हेटौंडा - मकवानपुर प्रहरीले २ किलो लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
यही माघ महिनाको २३ गते दिउँसो करिब १:३० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित सडकमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार ना ४५ प ६४१८ नम्बरको पल्सर मोटरसाइकलमा सवार भई आएका राक्सिराङ गाउँपालिका–४ निवासी २८ वर्षीय रबिन्द्र सिन्तान र सोही स्थानका ३६ वर्षीय रामबहादुर डिम्डुङलाई शंका लागी रोकी रितपूर्वक खानतलासी गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो फेला परेको थियो।
बरामद लागूऔषध तथा प्रयोग गरिएको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत, हेटौडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

