Harsamaya
श्री स्वस्थानी व्रत कथा अध्याय - २१
श्री स्वस्थानी व्रत कथा । ग्राफिक्स : हर समय/Har Samaya

कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्य मुनि ! त्यसपछि भिक्षुकरूप महादेवको श्राप पाएकी गोमा चिन्तित भएर रुन लागिन् । केही बेरमा नारायणी गंगास्नान गर्न गएका माता-पिता हरि-हरको पूजा गरी सुवर्णादि अनेक द्रव्य दान गरी घर आए । अनि गोमालाई रोइरहेकी देखेर- 'हे गोमा ! किन रोएकी ? के भयो ?' भनी सोधे । तब गोमाले भनिन् - हे माता-पिता ! हजुरहरू नारायणी गंगास्नान गर्न गएपछि म अक्षता केलाइरहेकी थिएँ, अकस्मात् यौटा भिक्षुक आएर भिक्षा माँगे, म अक्षता केलाइसकेर भिक्षा दिन्छु भनी एकछिन पर्खाएँ । अनि अक्षता केलाइसकेर भिक्षा दिन गएँ । तब ती भिक्षुकले- 'हे ब्राह्मणी ! यतिका बेर पर्खाई अहिले भिक्षा दिन आइस्, त्यो भिक्षा म लिन्नँ । दिने भए तेरा बाबाको पूजा गर्ने, तँले केलाइराखेको अक्षता भिक्षा दे !' भने । 

अनि मैले 'लिने भए यो भिक्षा लेऊ, नलिने भए अक्षता तम दिन सक्तिनँ' भनेँ र भिक्षुक रिसाई- 'हे ब्राह्मणी तैंलेअहंकार गरेर मलाई भिक्षा दिइनस् ! अब म तँलाई श्राप दिन्छु- तँ सात वर्षकी हुँदा सत्तरी वर्षको बूढोसित तेरो विवाह होस् । फेरि तेरा माता-पिताले ठूलो कष्ट सही सिद्धिविनायकको सेवा गरेर पाएको सम्पत्ति सबै नाश हवस् । फेरि तँलाई पनि अनेक थरिका कष्ट आइपरून् । फेरि तेरा माता-पिता पनि चाँडै नै मरिजाऊन् । यति भनी डमरु बजाएर श्राप दिए' भनी सारा वृत्तान्त सुनाइन् । छोरीको त्यस्तो वचन सुनी शिवभट्टले भने- 'हे गोमा ! ती भिक्षुक श्रीमहादेव हुन् र तिनले दिएको श्राप लाग्छ कि लाग्दैन ? ती भिक्षुकले त्यति भने भन्दैमा रुनुपर्दैन, नरोऊ' भनी बुझाए ।

 त्यसपछि गोमा छः वर्षकी भइन् र शिवभट्ट ब्राह्मणले आफ्नी स्त्रीसित सल्लाह गरी गोमा कन्यादान दिन भनी अनेक स्थानमा ब्राह्मण केटो खोज्न पठाए, तर जगदीश्वर महादेवले श्राप दिएको हुनाले कुनै पनि योग्य ब्राह्मण केटो पाउन सकेनन् र शिवभट्टले आफैं पनि सकेसम्म खोजी गरे, तर खोजे-जस्तो वर पाउन सकेनन् । अनि नारायणी गंगामा स्नान गर्न लागेका ब्राह्मणहरूलाई पनि हेरे, तर त्यहाँ पनि आफूले खोजे जस्तो वर पाएनन् र हार मानी घर फर्कन लाग्दा कान नसुन्ने, कुप्रो, डेरो, आँखीभुइँ कैलो  रजोरिएको, केश सेतै फुलेको, दाह्रा निस्केको, कालो, मुखबाट तरतरी ऱ्याल चुहुने, सत्तरी वर्षको उमेरका शिलासन गरेर सन्ध्या गर्न बसेका शिवशर्मा नामका वृद्ध ब्राह्मणलाई देखेर निकै बेरसम्म तिनैलाई हेरिरहे। शिवशर्माले सन्ध्या सकेर 'तिमी को हौ ? कहाँबाट आयौ ?

 मलाई किन धेरै बेरसम्म हेरिरह्यौ ?' भनी सोधे । अनि शिवभट्टले भने- 'म शिवभट्ट नामको ब्राह्मण हुँ । मेरो घरमा यौटी कन्या छ, त्यसैको विवाह गर्न भनी ब्राह्मण खोज्दै हिंडेको, तर भनेजस्तो केटो कहीँ पाउन सकिनँ र घर जान लागेको हुँ । यहाँ तिमीलाई देखेर हेरेको हुँ । तिमी को हौ ?' यति शिवभट्टले भनेको सुनी शिवशर्मा भन्दछन् - 'म शिवशर्मा नामको ब्राह्मण हुँ । सोह्र वर्षको उमेरदेखि कसैले कन्यादान दिए लिन भनेर हिडेको हुँ । मलाई कन्यादान दिने आजसम्म कोही मिलेन । आज मेरो सौभाग्यले तिमीलाई भेटें । ईश्वरको कृपाले हामी दुवैको काम बन्ने भयो । हे पिता ! म माथि कृपा गरी ती कन्या मलाई देऊ, सहस्र बिन्ती छ । ब्राह्मण भएर मेरो यो उमेर भयो र पनि अझसम्म विवाह भएको छैन । अब तिमीले कृपा गरे कन्यादान पाउनेछु ।' 

यति शिवशर्माको कुरा  सुनी शिवभट्ट भन्दछन् - 'हे शिवशर्मा ! यस्तो उमेरका तिमीलाई मेरी बालक पुत्री कसरी दिने ? फेरि तिमी यस्ता कुरूपलाई कामदेवकी स्त्री रति जस्ती मेरी कन्या अयोग्य छ ।' यति सुनेर शिवशर्मा भन्न लागे- 'हे शिवभट्ट ! त्यसो नभन, ती कन्या मलाई देऊ, तिमीले कन्या नदिए हत्या गरेर मर्नेछु ।' शिवशर्माको त्यस्ता कुरा सुनी शिवभट्ट मनमनै विचार गर्छन्- त्यसको कर्ममा त्यस्तै लेखेको रहेछ, म के गर्न सक्तछु ! उस दिन श्राप दिने भिक्षुकरूप श्रीमहादेव नै रहेछन्, उनको श्राप लङ्घन गर्न को सक्ला ? इन्द्र जस्ताले सकेनन्, रावणले पनि सकेनथ्यो भने म जस्ताले कसरी सक्ने ? यस्तो विचार गरी मनमा व्याकुल भए पनि ती शिवशर्मालाई साथै लिई घर गए । सती  ब्राह्मणीले शिवशर्मालाई साथमा लिएर आफ्ना स्वामी घर आएको देखेर प्रसन्न भई - 'त्यो कसलाई डाकेर ल्याउनुभयो ?' भनी सोधिन् र शिवभट्ट भन्दछन् - 'हे सती ! यी शिवशर्मा नामका ब्राह्मण हुन् । गोमा कन्यादान दिन वर खोज्दै हिँडेको कहीं पाउन सकिनँ र घर आउन लाग्दा यी नारायणी गंगा-किनारमा बसेर सन्ध्या गर्न लागेका रहेछन् । मलाई आएको देखेर सन्ध्या गरिसकी- 'तिमी को हौ ? कहाँबाट आयौ ?” भनी सोधे । 

मैले मेरो घरमा यौटी कन्या छ, कन्यादान दिन ब्राह्मण खोजी हिडेको, कहीँ पाउन सकिनँ र घर जान लागेको हुँ भनेँ । फेरि तिमी को हौ ? भनेर सोधें र यिनले- 'म पनि ब्राह्मण हुँ, सोह्र वर्षको उमेरदेखि कसैले दिए कन्यादान लिन भनी हिँडेको, मलाई कन्यादान दिने कोही भएनन् । आज मेरो भाग्यले तिमीलाई भेटें । तिम्री पुत्री मलाई कन्यादान देऊ' भने । अनि मैले- 'हे शिवशर्मा ! यस्ता उमेरका तिमीलाई मेरी बालक पुत्री कसरी दिने ? फेरि तिमी यस्ता कुरूपलाई कामदेवकी पत्नी रति जस्ती मेरी कन्या अयोग्य छ, यस्ता कुरा नगर भनें । अनि यिनले त्यसो आज्ञा नगर, ती कन्या मलाई देऊ, नदिएहत्या गरी मर्नेछु भनी साथ लागेर आए । यो अनर्थ हुन लाग्यो ।

 अब गोमा कन्यादान दिऊँ कि ब्रह्महत्या लिऊँ ।' आफ्ना स्वामीको यस्ता कुरा सुनी सती भन्दछिन् - 'हे स्वामी ! यस्तो कुरा नगर ! त्यो कस्तो भने-बूढो, कान नसुन्ने, डेरो, कैला आँखा भएको, दाह्रा निस्केको, आँखीभौँ जोरिएको, केश पाकेको, ऱ्याल चुहाउने र कालो यस्तालाई मध्याह्न-कालका सूर्य झैँझैँ तेज र पूर्णचन्द्र जस्तै मुख भएकी, हात्तीको सूँढ जस्तै हात-पाउ भएकी, बाघको जस्तै कम्मर भएकी तथा सावित्रीका जस्ता पैताला भएकी, सुवर्ण जस्तो शरीर र राजहंसको जस्तै हिँडाइ भएकी, अमृत हैं मीठो र नरम वाणी भएकी मेरी पुत्री त्यस्तालाई कसरी दिऊँ ? कसैले कन्यादान दिएन भनेर जति हत्या गरेर मर्नेछन्, के त्यो हत्या हामीलाई लाग्दछ ? कदाचित् तपाईंलाई त्यस कुराको डर छ भने, त्यो हत्या गरी मरोस् । त्यो पाप म आफ्नो कपालमा थाप्नेछु । त्यसका घुर्कीमा डराउनुपर्दैन । त्यसलाई त हजार ब्रह्महत्या लागे पनि म मेरी बालख छोरी दिनेछैन । पृथ्वीमा अरू कोही योग्य ब्राह्मण केटो छैनन् कि क्या हो ? तपाईंले खोज्न नसके म आफै  गएर खोजी ल्याउँली ।

शिवभट्टकी पत्नी सतीका त्यस्ता कुरा सुनी शिवशर्मा भन्दछन् - 'हे माता ! यस संसारमा बालक पनि छन्, वृद्ध पनि छन्, राम्रा पनि छन्, नराम्रा पनि छन्, कसैका धेरै सन्तान छन्, कसैका यौटा पनि छैनन्, कुनै पुरुषका आफूभन्दा उमेर बर्ता भएका स्त्री छन्, कुनै स्त्रीका आफूभन्दा उमेर पाकेका पति छन्, कसैका स्त्री छैनन्, कसैका पुरुष नै छैनन्, कोही निर्धन छन् त कोही धनी छन् । कुमालेको चक्र जस्तै घुमिरहेको यस संसारमा बढो को हुँदैन र कसले मर्नुपर्दैन ? यसकारण, ती कन्या मलाई देऊ । नदिए म दुवै स्त्री- पुरुषलाई श्राप दिई प्राण त्याग्नेछु' भनी प्राण- वायु ब्रह्माण्डमा खिँची मर्न तयार भए । अनि शिवभट्ट डराई भन्दछन् - 'हे शिवशर्मा ! त्यस्तो नगर, मेरी कन्या तिमीलाई नै दिन्छु' भनी सम्झाई- बुझाई गोडा धोएर माथि लगी बिछ्यौनामा बसाले । तर सतीले भने मानेकी थिइनन् । तब शिवभट्ट सम्झाउन थाले - 'हे सती ! उस दिन गोमालाई श्राप दिने भिक्षुकरूप श्रीमहादेव नै रहेछन् । अब तेत्तीस कोटि देवता हाम्रो सहाय भएर आए पनि त्यो श्राप टार्न सक्नेछैनन् । दैवले यस्तै पारेर  ल्यायो, ढिपी नगर, गोमा यिनैलाई कन्यादान गरेर दिऔं । सामग्री तयार पार' भने । 

पतिको त्यस्ता कुरा सुनी सती मनमा चिन्ता र तर्क गर्न लागिन् - 'हरे ! यो के आश्चर्य ! बालक र बूढाको विवाह देख्नुपर्यो । निर्विवेकी विधाताले मेरी छोरीको भाग्यमा कस्तो लेखिदिएका रहेछन् ! न्वारान गर्दा सबै ब्राह्मणहरूले यी बालिका भाग्यमानी हुनेछन् र सम्पूर्ण लोकले मान्नेछन् भनेका थिए, त्यो पनि मिथ्या भयो। हामीले सकेसम्म सबैको भलो नै गरेका हाँ, आज कुन पापले यस्तो भयो ? मेरी पुत्रीलाई श्राप दिने श्रीमहादेव नै रहेछन् । यस बालकले के जान्दथी र श्राप दिएका होलान्' भन्दै साह्रै रुन लागिन् र शिवभट्ट भन्दछन् - 'हे सती ! नरोऊ, दैवको सामु कसैको बल पुग्दैन । दैवले आफ्नू इच्छानुसार सबै काम गर्दछ । अब शिवशर्मालाई खान-पिन दिई सुत्ने स्थान खटाइदेऊ, विस्मात नगर ।' यति आफ्ना स्वामीले भनेपछि सतीले अनेक उपचार तयार पारी खान दिइन् । शिवशर्मा सुत्न गएपछि सतीले छोरी गोमालाई डाकेर काखमा राखी प्रीतिपूर्वक भन्न लागिन् - 'हे गोमा ! तेरो विवाह हुन लाग्यो । तेरा पिताले ती वृद्ध ब्राह्मणलाई दिन आँटे ।

 किनकि उस दिन तँलाई श्राप दिने भिक्षुकरूप श्रीमहादेव नै रहेछन् । तँलाई त्यो श्राप लाग्यो, हामीलाई दोषी नठानेस् र तँ पनि चिन्ता नगरेस् । २) तेरो कर्मले पारिल्याएको कुरा अन्यथा गर्न कसको सामर्थ्य छ ? हे गोमा !' भनी आँखाबाट बलिन्द्र आँसुका धारा बगाई ठूलो स्नेहले काखमा राखिन् । यति आफ्नी माताको वचन सुनी गोमा भन्न लागिन्- 'हे माता ! यसमा तपाईंहरूको केही दोष छैन । मेरो भाग्यमा यस्तै लेखेको रहेछ । फेरि महादेवको श्राप लङ्घन गर्न को सक्ला ? मैले अहंकारले भिक्षुकरूप महादेवको अनादर गरेँ र त्यसको फल पनि पाएँ । जो मनुष्य भिक्षा माँग्न आएका भिक्षुकलाई भिक्षा नदिई अनादर गरी पठाउला त्यसले यस लोकमा र परलोकमा पनि सुख पाउनेछैन । फेरि जसले भिक्षा माँग्न आएका भिक्षुकलाई आदर गरी भिक्षा दिई पठाउला त्यसले यस लोकमा र परलोकमा पनि सुख सन्तोष पाउला । हे माता ! सन्देह गर्नु व्यर्थ छ । बूढो भए पनि, लंगडो भए पनि, दरिद्र अथवा रोगी भए पनि,पापी अथवा क्रोधी भए पनि भलाई दैवले पारिल्यायो । रामचन्द्र जस्तालाई त दैव लागेर वनवास जानुपर्यो । वनवासमा पनि सीतालाई  रावणले हरण गरेर लगिदियो । 

फेरि महादेव जस्तालाई दैव लागेर कालकूट विष कण्ठमा राखी नीलकण्ठ भई रहनुपर्यो । फेरि युधिष्ठिर जस्ता धर्मात्मालाई पनि दैव लागेर जूआमा राज्य हारी वनवास र गुप्तवास समेत जानुपर्यो । फेरि द्रौपदीलाई दैव लागेर दुर्योधनका सभामा बेइज्जत हुनुपर्यो । फेरि राजा बलि जस्ता दानीलाई दैव लागेर पातालमा बस्नुपर्यो । फेरि मायाका अधिपति श्रीकृष्ण जस्तालाई दैव लागेर आफ्नै अगाडि आफ्नू नाति अनिरुद्धलाई बाणासुरले नागपाशले बाँधेको र छप्पन्न कोटि यदुवंशीहरू नाश भएको देख्नुपर्यो । फेरि सम्पूर्ण संसारमा प्रत्येक जीवको सृष्टिकर्ता ब्रह्मालाई पनि दैव लागेर आफ्नू शिर कटाई रहनुपर्यो । फेरि देवताका राजा इन्द्रलाई दैव लागेर स्वर्ग छाडेर भाग्नुपर्यो । अतः हे माता ! दैवको गति लङ्ङ्घन गर्न कोही पनि सक्तैनन् । 

पूर्वजन्ममा आफूले गरेका कर्मको फल अवश्य भोग्नुपर्दछ । फेरि जस्तै ठूलो घड़ा लिएर कस्तै बर्ता पानी भएको नदी वा तलउमा गए पनि जल घड़ाभरि मात्र आउँछ । त्यस्तै आफ्नू भाग्यमा लेखेको मात्र हुन्छ । सन्देह नगर्नुहोस्, तपाईंहरूले दिएको ठाउँमा म खुशीसाथ जानेछु ।' पुत्री गोमाका त्यस्ता कुरा सुनी सतीले प्रसन्न भएर भनिन्- 'हे त्यमा ! तँ धन्य रहिछस् । यस्तो सानै अवस्थामा पनि यस्ता ज्ञानका कुरा गर्ने भनी दुवै आमा-छोरी रातभरि त्यस्तै गन्थन गरिरहे । प्रातःकाल भयो र शिवभट्टले शिवशर्माको कपाल खौरन ॐ नाउ डाकी हात-खुट्टाका नङ काट्न लगाई, मनपरेको खन-लाउन दिई पालिराखे । शिवशर्मा पनि मनपरेको खान-लाउन पाई हृष्ट-पुष्ट भई मोटाए । त्यसपछि शिवभट्टले लग्न' ठहराई कन्यादानको सामग्री तयार पारी अनेक मंगल यात्रा गरेर आफ्नू मर्यादा- अनुसार गोमालाई हीरा, मोती, मणि- माणिक आदि रत्न र वस्त्रालंकार पहिराई शिवशर्मा ब्राह्मणलाई गोमा कन्यादान दिए । गोमाले फूलको माला लिई शिवशर्मालाई पहिराइन् र प्रणाम गरिन् । कन्यादान सकिएपछि अन्य ब्राह्मणहरूलाई श्रद्धासाथ भोजन दक्षिणा दिए र सबै जना आफाफ्ना घर गए । गोमाले आफ्ना स्वामी शिवशर्मालाई प्रीतिपूर्वक सेवा टहल गरेर राख्दी भइन् । 

फेरि कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! यस्तै प्रकारले जब त्यहाँ बसेको निकै वर्ष बितिसक्यो तब एकदिन शिवशर्माले आफू हृष्ट- पुष्ट भएको देखेर घर सम्झी अब यहाँ कति बस्ने, बरु घर जानुपयो भन्ने विचार गरी शिवभट्ट र सतीकहाँ नगीचै गएर भने- 'हे माता-पिता ! तपाईंहरूको कृपाले कन्यादान पाई म कृतार्थ क भएँ । म यहाँ आएको धेरै दिन भयो । घरमा हेरचाह गर्ने कोही छैन । आज्ञा दिए घर जाने थिएँ ।' ज्वाइँको यस्ता कुरा सुनी शिवभट्ट य भन्दछन्- हे ज्वाइँ ! यो पनि तिम्रै घर हो, हाम्रो पो को छ र ? हामी पनि तिम्रै हाँ, सम्पत्ति पनि तिम्रै हो, अतः जान्छु नभन । 

त्यति सुनेर शिवशर्मा भन्दछन्- हे पिता ! एकपल्ट जान देऊ, नरोक, घरको हेर-विचार गरेर बरु म छिटै आउनेछु । मेरो पनि को छ र ! माता-पिता सबै तिमी, इष्ट-मित्र पनि तिमी, हितू पनि तिमी, गुरु र देवता पनि तिमी । मनपरेको खान-लाउन दिई पाल्ने यस्ता तिमीहरूलाई छाडेर म कहाँ जान सक्तछु ? यति आफ्ना स्वामीले पितासित कुरा गरेको सुनी गोमा ब्राह्मणीले भनिन्- हे स्वामी ! कहीँ पनि जाने मन नगर, तिमी जाने भए मलाई पनि साथै लैजाऊ अन्यथा म जान दिनेछैन । तिमी बिना म कसरी बस्न सक्नेछु ? यति गोमाले भनेको सुनी शिवशर्मा भन्दछन् - हे स्त्री ! तिम्रो बाल अवस्था छ,  मसित जान सक्नेछैनौ किनभने हाम्रो घर धेरै टाढा छ । पहाड़ चढ्नुपर्दछ र अनेक दिन वनमा वास बस्नुपर्दछ । फेरि वनमा अनेक जन्तुको डर । 

तिमी आफ्नू इच्छामा बसेकी, घरबाट कहिल्यै ननिस्केकी, शीत, ताप, भोक प्यासले कष्ट पाउली । फेरि मेरो वृद्ध अवस्था छ, बाटोमा कसैले दगा गरी तिमीलाई हरण गरेर लैजाला । यसकारण, तिमी यहीँ बस, म घर गई खबर बुझेर छिटै फर्कनेछु । दुई महीना जतिमा आइपुग्नेछु । दुई महीना भनेको कति हो र ? यति आफ्ना स्वामी शिवशर्माले भनेको सुनी गोमा ब्राह्मणी भन्दछिन् - हे स्वामी ! तिमी दुई महीना भन्दछौ, म त तिमी नभई दुई घड़ी पनि बस्न सक्तिनँ, फेरि शीत, ताप, भोकले कष्ट पाउली, पर्वत चढ्नुपर्दछ, वनमा वास बस्नुपर्दछ, नाना जन्तुको डर हुन्छ पनि भन्यौ, तिमीले दुःख पाए म पनि दुःख पाउनेछु, जुन गति तिम्रो, उही गति मेरो । कस्तै भए पनि तिमीलाई पठाएर म यहाँ बस्न तयार छैनँ । यदि मलाई छाडेर गयौ भने म हत्या गरी मर्नेछु । यति गोमाले भनेको सुनी शिवशर्माले- उसो भए तिम्रा माता-पितासित बिदा भएर आऊ भने । अनि गोमाले माता-पिताकहाँ गएर भनिन्- हे माता-पिता ! म पनि मेरा स्वामीसित जान्छु, बिदा दिनुहवस् । छोरीको त्यस्तो वचन सुनी शिवभट्ट र सतीले भने- हे पुत्री ! जान्छु नभन् । किनभने हाम्रो वृद्ध अवस्था भयो । छोरो भने पनि छोरी भने पनि तँ यौटी होस् । 

तँ पनि नभए हामीलाई औंसीको रात जस्तै हुनेछ । राम र सीता नहुँदा राजा दशरथको प्राण गए-जस्तै हाम्रो पनि हुनेछ । अतः हाम्रो सेवा र सम्पत्तिको सुरक्षा गरेर यहीँ बस् । तेरा स्वामीलाई जान दे । उ पनि दुई महीनामा आउँछु भन्दै छन् । यति माता-पिताको वचन सुनी गोमा ब्राह्मणी भन्दछिन्- हे माता-पिता ! नारी जातिको निम्ति सम्पूर्ण तीर्थ, व्रत, दान, धर्म त्यसका पुरुष नै हुन्छन्। सम्पूर्ण शास्त्र-पुराण तपाईँहरूले हेर्नुभएकै छ, म के भनूँ । पुरुष भएसम्म नारीले कुनै तीर्थ- व्रत, दान-धर्म गर्नुपर्दैन । नारीले आफ्नो पुरुषलाई रिसाएर हेरे डेरी हुन्छे । पतिसित द्रोह गरे गोही हुन्छे । पुरुषको वचन नमाने पापिनी हुन्छे। लोग्नेदेखि लुकाएर खाए कुकुर्नी हुन्छे । यसैकारण, मलाई नरोकी साथै जाने बिदा दिनुहवस् । विशेष मेरा पुरुष वृद्ध छन्, बाटोमा म नभए तिनको रक्षा को गर्ला ? फेरि संसारमा कसैका पनि बढ़ेका छोरी माइत बस्तैनन् । बरु फेरि चाँडै आउनेछु । यति गोमाले भनेपछि शिवभट्ट र सतीले भने- हे गोमा ! त्यसो भए हामी के भनौँ, जा, भनी आँखाबाट आँसु बगाई नाना वस्त्र अलंकार पहिराई प्रशस्त सम्पत्ति समेत दिई, डोलीमा बसाली नगरको बाहिरसम्म पुयाउन गए । बाटोमा राम्ररी लैजानू भनी डोलेहरूलाई अह्राएर शिवभट्टले गोमासित भने-हामीलाई नबिर्सी चाँडै आउनू । गोमाका साथीहरूले पनि त्यसै भने । अनि गोमा डोलीबाट ओर्ली बाबा-महतारीलाई प्रमाण गरी सबै साथीहरूलाई पनि 'बस है' भनेर सबैसित बिदा भई फेरि डोली चढेर त्यहाँबाट हिँड्दी भइन् ।

।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां गोमाविवाहवर्णनं नाम एकविंशोऽध्यायः ।। २१ ।।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update