Harsamaya
श्री स्वस्थानी व्रत कथा अध्याय - २०
श्री स्वस्थानी व्रत कथा । ग्राफिक्स : हर समय/Har Samaya

काठमाडाैं - श्री स्वस्थानी व्रत सुरु भएको आज १८औँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । 

श्रीस्वस्थानी व्रतकथाको विंशौँ अध्यायमा माघस्नानको महिमा, कर्म–श्रापको फल र गोमा नामकी कन्याको उत्पत्तिको कथा वर्णन गरिएको छ । ब्रह्मचारी प्रसीद र पाँच गन्धर्वकन्याबीच भएको श्राप–प्रतिश्रापका कारण सबै पिशाच बने पनि लोमश ऋषिको निर्देशनमा देउघाट त्रिवेणीमा माघस्नान गर्दा उनीहरू उद्धार भई पुनः मानवरूप प्राप्त गर्छन्। पछि प्रसीदले ती पाँचै कन्यासँग विवाह गरी सुखी जीवन बिताउँछन् ।

यसै अध्यायमा शिवभट्ट र उनकी पत्नी सतीले तीन माघसम्म विधिपूर्वक मकरस्नान र दान गरेपछि सिद्धिविनायकको कृपाले गाईको गोबरबाट गोमा नामकी दिव्य कन्या जन्मिन्छिन् । गोमाको जन्मले शिवभट्ट परिवार समृद्ध हुन्छ। तर भिक्षुको भेषमा आएका महादेवलाई गोमाले अक्षता दिन अस्वीकार गरेपछि महादेव रिसाएर गोमालाई दुःखपूर्ण भविष्य र परिवारलाई कष्ट भोग्नुपर्ने श्राप दिनुहुन्छ ।

यस अध्यायले माघस्नान, दान, श्रद्धा र अहंकारका परिणामबारे गहिरो नैतिक सन्देश दिन्छ ।

यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रतकथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं । आज २०औँ दिन विंशौँ अध्याय यहाँहरूसमक्ष प्रस्तुत छ । 

अथ विंशोऽध्यायः 

हे अगस्त्य मुनि ! अर्को मङ्गलवारको बिहान -प्रार्थना सकिएपछि सिद्धिविनायकको मूर्ति पूजा- भन्न थाल्यो- 'हे शिवभट्ट ब्राह्मण ! अघि कुनै समयमा गन्धर्वलोकमा सुखसङ्गीति नामको गन्धर्व थियो, त्यसकी प्रमोदिनी नामकी छोरी थिई । न त्यस्तै सुशील गन्धर्व की सुशीला अनि स्वरवेदीकी सुस्वरा तथा चन्द्रकान्तकी सुतारा एवं सुप्रभकी चन्द्रिका नामका छोरी थिए । ती गन्धर्वकन्या अप्सराहरूको यिनै शुभ नाम थिए । फेरि ती सबै पाँचै कुमारीहरू उमेरमा पनि बराबरीका थिए । मानों, ती चन्द्रमाबाट निस्किएका चाँदनी जस्तै प्रकाशमान थिए । ती पाँचै चन्द्रमा जस्तै मुख भएका, अति राम्रो केश भएका थिए र चन्द्रमाको अमृतरूपी रस भरिएका जस्ता उनका ओठ थिए । जसरी चन्द्रमाको चाँदनी सेता कमलहरूमा प्रफुल्लता सञ्चार गर्दछ, त्यस्तै गरी उनको दर्शनले हेर्नेका आँखाहरूमा आनन्दको ॐ सञ्चार हुन्थ्यो । मानों, उनीहरू सुन्दरताको डल्लोबाटै पैदा भएका जस्ता अति राम्रो रूप  भएका, हेरिरहाँ जस्ता थिए । उनका कुचकुम्भ गोल-गोल र उठेका ठाडा थिए, मानों, ती वैशाख महीनाका कमल जस्तै लाग्दथे । नयाँ पालुवारूले शोभिएको लहरो झैँ नयाँ यौवन छचल्किएर ती अत्यन्तै सुन्दर थिए । तिनीहरू पहेंलो मिसिएको सुन जस्तै गोरा थिए, यसैकारण, उनको चमक पनि सुनको जस्तै थियो । ती सुनकै अलङ्कारले शोभिएका थिए । तिनीहरूले सुनले बनेका चम्पाका फूलको माला लगाएका थिए, अनि सुनकै वर्णका गुनकेशरीका फुलेका लहराले चुल्ठो सजाएका थिए, अनि सुन जस्तै चम्कने सुन्दर वस्त्र धारण गरेका थिए । ती सबै सातै स्वर- समूहमा, हावभावमा, नाना प्रकारका मूर्च्छना यानि स्वर- विशेषमा, ढोलकमा ताल दिने विनोदमा, बाँसुरी मुरली वीणा बजाउनमा, भिन्न-भिन्न स्वरमा मादल बजाउनमा, नाना भाँतीका नाच नाच्नमा, विविध प्रकारका चित्र बनाउने लहडमा, त्यस्तै; अनेक किसिमका कलाहरूमा निपुण थिए । त्यस्ता प्रकारका ती कन्याहरू कुनै वेला वनक्रीडामा मुग्ध थिए । ती कन्या आफाफ्ना पिताहरूले पालिएका भएर पनि कुबेरका बगैचाहरूमा डुलफिर गर्थे । यस्तैमा, एकासमयमा लहड़ले नै ती पाँचै  कन्या मिलेर वैशाख महीनामा यौटा वनबाट अर्को वनमा जाँदै पारिजातका फूलहरू टिप्ने बटुल्ने गर्थे ।

यस्तैमा कुनै एकदिन ती सुन्दरी कन्याहरू गौरीको आराधना गर्नका लागि कुनै स्वच्छ सरोवरमा गए । फेरि तिनीहरूले त्यस तलाउ यानि सरोवरबाट राम्रा-राम्रा सुनका कोस जस्ता कमलका फूलहरू टिपेर, ती राम्रा फूलहरू लिएर, वैदूर्यमणि तथा शुद्ध स्फटिक र सफा स्वच्छ मूगा जस्तो जल भएको तलाउमा न्वाहेर, अर्को वस्त्र पहिरेर अनि चुपचाप त्यहाँको सुन मिलेका बालुवाहरूको भूइँमा सानो ढिस्को उठाएर पार्वतीको मूर्ति बनाउँदा भए । अनि केशर मिलेको सेतो चन्दनले सिँगारिएकी ती पार्वतीलाई राम्रा-राम्रा कमलका फूलहरूले र नाना प्रकारका उपचार धूप-दीप- नैवेद्य आदिले पूजा गरेर, अत्यन्त भक्तिभावले भरिएका ती कुमारीहरू नाना प्रकारका ताल यानि बाजाको ध्वनिपूर्वक त्यतिखेर त्यहाँ नाच्ता ती मृगनयनीहरूले गान्धार स्वरको आश्रय अर्थात् उत्थान गरेर खूब राम्रो स्वरले तीखो ध्वनि भएको मूर्च्छना नामको ध्वनिपूर्वक गीत गाए । त्यस गीतको वाक्यविन्यासः राम्रो प्रबन्ध भएको सुरिलो स्वरको अति उत्तम थियो । हर्षको रस बर्साउने  त्यो सुरिलो स्वर भएको ठाउँमा ती कन्याहरू नाचमा अत्यन्त मस्त रहेको वेलामा तब त्यो अच्छोद नामको उत्तम तीर्थमा स्नान गर्नका लागि वेदनिधि मुनिका छोरा प्रसीद बेटा उहाँ आए । उनको रूपले रूपको सीमालाई नाघेको थियो, उनको मुखमण्डल अत्यन्त राम्रो थियो, उनका आँखा कमलका फूलको पात जस्ता विस्तृत थिए, उनी युवा अवस्थाका थिए, उनको छाती चौड़ा थियो, उनका हात लामा- लामा अति सुन्दर थिए, उनी क्यै श्याम वर्णका थिए, मानों, उनी दोस्रो कामदेव नै हुन् कि जस्ता थिए । उनी ब्रह्मचारी थिए, उनको शिरमा यामानको टुप्पी शोभायमान थियो, हातमा दण्ड लिएका उनी मानों धनुष लिएका कामदेव जस्तै थिए । उनले मृगचर्मका वस्त्र धारण गरेका थिए, जनै पहिरिएका थिए, सुन जस्तो चम्किने मूजको मोटो कन्धनी पनि कम्मरमा धारण गरेका थिए । त्यहाँ त्यस तलाउको तटमा ती बालाहरूले ती ब्रह्मचारी बटुकलाई एकाएक देखेर आश्चर्यले चकित भएका छँदा अत्यन्त रमाए र हाम्रो आँखाको अतिथि- समान यो को होला ! भनिठानेर टोहलाउँदै सोच्न थाले । अनि ती बालाहरूले आफ्नू नाचगान छोडेर तिनैलाई एकटकले हेर्दाहेर्दै व्याधाले हरिणीहरूलाई वाणले वेधे-झैँ तिनीहरू पनि कामका वाणले बेधिए । उनलाई देखेर लट्ठ ती पाँचैओटी कन्या ती जवान ब्राह्मण भएका 'कामदेव' पो हुन् कि भन्ने भ्रममा परे र हड़बड़ाउँदै 'हेर हेर' यस्तो भन्न थाले । अनि आफ्ना कमल- कोस जस्ता बड़ा बड़ा आँखाले बारम्बार तिनलाई मनमनै पूजा गरेर अर्थात् हेरिरहेर त्यसपछि ती कन्याहरूले परस्परमा विचार गर्न लागे । यदि यो पुरुष कामदेव नै भएको भए रतिलाई साथमा नलिई किन घुम्थे ! यदि यी अश्विनिकुमार द्यौता भएका भए निश्चय नै ती दुवै भाइ साथैमा रहन्थे । त्यसकारण, कि त यी गन्धर्व हुन् अथवा कुनै किन्नर हुन् अथवा इच्छानुसारको रूप धारेका कुनै सिद्ध हुन् अथवा यी कुनै ऋषिपुत्र हुन् अथवा कुनै उत्तम पुरुष नै हुन् अथवा यो कोही होस्, पक्कै पनि ब्रह्माजीले हाम्रै लागि सृष्टि गरेका हुन् । जस्ता प्रकारले भाग्यमानीहरूको लागि पूर्वजन्मका कर्मानुसार खजाना प्राप्ति हुन्छ, त्यस्तै प्रकारले, हामी कुमारीहरूका लागि कल्याणरूपी जलको तरङ्गको लहरले चित्त पग्लेकी पार्वतीले यो उत्तम वर पठाइएको हो । त्यसकारण, यस वरलाई मैले वरें. तँले वरिस् त मैले पनि वरें, तिमीहरूले

मात्रै वर्ने ? मैले पनि वरेँ, म किन छोडूं ? मैले पनि वरेँ, तिमीहरूभन्दा म के कम छु ? लौ, मैले पनि वरें भन्दै यस्ता प्रकारले ती पाँचैओटीले परस्परमा बोलिरहेको वेलामा त्यहाँ तिनीहरूको त्यस्तो कुरो सुनेर ती महर्षिकुमारले आफ्नू मध्याह्नको नित्यक्रिया सकेर, अनि ती बटुक प्रसीदले पनि तिनको कुरो आफ्नू हृदयमा विचारेर 'यो विघ्न आइलाग्यो' भन्ने ठाने । किनकि ब्रह्मा- विष्णु-महादेव आदि देवताहरू, पहिलेका जो सिद्ध मुनिहरू अनि ती योगबल भएका योगीहरू पनि अबला युवतिहरूको त्यो अद्भुत लीलाद्वारा मोहित गरिइसकेका छन् । धनुषधारी कामदेवले आँखीभुइँरूप बलियो धनुबाट छाडेका युवतिहरूको नेत्ररूपी तीखा वाणले हानिएपछि कसको मनरूपी मृग ढल्दैन र ! नीतिपूर्वकको धैर्य तबसम्म मात्रै रहन सक्छ, तबसम्म मात्रै जनताको भय भइरहन्छ, तबसम्म मात्रै चित्त अत्यन्त दृढ़ रहन्छ, तबसम्म मात्रै कुलको ख्याल रहन्छ, तबसम्म नै तपको तुजुक रहन्छ, तबसम्म मात्रै मनुष्यले यम-नियम आदिको पालन गर्न सक्छ जबसम्म अत्यन्त नसिला ती वनिता युवतिहरूको कर्के हेराइरूपी वाणले मनुष्य मोहमा पर्दैन अर्थात् बेहोशिदैन । युवतिहरूको  मीठा मनोहर नखराले विषयमा हिरिक्क हुने जनहरूको मनलाई मोहित गराउँछन्, एकदम उन्मत्त बनाउँछन् । तसर्थ, यी अहिले मलाई पनि मोहमा पार्दछन् र पक्कै पनि उन्मत्त बनाउँछन् । तसर्थ, अब कुन उपायले मेरो यो आश्रमधर्मको रक्षा हुन सक्छ ? मासु-रगत- मल-मूत्रले बनेको अति अपवित्र घिनलाग्दो स्त्रीहरूको शरीरमा सुन्दरता- को कल्पना गरेर एकदम मूर्ख मूढ़ चित्त भएका कामुकहरूले झैँ संयमी धीर विचारवान् जनले तिनमा लट्ठिएर रमण गर्नु हुँदैन । किनकि निर्मल बुद्धि भएका विद्वान्हरूले स्त्रीहरूको संसर्ग नै आश्रमधर्ममा रहनेहरूका लागि भयङ्कर हुन्छ है ! भनेर बताएका छन् । त्यसकारण, जबसम्म यी मेरा समीपमा आइपुग्दैनन्, तबतकैमा म घर गइहाल्छु भन्ने विचार आफ्नू मनमा खेलाउँदै थिए कि उलिखेरै ती कन्याहरू ती प्रसीद ब्रह्मचारीको नगीचै गएर आफाफ्ना दायाँ-बायाँ हातको बन्धनले अँगालो हाले, अनि विनयपूर्वक बिन्ती गरे- 'हे सुन्दर ! हामीहरूद्वारा निश्चय नै तपाईं वरिनुभयो, यसकारण, यस विषयमा तपाईंको विपरीत विचार नहोस् ।

ती कन्याहरूले यस्ता प्रकारले विनय गरिएका  तथा तिनका बाहुपाशमा बाँधिएका ती प्रसीद ब्राह्मणले मुस्कुराउँदै भने- 'तिमीहरू शुभ, अनुकूल र प्रियवचन भनिरहेका छौ, किन्तु गुरुकुलमा ब्रह्मचर्याश्रममा रहेको अनि वेदको अभ्यासमा तल्लीन भएको मेरो नियम अझै समाप्त भएको छैन, जुन आश्रममा जो धर्म छ, त्यसलाई पण्डितहरूले रक्षा गर्नुपर्दछ । यसकारण, हे कन्या हो ! अहिले यो विवाह गर्नु मेरो धर्म हैन भन्ने म ठान्दछु ।' ती ब्रह्मचारी बटुक प्रसीदको यस्तो कुरो सुनेपछि तब ती कन्याहरूले वैशाखमा साफ गलाले मीठो ध्वनि बोल्ने कोइलीहरूले बोले- झैँझैँ तिनलाई मीठो बोलीले भने- धर्मले धन, धनले गृहस्थाश्रम, गृहस्थाश्रमले धर्मका फलको उदय हुन्छ भन्ने शास्त्रहरूको यही नै निश्चय छ भनी विद्वान्हरूले ठोकुवा गरेका छन् । धर्मको अधिकताको उही गृहस्थाश्रम जमाउने काम तपाईंका सम्मुख उपस्थित भएको छ । यसकारण, विविध प्रकारका भोगहरूले उसको उपभोग गर्नुपर्छ, तब यो भूमि नै स्वर्गभूमि जस्तै हुन्छ ।

तिनीहरूको त्यस्तो वचन सुनेर ती प्रसीद ब्रह्मचारीले गम्भीर वाणीले भने तिमीहरूको कुरो साँचो हो, किन्तु म गुरुकुलको आफ्नू नियम  समाप्त गरेर, गुरुको आज्ञा पाएर मात्रै अनि सबै विवाह आदि कर्म गर्नेछु, त्यसै बीचमै आफै बाठो भएर विवाह म गर्दिनँ । उनले यति भनेपछि फेरि ती कन्याहरूले 'हे सुन्दर ! तपाईं सचमुच मूर्ख प्रतीत हुनुहुन्छ'- भने । दिव्य औषधि, दिव्य रसायन, खानीको सिद्धि, उत्तम कलाहरू, सुन्दरी स्त्रीहरू, मन्त्र तथा धर्मबाट प्राप्त भएको धर्मको रस पनि जब यी स्वयं प्राप्त हुन्छन् त बुद्धिमान्ले यस्ता कुराहरूलाई छोड्नु हुँदैन । संयोगले नै यदि कार्यको सिद्धि प्राप्त भयो भने नीति जान्ने व्यक्तिले त्यसमा उपेक्षा गर्नु हुन्न, किनकि उपेक्षा गर्नाले फेरि फलको लाभ हुँदैन । त्यसकारण, दीर्घसूत्री बनेर आलस्य वा टाल- मटोल गर्नु राम्रो ठानिन्न । गाढा प्रेम गर्नेवाला, निर्मल कुलमा जन्म लिएका, स्नेहले चित्त पग्लिएका, बोलीचाली र चालचलन राम्रो भएका, स्वयं वर वरण गर्न तम्सिएका, राम्रा अनि रूपले धप्प बलेका कुमारी कन्याहरूलाई त यस ब्रह्माण्डमा भाग्यशाली मनुष्यहरू मात्रै प्राप्त गर्दछन्, अरूले पाउन सक्तैनन् । विचार्नुहोस् त, कहाँ हामी अति सुन्दरीहरू, कहाँ तपाईं तपसी बटुक, अर्थात् तपाईंमा र हामीमा परस्परमा ठूलो फरक छ ।  साँचै हो; यस्तो नहुने कुरालाई पनि हुने गराउनमा विधाता अति पण्डित यानि जान्ने छ भन्ने कुरो हामी मान्दछौँ । त्यसकारण, जसरी हुन्छ यतिखेर तपाईं हामीलाई गान्धर्व विवाहद्वारा स्वीकार गर्नुहोस्, यसैमा हाम्रो कल्याण छ, हैनभने आकुलिएका हामी अब जीवित रहन सक्तैनौँ ।

तब तिनीहरूको त्यस्तो कुरो सुनेका, धर्म जान्नेहरूमा श्रेष्ठ ती प्रसीद ब्राह्मणले भने- 'हे मृगनयनी हो ! धर्म नै धन भएका मनुष्यहरूले धर्मलाई कसरी त्याग्ने ? धर्म-अर्थ-काम-मोक्ष यी चारैलाई यथोक्त विधिले सेवन गरे मात्र यी सफल हुन्छन्, हैनभने निष्फल हुन्छन् । यतिखेर म व्रती छु, यसकारण, व्रत पूरा नगरीकन विना- समयमा स्त्रीको पाणिग्रहण या स्त्रीग्रहण गर्दिनँ । किनकि जो मनुष्य क्रियाको समय जान्दैन, उसले क्रियाको फल पाउँदैन । त्यसकारण, यस समयमा मेरो मन धर्मको विचारमा लागेको छ, तसर्थ, हे कन्या हो ! सुन, यतिखेर म स्वयंवर गर्न चाहन्नँ । किनकि यस विश्वमा कति मनुष्यहरू द्रव्य- धनी, कति विद्या-धनी, कति सिद्धि-धनी, कति योग- धनी, कति कीर्ति- धनी हुन्छन् त कति संयम- धनी, कति धर्म- धनी हुन्छन् । ती मध्ये म धर्म- २ धनी हुँ, आफ्नू धर्म छाडेर, आफ्नै मनले, गुरुजनको आज्ञा नपाईकन म कसैको पाणिग्रहण गर्दिनँ । यस्ता प्रकारको ती प्रसीद बटुकको आशय जानेर उनको हातबाट आफ्नू हात छुटाएर अनि उनीहरूले आफ्ना परस्परमा हेराहेर गरे । तब प्रमोदिनीले ती बटुकको गोड़ो पक्री, त्यसै गरी सुशीला र सुस्वराले उनको हात पंक्रे, सुताराले अँगालो हाली र चन्द्रिकाले उनको मुख चुमी । तथापि त्यस स्थितिमा पनि ती ब्रह्मचारी जस्ताका तस्तै कामविकारले रहित भै, निर्विकार नै रहेर प्रलयकालको अग्नितुल्य अत्यन्त क्रोधले चूर भएका ती ब्रह्मचारीले अटेरी ती कन्याहरूलाई यस्तो सराप दिदा भए- “जसरी पिशाचिनी जस्तै भएर तिमीहरू ममा टाँसियौ, त्यसरी नै तिमीहरू पिशाचिनी भए ।" यस्ता प्रकारले प्रसीद ब्रह्मचारीले सरापिएका ती कन्याहरू तुरुन्तै उनलाई त्यागेर ती ब्रह्मचारीका सामु खड़ा भएर भने- "हे पापी ! हामी निरपराधिनी जनमा तिमीले यो के गयौ ? प्रिय कार्यको बदला अप्रिय कार्य गयौ, तिम्रो यो धर्मज्ञानलाई धिक्कार छ । जो मनुष्य आफ्ना अनुरागी भक्तजनहरूमा, मित्रजनहरूमा द्रोह गर्दछन्, त्यस्ता पुरुषहरूको दुवै लोकमा सुख नाश हुन्छ भन्ने कुरो हामीले सुनेका छौं। त्यसकारण, तिमी पनि हामीहरूको श्रापले तुरुन्तै पिशाच होऊ । "

यति भनेर चुप लागेका ती बाला कन्याहरूले 'खुय्य - खुय्य' गर्न लागे तथा भोक- प्यासले आकुल-व्याकुल भए । हे शिवभट्ट ब्राह्मण ! तब परस्परमा श्रापाश्राप गरेर त्यसै तलाउका तीरमा ती कन्याहरू र त्यो प्रसीद ब्रह्मचारी पनि सबै छ:वै जना पिशाच भएर रहँदा भए । तब उस पिशाचका साथै ती पिशाचिनीहरू पनि पहिले गरेका पापकर्मको त्यो भयङ्कर फललाई रुँदै कराउँदै बिताउन लागे । हे शिवभट्ट ! पूर्वजन्ममा अर्जित गरिएको शुभ वा अशुभ कर्मको फल समय आएपछि भोग्नैपर्छ, त्यसलाई देवताहरूले पनि आफ्नू छायालाई झैँ निवारण गर्न यानि हटाउन सक्तैनन् । त्यसपछि ती कन्याहरूका र उस ब्रह्मचारीका आमा-बाबु रुँदै तड्पदै हिड्थे । प्रारब्धको भोग अमिट हुने हुनाले ती बालाहरूलाई र उस ब्रह्मचारीलाई पनि चैन थिएन ।

पिशाच भएपछि ती पिशाचहरू आहाराका लागि अत्यन्त दुःखी भएर त्यसै तलाउको किनारमा यताउति भट्कँदै बस्तथे । यस्तै प्रकारले धेरै  समय बितेपछि मुनिहरूमा श्रेष्ठ लोमशजी पूस महीनाको शुक्ल चतुर्दशीको दिन अच्छोद तालमा स्नान गर्नका लागि त्यहाँ आए । तब ती ब्राह्मण लोमशलाई देखेर भोकले आकुल भएका ती सबै पिशाचहरू एकजुट भएर उनलाई मार्ने इच्छाले उनीतिर दौडे । किन्तु लोमशजीका अति कडा तेजले भत्भत पोलिएका ती उनको अगाडि नगीचै रहन असमर्थ भएर सबै टाढै रहे । त्यसै वेला त्यहाँ वेदनिधि नामका ब्राह्मण टुप्लुक्क आइपुगे । हे शिवभट्ट जी ! अनि उनले लोमशजीलाई देखेर साष्टाङ्ग प्रणाम गरेर यानि उनका पाउमा ढोगेर उभिई हात जोडेर शिर झुकाएर मीठो बोली बोले- 'हे ब्राह्मण ! हे महर्षि ! ठूलो भाग्य उदाएपछि नै सज्जनहरूको सङ्गति यानि भेट हुन्छ । गङ्गा आदि गरिएका सबै तीर्थमा जो मनुष्य सधैँ न्वाहुँछ, अनि जो मनुष्य सज्जनहरूको सङ्गत गर्छ, ती दुवैको सत्सङ्गत गर्नु बड़ो उत्तम ठानिन्छ । हे ब्राह्मण ! गुरु अर्थात् महात्माहरूको समागम पृथ्वीतलमा दृष्ट वा अदृष्ट फल दिनेवाला हुन्छ, अर्थात् स्वर्ग दिनेवाला या रोग हर्नेवाला हुन्छ, किन्तु त्यसमा धेरै विघ्न-बाधा पनि हुन्छन् ।'

यति भनेर वेदनिधिले ती पिशाचहरूको पहिले  घटेका उनीहरूको अद्भुत वृत्तान्त बताए । यी उभिएका सबै तिनीहरू गन्धर्वकन्या हुन् र त्यो उभिएको यो बटुक चाहिँ मेरो छोरो हो । यी सबै नै परस्परमा सरापासराप गरेर, पिशाचरूपले मलिन अनुहार पारेर, हे मुनिहरूमा श्रेष्ठ लोमशज्यू ! तपाईंका अगाडि उभिएका छन् । अब आज तपाईँ का दर्शनले यी कुमारीहरूको र त्यस कुमारको पनि उद्धार हुनेछ । के सूर्योदय भएपछि पनि अन्धकारको राशि गुफामा घुस्रदैन र ?'

हे शिवभट्ट ! त्यो कुरो सुनेर दयाले मन पग्लिएका अत्यन्त तेजस्वी लोमश ऋषिले पुत्रको दुःखले दुःखित ती मुनि वेधनिधिलाई भने- 'मेरा कृपाले यी बाला कन्याहरूलाई र त्यस बटुकलाई पनि तुरुन्तै पूर्वस्मृति प्राप्त हुनेछ र जसले तिनको परस्परको श्राप नाश हुन्छ, त्यो त्यस्तो धर्म पनि म बताउँछु' भनी लोमशले भन्नुभयो-'अब यिनीहरू मेरा साथ रहेर विधिपूर्वक माघभरि नै माघस्नान गरून् । माघभरिको स्नानले मात्र माघको अन्तमा श्रापबाट छुट्न सक्तछन्, हैनभने, अरू उपायले विरको उद्धार हुन सक्तैन । हे वेदनिधि ! श्रापरूपी पापको फल र मनुष्यहरूको पापको नाश तीर्थमा माघस्नान गर्नाले मात्रै हुन्छ, मेरो यस्तो निश्चित  बुद्धि यानि निश्चय छ । सात जन्मदेखिको पाप र वर्तमान जन्ममा गरिएको महापाप पनि विशेष गरेर पुण्य-तीर्थमा गरिएको माघस्नानले सारा डढ्छ अर्थात् नाश हुन्छ । मुनीश्वरहरू जुन पापको कुनै प्रायश्चित्त देख्दैनन्, त्यस्तो पाप पनि पुण्यतीर्थमा माघस्नान गर्नाले नाश हुन्छ भन्दछन् । जानी- जानीकन आफ्नै मनले कोही जन माघस्नान गर्छ भने त्यस स्नानले त्यो मोक्षफलको भागी हुन्छ । हिमालयको पर्वतीय प्रान्तमा रहेको तीर्थमा अर्थात् देउघाटको त्रिवेणीमा गरिएको माघस्नान सारा पाप नाश्ने हुन्छ । त्यसकारण, अब यी कन्याहरू र तिम्रो त्यो छोरो तथा तिमी पनि सबै सद्गति चाहनेहरू मेरा साथ देउघाटको त्रिवेणीमा हिड़ । त्यहाँ देउताहरूलाई पनि दुर्लभ हुने माघस्नान माघभरि सबै एकैसाथ गरौं, त्यहीँ नै पापबाट उत्पन्न भएको यो पिशाचत्वबाट यिनीहरू तुरुन्तै छुट्कारा पाउनेछन् ।

यति भनी भोलिपल्टै ती सबै अत्यन्त खुशी हुँदै लोमशका साथ उनका कृपाशक्तिले आकाशमार्गद्वारा देउघाटका लागि अच्छोदबाट प्रस्थान गरे र उसै दिन, दिन क्यै बाँकी छँदै, उहाँ पुगी तीर्थयात्रीहरूलाई बनाइराखिएको छाप्रोमा  डेरा जमाए । लौ अब, पिशाचत्वबाट मुक्ति चाहने यी कन्याहरू र तिम्रो यो छोरो पनि अनि तिमी पनि सबैले मेरो भनाइ अनुसार यस त्रिवेणीमा मेरा साथै सधैँ मकर राशिमा सूर्य रहुञ्जेल न्वाहो । यस त्रिवेणीका जलका प्रभावले पहिले-पहिलेका सारा पाप नष्ट हुन्छन् भनी तिनीहरूलाई माघभरि त्रिवेणीमा न्वाहुन लाए त माघको अन्तमा ती सबै पिशाचत्वबाट छुटेर पहिलेकै रूपमा अर्थात् पहिले जस्ता थिए उस्तै रूपमा, उस्तै भेषमा प्राप्त भए । तब वेदनिधिले आफ्नू छोरोलाई र ती दिव्य रूपका कन्याहरूलाई देखेर भित्रैदेखि प्रसन्न चित्त भएका छँदा श्रद्धापूर्वक लोमशको स्तुति गरे र भने- 'तपाईंको कृपाले मात्रै पापरूपी समुद्रबाट यिनीहरूले पार पाए । हे ऋषिहरूमा श्रेष्ठ प्रभु ! अब यी बाल-बालिकाहरूलाई के गर्ने ? यसबारे उचित कुरो आज्ञा होस् ।' तब लोमशले भन्नुभयो- 'यो कुमार वेद पढिसकेको र आश्रमको नियम पनि पूरा गरिसकेको पट्ठो छ । तसर्थ, अब यो केटो आफूमा प्रेम गर्ने यी पाँचैओटीको करकमल पक्रोस् अर्थात् पाणिग्रहण गरोस् ।'

त्यसपछि लोमशका आज्ञाले र अनि आफ्ना बाबुको वचनले विवाहका लागि चाहिने आवश्यक  शुभ वस्तुहरूले र त्यहाँका रैथाने ऋषिहरूद्वारा पढ़िएका वेदमन्त्रका ध्वनिहरूले मङ्गलाचार गरिएको त्यो धर्मात्मा ब्रह्मचारीले विवाहको विधिले तुरुन्तै त्यहीँ धर्मपूर्वक ती पाँचैओटी कन्याहरूको हात पक्रियो अर्थात् तिनीहरूसित विवाह गर्यो । तब आफाफ्नू मनोरथ पूरा भएका ती सबै कन्याहरू आनन्दले मस्त हुँदा भए । त्यो पट्ठो कुमार पनि प्रसन्न भयो । त्यसपछि ती वर-वधूलाई गार्हस्थ्य धर्मको शिक्षा र परस्परमा सरापासरापका कारणले मात्रै प्राप्त भएको यो संयोगको फल र मेरा आशीर्वादले प्राप्त भएको सारा ऐश्वर्य प्राप्त गर अनि यस्तै रूप-रङ्ग उमेरमै रहेर यस्तै रहिरहेको यस पतिका साथ आउने प्रलयकालसम्म रहिरहो भन्ने आशीर्वाद दिएर हिड्न लाग्दा ती वर- वधूहरूद्वारा र वेदनिधिले श्रद्धा भक्तिपूर्वक नमस्कार - प्रणाम - ढोग गरिएका ती लोमश ऋषि पनि द्यौताहरूले निवास गरिएको मेरु पर्वतको आफ्नू आश्रममा जाँदा भए । अनि वेदनिधि पनि पाँचोटी बुहारी र छोरोलाई अगि लाएर हर्षित हुँदै कुबेरको नगरी अलकापुरीमा गए ।

 विवाह भएको सात वर्षसम्म पनि ती परीहरूमा सन्तान नभएकोले तब फेरि अच्छोदमा मकरस्नान गर्न आएका लोमश ऋषिभाठौँ ती पाँचै परीहरू पतिसहित गएर उनलाई ढोगी आफ्नू दुःख- हवाल बिन्ती चढाए त लोमश ऋषिले उनीहरूलाई भन्नुभयो- सन्तानका लागि अब तिमीहरू सबैले पतिका साथै यसै अच्छोदमा लगालग तीनोटा माघका मकरस्नान विधिपूर्वक गर्नुपर्छ, अनि मात्रै तिमीहरूलाई सन्तान हुनेछन् ।

लोमशका आज्ञा-अनुसार उनले बताएबमोजिम उनीहरूले तीनोटा मकरस्नान गरेपछि तिनले घ्याल्घ्याल्ती छोराछोरी पाए । तसर्थ, हे शिवभट्ट ब्राह्मण ! तिमी पनि यो देउघाटको त्रिवेणीमा विधि-नियमपूर्वक पत्नी सहित भई लगालग तीनोटा माघभरिभरि मकरस्नान गर त अनि म तिमीलाई आकाशमा सूर्य-चन्द्र रहुञ्जेल नाउँ चलिरहने सन्तान दिनेछु । यति भनी सिद्धिविनायक चुप लागे ।

हे अगस्त्य मुनि ! तब सिद्धिविनायकले बताएबमोजिम शिवभट्टले विधि-विधानसहित मकर राशिमा सूर्य सरेको दिन माघेसंक्रान्तिदेखि माघमासान्तसम्म नियममा रहेर तीनोटा माघस्नान पूरा गरे । देउघाटमा माघस्नान गर्दा प्रत्येक माघका तीसै दिनसम्म नै दिनहुँ कुनै न कुनै वस्तु दान गर्ने गर्थे । माघको पहिलो दिन माघेसंक्रान्तिमा  बिहानै त्रिवेणीमा न्वाहीध्वाई घर आई तिलका झिक्राले जीउ सेकाई, ब्राह्मण-दम्पती बोलाई, तिनलाई तिलका लड्डु, भुटेको तिलमा सक्खर घिउ हाली मुछी मुकुऱ्याएको तिल, भुङ्गोमा पोलेको वा आगो-माथिको पानीमा उसिनेको तरुलका टुक्रा; त्यस्तै सखरखण्ड, सुथुनी, आलु, पिडालु एवं बुहोतामा भरि घिउ तथा सक्खरका डल्ला, अनि ती दम्पतीलाई नै खिचड़ी खान प्रशस्त पुग्ने गरी एक माना वा बेसी नै मसिना नयाँ चामल, त्यति नै दलेको माषको खोष्टे दाल, त्यस खिचड़ीमा नहाल्न चामलको आधा नापको घिउ, अनि अरू तरकारी अचारका लागि चाहिने सरसामानले टञ्च ई भएको सिधा र लाउने तयारी ऊनी कुनै लुगा वा ओढ्ना वा सूती धोती उपर्ना आदि दान दिन्थे । गरीब-गुरुवालाई पनि तिलका लड्डू र गुड़का ब्लेडल्ला बाँडिदिन्थे । आशाले आउनेहरूको पनि पोल्टो भरिदिन्थे । अनि अरू प्रत्येक दिन चाहिँ दाउरा कम्बल-वस्त्र- जुत्ता- घिउ-तेल- डस्ना- तकिया- दोलाइँ- पाखी - अन्न- सुन- कमण्डलु- अखण्डदीप तथा कङ्गालहरूलाई भोजन- लुगाफाटा- भर्भउँदा मकल- तात्तातो दूध-हलुआ- पुरी- तयारी खिचड़ी-जुलेबी एवं जाडोले  थुर्थुराइरहेका कङ्गालहरूलाई कम्बल र खाना आदि गुप्तदान; अनि चटाई- गुन्द्री - बर्का-काने टोपी-तयारी लाउने लुगाहरूमध्ये कुनै न कुनै यौटा चीज बाहुनहरूलाई दान दिने र गरीबहरूलाई बाँडिदिने गर्थे ।

यसै गरी तीनोटा माघभरि- भरि मकरस्नान गरिसकेपछि लगत्तै आउँदो मङ्गलवार सिद्धिविनायकको पूजा गर्न गएका शिवभट्ट-दम्पतीले पूजा गरिसकेपछि सन्तान प्राप्तिका लागि प्रभुको आज्ञा- अनुसार तीनोटा मकरस्नान विधिपूर्वक हामीले पूरा गर्यौँ, हे प्रभो ! अब हामीलाई प्रभुको करार अनुसार सन्तान दिनुहओस् भन्ने प्रार्थना गरिरहेका ती भक्त शिवभट्ट- दम्पतीलाई सिद्धिविनायकले भने- 'हे शिवभट्ट- दम्पती ! आजको आठौँ दिनमा बिहानै आई यसै गरी मेरो पूजा गर्नू र उसै बेला यौटी गाई आएर तिम्रो मुख हेरिरहनेछन् । तिमीले पनि गाईको मुख हेरेर पूजा गर्नू, अनि गाईले गोब्याउनेछन्, त्यो गोबर भूमिमा खस्न नपाउँदै हातमा थापी घर लैजानू र तसलामा राखी माथिबाट तसलैले छोपिदिनू । चार दिन भएपछि हेर्नू, कन्या उत्पन्न भइरहेकी हुनेछन् । छोरो भने तिमीले पूर्वजन्ममा  राखेका छैनौ ।' यति विनायकको आज्ञा सुनी शिवभट्ट ब्राह्मण र सती ब्राह्मणी सिद्धिविनायकलाई दण्डवत् प्रणामं गरी घर फिरे । उता सिद्धिविनायक पनि अन्तर्धान हुनुभयो । त्यसको आठ दिनपछि मंगलवार बिहानै समस्त पूजा-सामग्री लिई दुवै स्त्री-पुरुष सिद्धिविनायकको मन्दिरमा गई पूजा गर्न लाग्दा यौटी गाई आएर हेरिरहिन् । अनि शिवभट्टले सिद्धिविनायकको पूजा सकेर गाईको पनि पूजा गरे । तब गाईले गोब्याइन् र शिवभट्टले त्यो गोबर भूमिमा खस्न नपाउँदै हातमा थापेर सिद्धिविनायकलाई दण्डवत् प्रणाम गरी सानन्द घर आए । अनि त्यो गोबर तसलामा राखी माथिबाट तसलैले छोपिदिए । चार दिन भयो र माथिको तसला झिकी हेर्दा कन्या उत्पन्न भइरहेकी देखे । कस्ती कन्या भने-मध्याह्न कालका सूर्य १ जस्तै तेज भएकी, पूर्णचन्द्र जस्तै मुख- मण्डल भएकी, वासुकिनाग झैं हात-पाउ भएकी र बाघको जस्तै कम्मर भएकी, सावित्रीका जस्तै पैताला न भएकी त्यस्ती परमसुन्दरी कन्या देखेर शिवभट्ट र सती अत्यन्त हर्षित भई तसलाबाट झिकेर निदान गरी (राम्रो सुरक्षा गरी) पाले । त्यस बालिकालाई खान दूध भएन र फेरि सिद्धि-विनायकको मन्दिरमा गई पूजा गरे । अनि गणनाथ प्रसन्न भई- 'हे शिवभट्ट ब्राह्मण, हे सती ब्राह्मणी ! के भन्ने इच्छा छ भन ।' यस्तो आज्ञा भएको सुनी शिवभट्ट बिन्ती गर्दछन्- ' हे गणनाथ ! हजुरको कृपाले सन्तान पाएँ, तर त्यस बालिकालाई खान दूध भएन, त्यही बिन्ती गर्न आएको हुँ ।' यति 'सुनेर 'त्यस बालिकालाई दूध दिएँ, जाऊ' भनेर सिद्धिविनायक अन्तर्धान हुनुभयो । अनि सतीले आफ्ना स्तन निचोरी हेर्दा दूध आंयो र त्यस बालिकालाई खान दिई बढाइन् । 

जस्तै; सीताजी उत्पन्न हुँदा राजा जनकलाई आनन्द भएथ्यो, त्यस्तै ती बालिका उत्पन्न हुनाले शिवभट्ट र सतीलाई आनन्द भयो । त्यसपछि योग्य ब्राह्मणहरू डाकी नामकरण संस्कार गराए । ती ब्राह्मणहरूले भने- 'हे शिवभट्ट ! गाईको गोबरबाट उत्पन्न भएकी हुनाले यी बालिकाको नाम 'गोमा' भयो र यी बालिका भाग्यमानी हुनेछन् । सम्पूर्ण लोकले सम्मान गर्नेछन् ।' यति ब्राह्मणहरूले भविष्यवाणी गरेपछि शिवभट्टले यथेष्ट भोजन र दक्षिणा दिई बिदा गरे । आगन्तुक सबै ब्राह्मणहरू आफाफ्ना आश्रममा गए । त्यसपछि ती गोमा नामकी कन्या शुक्लपक्षका चन्द्रमा झैं प्रतिदिन  बढेर पाँच वर्षकी भइन् । अनि शिवभट्ट ब्राह्मण र सती ब्राह्मणीले एकदिन कन्यालाई भने- 'हे पुत्री ! हामी गंगास्नान गरेर आउँछौं, तिमी पूजाको निम्ति अक्षता केलाइराखे' भनी अह्राएर दुवै दम्पती नित्य गंगास्नान गरेर हरि-हरको पूजा गरी सुवर्णादि नाना द्रव्य दान गरेर आउँथे । त्यही क्रमले दान गर्दा-गर्दा अमरावती थक्य र देवराज डराई समस्त देवता साथमा लिई कैलासमा त्यस श्री महादेवकहाँ गएर बिन्ती गरे- 'हे ईश्वर ! मर्त्यमण्डलको हिमालयको पर्वत- शृङ्खलाको नाई दक्षिण भागमा यौटा ब्रह्मपुर भन्ने नगर छ । ले त्यहाँ शिवभट्ट नामका ब्राह्मण र सती नामकी छि तिनकी पतिव्रता स्त्री छन् । ती दुवै स्त्री-पुरुषले हजुरका पुत्र सिद्धिविनायकको सेवा गरे र सिद्धिविनायक खुशी भई असंख्य सम्पत्ति दिए । ती शिवभट्टले सम्पत्ति पाएपछि नित्य गंगास्नान गरेर हरि-हरको पूजा गरी सुवर्णादि नाना द्रव्य दान गर्नाले अमरावती थर्कियो । हे शम्भो ! म अरू पनि बिन्ती गर्दछु- ती शिवभट्टले सम्पत्ति पाएपछि सन्तान भएनन् भनी फेरि सिद्धिविनायकको सेवा गरे । तब सिद्धिगणेशजी खुशी भएर सकल लक्षणले युक्त भएकी परम सुन्दरी यौटी कन्या  पनि वरदान दिए । हे प्रभो ! हामीहरूको रक्षा गरिबक्सियोस् । हजुरले रक्षा नगरे अमरावतीबाट हामीले च्युत हुनुपर्नेछ ।

यति इन्द्रको प्रार्थना सुनी महादेव आज्ञा गर्नुहुन्छ- 'हे देवेन्द्र ! नडराऊ, म रक्षा गर्नेछु । अब सबै अमरावती जाओ ।' शिवजीको त्यस्तो आज्ञा सुनी उहाँलाई दण्डवत् प्रणाम गरी सुरराज इन्द्र अमरावती फर्के । त्यसपछि महादेवले भिक्षुकरूप धारण गरी देवताको रक्षाका निमित्त जटाको मुकुट बनाई, बायाँ हातमा त्रिशूल र दाहिना हातमा डमरु लिई भस्म लेपन गरी शिवभट्ट ब्राह्मणको घर पुगी भिक्षा माग्नुभयो । गोमा आफ्ना पिताको पूजाका लागि अक्षता केलाइ- रहेकी थिइन् । निकै बेरपछि- 'हे भिक्षुक ! मेरा माता-पिता गंगास्नान गर्न गएका छन्, म अक्षता केलाउँदै छु, एकैछिन पर्ख, भिक्षा दिने अरू कोही छैनन् ।' यति भनेर पर्खाइराखिन् । अनि अक्षता केलाइसकेर भिक्षा लिई भिक्षुकरूप श्री महादेवछेउ आई - 'हे भिक्षुक ! मेरा माता-पिता घरमा छैनन्, म अक्षता केलाउँदै थिएँ, त्यसैकारण विलम्ब भयो, दुःख नमान, भिक्षा लेऊ' भनिन् । गोमाको यति कुरा सुनी भिक्षुकरूप महादेव भन्नुहुन्छ- 'हे  ब्राह्मणी ! यतिका बेर पर्खाई बल्ल अब भिक्षा दिन आइस्, म त्यो भिक्षा लिन्नँ, दिने भए तेरा बाबाको पूजा गर्न केलाइराखेको अक्षता दे !' यति भिक्षकरूप महादेवको वचन सुनी गोमाले- 'लिने भए भिक्षा लेऊ, नलिने भए अक्षता त म दिने होइन' भनिन् । गोमाको त्यस्तो वचन सुनेर रिसाएका महादेवले- 'हे पापिनी ब्राह्मणी ! तैंले अहंकार गरेर मलाई भिक्षा दिइनस्, अतः तँलाई श्राप दिन्छु- तँ सात वर्षकी हुँदा सत्तरी वर्षको बूढोसित तेरो विवाह होस् । फेरि तेरा माता-पिताले महाकष्ट सही सिद्धिविनायकको सेवा गरेर पाएको सबै सम्पत्ति पनि नाश होस् । फेरि तँलाई पनि अनेक थरिका दुःख आइपरून् । फेरि तेरा माता- पिता पनि चाँडै नै मरिजाऊन् । यति चार थोक तँलाई श्राप दिएँ ।' यति भनी त्यो भिक्षा पनि नलिई त्यहाँबाट अन्तर्धान भई कैलासमा पुग्दा भए ।

।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां गोमोत्पत्तिर्नाम विंशोऽध्यायः ।।२०।। 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  ०६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update