काठमाडौं- बंगलादेशले आगामी आईसीसी पुरुष टी–२० विश्वकपमा भाग नलिने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आफ्नो माग पूरा नगरेपछि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) टी–२० विश्वकप बहिष्कार गर्ने निर्णय लिएको हो ।
बीसीबीका पदाधिकारीले सरकारी अधिकारीसँग छलफल गरेपछि यस्तो निर्णय लिएको समाचारमा जनाइएको छ । बीसीबीले औपचारिक रूपमा भने यसको घोषणा गर्न बाँकी छ ।
बीसीबीका अधिकारीले भारतमा कुनै पनि हालतमा विश्वकप नखेल्ने र यस विषयमा फेरि आईसीसीसँग अनुरोध गर्ने जनाएका छन् । भारतमै खेल्नु पर्ने भए विश्वकप नै बहिष्कार गर्ने निर्णय बीसीबीले लिएको समाचारमा जनाइएको छ ।
बीसीबीले आगामी विश्वकपको आफ्ना सबै खेल भारतबाट श्रीलंकामा सार्न आईसीसीसँग अनुरोध गरेको थियो । बीसीबीले भारतमा विश्वकप खेल्दा आफ्ना खेलाडी र पदाधिकारी असुरक्षित हुने दाबी गरेको थियो ।
तर, आईसीसीले भने बंगलादेशी टोलीले विश्वकपका सबै खेल भारतमै खेल्नु पर्ने अडान कायम राखेको थियो । टी–२० विश्वकपको १०औं संस्करण आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

