मुल्सेले सर्वाधिक ८४ रन जोडे। ब्रेन्डन म्याकमुलेन अविजित ४१ रनमा सीमित भए भने माइकल जोन्सले ३७, माइकल लिस्कले २२ र रिची बेरिङ्टनले १५ रन थपे।

विदेश: राजकुमार विलियम र राजकुमारी क्याथरिनले दोषी यौन अपराधी जेफ्री एपस्टेनका पीडितहरूप्रति गहिरो चिन्ता व्यक्त गर्दै सोमबार संयुक्त बयान जारी गरेका छन्। यसलाई बेलायती राजतन्त्रले पूर्वराजकुमार एन्ड्र्युसँग एपस्टेनको सम्बन्धबारे आएका पछिल्ला खुलासाबाट आफूलाई स्पष्ट रूपमा अलग राख्ने प्रयासका रूपमा हेरिएको छ। वेल्स दम्पतीले अमेरिकी न्याय मन्त्रालयले यस महिनाको सुरुमा सार्वजनिक गरेको ३० लाख पृष्ठभन्दा बढी कागजातका विवरणबाट आफूहरू स्तब्ध भएको बताएका छन्। दरबारका अनुसार, उनी निरन्तर सार्वजनिक भइरहेका खुलासाबाट गहिरो रूपमा चिन्तित छन् र उनका विचार तथा संवेदना पीडितहरूमै केन्द्रित छन्।

यस्तै,  रुसले आफ्नो एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने शर्तमा अमेरिकासँग प्रत्यक्ष हवाई सेवा पुनः सुरु गर्न तयार भएको रूसी संघीय हवाई यातायात निकायले सोमबार जनाएको छ। निकायका प्रमुख दिमित्री याद्रोभले भने, ‘प्रत्यक्ष उडानहरू रूसी वाहकमा लगाइएका सीमितताहरू हटाएपछि मात्र सञ्चालनमा आउनेछन्, र रूसी विमानहरू अमेरिका जाने क्रममा हिरासतको जोखिमबाट मुक्त हुनेछन्।’

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  २२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update