काठमाडाैं - श्री स्वस्थानी व्रत सुरु भएको आज १९औँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
श्रीस्वस्थानी व्रतकथाको एकोनविंशौँ अध्यायमा माघ महिनाको महिमा र माघस्नानको अत्यन्त पुण्यदायी महत्व विस्तारमा वर्णन गरिएको छ । कथाअनुसार ब्रह्मपुर नगरका दीन–दरिद्र ब्राह्मण शिवभट्ट र उनकी पत्नी सतीले सिद्धिविनायकको आराधना गरी सम्पत्ति प्राप्त गरेपछि व्यापक दान–धर्म गरे र समाजसेवामा लागे। पछि सन्तानको कामनासहित पुनः गणेशको आराधना गर्दा गणेशले तीन वर्षसम्म नियमपूर्वक माघस्नान गर्न आदेश दिनुभयो ।
यस अध्यायमा माघ महिनालाई सबै महिनामध्ये श्रेष्ठ बताउँदै मकर सङ्क्रान्तिदेखि गरिने माघस्नानले पाप नाश, इच्छापूर्ति, सन्तानप्राप्ति, आरोग्य, सुख–समृद्धि र अन्ततः मोक्ष प्राप्त हुने विश्वास प्रस्तुत गरिएको छ । गङ्गा, नारायणी, प्रयाग त्रिवेणी, देवघाट लगायतका तीर्थस्थलमा गरिने माघस्नानको विशेष महिमा वर्णन गर्दै, माघस्नानलाई सबै यज्ञ, दान र तपस्याभन्दा श्रेष्ठ मानिएको छ ।
अध्यायले श्रद्धा, नियम र दानसहित गरिएको माघस्नानले जीवनमा कल्याण र परलोकमा वैकुण्ठ वा मोक्ष प्राप्त हुने सन्देश दिन्छ ।
यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रतकथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं । आज १९औँ दिन एकोनविंशौँ अध्याय यहाँहरूसमक्ष प्रस्तुत छ ।
अथ एकोनविंशोऽध्यायः
कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्य मुनि ! तिमी ध्यानपूर्वक सुन । यति पातालका कुरा सुनाएँ । अब मर्त्यमण्डलको कुरा भन्दछु । पूर्वकालमा मर्त्यमण्डलको हिमालयको दक्षिण- भागमा ब्रह्मपुर नामको यौटा नगर थियो । त्यहाँका कर्मिष्ठ ब्राह्मणहरू प्रशस्त सम्पत्ति पाई वेद- पुराणादि शास्त्र अध्ययन गरेर आफाफ्ना धर्म- कर्मको पालन गरेर बसेका थिए । त्यहीं यौटा शिवभट्ट नामका अत्यन्त दीन-दरिद्र ब्राह्मण पनि थिए । गरीब भए पनि तिनी लोभ, मोह त्यागेका र आफ्नू सत्कर्मको पालन गर्दथे । तिनकी सती नामकी ब्राह्मणी थिइन् । ती विप्र-दम्पती अनन्य प्रीतिले बसेका थिए । घरमा धन-सम्पत्ति नहुनाले निकै कष्ट पाए र एकदिन शिवभट्टले आफ्नी पत्नीसित भने- 'हे प्रिये ! हाम्रो घरमा सम्पत्ति छैन । त्यसै हुनाले बराबर कष्ट भोगिरहेका छौँ । अब सम्पत्ति प्राप्त गर्न सिद्धिगणेशको सेवा गरौँ' भन्ने सल्लाह गरी दुवै पति-पत्नी आठ-आठ दिनको मंगलवार बिहानै उठी कष्टपूर्वक सिद्धिगणेशको सेवा गर्न लागे । यही क्रमले निकै दिन बितेपछि २ सिद्धिगणेश प्रसन्न भई दर्शन दिए र 'हे शिवभट्ट ब्राह्मण ! हे सती ब्राह्मणी ! तिमी दुवैको सेवाले म प्रसन्न भएँ । जे इच्छा छ सो वरदान माँग' भने र शिवभट्टले सिद्धिगणेशलाई दण्डवत् प्रणाम गरी अंजलि जोरेर- 'हे गणनाथ ! अरू के वर मागाँ ! पूर्वजन्ममा नकमाएको हुनाले यस जन्ममा दरिद्री भएर कष्ट भोगिरहेछौं, अब सम्पत्ति पाउने इच्छाले हजुरको सेवा गरेका हौं । सम्पत्ति दिई कष्ट निवारण गरिदिनुहवस्' भनी बिन्ती चढाए । अनि सिद्धिविनायकले आज्ञा भयो- 'हे शिवभट्ट ! आजको आठ दिनमा मंगलवार बिहानै आई मेरो पूजा गर्नू । उसै वेला मेरो मुखेञ्जी जो देखौला त्यो घर लगी तसलामा राखी माथिबाट तसलैले छोपिदिनू । चार दिनपछि छोपेको तसला झिकी हेर्नू, सुन होइरहला । अनि त्यसका प्रभावले प्रशस्त सम्पत्ति पाई सुखी हुनेछौ । तिमीलाई सम्पत्ति हुने वरदान दिएँ । अब आफ्नू घर जाऊ ।' यति गणेशजीको वचन सुनी शिवभट्ट ब्राह्मण र सती ब्राह्मणीले सिद्धिविनायकलाई दण्डवत् प्रणाम गरे । अनि विनायक अन्तर्धान भएपछि उनीहरू घर फर्केर आए । आठ दिन बित्यो र मंगलवार बिहानै पूजा-सामग्री लिएर ती विप्र- दम्पती सिद्धिविनायको मन्दिरमा गए र उनको अगाडि यौटा लड्डू देखे । अनि दुवै पति-पत्नीले नित्य- जस्तै विनायकको पूजा गरे र त्यो लड्डू घर लगी तसलामा राखी माथिबाट तसलैले छोपिदिए । चार दिनपछि छोपेको तसला झिकी हेर्दा सुनको लड्डू भइरहेको देखी प्रसन्न भएर सुरक्षित गरी राखे । उसै दिनदेखि शिवभट्ट ब्राह्मण उसै सुनका प्रभावले असंख्य सम्पत्ति पाई सुखी भए । दश घर डुली भिक्षा माँगेर खाने शिवभट्टले सम्पत्ति पाएपछि एकदिन आफ्नी स्त्रीसित भने- 'हे सती ! पूर्वजन्ममा दान-धर्म गर्न नसकेकोले यस जन्ममा कष्ट भोग्यौँ । अब सिद्धिविनायकको कृपाले सम्पत्ति भयो । अब यस जन्ममा दान-धर्म नगरे अर्को जन्ममा फेरि दरिद्री भई कष्ट पाउनेछौं । अतः दान-धर्म गरौं' भनी दुवै पति-पत्नी नित्यै नारायणी गंगास्नान गरी उहीँ हरि-हरको पूजा गरेर सुवर्णादि अनेक द्रव्य दान गरी घर आउँथे । यसै दानका तानमा उनले विष्णुको मन्दिर बनवाए, शिवको मन्दिर तयार गराए, सिद्धिविनायकको मन्दिरलाई जगमग तुल्याए, धेरै नै बड़ा-बड़ा पोखरी खनवाए, वापीहरू र इनारहरू खनाए, बरका- पीपलका - पाकड़का - शमीका- आँपका- कटहरका-बडहरका-कटुसका- ओखरका- डुम्रीका- खस्त्रेताका- चिउरीका लप्सीका वृक्षहरू रोपाए । निबुवाका-कागतीका लिचीका-पेडारका बगैचा लगवाए । ठाउँ-ठाउँमा नाना भाँतिका फूलका फूलबारी सजवाए, गरीब-गुरुवाहरूलाई दान दिन दिन-भरिभरि धेरै-धेरै अन्न बाँड़े, जताततै राम्रा-राम्रा पाटी पौवा, सत्तल-चौतरा बनवाए, बाटा-बाटामा अनेक ठाउँ पौशालाहरू रखवाए, ती पौशालाका नगीचै छायादार पाकड़का- चाँपका रूखहरू रोपाए । ती वृक्षका फेदमा बिसाउन चौतारा चिनवाए, द्यौघाटका वरिपरि साधु-सन्त, फक्कड़ - तीर्थयात्रीहरूलाई वास बस्न धर्मशाला बनवाइदिए, अनेक कुटीहरू बनवाए, तीर्थयात्रीहरूका लागि सदावर्त खोलिदिए, पाठशाला खोलेर विद्यार्थीहरूलाई पढ़ाउनका लागि गुरु तथा बस्नका १ लागि छात्रावास अनि खानका लागि भोजनालयको व्यवस्था गरे र त्यस्तै अरू- अरू पनि अनेक दान- धर्मका कार्य गरे । त्यसरी दान-धर्म गर्नाले शिवभट्ट ब्राह्मणको सम्पत्ति झन् झन् बढ्दै गयो 1 त्यो देखेर एकदिन शिवभट्टले आफ्नी पत्नीसित भने 'हे स्त्री ! सम्पत्ति मात्र भएर के गर्ने, हामी वृद्ध भयौँ । हाम्रा सन्तान छैनन्, पछि यो सम्पत्तिको रक्षा को गरिदेला ? अतः संतानको निम्ति फेरि सिद्धिविनाकको सेवा गरौँ ।' यस्तो सल्लाह गरेर अघि जस्तै आठ-आठ दिनमा मंगलवार बिहानै सिद्धिविनायकको सेवा गर्न लागे । तिनका निष्कपट सेवाले विनायक प्रसन्न भई दर्शन दिएर - 'हे शिवभट्ट ब्राह्मण ! तिम्रो सेवाले म प्रसन्न भएँ, वरदान माँग' भन्नुभयो । त्यस्तो कृपा सुनी शिवभट्ट र सतीले अंजलि जोरी बिन्ती गरे- 'हे गणनाथ ! हजुरका कृपाले सम्पत्ति पायौँ, तर संतान छैनन् । त्यो सम्पत्तिको रक्षा पछि कसले गरिदेला ! अतः दन्तान पनि दिनुहवस् ।' तिनको यस्तो प्रार्थना सुनी सिद्धि-विनायकले आज्ञा भयो- 'हे शिवभट्ट ! सन्तान पाउनका लागि तिमीले तीन वर्षसम्म लगालग माघस्नान गर्नुपर्छ अनि मात्र तिमीलाई म सन्तान दिन सक्छु । मकर राशिना सूर्य सरेको दिनदेखि त्यस राशिमा सूर्य रहेसम्मका तीस दिनलाई माघ 1 महीना भन्दछन् र ती तीस दिनमा गरिने नियमपूर्वकको नित्यस्नानलाई नै माघस्नान या मकरस्नान भन्दछन् । जस्तै प्रत्येक दिन सूर्य उदाउँदा रातभरि चिसिएको वातावरणमा पूर्वतिरबाट आइरहेका सूर्यका ताता किरण मिसिएर उत्पन्न भएको ओसिलो तुवाँलोले छेकिएर सूर्य राता देखिउञ्जेलको चिसो-तातो मिसिएको वातावरणीय समय अति पुण्यदायी र स्वास्थ्यबर्धक हुन्छ, त्यस्तै सूर्य दक्षिणायन भएका वेलाको अन्तिम चिसो वातावरणबाट सूर्य उत्तरायणतिर सर्दाको तातो वातावरण प्रारम्भ हुँदा चिसोमा बढ्दो तातो मिसिदै गएको माघ महीना पनि अतिपुण्यदायी हुन्छ । अरू प्रत्येक राशिमा सूर्य सर्दा प्रकृतिका भिन्न-भिन्न वस्तुहरूमा सूर्यका भिन्न-भिन्न प्रभाव परे झैँ मकर राशिमा सूर्य सर्दा सूर्यको पुण्यदायी प्रभाव पानीमा परेको हुन्छ । यसैले माघ महीनाको माघस्नान- माघदान अति पुण्यदायी हुन्छ, त्यस पुण्यले चिताएको चीज पुऱ्याउँछ । जस्तो ग्रहहरूमा सूर्य सर्वश्रेष्ठ छ, अनि नक्षत्रहरूमा चन्द्रमा सर्वश्रेष्ठ छ, त्यस्तै महीनाहरूमा माघ अतिश्रेष्ठ छ । तसर्थ, हे शिवभट्ट ब्राह्मण ! यस मनुष्यलोकमा जो जन कामिनीहरूको कटाक्षवाणले एकदम विद्ध भएका छैनन् अर्थात् जो जन स्त्रीलम्पट छैनन्,' त्यस्ता ती जन मात्रै मकरमा सूर्य रहँदा तलाउमा वा नदीहरूमा वा पुण्यतीर्थहरूमा श्रद्धा- विश्वासपूर्वक स्नान गर्न चाहन्छन् । जो जन विना- आगो, विना-यज्ञ, विना-पाटीपौवा निर्माण गरी सद्गति पाउन चाहन्छन्, त्यस्ताले माघमा बस्ती- बाहिरको भरसक बहँदो जलमा बिहानै न्वाहुने गरून् ।
हे शिवभट्ट ! जो जन गाई, भूमि, सुन, माणिक्य आदि दान नगरीकन नै सुन, गाई आदि दान गरेको फल प्राप्त गर्न चाहन्छन्, तिनीहरूले पक्कै पनि माघस्नान गर्नुपर्छ । एक्काईसदिने व्रत, कृछ्रव्रत र पराकव्रतले आफ्नू शरीरलाई नसुकाईकन जो स्वर्ग जान चाहन्छन्, तिनीहरूले माघभरि अवश्यै नदी वा सरोवर यानि ठूला पोखरीहरूमा न्वाहून् । वैशाखमा हरिको पूजा, कार्तिकमा तपरूपी पूजा र माघमा चाहिं तपस्या, होम तथा दान तीनोटै गरिन्छ । बराबर अर्थात् हरसाल यस्तो गर्ने व्यक्ति अवश्य नै अर्को जन्ममा लक्ष्मीपति राजा हुन्छ । उसलाई कैवल्यधाम प्राप्त गर्ने अर्थात् मुक्ति हुने बुद्धि सुइदछ र फेरि मृत्युलोकमा ओर्लने हुँदैन । दिव्यदृष्टि हुनेहरूले तन- मन-वचनले भगवान्को सेवा गर्नू भनी बताएका छन् । हे शिवभट्ट ! यो भन्दा कता हो कता बेसी पुण्दायी माघेमा गरिएका तप-दान- स्नान हुन्छन् । इच्छासिद्धिका लागि वा सन्तानप्राप्तिका लागि वा हरिको दर्शनका लागि वा अरू नै कामना यानि चाहनाका लागि कायशुद्धि गरेको व्रती भएर न्वाहुनेले ती चारै प्रकारको फल पाउँछ । अदितिले माघभरि खाँदै नखाई बाह्र वर्षसम्म माघस्नान गरिन् । त्यसै-उसले उनले तीनै लोक झल्काउने सूर्य जस्ता तेजिला बाह्रओटा पुत्र पाइन् । माघस्नानको प्रभावले नै रोहिणी सुभगा अर्थात् सौभाग्यवती अनि अरुन्धती दानशीला तथा शची साततले महलमा रूपराशिले झकिझकाउ भएर रहेकी छिन् । जसले मकरमा सूर्य रहँदा नदी वा तलाउमा स्नान गर्ने गरेको छ, तिनीहरू यस संसारमा सफा स्वच्छताको शोभाले भरिएको, सुन्दरी-सुन्दरी नर्तकीहरू आङनमा नाचिएको, दीयाका ताँतीले झल्झलाकार, सुन्दरी स्त्रीहरूले खचिखचाउ भएको, गीत- बाजाका स्वरध्वनि भइरहेको, मङ्गलकार्यहरूको विधि-विधानले शोभिएको, वेदका ध्वनिले पवित्र पारिएको, विद्वान् ब्राह्मणहरू विराजिएको, देवता- हरूको पूजाले आनन्ददायक तथा सधैँ पाहुना- को लर्को लागिरहने घरमा प्रसन्नतापूर्वक बस्न पाउँछन् ।
प्यारो वस्तुको त्याग र नियमको पालन गरेर जसले माघ महीनामा प्रशस्त दान दिएको छ, जसले मुरारि भगवान्को पूजा गरेको छ, त्यो जन अति उत्तम अति श्रेष्ठ हो । माघ महीना सत्कर्मीलाई सधैँ धर्म दिन्छ र उसको पाप पखाल्छ । सदा इच्छापूर्ति चाहनेलाई उसले चाहेको फल दिन्छ । त्यो नचाहनेलाई ज्ञान दिन्छ । जुन लोक ज्ञानीहरूलाई, जुन लोक वनमा बसेर तपस्या गर्नेहरूलाई, जुन लोक विष्णुका भक्तहरूलाई मिल्छ, ती लोक माघमा नित्य स्नान गर्ने जनहरूलाई सदाका लागि मिल्छन् । हे शिवभट्ट ! अरू पुण्यहरूले त पुण्य- भोग सकिएपछि स्वर्गबाट फर्कनुपर्छ, तर माघस्नान गर्ने मनुष्यहरूले त कहिल्यै पनि स्वर्गबाट फर्कनुपर्दैन । जो जन माघमा स्नान गरेर दुधालु गाई वैदिक ब्राह्मणलाई दान दिन्छ, त्यस गाईका सर्वाङ्गमा जति रौँ छन्, त्यति हजार वर्षसम्म त्यो जन स्वर्गमै रमाइरहन्छ । जो माघस्नान गर्ने मनुष्य गुड़ सक्खर मुछेका तिल दान गर्छ, त्यसका सबै पाप पखालिएर निश्चय नै त्यो जन निर्मल भएर शोभिन्छ, किनकि सबै धान्यहरूमध्ये तिल जो छ त्यो पाप नाश गर्नेवाला हो । त्यसकारण, हे शिवभट्ट ! माघमा प्रयत्नपूर्वक सकेसम्म तिल दान गर्नुपर्छ । नियमपूर्वक माघस्नान गर्नेले ब्राह्मणभोजन पनि गराउनुपर्छ । अनि ब्राह्मणभोजनद्वारा आफ्ना पितृहरूलाई तृप्त पारेर शुद्ध आत्मा भएको त्यो जन विष्णुको परमपदमा प्राप्त हुन्छ । त्यसकारण, प्रयत्नपूर्वक पनि माघ महीनाकन दानैदानले बिताउनुपर्छ । कसैले पनि माघ महीनालाई विना-दानले बिताउनु हुँदैन । आफ्नू सावगास- अनुसार विचारेर पक्कै पनि माघमा सधैँ दान गर्ने गर्नुपर्छ । जो जन माघ- स्नान गरेर ब्राह्मणहरूलाई जुत्ता, कमण्डलु दान दिन्छ, त्यो जन अवश्यै स्वर्गमा गएर रहन्छ । माघस्नानरूपी उत्तम तपस्या गर्ने जन कदापि दान- विना माघ बिताउँदै नबिताओस्, किनकि त्यो दानले स्वर्ग प्राप्त हुन्छ । दानले नै स्वर्ग मिल्छ, दानले सुख मिल्छ, दानले नै पाप नाश हुन्छ र यो आश्चर्यको कुरो छ कि महापातक पाप पनि माघमा गरेका दानले नाश हुन्छ । जस्तो सूर्यको विना आकाश, जस्तै सन्तान-विना कुल, आचार-विना घरको शोभा हुन्न, त्यस्तै विना-दानको तपस्या शोभिदैन । दानभन्दा अर्को पाप नाश गर्ने पवित्र वस्तु क्यै छैन ।
हे शिवभट्ट ! तिमीलाई मैले माघ महीनाको महिमा बताएँ, अब माघस्नानको गरिमा बताउँछु । माघस्नान समस्त यज्ञभन्दा श्रेष्ठ वा उत्कृष्ट छ, सबै प्रकारको दानको फल दिनेवाला छ र माघस्नान सबै प्रकारका व्रत र तपस्याको समान पुण्यदायक छ । माघस्नानको प्रभावले अति शुद्ध मन भएका मानिसहरू पितृ-कुल, मातृ-कुल दुवै कुलका पितृहरूलाई स्वर्गमा थन्क्याएर अनि उज्ज्वल- उज्ज्वल चेहरा भएका आफूहरू चाहिं अत्यन्त राम्रा, जता चितायो उतै चल्ने श्रेष्ठ विमानहरूमा चढेर स्वर्ग जान्छन् । जो मनुष्यहरू सधैँ पाप गर्दछन्, सधैँ दुराचार गर्दछन् र कुमार्गमा चल्दछन्, त्यस्ता जन पनि जो माघस्नान गरेर हरिको पूजा गर्दछन् भने ती पनि यहाँ पापहरूबाट छुट्छन् । जो कहिल्यै साँचो बोल्दैनन्, जो सधैँ आमा बाबुलाई सताउँछन्, जसको स्थिति कुनै पनि आश्रममा छैन, जसले आफ्नू कुलधर्म त्यागेका छन्, अनि जो पाखण्डी छन्, त्यस्ता जन पनि सज्जनको गति पाउँछन् र माघमा गरेका स्नानका पुण्यहरूले भवसागर तर्दछन् । पृथ्वीतलका पुण्यतीर्थहरूमा माघस्नान गर्न पाउनु मनुष्यहरूलाई अति दुर्लभ छ । किनकि त्यस माघस्नानको प्रभावले मनुष्य- हरूले ब्रह्मज्ञानीले पाउने पद पाउँछन् । यस- बारेमा विचार्नुपर्ने कुनै काम छैन ।
हे शिवभट्ट, माघमहीनामा कल्पवास बस्नु, दान गर्नु, हरिको मन्दिरमा जानु, हरिको पूजा गर्नु यी सब कामका पुण्य अक्षय अर्थात् ननाशिने हुन्छन् । त्यसकारण, यथाशक्ति यानि सावगास- अनुसार का मनुष्यहरूले प्रयत्नपूर्वक माघस्नान गरेर लुगा, भर्भराउँदो मकल, सुवर्ण आदि दान गर्नुपर्छ । माघमा जो अन्न दान गर्छ, उसलाई देवलोकमा अमृत पान गर्न मिल्छ; जो सुन दान गर्दछ, उसले इन्द्रको समीपमा बस्न पाउँछ; दीयो, अग्नि अर्थात् सल्काएको मकल, सुन्दर वस्त्र दान गर्ने मनुष्य सधैँ तेजस्वी भएर सूर्यलोकमा बस्न पाउँछ । यज्ञहरूले, उत्तम - उत्तम दानहरूले, उज्ज्वल तपस्याहरूले, ब्रह्मचर्यको धारणले, शुभयोगमा गरिएको पूजाले पापीहरू यस लोकमा त्यति शुद्ध हुँदैनन्, जति पुण्यतीर्थहरूमा माघ महीनामा गरिएका स्नानले शुद्ध हुन्छन् । जो मनुष्य माघ महीनामा आधा सूर्य उदाएको वेलामा पुण्यतीर्थहरूमा स्नान गर्दछन्, तिनीहरू पाप गर्ने नै भए पनि तिनले नरकमा दुःख- समूहको सन्ताप, अनि सहि नसक्नुको यातना भोग्न जानुपर्दैन । जो जन माघ महीनामा न्वाहेर विष्णुको पूजा गर्दछन्, ती जन स्वर्ग- भोग सकिएर फेरि पृथ्वीतलमा फर्केपछि कल्याणमूर्ति, राम्रा, भाग्यमानी, प्रिय बोल्ने, धर्मात्मा, धनाढ्य, शतायु राजा हुन्छन् । दन्केको आगोमा हालेको काठ-समूह जसरी तुरुन्तै भस्मावशेष हुन्छ, त्यसै गरी माघस्नानले सानू वा ठूलो पापहरूको राशि बिलाउँछ । मनुष्यहरूले शरीरले, वाणीले, मनले पनि जानेर वा नजानेर जो पाप गरेको छ, त्यो पाप-समूह पुण्यतीर्थमा गरेको माघस्नानले, - हृदयमा झल्केका विष्णुले अज्ञान नाशेझैं-, सबै डढ्दछन् अर्थात् नाशिन्छन्। यदि कुनै मनुष्य आफूले गरेका पाप-समूहको भोग भोगिरहेको छ र संयोगवश पनि कुनै वेला कुनै पुण्यतीर्थमा एकाएक पुगेर त्यस मनुष्यले माघस्नान अचानकै गरियो भने पनि तुरुन्तै त्यसको त्यो पाप-समूह नाश भइहाल्छ, यसबारे तिमी आफ्नू मनमा कत्ति पनि संशय नलेऊ ।
हे शिवभट्ट ! विशेष गरेर यो कर्मभूमि भारतवर्षको पुण्यभूमि आर्यावर्तमा अर्थात् साढे सात सय कोश पूर्व-पश्चिम लामो हिमालय र त्यस्तै पाँच सय कोश लामो विन्ध्याचलको बीचको भूमिमा रही माघस्नान नगर्ने मनुष्यहरूको जन्म बेकारको कहिएको छ । जस्तै, सूर्यविनाको आकाश, चन्द्रमा-विनाको नक्षत्र - मण्डल शोभित हुँदैन, त्यस्तै हे शिवभट्ट ! विना-माघस्नानको सत्कर्म शोभित हुँदैन । माघस्नान मात्रले पनि जस्तो केशव भगवान् प्रसन्न हुनुहुन्छ, अरू व्रत- दान- तपस्याले हरि भगवान् त्यस्तो प्रसन्न हुनुहुन्न । जस्तै, सूर्यको तेज जस्तो तेज अरू कुनै तेज छैन, त्यस्तै माघस्नानको बराबर अरू कुनै यज्ञ- यागादि क्रिया छैन । तसर्थ, वासुदेवलाई प्रसन्न पार्नका लागि, सारा पापहरूलाई हटाउनका लागि र अन्तमा स्वर्ग-प्राप्तिका लागि मानिस माघस्नान गर्ने गरोस् ।
खूब स्याहार गरिएको हृष्ट-पुष्ट बलियो, तर माघस्नान नगरिएको अशुद्ध र अनित्य निन्द्य शरीरले के हुन्छ र ? हड्डीहरूको ढाँचा, नसाहरूले ॐ कसिएको, मासुले लिपिएको, छालाले मढिएको, दुर्गन्धिले भरिएको, दिसा-पिसाबको पात्र; बुढ्याइँ- शोक-विपत्तिले व्याप्त, रोगको घर, आतुर, रगत बग्ने, क्षणभङ्गुर, सबै दोषको आश्रय, अर्काको उन्नतिले दुःखी हुने, अर्काको द्रोह गर्ने, छुचो, लोभी, चुगलखोर, क्रूर, कृतघ्न, घमण्डी; त्यस्तै क्षणिक अर्थात् क्यै दिन मात्रको, कहिल्यै तृष्णा पूरा नहुने, उद्धत, दुष्ट, तीनै दोष कफ-वात- पित्त भरिएको, अपवित्र वस्तु निकाल्ने प्वालयुक्त, तीनै ताप दैविक- दैहिक- भौतिकले मोहित, स्वभावैले अधर्ममा रत, सयकडौँ तृष्णाले आकुल, काम-क्रोध-लोभ यी नरकका द्वारले व्याप्त, परिणाममा कीरा पर्ने- भस्म हुने वा कुकुरहरूको भोजन हुने यस्तो यो लाछी शरीर यदि माघस्नान गरएिको छैन भने व्यर्थ छ । पानीमा फोका जस्तै, जन्तुमा पुतली वा धमिरा जस्तै ती माघस्नान नगर्ने मनुष्यहरू केवल मर्नका लागि मात्र जन्मन्छन् । विष्णु भगवान्लाई नमान्ने ब्राह्मण धिक्कार हो; जोगीहरूको श्राद्ध धिक्कार हो, ब्राह्मण नभएको ठाउँ धिक्कार हो, आचार नभएको कुल धिक्कार हो, घमण्डले युक्त धर्म धिक्कार हो, क्रोधले युक्त तपस्या धिक्कार हो, विना- दृढताको ज्ञान धिक्कार हो, अल्छीको शास्त्र धिक्कार हो, आफ्ना मान्यजनको श्रद्धा- भक्ति नगर्ने नारी धिक्कार हो; त्यस्तै नै गुरुको सेवा नगर्ने ब्रह्मचारी धिक्कार हो, नदन्केको आगोमा गरिएको होम धिक्कार हो, साक्षी - विनाको निर्दोषता धिक्कार हो, १ उपजीविका अर्थात् शरीर- व्यापारले जीवन चलाउने १) कन्या धिक्कार हो, आफ्ना लागि मात्रै पकाइएको भोजन धिक्कार हो, शूद्रका घरको भिक्षा यानि चन्दाले गरिएको यज्ञ धिक्कार हो, कृपणको धन धिक्कार हो, अभ्यास नगरिएको विद्या धिक्कार हो, प्रजासँग विरोध गर्ने राजा धिक्कार १, हो, जिउनका लागि गरिएको तीर्थ धिक्कार हो, को केवल जीवन चलाउनका लागि गरिएको व्रत धिक्कार हो, झुठो तथा चुगलखोरी वाणी धिक्कार का हो, सन्देहास्पद मन्त्रजप धिक्कार हो, मन चञ्चलचित्तको वा अन्यमनस्कको जप धिक्कार हो । अवैदिकलाई दिएको धन धिक्कार हो, हो; ईश्वर नमान्ने नास्तिक जन धिक्कार हो, जो को अश्रद्धाले गरिएको पारलौकिक अर्थात् परलोक- सम्बन्धी काजक्रिया छ त्यो सब धिक्कार छ ।
हे शिवभट्ट ! जस्तै यस मृत्युलोकमा दरिद्र मनुष्यहरूको जन्म धिक्कार छ, त्यस्तै नै अरू मनुष्यहरूको पनि माघस्नान-बिनाको जन्म धिक्कार छ । जो जन मकरमा सूर्य रहँदा सूर्य नउदाउँदै भोरैमा स्नान गर्दैन, त्यो जन पापबाट कसरी छुट्ला र कसरी स्वर्ग जाला ? बाहुनमारा, सुनचोरुवा, जाँड-रक्सी धोकुवा, गुरुको खाटमा सुतुवा अनि पाँचौँ त्यस्ताको सङ्गतगरुवा जस्ता पापीले पनि प्रत्येक माघमा दिनहुँ मकरस्नान गर्ने गर्नाले उ पापरहित हुन्छ । माघ महीनामा सूर्य केही उदाएपछि जो जन पानीमा डुबुल्की मार्छन्, ती चाहे ब्रह्महत्यारा हुन्, चाहे रक्सी घुट्क्याहा हुन्, वा महापतित हुन् त्यस्तालाई पनि माघस्नान पवित्र पार्छ । अरू सारा छिटफुट पापहरू र ठूला- ठूला महापातक अर्थात् ब्रह्महत्या, चोरी, मद्यपान, गुरुपत्नीगमन र यस्ताको संसर्गरूप पाप पनि यी सबै नै माघस्नान गर्ने मनुष्यका भस्मीभूत हुन्छन् । माघ महीना आउन लागेको वेलामा सारा पापहरू थर-थर काँप्न थाल्छन् । यदि कसैले बहँदो पानीमा माघस्नान गयो भने तब उसका सारा पापहरू नाशिन्छन्, हामी उसका शरीरबाट बाहिरिन्छौं, अनि हामीहरू कहाँ बस्ने ? यो माघ महीना त हाम्रो नाशकाल हो भनिठानेर माघ महीनामा स्नान गर्न लागेको मान्छेलाई देखेर दुःखी हुन्छन् । माघस्नानले पाप खारिएका उत्तम मनुष्यहरू आगो झैँ चहकिन्छन् । माघस्नानले सारा पाप छुटेका मनुष्यहरू मेघबाट मुक्त भएको चन्द्रमा झैँ चम्कन्छन् । गिलो, सुकेको, सानू, वा वाणी-मन-कर्मले गरिएको सबै पापलाई ठूलो २ माघस्नानले नै,-आगोले समिधालाई झैं-, डढाइदिन्छ । जो पाप 'देखाजाला' भनेर प्रमादवश गरिएको छ र जो पाप जानेर वा नजानीकन गरेको छ, ती सब पापहरू मकरमा सूर्य रहेको वेलामा गरेको माघस्नानले नै नाशिन्छन् । माघस्नानले निष्पापीहरू स्वर्ग जान्छन्, पापीहरू पाप खारिएर पापरहितका पवित्र हुन्छन् । हे शिवभट्ट ! माघस्नानका प्रभावले यी सब कुरा हुनमा कुनै सन्देह छैन । जसरी विष्णुभक्तिमा सबैको अधिकार छ, उसै गरी माघस्नान गर्नमा पनि सबैको अधिकार छ । माघ सबैलाई स्वर्ग दिने र सबैको पाप नाश गर्नेवाला हो । यही ठूलो मन्त्र हो र यो नै ठूलो तपस्या हो । यो माघस्नान नै पाप निखार्ने अति उत्तम ठूलो प्रायश्चित्त हो । मनुष्यहरूको जन्मजन्मान्तरको अभ्यासले मात्र माघस्नानमा श्रद्धाभक्ति हुन्छ । हे शिवभट्ट ! जसरी जन्मजन्मान्तरको अभ्यासले मात्र अध्यात्मज्ञानको प्राप्ति हुन्छ, त्यसै गरी संसाररूपी हिलाको लेप पखाल्न निपुण यो श्रेष्ठ माघस्नान पवित्रहरूलाई पनि अझ पवित्र पार्ने हो । हे शिवभट्ट ब्राह्मण ! हिमालयको दक्षिणी पहाड़ी प्रान्तमा रहेको त्यस द्यौघाटमा गरिएका माघ- स्नानहरूले सारा पाप हर्दछ, सात जन्मदेखि थुप्रिएको पाप र वर्तमान जन्ममा गरिएका भयङ्कर पापकन पनि नाश पारिदिन्छ । मुनिहरू जुन पापको प्रायश्चित्तै छैन भन्दछन्, त्यस्तो पाप पनि पुण्यतीर्थहरूमा गरिएको माघ- स्नानले नाश हुन्छ । जो जन श्रद्धाले मानसरोवरमा माघभरि बसी त्रिकालस्नान गर्दछ, त्यो जन त मुक्त नै हुन्छ । अच्छोदमा माघभरि स्नान गर्नाले इन्द्रलोक प्राप्त हुन्छ । बदरीकाश्रममा माघभरि स्नान गर्नाले निष्पाप होइन्छ । नर्मदामा माघभरि न्वाहुनाले सकल पाप नाश हुन्छ, दुःख नाश हुन्छ, चिताएको फल पाइन्छ, मरेपछि शिवलोकको वास पाइन्छ । यमुनामा माघभरि स्नान गर्नाले सारा पाप नाशी सूर्यलोक प्राप्त गर्दछ । सरस्वतीमा माघभरि न्वाह्यो भने सारा पाप नाशिएर मरेपछि ब्रह्मलोकको वास पाउँछ । विशालामा माघभरि स्नान गर्नाले चिताएको कुरो प्रशस्त पाइन्छ र त्यस स्नानले पापरूपी दाउराको खलियोलाई, - डढेलोले जङ्गललाई झैँ-, भस्मीभूत पार्छ र गर्भवासको ओहोर- दोहोरको फेरोलाई पनि समाप्त पारेर मुक्ति नै दिलाउँछ । गङ्गाजीमा गरिएको माघस्नानले विष्णुलोक मिल्छ अथवा धेरै वर्षसम्म स्नान गरिरहे मुक्ति नै पनि मिल्छ भनिएको छ । सरयू, कोशी, वाग्मती, कमला, रापती, तिनाउ, कर्णाली, शारदा वा महाकाली, सिन्धु, सिन्ध, चन्द्रभागा, तापी, गोदाबरी, गोमती, गण्डकी, भीमा, पयोष्णी, कृष्णवेणिका, काबेरी, तुङ्गभद्रा, ब्रह्मपुत्र, महानदी, तिस्ता, मेची र अरू- अरू पनि जो सोझै समुद्रमा मिसिने नदीहरू छन्, तिनमा पनि प्रत्येक माघस्नान गर्ने मनुष्यहरू तबसम्मका सकल पाप विनाशिएर पछि स्वर्गलोकको वास पाउँछन् । नैमिषारण्यमा प्रतिवर्ष माघस्नान गर्नाले विष्णुको समीपको वास र पुष्करमा माघभरि स्नान गर्नाले ब्रह्माको नजीकमै बस्न पाइन्छ। कुरुक्षेत्रमा माघभरि स्नान गर्नाले इन्द्रका लोकमा वास पाउँछ र देवदहमा माघभरि माघस्नान गर्नाले योगसिद्धिको फल पाइन्छ । मकरमा सूर्य रहुन्जेल प्रभास तीर्थमा गरिएको माघस्नानले रुद्रको गण हुन पाइन्छ । देवकी अर्थात् द्यौकीमा गरिएको माघस्नानले देवताको जन्म पाइन्छ । त्रिशूलीमा गरिएको माघस्नानले कैलासको वास पाइन्छ । गोमतीमा माघभरि गरिएको मकरस्नानले फेरि जन्मनुपर्दैन । हेमकूटमा, महाकालमा, ओङ्कारमा, अमरेश्वरमा, नीलकण्ठको जलमा माघभरि- भरि माघस्नान गर्नेले रुद्रको लोकमा ऐश्वर्यशाली भएर बस्न पाउँछ । कुनै पनि तीन नदीहरूको सङ्गममा माघभरि न्वाहुने गरे आफाफ्ना इच्छापूर्ति हुन्छन्, जीवनमा दुःख आइपर्दैनन् । तर हे शिवभट्ट ! गण्डकी-द्यौकी- त्रिशूलीको सङ्गम भएर नारायणी बनेको द्यौघाटको त्रिवेणीमा र गङ्गा-यमुना-सरस्वती मिलेको सङ्गमस्थान प्रयागको त्रिवेणीमा त भाग्यमानीहरूले मात्र माघभरि मकरस्नान गर्न पाउँछन् । किनकि त्यहाँ-त्यहाँको त्रिनदी-मिश्रित स्थलको जल मुक्तिदाता र स्वर्गदाता, अनि कल्याणदाता पनि छ ।
हे शिवभट्ट ब्राह्मण ! स्वर्गमा रहने देवताहरू पनि द्यौघाटको त्रिवेणीको र प्रयागको त्रिवेणीको महिमा बखानिरहन्छन्, जहाँ मकरभरि स्नान गर्ने मनुष्यहरूले अन्तमा विष्णुलोकको वा देवलोकको वास पाउँछन् । जो-जो मनुष्यहरू यी दुवै त्रिवेणीमध्ये एकमा रहेर माघभरि नै सङ्गम- स्नान गर्दछन् भने ती जन धेरै-धेरै पापी भए पनि तिनले नर्क देख्नुपर्दैन, तिनीहरू सरासर वैकुण्ठ वा स्वर्ग जान्छन् । किनकि हे शिवभट्ट ! उहिल्यै ब्रह्माजीले तराजूको एकापट्टिको पलडामा समस्त तीर्थहरू, व्रतहरू, दानहरू, तपस्याहरू, यज्ञहरूका पुण्यफललाई र अर्कापट्टिको पलडामा द्यौघाटमा गरिएका माघस्नानहरूको पुण्यफललाई राखेर तौले ता माघस्नानको पुण्यफल नै भारी भयो । फेरि त्यसै गरी एकापट्टि देउघाटको त्रिवेणीको पुण्यफल र अर्कोपट्टि प्रयागको त्रिवेणीको पुण्यफललाई राखेर तौलदा पनि द्यौघाटकै माघस्नानको पुण्यफल क्यै भारी नै भयो । यस्तो पुण्यदायी ती त्रिवेणीमा जो-जो जन माघे संक्रान्ति- को अघिल्लै दिन उहाँ पुगेर उहीँ महीनैभरि कल्पवास बसी लगातार बीस वर्षसम्म माघस्नान गर्छन्, तिनले सधैँको लागि कैलासको वास पाउँछन् । त्यस्तै गरी चालीस वर्ष लगातार माघस्नान गर्नेले निरन्तर स्वर्गको वास र सधैँ बाह्रै महीना त्यहीँ - त्यहीँ रहेर विष्णु भगवान्को मन्त्र निश्चल मनले जप्तै साठी वर्षसम्म लगालग जो-जो जन स्नान गर्छन्, तिनले त कैवल्यधामको आनन्दमय लोकमा सदाका लागि वास पाउँछन् । अनि हे शिवभट्ट ! कहिले सृष्टि भो र कसरी भो, अनि कहिले अन्त हुन्छ र कसरी हुन्छ ? भन्ने आदि र अन्तको निधो नभएकोले अनादि अनन्त कहिने चौबीस २ हजार कोशको गोलाइ भएको धकधकाउँदो रापिलो आगोको गोला सूर्य र त्यसभन्दा साढे चार करोड़ कोश तल रहेको चिसो-न-चिसो पानीको बाह्र हजार कोश गोलाइको अविनाशी दह समुद्र यी दुवैलाई निराधार निरालम्ब आकाशमा आआफ्नै धूरी र वृत्तमा नियमित रूपले नियममा राखी अड्याइराख्ने त्यो कुन शक्ति हो ? भन्ने सोची त्यो शक्तिलाई ठम्याई त्यसलाई जान्नु नै ज्ञान हो र त्यो सत्य शक्तिलाई जान्न वेदविहित सत्मार्गमा चल्नु नै सनातन प्रमुख धर्म हो । हाम्रा चालू आँखाले प्रकाशलाई र प्रकाश परेका तर नछेकिएका वस्तुलाई भ्याएसम्म देखे- झैँ यिनै सूर्य र समुद्रका बीचको आकाशमा रहेका, तर यी आँखाले नदेखिने, किन्तु, मनुष्य मात्रको नाकको फेदमा भएको भृकुटीको भित्र शक्तिरूपले रहेको त्यो दिव्यदृष्टि, जुन विराट् स्वरूपको दर्शनका लागि एकछिन मात्र श्रीकृष्णले आफ्नू योगबलले अर्जुनको दिव्यदृष्टिकन उघारिदिएझैँ आफ्नै तपस्याले २) उघारिएका दिव्यदृष्टिले मात्रै देखिने स्वर्ग-नर्क आदि लोक देख्नलाई चाहिने, कहिलेकाहीँ यिनै आँखामा झिलिक्क गर्ने, दिव्यदृष्टि उघार्न गरिने स्वप्रयास नै तपस्या हो र त्यस तपस्यामा चाहिने साधन सूर्यतेजमा अविचल मन अड्याइराख्ने ध्यान नै योग हो । यी सबै सत्प्रयास सिद्धिका लागि आवश्यक पर्ने पहिलो प्रयास शरीर- शुद्धि हो र शरीर- शुद्धिका लागि चाहिने प्रारम्भिक प्रयास त्यो नियम-पूर्वकको मकर स्नान नै हो । अर्थात् ज्ञानरूपी चोटामा चढ्न चाहिने लिस्नोको पहिलो खुड्किलो मकर- स्नान हो । तसर्थ, हरसाल गरिएको विष्णुभक्तिपूर्वकको माघस्नानले जसरी ती माघस्नान गर्नेहरूलाई मरेपछि शिवलोक- इन्द्रलोक-सूर्यलोक पुऱ्याउँछ र त्यहीँ चिरस्थायी वासस्थान दिलाउँछ, त्यसरी नै यसै लोकमा पनि सन्तान चाहनेहरूलाई सन्तान अनि सुख शान्ति पनि दिलाउँछ । जसरी उहिले पाँचोटी गन्धर्व- कन्याहरू आपसका सरापासरापले प्राप्त भएको कठिन पापको फल, -पिशाच भएर-, भोगिरहेका थिए । पछि लोमश ऋषिको उपदेशरूपी वाणीले नै माघ महीनामा गरिएका त्रिवेणी-स्नानका प्रभावले ती 'गन्धर्वकन्याहरू सरापबाट आश्चर्यसित छुटे र अनि उसै बटुक प्रसीद बेटासँग बिहे भयो । बिहे भएको सात वर्षसम्म पनि सन्तान नभएर पिरिएका तिनीहरूलाई पछि फेरि लोमशले नै तीन वर्षसम्म तीनछाडे दह अक्षोदमा लगालग नियमपूर्वक मकरस्नान गराए त, तब तिनीहरूले तीन-तीन वर्ष बिराएर घ्याल्घ्याल्ती छोराछोरी पाएका थिए । यो आश्चर्यलाग्दो कथा पनि सन्तान चाहने तिमीलाई अर्को मङ्गलवार म सुनाइदिनेछु ।
।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमाराऽगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां माघमासमहिमा-वर्णनं नाम एकोनविंशोऽध्यायः।। १९ ।।


