मंगलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ । माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा दुई फिट बढी हिउँ परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
बाहिरियो वर्षा गराउने प्रणाली: मंगलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली अहिले साँझदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि भोलिदेखि मौसम खुल्ने बताए ।
साँगा चोकबाट दुई शिक्षक पक्राउ: बालिका बलात्कार गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई नियन्त्रणमा लिएको छ । बुधवार १२ वर्षीय बालिका बलात्कार गरेको आरोपमा चौतारा साँगाचोकगढी को - १२ जनजागृति माविमा कार्यरत दुई शिक्षकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख काजीकुमार आचार्यले जानकारी दिए । शिक्षक जितराज गिरी र सोही विद्यालयका प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको उनले बताए ।
टाइगर कप भलिबल: पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको फाइनलमा न्यू डायमण्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । महिलातर्फ न्यू डायमण्ड क्लबले आज थाइल्याण्ड क्विन्सलाई सोझो सेटमा पराजित गरेसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो ।
जिम्मेवारी लिन आएको हुँ : पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर–१ बाट उम्मेद्वारी दिएका छन् । स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका उनको चुनाव चिन्ह त्रिभुज हो । पुराना दल र नेताले गरेको नीतिगत र संरचनागत कमजोरीलाई सुधार गरेमा देशमै बसेर परिवर्तन सम्भव छ भन्ने विश्वास दिलाउन राजनीतिमा आएका बस्न्यातसँग हर समयले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
कांग्रेस सर्वोच्च जाने: सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभा पुन:स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन नेपाली कांग्रेसका निवर्तमान सांसदले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने भएका छन् । यसका लागि उनीहरू डेलिगेसन लिएर बिहीबार सर्वोच्च अदालत जाने भएको छ ।
सुनको मूल्यमा दिनकै नयाँ रेकर्ड: नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९ हजार ८०० रुपैयाँले बढेर तोलामा तीन लाख १९ हजार ८०० सय रुपैयाँ पुगेको हो । महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो ।

