Harsamaya
माघ १५ : सुनको मूल्य तीन लाख ३९ हजार देखि निर्वाचनका लागि भारतले २२० गाडी दिएको सम्म
ग्राफिक्सः हर समय/harsamaya

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा. डा. संगीता सिंह भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन उपकुलपति भण्डारीसहित कायममुकायम रजिस्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा. सागर पन्थीसहित १९ जनाको मिलेमतोमा सात करोड ३१ लाख ८२ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित विशेष अदालदतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

सुनको मूल्यः आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल सात हजार ५०५ कायम भएको छ । बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको थियो । 

भारतले दियो २२० वटा गाडी: भारत सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सहयोगस्वरूप उपलब्ध गराएका सवारी साधन अर्थ मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।बिहीबार क्याबिन पिकअप भ्यानसहितका सवारी साधन अर्थ मन्त्रालयलाई बुझाइएको हो। भारत सरकारले नेपाललाई कुल ६५० वटा विभिन्न किसिमका सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। तीमध्ये यो दोस्रो चरणको हस्तान्तरण हो।

प्रहरीको रासन स्केल वृद्धि: बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । गृहमन्त्री एवम् सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले बैठकका निर्णयहरू सार्वजनिक गर्दै विभिन्न महत्वपूर्ण निर्णय गरिएको जानकारी दिए । प्रवक्ता अर्यालका अनुसार नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा आगामी ०८२ साल माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा जाने प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरिएको छ ।

नयाँ दलहरुमा केही खास समूदायको मात्र वर्चश्व छ: राजनीतिक विश्लेषक तुला नारायण शाहले नेपालमा पहिला संघर्ष गरेका,राजनीति बढी जानेका र दल निर्माणमा बढि सक्रिय भएका समूदाय आज दलहरुको वर्चश्वमा परेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित समावेशी प्रतिनिधित्व तथा सिमान्तकृत समुदायमुखी घोषणापत्र सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उदाउँदै गरेका नयाँ दलहरुमा पनि केही खास समुदायको वर्चश्व स्थापित भएको बताए ।

कांग्रेस प्रवेश गरेका वडाध्यक्ष गुप्ता जसपामै फर्किए: बुधबार मात्र नेपाली कांग्रेसका सभापति गगन थापाबाट टीका लगाएर कांग्रेस प्रवेश गरेका सर्लाहीको गोडैता नगरपालिका– ५ का वडाध्यक्ष प्रकाश प्रसाद गुप्ता आज पुनः आफ्नै पुरानो पार्टी जनता समाजवादी पार्टी (जसपा) मा फर्किएका छन् । जसपाबाट निर्वाचित वडाध्यक्ष गुप्ताले आज आफू कांग्रेस परित्याग गरी पुरानै पार्टीमा फर्किएको घोषणा गरेका हुन् । उनले आगामी निर्वाचनमा पनि जसपालाई नै सहयोग गर्ने स्पष्ट पारेका छन् ।

अव्यवहारिक जरिवाना मिनाहा गर्न माग: जनकपुरधाममा अटोमोवाइल्स विक्री वितरण गर्ने व्यवसायीहरुले सवारी साधन खरीद बिक्रीमा प्रदेश सरकारले अव्यवहारिक जरिवाना लिँदै आएको गुनासो गरेका छन् । बिहीबार मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै उद्योग वाणिज्य संघ जनकपुरधाम तथा जनकपुरधामका अटोमोबाइल्स सोरुमका सञ्चालकहरुले प्रदेश सरकारको अव्यवहारिक जरिवाना मिनाहा गर्न माग गरे ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update