त्रिशूली- नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या गरेर शव खाडलमा लुकाइएको अवस्थामा भेट्टिएको छ ।
स्थानीय ४४ वर्षीय शन्तबहादुर तामाङको शव हत्या गरेर लुकाइएको अवस्थामा आज बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा स्थानीय दुई जनालाई पक्राउ गरिएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन । तीनै जनाले बुधबार राति सँगै बसेर मादक पदार्थ सेवन गरेको र सोही क्रममा विवाद हँुदा तामाङको हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
मृतक तामाङले लगाएको कपडा घरनजिकै खोलामा रक्ताम्य अवस्थामा भेट्टिएको छ । शव परीक्षणका लागि त्रिशूली अस्पताल लगिएको छ ।
पक्राउ परेका दुवै जनालाई प्रहरीचौकी बाघखोरबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएर शुक्रबार नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान थालिने प्रहरी नायब उपरीक्षक विक्रम लामाले बताए।

