प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले निर्वाचन केन्द्रित परिपत्र जारी गरेको छ। सोमबार जारी परिपत्रमार्फत कांग्रेसले पार्टीका सबै तहका निकायलाई उम्मेदवारको पक्षमा जनमत सिर्जना गरी उच्च मत ल्याउने र कुशलतापूर्वक रणनीतिक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
सात पूर्वमन्त्री चुनावी मैदानमा: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । चार निर्वाचन क्षेत्र रहेको महोत्तरी क्षेत्र नं–१ बाट एक, क्षेत्र नं–२ बाट एक, क्षेत्र नं–३ बाट दुई र क्षेत्र नं–४ बाट तीन पूर्वमन्त्री चुनावी मैदानमा होमिएका छन् । जिल्लाको क्षेत्र नं १ बाट पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरिराजमणि पोखरेल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट चुनाव लड्दै छन् । उनीसँगै यस क्षेत्रमा नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो र नेपाली कांग्रेसका मुकेश काफ्ले चुनावी मैदानमा छन् ।
चुनाव खर्च छुट्टै बैंक खाता खोलेर गर्नुपर्ने: नेपाल राष्ट्र बैंकले आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनको लागि बेग्लै खाता खोल्न उम्मेदवारहरुलाई सहजीकरण गरिदिएको छ । राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिदै प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फका उम्मेदवारले निर्वाचन अवधिभरको लागि बैंक खाता संचालन गर्न पाउने व्यवस्था मिलाउन भनेको हो ।
सुनको मूल्यमा नयाँ कीर्तिमान: सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामै ५२ सयले बढेको हो । ५२ सय बढेपछि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन तीन लाख तीन हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
भ्रष्टाचार मुद्दा दायर: दाङको राजपुर गाउँपालिका-४ का वडाध्यक्ष र सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार वडाध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिर, तत्कालीन कार्यालय सहायक मीना चौधरी, स्थानीय पञ्जिकाधिकारी वडासचिव राजेश कुमार कहार, इलाका प्रशासन कार्यालय लमही, दाङका तत्कालीन कार्यालय प्रमुख प्रेम बहादुर खवास तथा भारतीय नागरिक आएसा जोल्हा र आलम जोल्हाविरुद्ध मुद्दा दायर गरेको हो ।
मतपत्र छपाइ सम्पन्न: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइकार्य सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए। केन्द्रले आजैबाट प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य सुरु गर्ने उनले जानकारी दिए।
नेपाल स्कटल्यान्डसँग पराजित: आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । र्कीतिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै प्रतियोगिताबाट बहिरिएको हो ।
बालेनको भव्य स्वागत: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह नेपालगन्ज पुगेका छन् । सोमबार नेपालगन्ज पुगेका बालेनलाई त्यहाँका जनताले भव्य रुपमा स्वागत गरेका थिए भने ठूलो संख्यामा रहेका कार्यकर्ताले बालेनलाई हुटिङ गरेर स्वागत गरेका थिए ।
घोषणापत्र सार्वजनिक: जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो आदर्श, दृष्टिकोण, राष्ट्रिय मुद्दा तथा मुख्य माग–प्रतिबद्धता सहितको विस्तृत घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले स्वतन्त्रता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई आफ्नो मूल आदर्शका रूपमा अघि सारेको छ ।

