काठमाडाैं - श्री स्वस्थानी व्रत सुरु भएको आज २२औँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
श्रीस्वस्थानी व्रतकथाको द्वाविंशौँ अध्यायमा गोमा ब्राह्मणीको चरम दुःख, धैर्य र व्रतमार्फत उद्धारको कथा वर्णन गरिएको छ । शिवशर्माको निधनपछि छोरा नवराजले पितृकार्य सम्पन्न गरी जीविकोपार्जनका लागि राजसेवामा लाग्छन्, बुहारी चन्द्रावती माइत जान्छिन् र गोमा एक्लै गहिरो कष्टमा पर्छिन् ।
गोमाको पीडा देखेर पार्वतीको आज्ञामा सप्तऋषिहरू मर्त्यलोक आई गोमालाई श्रीस्वस्थानी परमेश्वरीको व्रत विधि उपदेश दिन्छन् । व्रतले सबै दुःख नाश भई कल्याण प्राप्त हुने आश्वासन दिइन्छ । कथा धैर्य, श्रद्धा र व्रतको प्रभावले जीवन रूपान्तरण हुने सन्देश दिन्छ ।
यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रतकथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं । आज २२औँ दिन द्वाविंशौँ अध्याय यहाँहरूसमक्ष प्रस्तुत छ ।
अथ द्वाविंशोऽध्यायः
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि । शिवशर्मा ब्राह्मण र गोमा ब्राह्मणी त्यहाँबाट हिडेपछि शिवभट्ट र सतीले आँखाले देखिएसम्म हेरे। देखिन छाडेपछि वृक्षमा चढेर हेरे । जब वृक्षबाट पनि देखिन छाड्यो, त्यही वृक्षको हाँगामा बसेर अनेक विलाप गर्न लागे । दैव संयोग त्यसै बखत रूखको हाँगो भाँचियो र दुवै स्त्री-पुरुष वृक्षबाट लडेर मरे । तब श्रीमहादेवका दूत आई विमानमा बसालेर कैलासपुरी लगे । तब ती दुवै दम्पती दिव्य देह भई कैलासपुरीमा शिवका पार्षद भएर रहँदा भए ।
यता शिवशर्मा र गोमा ब्राह्मणीले डोलेहरू- सित यस वनको नाम के हो ? त्यो पर्वतको नाम के हो ? त्यस वृक्षको नाम के हो ? भनेर सोध्दै गए । डोलेहरूले पनि यस वनको नाम यो हो, यस वृक्षको नाम यो हो भनेर बताउँदै गए । जाँदा-जाँदा निकै पर पुगेपछि यौटा सुन्दर वन र तलाउ भएको स्थानमा पुग्दा साँझ पर्यो । त्यही वास बसेर खान पिन गरी सुते । थाकेका हनाले भुसुक्क निदाए । त्यही बेला श्रीमहादेवको श्रापले चोरहरू आई गोमा ब्राह्मणीका माता-पिताले दिएको सम्पत्ति र शरीरको गहना- समेत सबै चोरेर लगेछन् । भोलिपल्ट बिहान उठेर हेर्दा सम्पूर्ण द्रव्य र शरीरको गहना-समेत चोरिएको देखेर अधैर्य भई गोमा रुन कराउन लागिन् । तब डोलेहरूले भने-हे गोमा ! नरोऊ, थाकेका हुनाले हामीलाई पनि साह्रै निद्रा परेछ, यस्तो नजाती भयो, हामी अभागी रहेछौँ । अब तिम्रा माता-पितालाई के भनौँला ! अब तिमीले जसो भन्दछ्यौ । डोलेहरूले यति भनेको सुनी गोमा भन्दछिन्- हे भारवाहक हो ! अब तिमीहरू यहीँबाट फर्क ।
तिमीहरूलाई लगेर म के खान दिउँली ? यो समाचार मेरा माता- पितालाई सुनाइदिनू । यति गोमाले भनेको सुनी डोलेहरू 'हुन्छ' भनेर गोमालाई प्रणाम गरी आफाफ्ना घर जान भनी फर्केपछि शिवशर्मा ब्राह्मण र गोमा ब्राह्मणी पनि वनमा जो पाइएको फल-फूल खाई त्यहाँबाट ठूलो पर्वतमाथि पुगे । अनि गोमा भन्दछिन् - हे स्वामी ! मलाई अत्यन्त भोक लाग्यो । अब हिड्न पनि नसक्ने भएँ । के गरूँ भनी बाटोमै अलपत्र परिन् । गोमा ब्राह्मणी गर्भिणी थिइन् । अतः शिवशर्मालाई साह्रै दया लाग्यो र गोमालाई काखमा राखी स्नेहपूर्वक भने- हे स्त्री ! यहाँ फल-फूल केही पनि पाइन्न । यहाँ जलाशय पनि छैन । यस्तो स्थानमा म तिमीलाई के खान दिऊँ । यहाँबाट अलि पर गए फल-फूल पनि पाइन्छ र जलाशय पनि छ । जाउँ हिँड भनी बुझाई हात समातेर सुस्त- सुस्त हिँडाई लगे । गोमा पनि- 'हे प्रभो ! आज मेरो यो अवस्था भयो' भन्दै सुस्केरा हाल्दै बिस्तार- बिस्तार गइन् । पर्वतको फेदीमा पुगेपछि शिवशर्मा ब्राह्मणले फल-फूल टिपेर खान दिए र पानी पनि पिउन दिए । अनि - 'हे स्त्री ! अब हाम्रो घर पनि आइपुग्यो' भन्दै चन्द्रज्योति नगरको बाहिर पुऱ्याए, अनि त्यहीँ यौटा खरको झुपडी उत्पन्न गरी- 'हे स्त्री ! हाम्रो घर यही हो' भनी देखाए र गोमा ब्राह्मणी घर-भित्र गएर हेर्दा माकुराको जालो र कसिङ्गर मात्र देखेर आफ्ना माता- पिताको घर सम्झी बहुतै अधैर्य भई रुन लागिन् ।
फेरि मेरो कर्मले यस्तै पारिल्यायो, अब रोएर क्यै लाभ छैन भनी धैर्य धारण गरेर कुचोले माकुराको जालो मिल्काई कसिङ्गर बढ़ारिन् । घरमा जे भएको खाई गोमा ब्राह्मणी दुःखको समुद्रमा डुबिरहिन् । त्यसपछि एकदिन शिवशर्मा ब्राह्मणले आफ्नी पत्नी गोमासित भने हे स्त्री ! तँ गर्भिणी भइस् । हाम्रो घरमा सम्पत्ति छैन । गर्भाधान कर्म कसरी गर्ने ? फेरि सुत्केरीमा के खर्च गरौंला ? यस निम्ति म परदेश गएर कसैसित केही माँगी ल्याउँछु । तैंले आफ्नू शरीर र घरको रक्षा गरेस् । केवल रोई कराई मात्र नरहेस् भने । आफ्ना स्वामीको त्यस्तो वचन सुनी गोमाले भनिन् - हे स्वामी ! मलाई यस्तो अवस्थामा एक्लै छाडी कहाँ जान मन गरेका ? म स्त्री जातिले के गर्नेछु ? के खाने ? फेरि मलाई यहाँ को देला ? विशेष तपाईं वृद्ध भएकालाई कसरी पठाऊँ ? यहीँ यजमानहरूकहाँ गई जो मिलेको माँगेर ल्याई संचय गरौंला । अतः कहीँ पनि जाने मन नगर्नुहोस् भनिन् र शिवशर्मा फेरि भन्दछन् - हे स्त्री ! हामी निर्धन भए पनि ब्राह्मणको कर्म नगरी हुँदैन । एक महीनामा त म आइपुग्नेछु । तबसम्म खान नपुगे चन्द्रज्योति नगरमा यजमानहरू छन्, तिनका घर गई भिक्षा माँगेर खाएस् भनी बुझाए ।
यति आफ्ना स्वामीले भनेपछि गोमाले मजूर गरिन् । अनि शिवशर्मा भिक्षा माँग्न भनी परदेश हिडे । एक-दुई दिनको बाटो हिंडेपछि नारायणी गंगाको तटमा ऋषिहरूको आश्रममा पुगे । त्यहाँ वृद्ध अवस्था भएका दुई पति-पत्नी ब्राह्मण-ब्राह्मणी बसेका थिए । त्यहाँ शिवशर्माले नारायणी गंगा- स्नान गरेर ती वृद्ध दम्पतीकहाँ गई मलाई नित्यपूजा गर्न केही फल-फूल देऊ भनी माँगे । ती ऋषिका आश्रममा वरिपरि प्रशस्त फल-फूल थिए । ती शिवशर्माको कुरा सुनी ती वृद्ध दम्पतीले तिमी को हौ ? कहाँबाट आयौ ? भनी सोधे । अनि शिवशर्माले - 'म चन्द्रज्योति नगरको शिवशर्मा नामको ब्राह्मण हुँ । घरमा पत्नी गर्भवती हुनाले गर्भाधानादि कर्म गर्न भिक्षा माँग्न भनी हिँडेको' भने । तब ती वृद्ध बाह्मणले आफैँ टिपेर लैजाऊ भने र ती शिवशर्मा आफैँ वृक्षमा चढ़ी फल-फूल टिप्न लागे । त्यसै अवसरमा संयोगले रूखको हाँगो भाँचिई शिवशर्मा रूखबाट लडेर मरे । ती शिवशर्मा मरेपछि महादेवको रूप धारण गरी कैलास पुगे। पार्वतीले महादेव आउनुभएको देखिन् र सुनको कमण्डलुले पाउ धोई भित्र लगेर बसालेपछि भनिन् - हे ईश्वर ! लोग्नेमानिसहरू पापी हुँदा रहेछन् ।
राम्री स्वास्नी पाएपछि सबै कुरा बिर्सदा रहेछन् । हजुरले पनि मलाई बिर्सनुभएको थियो, बल्ल सम्झनुभएछ र आउनुभयो । हेर, सुखमा बसेकी त्यो गोमालाई कल-बल-छलले ल्याएर गर्भिणी तुल्याई दुःख दिई त्यस्ता स्थानमा एक्लै मिल्काएर आउनुभयो । अब त्यो के गरेर खाली ? यति पार्वतीले भनेको सुनी महादेवले हाँस्तै भन्नुभयो- हे प्रिये ! सेवक र भक्त भन्दामा पाप पनि गर्नुपर्दछ । गोमा पनि अब सुखी हुनेछ, संदेह नगर ।
त्यसपछि भिक्षा माँग्न गएका शिवशर्मा धेरै दिन बितेर पनि फर्केनन् र गोमाले अनेक दुःख सही चन्द्रज्योति नगरमा गएर भिक्षा माँगेर ल्याई गर्भाधान कर्म गराइन् । मास पूर्ण भयो र सबै राजलक्षणले युक्त छोरो जन्मियो । गोमाले चन्द्रज्योति नगरबाट ब्राह्मणहरू डाकी ब्राह्मणका मर्यादाले नामकरण गराइन् । ती ब्राह्मणहरूले ज्योतिषशास्त्र विचार गरे र 'नवराज' नाम राखि दिए । घर जाने बेलामा-हे गोमा ! यो बालक सबै राजलक्षणले युक्त छ र राजा पनि हुन सक्तछ र तिमीलाई सुख सन्तोष दिनेछ, यसमा शंका नमाने । यति ब्राह्मणहरूको वचन सुनी गोमाले मनमा आनन्द मानी श्रद्धासाथ भोजन दक्षिणा दिई बिदा गरिन् । त्यसपछि बालकलाई गोमाले अर्काको ढिकी- जाँतो गरी, धागो कातेर पालन-पोषण गरिन् । नवराज बालक पनि शुक्लपक्षका चन्द्रमा जस्तै प्रतिदिन बढेर अलि ठूलो भई खेल्न जाँदा मित्रहरूले जे भने पनि सुनिरहन्थे, झगड़ा गर्दैनथे । खेलिसकेर सरासर घर आउँथे । आमाले जो दिएको खाएर सन्तोषले रहन्थे। आफ्नू छोराको स्वभाव देखेर गोमा प्रसन्न भई यजमानहरूकहाँ गएर भनिन् - 'हे यजमान हो ! मेरो छोरो नवराज आफ्ना साथीहरूसँग खेलेर घर आउँछ ।
खान देऊ पनि भन्दैन, किन दिइनौ पनि भन्दैन, रिस पनि गर्दैन, यो मीठो, यो नमीठो पनि भन्दैन । दिए खान्छ, नदिए चुप लागी रहन्छ । फेरि मेरा स्वामी पनि घरमा छैनन् । सम्पत्ति पनि छैन । सबै यजमानहरूका दयाले जिन-तिन एक छाक खाएर बाँचिरहेकी छु । अब त्यसको चूड़ाकर्म र व्रतबन्धादि कसरी गरिदिऊँ भन्ने चिन्ता लागिरहेछ।' गोमाको त्यस्तो वचन सुनेर यजमानहरूले आफाफ्नू श्रद्धाले जो सकेको दिए र गोमाले सम्पूर्ण सामग्री तयार पारी ब्राह्मणहरू डाकेर नवराजको चूडाकर्म र वतबन्ध गरिदिइन् । अनि वेद-पुराण आदिको शिक्षा दिलाइन् । एकदिन नवराजको चाल- चलनले प्रसन्न भएका यजमानहरू स्वयं गोमाकहाँ गएर भने - 'हे गोमा ! नवराजको विवाह गर्ने भए वरुणपुरका अग्निस्वामीकी कन्या चन्द्रावती छन्, तिनैसित गरिदिऔं । सबै सामग्री ठीक पार।' यजमानहरूको यस्ता वचन सुनी गोमा भन्दछिन् - 'हे यजमान हो ! मेरो छोरोको कमाइ छैन, घरमा सम्पत्ति छैन, त्यसलाई कन्या कसले देला ? विवाह कसरी गरिदिने ?' यति सुनेर यजमानहरूले भने- 'हे गोमा ! जे चाहिएको सामग्री हामी दिन्छौं, के-के चाहिन्छ ?' यति यजमानहरूले भनेपछि गोमा भन्दछिन् - 'हे यजमान हो ! हामीलाई निर्धन जानेर तिमीहरूको यस्तो दया ! हामी धन्य रहेछौँ' भनेर विवाहको समस्त सामग्री जे-जे चाहिएको थियो माँगिन् र यजमानहरूले दिए । अनि असल दिनमा लग्न ठहराई ब्राह्मणको मर्यादाले वरुणपुरका अग्निस्वामीकी कन्या चन्द्रावती र नवराजको विवाह सम्पन्न भयो ।
त्यसपछि एकदिन ती नवराज बाहिर खेल्न गएको बेलामा तिनका मित्रहरूले हे नवराज ! आजसम्म हामी तिमीलाई 'नवराज ब्राह्मण' भन्दथ्यौँ, तर अबदेखि तिमीलाई हामी बिना बाबुको छोरो भन्दछौं । तिम्रा पिता भए तिनको नाम के हो ? तिमी कसका छोरा हौ ? हामीलाई भन । यति आफ्ना मित्रहरूले भनेको सुनी नवराज केही उत्तर दिन नसकी घर आएर-हे माता ! म कसको छोरो हुँ ? मेरा पिताको नाम के हो ? भनी साथीहरूले भनेको सारा कुरा आमालाई सुनाए । अनि मेरा पिता कहाँ छन् ? भनेर सोधे । नवराजको यति कुरा सुन्नासाथ गोमाले वर्षाकालमा मेघ वर्षे झैँ अविरल आँसु बगाउँदै भनिन् - 'हे नवराज ! तेरा पिताको नाम शिवशर्मा हो । तँ गर्भमा छँदै भिक्षा माँग्न परदेश गएका आजसम्म फर्केनन् । कतै केही कारण परेर रोकिएका छन् कि संसारमै छैनन्, थाहा पाउन सकिनँ ।' यति गोमाले भनेको सुनी नवराज भन्दछन् - 'हे माता ! त्यसो भए मलाई आज्ञा दिनुहवस्, कहाँ बसेका छन्, म गई विचार गरेर आउँछु ।' नवराजको यस्तो कुरा सुनेर गोमा भन्दछिन् - हे पुत्र ! तेरो मुख हेरेर तेरा पितालाई बिर्सिरहेकी थिएँ । अब तैंले पनि छाडेर गए म कसको आधारले बाँच्ने ? फेरि तँ गएपछि तेरी पत्नी चन्द्रावती पनि माइत जानेछ । यसकारण कहीं पनि जान्छु नभन् । गोमाले भनेको सुनेर नवराज फेरि भन्दछन्- हे माता ! म केही भन्दछु, सुन्नुहवस्-
पुत्रस्य परमो धर्मः पित्रुद्धारसमो नहि ।
पित्रुद्धारं न कुरुते स्वयं च सुखमिच्छति ।।
स याति नरकं घोरं यावच्चन्द्रार्कमेदिनी ।।
छोराको पहिलो र ठूलो धर्म के हो भने पितृहरूको उद्धार गर्नु । जुन छोरो भएर पितृको उद्धार नगरी केवल आफ्नै सुख भोगतिर लागिरहन्छ भने त्यो जबसम्म पृथ्वी र चन्द्र-सूर्य रहन्छन् तबसम्म घोर नरकमा पर्दछ । अतः म गर्भमा छँदै गएका मेरा पिता मेरो यो उमेर हुँदा पनि किन फर्केनन् ? मरिसके कि जीवित छन्, त्यसको निधो मैले नगरे कसले गर्छ ? मरेका भए निश्चय गरेर आउँला, बाँचेकै भए साथमा लिएर आउँछु । यति पनि गर्न नसके मैले जन्म लिएको व्यर्थ छ । हे माता ! हजुरको सेवा गर्न बुहारी छँदै छ । मलाई बिदा दिनुहोस्, म जान्छु । नवराजका यस्ता कुरा सुनी गोमा भन्दछिन् - 'हे पुत्र ! तँ धन्य रहिछस् । तेरा पिता मरेका भए पनि बाँचेकै भए पनि चाँडै नै खबर पाएस् ।' भनी शिरमा हात राखेर आशीर्वाद दिइन् । नवराजले माताको आशीर्वाद थापी डण्डवत् प्रणाम गरी, स्त्री चन्द्रावतीलाई अह्राउने कुरा अहाई पिताको खबर गर्न परदेश हिँडे । जाँदा-जाँदा केही दिनमा नारायणी गंगाको तटमा ऋषिका आश्रममा पुगे ।
त्यहाँ अत्यन्त वृद्ध भइसकेका ब्राह्मण र ब्राह्मणीलाई देखेर सोधे- तिमीहरू को हौ ? यहाँ किन बसेका ? यति सुनेर वृद्धले भने- 'हे बालक ! हामी ब्राह्मण हैं । वृद्धावस्था भयो र नारायणी गंगामा शरीर त्याग गरौँला भनी घर छाड़ी यहाँ झुपडी बनाएर बसेका हौँ । तिमी को हौ ? यहाँ के कामले आयौ ?' तिनको यस्ता कुरा सुनी नवराज भन्दछन्- 'म पनि नवराज नामको ब्राह्मण हुँ । म गर्भमा हुँदै गर्भाधान कर्म गर्न भिक्षा माँग्न हिँडेका मेरा पिता शिवशर्मा नामका ब्राह्मण आजसम्म घर फिरेनन् र तिनैको खोज-खबर गर्न हिँडेको हुँ, तिमीले देख्यौ कि ?' यति नवराजको वचन सुनी ती वृद्धले भने- 'हे नवराज ! गर्भाधान कर्म गर्न भिक्षा माँग्न आएका चन्द्रज्योति नगरका शिवशर्मा नामका वृद्ध ब्राह्मणलाई हामीले देखेथ्याँ । यहीँ आई आफ्नू नित्य- पूजा गर्न फल-फूल टिप्न त्यस वृक्षमा चढेका थिए, दैवसंयोग त्यो वृक्षको हाँगो भाँचियो र वृक्षबाट लडेर मरे । हाड खोड त अझसम्म पनि होला, त्यहाँ गएर हेर ।' यति ती वृद्ध ब्राह्मणले भनेको सुनी नवराज त्यस रूखमनि हेर्न गए । त्यहाँ आफ्ना पिताको हाड खोड देखी- 'हे पिता, मेरै निम्ति भिक्षा माँग्न आएका, मेरो मुखै देख्न नपाई यस्तो स्थानमा आएर रूखबाट लड़ी प्राण दियौ । यो समाचार म आमालाई कसरी सुनाउँला ? मेरी माताले शोक गर्दा म के भनेर बुझाउँला ? भन्दै अनेक तरहले शोक गरेर रुन लागे । फेरि धैर्य धारण गरी हाड-खोड़ बटुली गंगा-प्रवाह गरेर ब्राह्मणका मर्यादाले दशगात्र क्रिया गरिसकी अब कता जाऊँ ? घर जाऊँ भने सम्पत्ति छैन । विषेश यो समाचार सुनाई माताले शोक गरेको मात्र हेर्नु छ । यसकारण, बरुयतै कुनै राजाको सेवा चाकरी गरेर केही द्रव्य लिई घर जानु असल होला' भनी नजिकको शहरमा गएर राजाको सेवामा लागे ।
अनि फेरि अझै कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्य मुनि ! नवराज ब्राह्मण पिताको खबर गर्न गएपछि नवराजकी स्त्री चन्द्रावतीले सासू गोमासित भनिन्- 'हे माता ! म माइत नगएको धेरै दिन भयो । यहाँ खान अन्न छैन, लगाउन लुगा छैन, अर्कासित माँगेर मात्र कति दिन निर्वाह गर्ने ? अतः म केही दिन माइत जान्छु । तपाईंले आफ्नू शरीर र घरको रक्षा गर्नुहोला । तपाईंका छोरा आएपछि मलाई डाक्न पठाउनुहोला । म गएपछि एक पेट पाल्न तपाईंलाई पनि कठिन हुनेछैन । अतः म जान्छु' भनी सासूलाई प्रणाम गरेर माइत गइन् । चन्द्रावती हिँडेपछि गोमा ब्राह्मणी आफूलाई दुःख परेको देखी भिक्षुकरूप श्रीमहादेवले दिएको श्राप सम्झेर भन्न लागिन् - म सात वर्षकी हुँदा सत्तरी वर्षका बूढ़ासित विवाह भयो, ती पनि भिक्षा माँग्न गएका आजसम्म फर्केनन्, छोरा-बुहारीले पनि छाडेर गए । म यस्तो अवस्थामा परें, धिक्कार रहिछु । उस दिन मलाई श्राप दिने भिक्षुक श्रीमहादेव नै रहेछन् । 'हे जगदीश्वर ! मैले जानिनँ, मेरा अपराध क्षमा गर । हे शम्भो ! हजुरलाई कोटि-कोटि नमस्कार छ । अब मेरो रक्षा गर कि यो प्राण हर' भन्दै आँसुका धारा बगाई रोई कराई बौलाही जस्तै भएर हिँड्न लागिन् ।
यो कुरा कैलासमा पार्वतीले चाल पाएर महादेवको आनन्द समयमा बिन्ती गरिन् - 'हे नाथ ! त्यो गोमाको दुःख हेर्नुहवस् । त्यो पनि हजुरकी पत्नी हो, त्यसलाई कष्ट दिनु योग्य छैन । मलाई साह्रै दया लाग्यो, म त्यसको केही उपाय गरूँ कि ! आज्ञा भए श्रीस्वस्थानी परमेश्वरीको व्रत गराऊँ र दुःखका सिन्धुबाट पार होली ।' यति पार्वतीको प्रार्थना सुनी महादेवले 'हुन्छ', त्यसै गर भनी आज्ञा दिनुभयो । अनि पार्वतीले सप्तऋषिलाई डाकी 'तिमीहरू मर्त्यमण्डलमा जाओ र चन्द्रज्योति नगरमा गोमा नामकी ब्राह्मणी साह्रै कष्टमा परेकी छ, उसलाई श्रीस्वस्थानी परमेश्वरीको व्रत गराई आओ ।' यति भनी आफूलाई विष्णुले बताएको सम्पूर्ण व्रत-विधि बताइन् । यति पार्वतीको आज्ञा सुनी सप्तऋषिले ‘हवस्' भनेर मर्त्यमण्डलमा पुगी चन्द्रज्योति नगरको बाहिर गोठाला केटा- स केटीहरूसित 'यहाँ को दुःखी छ ?' भनी सोधे र गोठालाहरूले- 'यस चन्द्रज्योति नगरमा त्यस्ता दुःखी कोही पनि छैनन् । शहर-बाहिर गोमा नामकी ब्राह्मणी साह्रै कष्टमा छिन्, त्यहीँ गई - शोध' भनेर घर पनि देखाइदिए । अनि - सप्तऋषिहरू तिनको घर पुगे । गोमाले पनि - सप्तऋषिहरूलाई देखेर प्रणाम गरी भित्र लगेर श्री पिह्नामा बसाली 'हे ऋषीश्वर हो ! म यस्ती पापिनीका घरमा आई के कामले दर्शन दिनुभयो ?
आज्ञा हवस्' भनिन् र सप्तऋषिहरू भन्दछन् - हे गोमा ! तिमी साह्रै नै दुःखी हुनाले श्रीस्वस्थानी परमेश्वरीको व्रत गराउन आयौँ । अब तिमी एकाग्र भएर सुन-सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि गरेको त्यो व्रत पौषशुक्ल पूर्णिमादेखि आरम्भ गर्नुपर्दछ । हात-खुट्टाका नङ काटी पवित्र भई एकभक्त रही एकचित्त गरी नित्य मध्याह्न कालमा श्रीमहादेवको पूजा गर्नू । माघशुक्ल पूर्णिमाको दिन अष्टोत्तर सय रोटी, अष्टोत्तर सय अक्षता, अष्टोत्तर सय जात-जातका फूल र नाना उपचार तयार गरी आर्सीमा 'ॐ' कार लेखी गंगाजलले स्नान गराई रक्तचन्दन, श्रीखण्ड, सिन्दूर, पुष्पमाला, वस्त्र, धूप-दीप र नैवेद्य, मेवा, मिष्टान्न, कस्तूरी, भेटी चढाई श्रीस्वस्थानी परमेश्वरीको पूजा गरेर कथा सुन्नू । कथा सुन्ने कोही नभए भन्नू र आफै सुन्नू । आफ्ना खाट, उइँटा,धनु आदिलाई सुनाए पनि हुन्छ । त्यसपछि जुन कामना यानि इच्छाले व्रत गरेको छ, मेरो अमुक २) कामना सिद्ध हवस् भनेर अर्घ्य दिई जप, ध्यान, स्तुति गर्नू । श्रीस्वस्थानी परमेश्वरी भनेकी कस्ती छन् भने हे गोमा ब्राह्मणी ! ध्यानपूर्वक सुन-
सुवर्ण-वर्ण- दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।
सिंहासन- समासीनां सर्वालंकार भूषिताम् ।।
नीलोत्पल-धरां वामे, दक्षिणे वरदां शुभाम् ।
खड्ग-चर्मधरां चोर्ध्वं वामदक्षिणयोः क्रमात् ।।
चतुर्भुजां च मां वाऽपि पूजयेद् वृषकेतुनम् ।
एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदीश्वरीम् ।।
पीतवर्ण सुवर्णभन्दा पनि दिव्य वर्ण भएकी, तीन नेत्र भएकी, कमल-पुष्प झैं मुख मण्डल भएकी, नाना अलंकार पहिरी सिंहासनमा बसेकी, खड्ग चर्म र नीलोत्पल लिएकी, चार बाहु भएकी यस्ती श्रीस्वस्थानी परमेश्वरीलाई हृदयले संझी त्यहीँ मेरो पनि पूजन गर्नू भनी स्वयं महादेवले आज्ञा भएको छ । यस्ती श्रीस्वस्थानी परमेश्वरीको ध्यान गरेर निम्नलिखित मन्त्र पाठ गर्नू-
नमस्तेऽस्तु जगन्मातः स्वस्थानि सर्व मंगले ।
तव प्रसादाद् देवेशि व्रतं पूर्णं तवाऽऽज्ञया ।।
हे जगन्माता ! सम्पूर्ण लोकको कल्याण गर्ने हे देवी! हे स्वस्थानी परमेश्वरी ! हुजुरको कृपाले मेरो व्रत पूरा भयो भनी प्रसाद झिक्नू र अष्टोत्तर सयमा आठ रोटी, आठ अक्षता, आठ बेली- पुष्प, आठ पान, आठ कुड्का सुपारी, सगुन- समेत आफ्ना पुरुषलाई दिनू, पुरुष नभए छोरालाई र छोरा नभए मीत छोरालाई दिनू, मीत छोरा पनि नभए मेरो अमुक कार्य सिद्ध हवस् भनेर गंगा (नदी) मा बगाइदिन र सय रोटी आफूले फलाहार गरी रात्रिमा जाग्राम बस्नू । हे गोमा ! यति गरेपछि श्रीस्वस्थानी परमेश्वरीको व्रतको प्रभावले तिम्रो सबै दुःख नाश हुनेछ, अन्यथा नमाने । यही व्रतका प्रभावले पार्वतीले महादेव स्वामी पाइथिन् । अब हामी जान्छौँ । यति सप्तऋषिले भनेको सुनी गोमाले मनमा आनन्द मान्दै भनिन् - हे ऋषीश्वर हो ! म यस्ती पापिनीका घरमा केही छैन, केले आतिथ्य गरूँ ? पसलबाट पान किनेर ल्याउँछु भनी चर्खामा रहेको धागोको लरिया लिएर घरबाट निस्किन् । त्यसै वेला सप्तऋषिहरूले गोमाको कष्ट देखेर साह्रै दया लागी सातओटा सुनका कौड़ी आफूहरू बसेको पिरुका-मनि छाडेर गए ।
।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां सप्तऋषिव्रतोपदेशोनाम द्वाविंशोऽध्यायः ।। २२।।


