Harsamaya
श्री स्वस्थानी व्रत कथा अध्याय - २४
श्री स्वस्थानी व्रत कथा । ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - श्री स्वस्थानी व्रत सुरु भएको आज २४औँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । 

श्रीस्वस्थानी व्रतकथाको चतुर्विंशौँ अध्यायमा नवराजको राजारोहण, राज्याभिषेक र धर्मकार्यको विस्तार वर्णन गरिएको छ । हरि–हरको कृपाले हात्तीमार्फत नवराज लावण्यदेशका राजा घोषित हुन्छन् र राजकुमारी लावण्यवतीसँग विवाह गरी राज्याभिषेक सम्पन्न हुन्छ । आमाको आज्ञा बिना अभिषेक नलिने नवराजले गोमा मातालाई दरबार ल्याई सम्मानपूर्वक अभिषेक गराउँछन् ।

राज्य प्राप्तिपछि नवराज र गोमाले श्रीस्वस्थानी परमेश्वरीको कृपाप्रति कृतज्ञता व्यक्त गर्दै ब्राह्मण भोज, दान–धर्म र निमन्त्रणाको आयोजना गर्छन् । यस क्रममा नवराजकी पत्नी चन्द्रावतीलाई पनि दरबार ल्याउने व्यवस्था हुन्छ । यात्राका क्रममा अप्सराहरूबाट श्रीस्वस्थानी व्रतको महिमा सुनिन्छ, जसले व्रत, कथा र भक्तिको महत्व उजागर गर्छ । कथा धर्म, श्रद्धा र मातृआशीर्वादले जीवन परिवर्तन गर्ने सन्देशसहित समाप्त हुन्छ ।

यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रतकथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं । आज २४औँ दिन चतुर्विंशौँ अध्याय यहाँहरूसमक्ष प्रस्तुत छ । 

अथ चतुर्विंशोऽध्यायः

कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्य मुनि ! त्यसपछि लावण्यदेशमा मन्त्रीहरूले हात्तीलाई सुनको कलश र फूलको माला दिई राजा रोज्न लगाइराखेका थिए । लोकहरू अनेक वस्त्र अलंकार पहिरी राजा होइजान्छु कि भनी हात्तीको नगीच गएर अघि-पछि हिँड्न लागे । नवराज पनि उहाँ पुगेर यौटा पाटीमा बसी हेरिरहे । हात्तीमा हरि-हर प्रवेश गरी नवराज ब्राह्मणका नगीच गई उनको गलामा माला पहिराई सुवर्णको कलशले अभिषेक गरिदियो । त्यो देखेर प्रजाहरू भन्न लागे-'हे लोक हो ! यो हात्ती बहुलायो, के यस देशमा कुनै क्षत्रिय छैनन् र ब्राह्मणलाई अभिषेक गयो ? कसैले प्रतिवाद गरे'यो हात्ती बहुलाएको होइन, तिमीहरू नै पागल भयौ । मुखले नबोले पनि हात्ती देवता हो । ब्राह्मण, क्षत्रिय, वैश्य, भए पनि उसको तपस्या र भाग्यले राजा शूद्र जो भयो । बिना-नारायणको अंशले राजा हुन पाइन्न, 'चुप लाग' भनी सम्झाए । उता हरि-हर प्रवेश भइरहेको हात्तीले नवराजलाई सूँढले उचाली कुम्भस्थलमा राखेर दरबारमा लग्यो । गुरु- पुरोहितले अनेक वस्त्र अलंकार पहिराई सम्पूर्ण सामग्री तयार पारी पूर्ण घट, अष्ट मंगल गरी सुदिन ठहराई त्यसै शहरकी राजाकी कन्या लावण्यवती नाम भएकीलाई विधिपूर्वक नवराजलाई कन्यादान गरी राजा तुल्याए । अनि गुरु पुरोहितले भने- 'हे महाराज ! राज्याभिषेक भएको छैन, सामग्री तयार छ, सुदिन ठहराई अभिषेक लिनुहवस् ।' तिनको यस्ता कुरा सुनी नवराज भन्दछन् - 'हे गुरु पुरोहित हो ! मेरी महतारीले नदिई पहिले अरूको अभिषेक कसरी लिऊँ ? चन्द्रज्योति नगरको बाहिर यौटा खरको घर छ । त्यहाँ गोमा नामकी ब्राह्मणी छन् । ती मेरी महतारी हुन् । तिनीलाई चाँडै लिन पठाओ ।' यति नवराजले भनेपछि मन्त्रीले 'मै जान्छु' भनी वस्त्रालंकार, पालकी र केही सेना समेत लिई चन्द्रज्योति नगरमा गए र त्यहाँ गोमालाई भेटी प्रणाम गरेर भने- 'हे राजमाता ! हजुरका छोरा लावण्यदेशका राजा हुनुभयो, म मन्त्री हुँ । हजुरलाई लिन पठाउनुभयो र म आएँ । यो वस्त्रालंकार, पालकी पनि ल्याएको छु, यो पहिरी चाँडै सवारी हवस् ।' मन्त्रीले यति भनेको सुनी गोमाले मनमा आनन्द मानी वस्त्रालंकार पहिरी पालकीमा बसेर लावण्यदेश हिँडिन् । चन्द्रज्योति नगरका नारीहरूले थाहा पाई हेर्न भनेर दौडेर निस्कदा कसैका कपालको केश फुकेको, कसैका छोरा-छोरी रोएको, कसैले पाक्न लागेको र खान बसेको भात पनि छाडेर हत्पताउँदै निस्के । पालकीमा बसेर फौजसमेत भई जान लागेकी गोमालाई देखेर ती भन्दछन् - 'हेर, स्त्री जाति भएर पनि गोमा अर्काको ढिकी जाँतो गरी, धागो कातेर बाँचिरहेकी हुनाले आज राजमाता भएर पालकीमा बसेर गइन्' भनी परस्पर कुरा गर्थे । गोमा राजमाता त्यहाँबाट गएर लावण्यदेशको नगीच पुगिन् र नवराजले थाहा पाएर हात्ती, घोडा, रथ, सेना लगेर गीत-वाद्य गर्दै दरबारमा  लगेर साष्टांग प्रणाम गरी 'हे माता ! हजुरको तपस्या र हरि-हरको कृपाले म लावण्यदेशको राजा भएँ । अब राज्याभिषेक दिनुहवस्' भने । यति नवराजले भनेपछि सुदिन ठहराई सुनको सिंहासनमा बसालेर नवराज राजा र लावण्यवती रानीलाई विधिपूर्वक राज्याभिषेक दिइन् । राज्याभिषेक भइसकेपछि गुरु पुरोहित र ब्राह्मणहरूलाई भोजन गराई दक्षिणा दिई बिदा गरे । अनि हात्ती, घोड़ा, रथ, पैदल सेना तयार पारी गीत-वाद्य गर्दै दर्बार जाँदा भए । 

फेरि कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! त्यसपछि एकदिन नवराजले आफ्नी माता गोमासित भने- 'हे माता ! श्रीस्वस्थानी परमेश्वरीका कृपाले हामी आजको यो स्थितिमा प्राप्त भयौँ । अब हाम्रो राज्यमा भए-जति समस्त ब्राह्मणहरू डाकेर भोजन दक्षिणा दिऔं । यस जन्ममा दान- धर्म गर्न सके अर्को जन्ममा प्राप्त हुनेछ ।' यति नवराजले भनेको सुनी- 'हे पुत्र ! यो असल कुरा भन्यौ । धर्मकार्यमा तिम्रो मन सदैव लागिरहोस् ।' यति भनी मन्त्रीलाई अहाई सामग्री तयार पार्न लगाई ब्राह्मणहरूलाई महीना मिति तोकी एकवर्षे निमन्त्रणा पठाउँदा चन्द्रज्योति नगरका तेरा मित्रहरूलाई पनि निम्ता पठाउनू र तेरी पत्नी चन्द्रावतीलाई पनि लिन पठाउनू ।' यति गोमाले भनेको सुनी नवराजले तत्काल मन्त्रीलाई डाकी भने-'हे मन्त्री ! हाम्रो राज्यमा भए-जति समस्त ब्राह्मणलाई भोजन गराउँछु, सामग्री तयार पार्न लगाऊ र निमन्त्रणा पनि पठाऊ । चन्द्रज्योति नगरमा मेरा साथीहरू छन्, उनलाई पनि डाक्न पठाऊ । फेरि वरुणपुरका अग्निस्वामीकी पुत्री चन्द्रावती मेरी पत्नी हो, उसलाई पनि लिन पठाऊ । मेरा सासू ससुरालाई पनि तिम्रा ज्वाइँ राजा भए, आजको महीना दिनभित्रैमा आइपुग्नू भनेर डाक्न पठाऊ ।' राजाको आज्ञानुसार मन्त्रीले लावण्यदेशका समस्त ब्राह्मणहरूलाई आज्ञा अनुसार निम्ता पठाउन लगाए । सामग्री पनि तत्काल तयार पार्न लगाए । चन्द्रज्योति नगरमा नवराजका साथीहरूलाई डाक्न पठाए । चन्द्रावतीलाई लिन डोलेहरू डाकी सबै कुरा बुझाई तत्काल पठाए । वरुणपुर पुगेर डोलेहरू 'अग्निस्वामीको घर कुन हो ?' भनी सोधे र कसैले 'ऊः त्यही हो' भनी देखाइदिए । तब घरको आँगनमा गएर बोलाए, अनि चन्द्रावतीले सुनेर झ्यालबाट हेरी - 'को हौ ? कहाँबाट आएका ?' भनी सोधिन् । अनि डोलेहरूले भने- 'हामी नवराज राजाले पठाएर लावण्य-देशबाट आएका हाँ।' चन्द्रावतीले फेरि सोधिन् - 'हे डोले हो ! नवराज राजा भनी आश्चर्यको कुरा भन्यौ । नवराज कसरी राजा भए, त्यो सबै वृत्तान्त सुनाऊ ।' अनि डोलेहरूले फेरि भने- 'लावण्यदेशमा राजा नहुनाले हात्तीलाई राजा रोज्न लगाएको थियो, नवराजलाई देखेर हत्तीले सुनको कलशले अभिषेक गरी राजा तुल्यायो । चन्द्रावती रानी कहाँ छिन् ? खबर गरिदेऊ, चाँडै नगए राजा रिसाउनेछन् ।' यति डोलेहरूको कुरा सुनी मनमा आनन्द मान्दै 'चन्द्रावती नामकी उनकी पत्नी म नै हुँ' भनिन् । तब डोलेहरूले प्रणाम गरेर भने- 'हे महारानी ! चाँडै जाऊँ, ढीलो नगर्नुहवस्, हजुरका माता-पितालाई पनि आजको महीना दिनभित्रैमा आइपुग्ने गरी निम्ता पठाएको छ । हामीले चिह्नेका छैनौँ, हजुरले नै भनिदिनुपर्यो ।' यति सुन्नासाथ माथि गएर 'आफ्ना माता-पितालाई नवराज राजा भएको र आफूलाई लिन आएको सबै कुरा सुनाइन् । फेरि हजुरहरूलाई पनि आजको महीना दिनभित्रै आइपुग्नू भनी निम्ता पठाएको रहेछ । अब आज्ञा दिए म छिटै जाने थिएँ' भनिन् । यति छोरीको कुरा सुनी अग्निस्वामी प्रसन्न भएर धन्य मेरा ज्वाइँ नवराज, मेरी पुत्री पनि धन्य रहिछ, अब रानी भई भनेर नाना वस्त्र अलंकार पहिराई- 'हे पुत्री ! तँले जन्म लिएको सफल भयो । अब विलम्ब नगरेर छिटै जा' भनी बिदा दिए । तब माता-पितालाई प्रणाम गरी आफ्ना साथी सँगिनी र छिमेकीहरूसित पनि बिदा भई लावण्यदेश जान भनेर हिँडिन्, अनि लोकहरू परस्पर कुरा गर्न लागे-'हेर, चन्द्रावतीले सासूलाई छाडेर माइत बसेकी थिई, यस्ती अपराधिनी पनि आज रानी भई' भनी चर्चा गर्न लागे । 

चन्द्रावती त्यहाँबाट गएर यौटा ठूलो वनमा पुगिन् । कस्तो वन भने-मृग आदि पशुहरू स्त्री- पुरुष भई शीतल स्थानमा विश्राम गरिरहेका, कहीँ राजहंसादि पक्षीहरू सरोवरमा खेलिरहेका; गुराँस, पलाश आदि वृक्षका पुष्पले शोभायमान एवं मधुकर, भ्रमर, कोकिल, मयूर आदिका शब्दले गुञ्जायमान यस्तो वनमा पुग्दा परैबाट कोही अप्सराहरूले श्रीस्वस्थानी परमेश्वरीको व्रत गरिरहेका देखेर डोलेहरूले- 'हे महारानी ! हामीलाई भोक लाग्यो । त्यहाँ पर केही पाए खाएर आउँछौँ । हजुर एकछिन यहीँ विश्राम गर्नुहोस्' भनेर पर्धानीले डोली अड्याई चन्द्रावतीलाई त्यहीँ छाडेर 'त्यो पर के रहेछ' भनी हेर्न गए र अप्सराहरूका नगीच पुगेर 'तिमीहरू को हौ ? कहाँबाट आयौ ? कुन देवताको पूजन गरेको ?' भनी सोधे । यति डोलेहरूले सोधेपछि अप्सराहरू भन्दछन्- 'हे मनुष्य हो ! यी श्रीस्वस्थानी परमेश्वरी हुन् । यिनैको पूजा गरेका हौँ । हामी स्वर्गका अप्सरा हौँ' भने । तिनका त्यस्ता कुरा सुनेर- 'यो व्रत हामीहरूले पनि गर्न हुन्छ कि ?' भनी सोधे त अप्सराहरूले 'हुन्छ' भनेपछि भारवाहकहरूले मनमा हर्ष मानी- 'हामीसित सामग्री केही पनि छैन, हजुरहरूको संसर्गमा पूजा गराउनुहवस्' भने । तब अप्सराहरूले आफ्ना संसर्गमा पूजा गराए । अर्काको भारी बोकेर सकेर ज्याला पाएको द्रव्य भेटी चढाए । पूजा सकेर प्रसाद झिकेर अप्सराहरूले डोलेहरूलाई भने- 'हे मनुष्य हो ! जसले श्रीस्वस्थानी परमेश्वरीको व्रत गर्ला, कथा सुन्ला वा उनको महिमाको पुस्तक घरमा राख्ला त्यसका समस्त पाप र दुःख- दरिद्रता, शोक नाश भएर जाला र देह त्यागेपछि दिव्य देह पाई कैलाशमा बस्न जाला । बाटो लागेका तिमीहरूले अत्यन्त श्रद्धा-भक्तिसाथ व्रत गयौ, धन्य रहेछौ' भनी अप्सराहरू स्वर्ग गएपछि डोलेहरू फर्केर आई चन्द्रावती महारानी भएको स्थानमा हाजिर हुँदा भए ।

।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां नवराज ब्राह्मण निमन्त्रणानाम चतुर्विंशोऽध्यायः ।। २४।। 

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  ०५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update