सिन्धुपाल्चोक- तल्लो बलेफी जलविद्युत आयोजनाले आयोजना निर्माण गर्दा स्थानीयको माग सम्बोधन नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आयोजनालाई एक हप्ताको अल्टिमेटम सहितको ध्यानाकर्षण पत्र बुझाएका छन् ।
आयोजनाले प्रभावित क्षेत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी, भौतिक पूर्वाधार लगायतका काममा ध्यान नदिई आयोजना निर्माण गरेको भन्दै बिहीबार स्थानीयले वडा कार्यालय मार्फत आयोजनालाई सात दिने ध्यानाकर्षण पत्र बुझाएको स्थानीय युवा रमेश श्रेष्ठले बताए ।
‘हामीले व्यक्तिगत मागेका होइनौं’ उनले भने, ‘स्थानीयलाई र समाजमा आवश्यक पर्ने साझा कार्यक्रमलाई आयोजनाले सामाजिक उत्तरदायित्वको हिसाबले सहयोग गर्नु पर्ने कार्यमा सहयोग गरेको छैन ।’
निर्माणाधीन २२ मेघाबाटको जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वको काम नगरेको भन्दै चौतारा सागाचोकगढी नगरपालिका ४ कुबिन्डेका स्थानीय युवाहरूले आयोजनास्थल पुगेका थिए ।
‘हामी प्रभावित क्षेत्रमा पर्छौ हामीले वडा कार्यालयलाई स्थानीयको साझा आवाजको माग परेका हौँ’ श्रेष्ठले भने, ‘यसमा वडा कार्यालयले समेत समन्वय गरेको छ ।’ आयोजना निर्माण गर्दा स्थानीयलाई १० प्रतिशत सेयर दिने व्यवस्थापन कानुनमा भए पनि अहिले आयोजनाले स्थानीयलाई पेलेर काम गरेको स्थानीयको आरोप छ ।
आइतबार निर्माणाधीन २२ मेघाबाटको तल्लो बलेफी जलविद्युत आयोजनाको जिओलोजिस्ट इन्जिनियर सुमन तुम्बाहाम्फेले स्थानीयको ध्यानाकर्षण पत्र बुझ्दै ध्यानाकर्षण पत्र आयोजनाको हेड अफिसमा बुझाएर समन्वय गर्ने बताए ।

