Harsamaya
माघ १८ : आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर देखि वर्षा गराउने प्रणाली फेरि सक्रिय भएको सम्म
ग्राफिक्स: हर समय/harsamaya

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएयता हालसम्म २३ वटा उजुरी दर्ता भएको जनाएको छ । तीमध्ये १२ वटा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिसकेको छ । आइतबार आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले स्पष्टीकरण सोधिएका उजुरीमध्ये १२ वटाको जवाफ आइसकेको जानकारी दिए ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा ठूलो मात्राको क्लिङ्कर हिनामिना भएको प्रकरणमा तत्कालीन महाप्रबन्धकसहित आठ जना उच्चपदस्थ कर्मचारीविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७४/७५ देखि २०७७ साल पुस मसान्तसम्म योजनाबद्ध रूपमा सार्वजनिक सम्पत्ति दुरुपयोग तथा क्लिङ्कर हिनामिना गरिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

वर्षा गराउने प्रणाली फेरि सक्रिय: फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो । आजदेखि नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको र उक्त प्रणाली सोमबार केही बढेर पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने तथा मङ्गलबार भने मध्य नेपालसम्म फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

सुनको मूल्यमा भारी गिरावट: नेपाली बजारमा आज (आईतबार) सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेर ३ लाख रुपैयाँ निर्धाण गरिएको छ । यसअघि गत बिहीबार सुनको मूल्य हाल सम्मकै सबैभन्दा उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

भारतसँगको खेल नखेल्ने पाकिस्तानको घोषणा: विश्वकप क्रिकेटमा पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेको छ । पाकिस्तानले आफ्नो क्रिकेट टोलीले टी–२० विश्वकपमा फेब्रुअरी १५ मा हुने खेल नखेल्ने घोषणा गरेको हो । आइसीसी टी–२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सुरु हुँदैछ । सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारतमा हुने टी–२० विश्वकप खेल खेल्न अस्वीकार गरेको थियो । त्यसपछि स्कटल्याण्डलाई प्रतियोगितामा समावेश गरिएको छ ।

पत्रकार दिनेश सिटौलाको निधन: पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ । ब्रेन ह्यामरेजबाट पीडित भएका उनको आइतबार निधन भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)को चुनावी अभियानका क्रममा उनको टोलीमा रहेर सिटौला अछाम पुगेका थिए । अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो ।

रास्वपाले एकल बहुमत ल्याउनेछ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ ललितपुरकी उम्मेदवार डा. तोषिमा कार्कीले आगामी निर्वाचनमा रास्वपाको सकरात्मक माहोल निर्माण भएको दाबी गरेकी छिन् ।उनले आम नेपाली जनता फागुन २१ को निर्वाचनको प्रतीक्षामा रहेको भन्दै घण्टी चुनाव चिह्नमा अत्यधिक मत प्राप्त हुने विश्वास व्यक्त गरिन् । कार्कीले समानुपातिकतर्फ पनि रास्वपाले उल्लेख्य मत ल्याउने दाबी गर्दै यसपटक पार्टीलाई एकल बहुमतको सरकार बनाएर काम गर्ने अवसर दिनुपर्ने बताइन् ।

अन्तर्राष्ट्रिय पर्यटक आगमन बढ्यो: सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार देखिएको छ । नेपाल भित्रिने अन्तर्राष्ट्रिय आगन्तुकको संख्या ९२ हजार ५७३ पुगेको छ, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीपूर्व सन् २०१९ को जनवरी महिनासँग तुलना गर्दा पनि यो संख्या १४ प्रतिशतले बढी रहेको पर्यटन बोर्डले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update