सप्तरी - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस कम्युनिस्टले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण देशमा असहज अवस्था आएको बताएका छन् । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३, हर्दियामा शनिबार आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले असहज अवस्थाको जिम्मेवार ती दुवै पार्टीको भएका बताए ।
२०४६ सालको जनआन्दोलन पश्चात् गठन भएका सरकारहरूमा काँग्रेस र कम्युनिस्ट जिम्मेवार रहेको बताउँदै उनले भने, ‘देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण पछिल्लो समय युवा पुस्ता आन्दोलित भएको र देश असहज अवस्थामा पुग्न बाध्य भएको हो ।’
देशमा शिक्षा, स्वास्थ्य र उद्योगलाई व्यवस्थापन गर्नुको साटो निजीकरण र पार्टी करण गरेकोले ती सबै सरकारी संरचनाहरू तहस–नहस भएको अध्यक्ष यादवले बताए । सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका उनले चुनावका बेला बाचा गरेर पनि जितेपछि पुरा नगर्ने नेतालाई चित्त नबुझेसम्म गरिरहन मतदाताहरूसँग आग्रह आग्रह गरे ।
मत माग्न आएका बेला बाटो बनाइदिने, अस्पताल बनाइदिने, राम्रो विद्यालय तथा कलेज बनाइदिने, सिँचाइको व्यवस्था गरिदिने आदि इत्यादि बाचा गरेका नेताहरूलाई प्रतिवद्धताहरु किन भएन ? भनी प्रश्न सोधिरहे मात्र नेता सुध्रिने उनले बताए । उनले भने, ‘जनताले नेतासँग प्रश्न सोधिरहनुपर्छ, अनि मात्र नेता जिम्मेवार बन्ने छन् ।’
जनता समाजवादी पार्टीकै कारण देशमा परिवर्तन आएको भन्दै आफू र भावी सन्ततिको भविष्यका लागि जसपाका उम्मेदवारहरू अत्यधिक मतले जिताउन अध्यक्ष यादवले जनतासँग आग्रह गरे । आफू सप्तरी २ बाट चुनाव जितेपछि आमूल परिवर्तन ल्याउनका लागि राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, गजेन्द्रनारायण सिंह अस्पतालमा अत्याधुनिक भौतिक पूर्वाधार, इन्जिनियरिङ कलेज भवन, नर्सिङ कलेज भवन, पक्की सडकहरू समेतका कामहरू भएको र कतिपय पुरा हुने क्रममा रहेको उनले चर्चा गरे ।

