Harsamaya
श्री स्वस्थानी व्रत कथा अध्याय - २५
श्री स्वस्थानी व्रत कथा । ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - श्री स्वस्थानी व्रत सुरु भएको आज २५औँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । 

श्रीस्वस्थानी व्रतकथाको पञ्चविंशौँ अध्यायमा चन्द्रावतीले श्रीस्वस्थानी परमेश्वरीको निन्दा गर्दा भोग्नुपरेको कठोर दण्ड वर्णन गरिएको छ। वनमा डोलेहरूले स्वस्थानी व्रत गर्दा ढिलाइ भएको भन्दै चन्द्रावती क्रोधित भई प्रसाद अपमान गर्छिन् । यसै कारण प्राकृतिक विपत्ति उत्पन्न भई हुरी–बतासका बीच चन्द्रावती शालीनदीमा खस्छिन् भने डोलेहरू व्रतको प्रभावले दिव्य देह प्राप्त गरी कैलास पुग्छन् ।

चन्द्रावती नदीमा खसेको दिनदेखि शालीनदी स्थिर भएपछि यो खबर नवराजसम्म पुग्छ । जाल हालेर खोज्दा कुष्टरोगले ग्रस्त चन्द्रावती भेटिए पनि नचिनेर नदीकिनारमै छोडिन्छ । नवराजले अर्घ्य दिएपछि नदी पुनः बग्न थाल्छ तर चन्द्रावती शीत, ताप, भोक र प्यासजस्ता असह्य दुःख भोग्दै जीवन बिताउन बाध्य हुन्छिन् ।

पछि ब्राह्मण भोजनका लागि जाँदै गरेका कपिल ब्राह्मणसँग चन्द्रावतीले सहायता माग्छिन् । गोमा राजमाताको करुणाले अन्ततः राजभण्डारबाट अन्न दिने प्रयास हुँदा भण्डार रित्तिन्छ र राजमाताको आफ्नै भात दान गरिन्छ । ब्राह्मणहरू प्रस्थान गरेलगत्तै भण्डार पुनः भरिनु चमत्कारका रूपमा प्रस्तुत गरिएको छ । कथाले देवताको निन्दाको दुष्परिणाम र श्रद्धा–करुणाको महिमा उजागर गर्छ ।

यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रतकथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं । आज २५औँ दिन पञ्चविंशौँ अध्याय यहाँहरूसमक्ष प्रस्तुत छ । 

अथ पञ्चविंशोऽध्यायः

कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! त्यसपछि डोलेहरूले भने-हे महारानी ! त्यहाँ स्वर्गका अप्सराहरूलाई श्रीस्वस्थानी परमेश्वरीको वत गर्न लागेका देखेर उनैका संसर्गमा हामी पनि पूजा गर्न लाग्दा केही विलम्ब भयो, क्षमा गर्नु- ३ होला । हजुरलाई पनि स्वस्थानी परमेश्वरीको प्रसाद ल्याइदिएका छौँ, लिनुहवस् । तिनका यस्ता कुरा सुनी चन्द्रावती क्रोधित भई राता- राता आँखा पारेर दाह्रा किटी नागले झैँ निःश्वास फेरी सुस्केरा हाली मत्ता हात्ती रिसाए झैँ ठूलो स्वरले गर्जेर- 'हे पापिष्ठ डोलेहरू हो ! मलाई यस्तो जंगलमा एक्लै छाडी व्रत गर्न लाग्यौ । के सेवकको धर्म यही हो ? त्यस व्रतले तिमीहरूलाई खान दिन्छ कि ? मैले त स्वस्थानी भनेको नाम पनि सुनेकी छैन । कहाँकी देवी हो त्यो ? के नाप्न सक्तछे त्यसले ? तिमीहरूले मलाई हेलाँ गरेर नटेरेको हो । वनमा भयौ र पों, नत्र तिमीहरूलाई म अवश्य मार्ने थिएँ ! म कहिले पुगेँ भनेर हत्पताई आएकी मलाई तिमीहरूले विलम्ब गरिदियौ । अपराधीमा पनि ठूलो अपराधी तिमीहरू जस्ता व्यक्तिलाई नै भन्दछन् ।' यति भन्दै वानर उफ्रे-झैँ उफ्री डोलेका हातबाट श्रीस्वस्थानी परमेश्वरीको प्रसाद खोसेर थुः थुः गरी थुकी खुट्टाले कुल्चेर फालिदिइन् । फेरि पनि यसै गरौला कि ? चाँडै लैजाओ भनिन् । तब बिचरा डोलेहरू डराई, केही बोल्न नसकी आँसुका धारा बगाउँदै मनले श्रीस्वस्थानी परमेश्वरीलाई सम्झी चुपचाप डोली बोकेर हिँडे। लावण्यदेशको नगीचै 'शाली' नामकी नदी थिइन् । त्यहाँ पुगेर आधा नदी तरेपछि श्रीस्वस्थानी परमेश्वरीको निन्दा गरेकी हुनाले अकस्मात् चाँदनी टाँगे झैं मेघ उठेर मूसलधारे पानी पर्यो । अनि ठूलो हुरी आयो र पुल भाँचियो । हुरीको वेगले चन्द्रावती शालीनदीमा डोलीबाट खसिन् । डोलेहरू श्रीस्वस्थानी परमेश्वरीको व्रतको प्रभावले पक्षीरूप भई कैलासमा गएर अनन्दले रहे ।

"हे अगस्त्य मुनि ! त्यसपछि चन्द्रावती ब्राह्मणी महापातकी भएर जलभित्र पडिरहिन् । जुन दिन चन्द्रावती शालीनदीमा खसिथिन्, त्यसै दिनदेखि शालीनदी बगिनन्, स्थिर भइरहिन् । माझीहरूले देखेर-यो के आश्चर्य भयो, यस नदीमा ग्राह बस्यो कि वा कहीँ कुनै यज्ञमा उत्पात हुन लाग्यो र यस्तो भयो । यो कुरो राजालाई सुनाऊँ भनी नवराज राजाकहाँ गई बिन्ती गरे- 'हे महाराज ! शालीनदी बगिरहेकी छैनन्, स्थिर भएकी छन् । यस्तो भएको हामीले आजसम्म सुनेका पनि थिएनौँ, तर आज प्रत्यक्ष देखियो, आश्चर्य भयो । विचार गरिबक्सियोस् ।' माझीहरूको यस्ता कुरा सुनी नवराज राजाले मन्त्रीलाई डाकी सारा कुरा बताई प्रजाहरू समेत भई शालीनदीमा गएर माझीहरूलाई जल-भित्र केही छ कि जाल हालेर हेर भनी अह्राए । माझीले जाल हालेर हेर्दा चन्द्रावती जालमा अल्झेर पानीको बाहिर आइन्, तर ती कस्ती भएकी थिइन् भने शरीरमा कुष्टी भएर हात-पाउ झरेकी, चेत हराएकी, हिलोले छोपिई मूढो जस्तै भइरहेकी हुनाले यो के वस्तु हो भन्ने ठम्याउन नसकेर नदीको किनारमा मिल्काए र हे महाराज ! हामीले केही पनि पाउन सकेनौं भनी बिन्ती गरे । अनि नवराजले- 'हे गण्डकी गंगे ! तिमी किन स्थिर भइरहेकी छौ ? मैले बुझ्न सकिनँ । मदेखि प्रसन्न हौ' भनेर नवरत्न पारो-सहित गाईको दूधले अर्घ्य दिए । राजाले अर्घ्य दिनासाथ शालीनदी बगिन् । त्यो देखेर आश्चर्य मान्दै प्रजा-सहित नवराज राजा दर्वार फर्के । 

त्यसपछि चन्द्रावती ब्राह्मणी कस्ती भइरहिन् भने- क्षणमा मूर्च्छा, क्षणमा चेष्टा, क्षण-क्षणमा भोक प्यास आदिका अनेक कष्ट पाई मूढो झैँ शालीनदीको तटमा रहिन् । एकदिन साह्रै भोक लाग्यो र खाने वस्तु केही नपाउँदा माटो खान्छु भनेर हातमा लिइन्, त त्यो माटो ढुंगा भयो, ढुंगा पनि खान खोज्दा हाड़ भयो, हाड पनि खान खोज्दा खरानी भयो र खरानी पनि खान खोज्दा ठूलो हुरी आएर उडाई लग्यो । श्रीस्वस्थानी परमेश्वरीको निन्दा गरेकी हुनाले शीत, ताप, भोक, प्यासबाट हुने अनेक दुःख खपिरहिन् ।

त्यसपछि अग्निपुरका कपिल नामका दुई भाइ ब्राह्मणहरू नवराज राजाको एकवर्षे निमन्त्रणमा जान भनी त्यतैबाट आए । तिनलाई देखेर चन्द्रावतीले तिमीहरू को हौ ? कहाँ जान लागेका ? भनेर सोधिन् । तिनले भने-हामी कपिल नामका ब्राह्मण हैं । लावण्यदेशका नवराज राजाको ब्राह्मण- भोजनको निमन्त्रणमा जान लागेका हौँ । चन्द्रवतीले भनिन् - हे ब्राह्मण हो ! मैले कति दिनदेखि केही पनि खान पाएकी छैनँ । तिमीहरू भोजनमा जाने भए मलाई पनि केही माँगेर ल्याइदिए पुण्य होला । म असहाय अनाथ-माथि दया गर । तब ती ब्राह्मणहरूले भने- हे पापिनी ! अहिले हामी यसै 'हुन्छ' भन्न सक्तैनौँ, किनभने राजाको महलमा के कसो हुन्छ भन्न सकिन्न । फेरि हामी ब्राह्मणले ल्याउन हुने वस्तु दिए त ल्याऔँला, ल्याउन नहुने वस्तु दिए भने कसो गर्ने । अतः तँ आशा गरेर भरोसामा नबसेस् । यति भनेर ती दुवै भाइ लावण्य-देश गए । नवराज राजाले डाकेका सबै ब्राह्मणलाई यथेच्छ भोजन गराई दक्षिणा दिए । सबै जना राजालाई आशीर्वाद दिई प्रसन्न मनले आफाफ्ना घर गए । ती अग्निपुरका कपिल ब्राह्मण अघिका कुरा सम्झेर यसै जाऊँ भने त्यो पापिनी आशा गरिरहेकी  होली ! माँगाँ भने कसरी माँगाँ ? 'लोभी' भन्दछन् कि भनेर केही भन्न नसकी भोजन गरेको स्थानमा कहिले जाने कहिले आउने गर्न लागे । तिनको त्यस्तो चाला गोमा राजमाताले झ्यालबाट देखेर भण्डारेलाई भनिन् - हे भण्डारे हो ! ती दुवै ब्राह्मणले खान पाएनन् कि सन्तुष्ट भएनन् र हो कि, किन घुम्दै छन् ? सोध । अनि भण्डारेले तिनको नगीच गएर सोधे- हे ब्राह्मण हो ! तिमीहरूले खान पाएनौ कि तृप्त भएनौ ? इच्छा भए फेरि भोजन गर । अनि ब्राह्मण भन्दछन् - हे भण्डारे हो ! हामीले इच्छापूर्वक भोजन गयौँ, सन्तुष्ट पनि भयौँ, तर हामी आउँदा शालीनदीका तटमा कुष्टरोग भई हात-पाउ खसेकी कोही स्त्रीले देखी र कहाँ जान्छौ ? भनी सोधी । हामीले राजाको ब्राह्मण- भोजनमा जान्छौं भन्दा तिमीहरू भोजनमा जाने भए मलाई पनि केही माँगेर ल्याइदिए ! कति दिनदेखि खाएकी छैनँ भनेकी थिई । अतः अब यसै जाऔँ भने त्यो पापिनी आशा गरिरहेकी होली, केही लगिदिऔं भने कसरी मागाँ भन्ने संकोचले यता-उता हिँडेका हौँ । त्यो कुरा भण्डारेहरूले राजमातालाई सुनाए । अनि उनले ती दुई जनाले बोक्न सके-जति अन्न दिनू भनिन् र भण्डारेहरू भण्डारमा राखेको वस्तु लिन जाँदा राजाको सम्पूर्ण भण्डार नै सुक्यो । दिने-जस्तो वस्तु केही पनि नपाई राजमातालाई बिन्ती गरे- २ राखेको स्थानमा कुनै वस्तु पनि छैन, के दिने ? त्यति सुनी गोमा आफैँ गएर भण्डारमा हेरिन् र दिने वस्तु केही पनि नदेखी आफूलाई भनेर पकाइराखेको भात 'यही देओ' भनिन् । भण्डारेहरूले त्यो भात लिएर गई ब्राह्मणलाई भन्दछन् - 'हे ब्राह्मण हो ! त्यसको नाम लिनासाथ राजाको सम्पूर्ण भण्डार नै सुक्यो । यो राजमातालाई पकाइराखेको भात छ, यही लगिदेओ' भनी जिम्मा लगाइदिए । ब्राह्मणहरू लाज मान्दै त्यो भात लिएर दरबारबाट निस्के । तिनीहरू जानासाथ राजाको भण्डार पहिलेको जस्तै भयो । जहाँ जहाँ जुन-जुन वस्तु राखेको थियो, त्यहीँ-त्यहीँ देखियो भनी हे भक्त श्रोता हो ! कुमारले अगस्त्य मुनिलाई सुनाउँदा भए । 

।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्याव्रतकथायां नवराजब्राह्मणभोजनं नाम पञ्चविंशोऽध्यायः ।। २५।। 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  ०६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update