काठमाडाैं : स्वस्थानी व्रत सुरु भएको आज २३औँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
श्री स्वस्थानी व्रत कथाको त्रयोविंशौँ अध्यायमा गोमा ब्राह्मणीले गरेको श्री स्वस्थानी परमेश्वरी व्रतको फल र नवराजको उदय वर्णन गरिएको छ। सप्त ऋषिद्वारा उपदेश पाएपछि गोमाले कठोर व्रत, पूजा र जाग्राम गरी पुत्रको आगमन र दुःख नाशको कामना गर्छिन्।
व्रतको प्रभावले नवराज त्यही रात घर फर्किन्छन् र पिताको निधनको सत्य उजागर हुन्छ। गण्डकी गंगामा स्नानका क्रममा हरि–हर प्रत्यक्ष भई नवराजलाई लावण्य देशको राजा हुने वरदान दिन्छन् । माताको व्रत र श्रद्धाको फलस्वरूप नवराज तेजस्वी बन्छन् र राजपथतर्फ अग्रसर हुन्छन्। कथा श्रद्धा, धैर्य र व्रतको महिमाले दरिद्रताबाट राजयोगसम्म पुर्याउने सन्देश दिन्छ।
अथ त्रयोविंशोऽध्यायः
कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्य मुनि ! त्यसपछि गोमा ब्राह्मणी धागाको लरिया लिएर चन्द्रज्योति नगरको बरहीको घर पुगेर - मेरो घरमा सप्तऋषि आएका छन्, यो धागोको पान देऊ, तिनलाई खान दिन्छु भनिन् । त्यति गोमाले भनेको सुनेर बरहीले उत्तर दियो- 'हे गोमा ब्राह्मणी ! पान त कत्ति पनि छैन, जो भएको हिजै बेचिसकें। नपत्याए हेर' भनेर पानको भाँडो उघारेर देखायो । तब भाँडाभरि पान भइरहेको देखी-यो के आश्चर्य भयो भनी चिन्ता गरेर भन्यो- 'हे गोमा ब्राह्मणी ! यस भाँडाको पान हिजै बेचिसकेको थिएँ, आज कताबाट आयो ? तपाईंले मेरो घरमा सप्तऋषि आएका छन्, उनलाई खान दिने भन्दा यस्तो भएको हो कि भनी लाज मानी तपाईं धन्य हुनुहुन्छ, त्यो धागो पनि दिनुपर्दैन, पान लगेर ऋषिहरूलाई खान दिनुहोस् भनी आधा पान, ल्वाङ, सुपारी- समेत दियो र गोमा ब्राह्मणीले मनमा आनन्द मानी पान लिएर घर आउँदा सप्त- ऋषिहरू गइसकेछन् । अरू केही नभए पनि पानले ऋषिहरूको आतिथ्य गर्नेछु भनेको, म पापिनीको हातको पान खानुपर्ला भनी हिडेछन् । म धिक्कार रहिछु भनी विस्मात गरिन् । केही बेरपछि कुचो लिएर घर बढारूँ भनी पिरुका उठाउँदा उनीहरूले छाडेर गएका सातोटा सुनका कौडी देखिन् । त्यो द्रव्य पाएपछि उनीहरूले बताए अनुसार पौषशुक्ल पूर्णिमादेखि हात-खुट्टाका नङ काटी स्नान गरेर पवित्र भई एकभक्त रही, एकचित्त गरी नित्य मध्याह्न कालमा श्रीमहादेवको पूजा गरेर रात पर्नासाथ कथा सुन्ने घरमा कोही नहुनाले आफ्ना खाट, चर्खा, उइँटा, धनु आदि राखेर श्री स्वस्थानी परमेश्वरीको कथा भन्दथिन् । त्यसो गर्दा चन्द्रज्योति नगरका गोठाला केटा-केटीहरूले सुनेर के हो ! भनी खरको भित्ता च्यातेर चियाउन लागे र बिछौना, उइँटा, चरखा, धनु सामुन्ने राखेर एक्लै बरबराइरहेकी गोमालाई देखेर - 'हे गोमा ब्राह्मणी ! किन एक्लै कराएकी ?' भनी सोधे । अनि गोमाले भनिन्- हे बालक हो ! सप्तऋषिहरू आई श्री स्वस्थानी परमेश्वरीको व्रत गर भनी उपदेश दिएर गएका हुनाले सोही व्रत गरी श्री स्वस्थानी परमेश्वरीको कथा भनेकी हुँ, व्यर्थ कराएकी होइन । मलाई कुनै रोग पनि लागेको छैन, म बहुलाएकी पनि छैन । सुन्ने कोही नहुनाले ओछ्यान, चर्खा, उइँटा, धनुलाई सुनाएकी हुँ । यति गोमाले भनेको सुनी गोठाला १) केटा-केटीहरूले दिउँसो आफूले खान लगेको अन्न-पात छाडेर गए । सधैँ गोमाले भनेको कथा सुन्दथे र जे सकेको लगिदिन्थे । त्यसो गर्दा श्री स्वस्थानी परमेश्वरीको कृपाले गोठाला केटा- केटीलाई घाँस खोज्न धेरै पर जानुपरेन, नगीचै पाइन लाग्यो । गोमालाई पनि अन्न, द्रव्य हुँदै गयो । त्यसो गर्दागर्दै माघशुक्ल पूर्णिमाको दिन सम्पूर्ण सामग्री तयार पारी एकचित्त भई श्री स्वस्थानी परमेश्वरीको पूजा गरिसकेर हातमा अर्घ्य पात्र लिई - 'हे स्वस्थानी परमेश्वरी ! मलाई महादेवले भिक्षुकरूप भएर डमरुको शब्दले दिएको श्राप नाश गर । फेरि मेरो पुत्र नवराज र मलाई यस लोकमा सुख- सम्पत्ति दिई परलोकमा सायुज्य मुक्ति प्रदान गर । हे जगदीश्वरी ! आदि, मध्य र अन्त नभएकी; सृष्टि, स्थिति-संहार- स्वरूप भएकी यस्ती हे स्वस्थानी परमेश्वरी ! हजुरलाई कोटि-कोटि नमस्कार !' यसरी महादेवको पनि स्तुति गरी अर्घ्य दिइन् र दण्डवत् प्रणाम गरेर प्रसाद झिकी अष्टोत्तर सयमा आठ रोटी, आठ अक्षता, आठ बेलीपुष्प, आठ पान, आठ कुड्का सुपारी, सगुन-समेत यो मेरो पुत्र नवराजलाई भनी पर सारिन् । सय रोटी आफूले फलाहार गरिन् र रात्रिमा जाग्राम बसिन् । त्यही रातमा श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले नवराज टुप्लुक्क आइपुगे र बाहिरबाट 'हे माता !' भनेर डाके । गोमाले आफ्नो छोरोको बोली चिह्नेर झट्ट उठी बाहिर आएर ढोका खोली भित्र लगिन् । अनि स्नेहपूर्वक सोधिन् - 'हे पुत्र ! तेरा पिताको के खबर छ ?' अनि नवराजले भने- 'हे माता ! भिक्षा माँग्न गएका मेरा पिता गंगातटमा नित्य- पूजाको लागि वृक्षमा चढेर फल-फूल टिप्न लाग्दा संयोगले रूखको हाँगो भाँचिई लडेर मरेछन् । मलाई त्यहीँ बस्ने वृद्ध दम्पतीले भने र रूखमनि गएर हेरेँ । हाड़-खोड रहेछ । त्यो बटुली गंगा (नदीमा) मा प्रवाह गरेँ । अनि दशग्रात्र र श्राद्ध आदि गरेर घर आउन लाग्दा घरको दुःख सम्झेर त्यसै कसरी जाऊँ भनी शहरमा गएर राजाको सेवा गरे । उनले केही द्रव्य दिए र घर आइपुगेँ ।' यति नवराजले भनेको सुन्नासाथ गोमा अधैर्य भई निर्विवेकी विधाताले सात वर्षकी हुँदा सत्तरी वर्षको बूढासित विवाह गरायो, उही बूढो पनि मेरो यस्तो यौवनको बखतमा खोसेर लगिदियो । हे स्वामी ! भिक्षा माँग्न गएका तिमीले मलाई अनाथ तुल्याई एक्लै छाडी कता गयौ ? हे नाथ ! तिमी जहाँ गयौ, मलाई पनि उहीँ लैजाऊ । तिमी बिना म यो जीवन कसरी राखूँ ? भन्दै मूर्छा परेर भूमिमा ढलिन् । पछि चेत आयो र अनेक प्रकारले शोक गर्न लागिन् । अनि नवराजले भने- 'हे माता ! अब शोक नगर्नुहवस् । यो अनित्य संसारको नियम नै यही छ । जन्मेपछि नमर्ने को छ ? एकदिन सबैले मर्नुपर्दछ । अतः ( अब तपाईंले मेरो मुख हेर्नुपर्दछ । तपाईंकी बुहारी कहाँ छे ? यतिका दिनसम्म तपाईंहरू कसरी । बस्नुभयो, खान-पिन कष्ट भयो होला । फेरि तपाइँ यस बेलासम्म नसुतेर के गर्दै हुनुहुन्छ ?
अनेक पुष्प र धूप चन्दनको सुगन्ध आइरहेछ । के पुण्य कार्य गर्नुभयो ? आज्ञा हवस् ?' यति नवराजले भनेको सुनी गोमाले धैर्य धारण गरेर भनिन् - 'हे नवराज ! थाकेर आएको छस्, भोक लाग्यो होला, पहिले खानेकुरा खा । भनी खान दिइन् । खाइसकेपछि- 'हे पुत्र ! तेरी स्त्री चन्द्रावती माइत गएकी छ । तपाईंका छोरा आएपछि डाक्न पठाउनू भनेकी थिई । म तँलाई सम्झेर दुःखका दिन बिताइरहेकी थिएँ । एकदिन सप्तऋषिहरू आई मेरो कष्ट देखेर मनमा दया लागी 'श्री स्वस्थानी परमेश्वरीको व्रत गर, तिम्रो दुःख नाश होला' भनी उपदेश दिए र, उनीहरूको उपदेशले 'मेरो पुत्र नवराज छिटै आइपुगोस् र मेरो कष्ट एवं क दरिद्रता नाश होस्' भनेर उनै श्री स्वस्थानी परमेश्वरीको व्रत र पूजा गरी जाग्राम बसेकी थिएँ, मेरो मनोरथ पूर्ण भयो । अब तँलाई पनि उनको महिमा सुनाउँछु, एकचित्त भएर सुन् । यस लोकमा सुख-सम्पत्ति पाई अन्त्यमा मुक्ति- समेत मिल्नेछ भनी सम्पूर्ण कथा विस्तारले सुनाइन् ।' त्यसपछि प्रातः काल भयो र नवराजले भने- 'हे माता ! म गण्डकी गंगास्नान गरेर आउँछु भनी गए । अनि गण्डकी गंगामा गई स्नान गरिसकी हरि-हरको पूजा र स्तुति गर्दा गोमा ब्राह्मणीको ॐ व्रतको प्रभावले गण्डकी गंगाबाट हरि-हर प्रकट भई - 'हे नवराज ! तेरी माताले गरेको स्वस्थानी परमेश्वरीको व्रतका प्रभावले हामी प्रसन्न भयौँ । वरदान लेऊ । सुन, यस गण्डकी गंगादेखि दक्षिण दिशामा लावण्यदेश छ, त्यहाँ राजा छैनन् । हात्तीलाई सुवर्णको कलश र फूलको माला दिई राजा रोज्न लगाएका छन् ! तँ त्यहाँ जानू, हामी त्यस हात्तीमा प्रवेश भई राज्याभिषेक तँलाई नै दिलाउनेछौं । राजा होलास्'- भनी वरदान दिए । हरि-हर प्रकट भई वरदान दिएको सुनी नवराज स्तुति गर्न लागे-
यौ तौ शंख-कपाल-भूषितकरौ, मालाऽस्थिमालाधरौ
देवौ द्वारवती- श्मशाननिलयौ, नागारिगोवाहनौ ।
द्वित्र्यक्षौ बलि-दक्ष-यज्ञमथनौ श्रीशैलजा - वल्लभौ पापं मे हरतां सदा हरि हरौ श्रीवत्स-गङ्गाधरौ ।। 'हे हरि-हर ! हातमा शंख र कपाल (खोपड़ी) लिने, वनमाला र अस्थिमाला धारण गर्ने, दिव्यरूप भएका, श्मशान र द्वारकामा बस्ने, वृषभ अर्थात् साँढ़े र गरुड़ वाहन हुने, तीन र दुई नेत्र भएका, बलि र दक्षको यज्ञ मथन गर्ने, श्रीवत्स र गङ्गाले सुशोभित हुने, पार्वती र लक्ष्मीका स्वामी भएका यस्ता हजुरहरू मेरो समस्त पाप हरण गर्नुहवस् । म-माथि दया गरेर दर्शन दिनुभयो, म धन्य रहेछु । मैले माताको गर्भमा वास लिएको आज सफल भयो । दुष्ट जनको संहार र साधु जनको रक्षा गर्ने यस्ता हजुरहरू सम्पूर्ण ब्रह्माण्ड सृष्टि गरेर पालन गरी पाप पुण्यका साक्षी भएका हजुरहरूलाई कोटि-कोटि नमस्कार । सधैँ हजुरहरूको भक्तिमा मेरो चित्त लागोस् ।' यस्तै अनेक स्तुति गरिसकेपछि हरि-हर अन्तर्धान हुनुभयो । अनि नवराज हरि-हरको दर्शन पाएपछि सूर्य झैँ तेजिला भएर घर पुगे । गोमाले छोरोलाई त्यस्तो तेजले युक्त भएको देखेर आश्चर्य मान्दै सोधिन् - 'हे नवराज ! तँ आज अत्यन्त तेजवन्त देखिन्छस्, त्यसै हो कि मेरो चित्तको भ्रान्ति हो ? म त देवराज इन्द्रभन्दा पनि तेजिलो देखिरहेकी छु ।' यति महतारीले भनेपछि नवराजले गण्डकी गंगामा स्नान गर्न जाँदा गण्डकी गंगाबाट हरिहर प्रत्यक्ष भएको र लावण्य देशको राजा होलास् भन्ने वरदान दिएको सारा वृत्तान्त सुनाई- 'हे माता ! हजुरको तपस्याको प्रभावले म यस्तो भएँ' भने । यति नवराजले भनेपछि गोमा प्रसन्न भएर बोलिन् - 'हे नवराज़ ! मेरो पुत्र चाँड़ै आइपुगोस् भनेर श्री स्वस्थानी परमेश्वरीको व्रत गरी प्रसाद राखिदिएकी छु, लौ लेऊ, स्वस्थानी परमेश्वरीले सदैव तिम्रो कल्याण गरून्, सधैँ उनकै भक्तिमा चित्त लागिरहोस्' यति भनेर श्री स्वस्थानी परमेश्वरीको प्रसाद आठ आठ गनेर राखेको सगुन- समेत दिइन् र हे पुत्र ! तिमी हरि-हरको आशीर्वादले लावण्य देशको राजा भए भनी आशीर्वाद दिइन् । नवराजले पनि श्री स्वस्थानी परमेश्वरीको प्रसाद खाई माताको चरणमा दण्डवत् प्रणाम गरी लावण्यदेश जान भनी हिँडे ।
।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां गोमास्वस्थानीव्रतकृतवर्णनं नाम त्रयोविंशोऽध्यायः ।। २३॥

