काठमाडौं - भक्तपुरको सूर्य विनायक नगरपालिका–८ बाट सोमबार चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा पर्नेमा सूर्य विनायक नगरपालिका–८ निवासी २६ वर्षीय समिर त्वाटी रहेका छन्। उनले बागमती प्रदेश ०२–०२९ प २५९९ नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३३ प १२८७ नम्बर राखेर चलाइरहेका अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
उक्त मोटरसाइकल काठमाडौं महानगरपालिका–४, धुम्बाराहीबाट हराएको भनी सर्लाहीको कविलासी नगरपालिका–२ निवासी प्रकाश सिंहले खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
मोटरसाइकलसहित नियन्त्रणमा आएका समिरलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
प्रहरी उपरीक्षक सुवेदीले सवारी साधन चोरीबाट बच्न सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न र मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न सबैलाई अनुरोध गरेका छन् ।
सवारी साधन खोजतलास तथा चोरी नियन्त्रण कार्य निरन्तर जारी रहे पनि सवारी धनी स्वयं सजग भई सुरक्षित स्थानमा पार्किङ गर्नुपर्नेमा उनले जोड दिए ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ र नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै सवारी साधनको विवरणसहित फोन गर्न तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ।

