नेपाल सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गर्न गठित जाँचबुझ आयोगको समय २० दिन थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकले आयोगको अवधि थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
शुक्रबारदेखि वर्षा र हिमपात हुने: पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी नेपालको पश्चिम क्षेत्रमा मौसम बदली भई मध्यमसम्म वर्षा र हिमपात हुने जनाइएको छ । विभागका मौसमविद् डेभिट ढकालले माघ ९ र १० गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने जानकारी दिए । उनले त्यसपछि सुदुरपश्चिम क्षेत्रको थोरै स्थानमा हल्का वर्षा सुरु हुने जनाए ।
रेशम चौधरीको उम्मेदवारी खारेजः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशम चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ । सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं. २ का एक, रौतहट जिल्ला क्षेत्र नं. १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ का दुई वटा उजुरीको भने दाबी नपुगेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति: संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, झण्डाकै आवरणमा देशविरोधी गतिविधि गर्ने तथा झण्डा प्रयोग गरेर मत माग्ने जस्ता कार्यहरू बढ्दै गएको भन्दै उनले यस्ता गतिविधि तत्काल रोक्नुपर्ने बताएका छन् ।
पार्टी फुटबाट जोगाउन मध्यमार्गी धार अपनाएको हो : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् । बिहीबार मोरङ क्षेत्र नम्बर ६ सुन्दरहरैंचामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको बताएका हुन् । प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई प्रष्ट निकास दिने बताए ।
बंगलादेशद्वारा टी-२० विश्वकप बहिष्कार: बंगलादेशले आगामी आईसीसी पुरुष टी-२० विश्वकपमा भाग नलिने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आफ्नो माग पूरा नगरेपछि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) टी-२० विश्वकप बहिष्कार गर्ने निर्णय लिएको हो ।बीसीबीका पदाधिकारीले सरकारी अधिकारीसँग छलफल गरेपछि यस्तो निर्णय लिएको समाचारमा जनाइएको छ । बीसीबीले औपचारिक रूपमा भने यसको घोषणा गर्न बाँकी छ ।
घट्यो ईभी आयात: पछिल्लो समय विद्युतीय गाडी (ईभी) आयात घट्दै गएको छ । यसवर्ष चीनसँगको मुख्य दुई व्यापारीक नाकामा भएको अवरोधका कारणले नेपालमा ईभी आयात घटेको सरोकारवालाहरुले बताएका छन् । भन्सार विभागले बुधबार जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पुस सम्म चार पांग्रे विद्युतीय गाडी (ईभी) १२ अर्ब ५ करोड ४५ लाख रुपैयाँको ५ हजार ७१ थान आयात भएको छ ।
सुनचाँदीको भाउ घट्यो: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुन दुई हजार ९०० र चाँदी ५० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९२ हजार २०० त्यति नै चाँदीको मोल पाँच हजार ८७० कायम भएको छ ।

