गएको हप्ता देखि न्युयोर्क सहरमा चिसोका कारण १४ जनाको मृत्यु भएको मेयर जोहरान ममदानीले पुष्टि गरेका छन् । प्रारम्भिक अनुसन्धानले चिसोका कारण आठ जनाको मृत्यु भएको पुष्टि गरेको स्थानीय मिडियाले जनाएका छन् ।अमेरिकामा जाडोको ठुलो आँधीका कारण जनवरी –२५ मा उल्लेख्य मात्रामा हिँउ परी सडक तथा फुटपाथ अवरद्ध गरेको जनाइएको छ । ममदानीले अहिले सम्म ६ करोड ७० लाख पाउन्ड हिउँ पग्लि सकेको पुष्टि गर्दै हिउँ पगाली उक्त स्थान सफा गर्न १८ करोड ८० लाख पाउन्ड नुन प्रयोग गरिएको बताएका छन् ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
ग्यासको अभाव छैन: नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ । निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै ग्यास उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराई बजार सामान्यीकरण गर्न निर्देशन दिएको जनाएको हो । इण्डियन आयलबाट सन् २०२६ जनवरीमा ४७ हजार ३०४ मेट्रिक टन ग्यास सम्बन्धित उद्योगहरुले आयात गरेको निगमले जनाएको छ । यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार २६४ र डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन ग्यास आयात भएको थियो ।
सुनको मूल्यमा भारी गिरावट: नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाल सुनको मूल्य प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेको छ । यससँगै आज बजारमा सुनको मूल्य २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार मात्रै सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको थियो ।
वर्तमान आर्थिक स्थिति : नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् । प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ । यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति रु ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ ।
सर्लाहीमा पहिलो पटक आमाको नामबाट नागरिकता: सर्लाहीमा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण गरिएको छ ।जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनको कानुनी व्यवस्थाअनुसार बाबु विदेशी तथा आमा नेपाली भएको अवस्थामा अंगीकृत नागरिकता प्रदान गरिएको हो । यसै कानुनी आधारमा जिल्लाको लालबन्दी नगरपालिका – ७ का राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबार अंगीकृत नागरिकता प्रदान गरेको छ ।
प्रहरीको अनुहार र व्यवहारमा नागरिकले आफ्नो सरकार देख्छनः प्रधानमन्त्री सुशिला कार्कीले नागरिकले आफ्नो सरकार प्रहरीको अनुहार र व्यवहारमा देख्ने बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३ औं समूहको सपथ ग्रहण समारोहमा उनले प्रहरीहरुको निर्णय र आचरणले राज्यप्रतिको धारणा जनताले बनाउने भन्दै सबै जनाले कानूनभन्दा माथि कोही पनि नहुने कुरा सधैँ सम्झिनु पर्ने बताईन् । उनले भनिन,‘नागरिकले आफ्नो सरकार तपाईंहरुको अनुहार र व्यवहारमा देख्नेछन् ।
युरोपेली इन्जिनियरिङको भरोसा नेपाली सडकमा : युरोपेली अटोमोटिभ इतिहासमा १३० वर्षभन्दा लामो अनुभव बोकेको स्कोडा अटोले नेपाली सडकका आवश्यकतालाई केन्द्रमा राख्दै आफ्नो इन्जिनियरिङ क्षमताको स्पष्ट उपस्थिति देखाएको छ । सन् १८९५ मा युरोपमा स्थापना भएको स्कोडा आज १०० भन्दा बढी मुलुकमा फैलिएको विश्वसनीय ब्रान्ड हो, जसले सटीकता, सुरक्षा र प्रयोगमैत्री डिजाइनलाई प्राथमिकतामा राख्दै सवारीसाधन उत्पादन गर्दै आएको छ ।

