Harsamaya
श्री स्वस्थानी व्रत कथा अध्याय - १७
श्री स्वस्थानी व्रत कथा । ग्राफिक्स : हर समय/Har Samaya

काठमाडाैं - श्री स्वस्थानी व्रत सुरु भएको आज १७औँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । 

श्रीस्वस्थानी व्रतकथाको सप्तदशौँ अध्यायमा जालन्धर वधको निर्णायक घटनाक्रम वर्णन गरिएको छ । वृन्दाको अटल पतिव्रता धर्मका कारण जालन्धर अजेय बनेपछि शिवको आज्ञामा विष्णुले मायाद्वारा जालन्धरको रूप धारण गरी अन्तःपुर प्रवेश गर्छन् र वृन्दाको पतिव्रता धर्म नष्ट हुन्छ । त्यससँगै जालन्धरको शक्ति क्षीण भई महादेव स्वयं युद्धमा उत्रिएर जालन्धरको वध गर्छन् ।

यस अध्यायले कपट, वाचा, पतिव्रता धर्मको प्रभाव र अन्ततः अधर्ममाथि धर्मको विजयलाई प्रमुख रूपमा उजागर गर्दछ ।

यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रतकथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं । आज १७औँ दिन सप्तदशौँ अध्याय यहाँहरूसमक्ष प्रस्तुत छ । 

अथ सप्तदशोऽध्यायः

कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्य मुनि ! त्यसपछि महादेव राजहंसहरूका राजा भएर मानसरोवरमा अनेक हंसका साथ जल-क्रीडा गरिरहनुभएको थियो । त्यही अवसरमा विष्णुलाई ठूलो वेगले आएको देखी राजहंसरूप महादेव भन्नुहुन्छ- 'हे विष्णु ! यस्तो वेगले मकहाँ के काम परेर आयौ ? तिमीलाई के कष्ट आइलाग्यो ? भन ।' यति महादेवको वचन सुनी विष्णु गरुड़बाट ओर्ली दण्डवत् प्रणाम गरेर बोले- 'हे ईश्वर ! हजुर यता आएपछि हजुरको रूप धारण गरी जालन्धर पार्वतीलाई छल्न कैलास पुगेछ र पार्वतीले मलाई छल्न जालन्धर आएछ भन्ने थाहा पाई त्यहाँ नबसेर कसैले नदेख्ने स्थानमा लुकी मलाई डाक्नुभयो, अनि म गएर सारा विस्तार बुझी यहाँ आएको हुँ । अब म गएर त्यसकी स्त्री वृन्दाको पतिव्रता धर्म नाश पारेर आउँछु ।' यति विष्णुको वचन सुनी महादेव राजहंसको रूप छाडी आफ्नू रूप धारण गरी क्रोधले राता-राता आँखा पारी आज्ञा गर्नुभयो- 'हे विष्णु ! त्यसो हो भने म अब कैलास जान्छु । तिमी वृन्दाकहाँ गएर त्यसको पतिव्रता धर्म नाश पारेर आऊ । त्यस पापिष्ठ जालन्धरलाई म नमारी छाड्नेछैन' भन्दै पाखुरा निमोठी क्रोधयुक्त भएर विष्णुलाई पठाई आफू कैलास पर्वतमा पार्वती लुकिरहेको स्थानमा पुग्नु- भयो । अनि महादेव आउनुभएको देखेर पाउ धोई दण्डवत् गरेर 'हे स्वामी ! भनी जालन्धर आएको सारा वृत्तान्त वर्णन गरिन् ।' अनि महादेव आज्ञा गर्नुहुन्छ- 'हे प्रिये ! म त्यो पापिष्ठ जालन्धरलाई नमारी छाड्दिनँ, विष्णु वृन्दाको सत्य डगाउन गएका छन् । उनी आउनासाथ युद्ध गरेर त्यसलाई मार्नेछु' भनी गौरी-शंकर दुवै जना कुरा गरिरहे। उता विष्णु जालन्धरको रूप लिएर अन्तःपुर पुगे । जालन्धररूप विष्णु आएको देखेर वृन्दाले स्वामी आए भनी पाउ धोई भित्र लगेर बसालिन् अनि सोधिन् - 'हे स्वामी ! पार्वतीलाई छल्न जानुभएको के गरेर आउनु- भयो ? पार्वती मभन्दा कत्तिकी सुन्दरी रहिछन् ? भन्नुहवस् ।' त्यति सुनी जालन्धररूप विष्णु भन्दछन्- 'हे वृन्दा ! पार्वतीलाई छल्न नसकिने रहेछ किनकि म पार्वतीको घरभित्र जान खोज्दा ढोकामा बसेका द्वारपाललाई देखी डराएर फर्के ।'

यसरी कुरा गर्दागर्दै वृन्दाले यी मेरा स्वामी होइनन्, विष्णु मलाई छल्न मेरा स्वामीको रूप धारण गरेर आएका रहेछन् भन्ने जानी- 'अब मैले केही युक्ति गर्नुपर्यो' भनी हाउ-भाउ कटाक्षले विष्णुलाई वशमा पारेर भनिन् - 'हे स्वामी ! म केही कुरा भन्दछु, हजुर मान्नुहुन्छ कि मान्नुहुन्न ?' यति सुनेर विष्णुले- 'जे भने पनि मान्नेछु' भन्ने वाचा गरेपछि उनले भनिन् - 'विशेष कुरा केही होइन, केवल म नआएसम्म यहीं बसिरहनुहोला' भनी विष्णुलाई कोठामा थुनी आफू अर्कै घरमा गएर बसिरहिन् । अहिले आउलिन्, भरे आउलिन् भन्दै प्रतीक्षामा चार दिन बिते, तैपनि वृन्दा फर्किनन् । अनि विष्णु चिन्ता गर्न लागे - 'अब म यसै गरी बसिरहूँ भने कति दिन बस्ने ! जाऊँ भने वाचा हारिएको छ । उता महादेव के भन्नुहोला भन्ने चिन्ता अलग्गै छ ! कसरी यहाँबाट उम्कने ! इत्यादि तर्क-वितर्क गरिरहे पनि केही गर्न समर्थ थिएनन् । 

उता महादेवले विष्णु गएको यतिका दिन भैसक्यो, तैपनि किन फर्केनन् भनी ध्यानदृष्टिले विचार गरी पार्वतीसित भन्नुभयो- 'हे गिरिजे ! वृन्दालाई छल्न गएका विष्णुलाई उसैले छली कोठामा थुनिराखेकी रहिछ।' यति भनी मायाद्वारा यौटा अत्यन्त सुन्दर सोह्र वर्षको भिक्षुक उत्पन्न गरी उसलाई भन्नुभयो- 'हे भिक्षुक ! तिमी अन्तःपुरको जालन्धरका घर गएर 'भिक्षां देहि' भनी वृन्दाले थुनिराखेका विष्णुलाई माँगेर ल्याऊ ।' यति शिवजीको आज्ञा सुनी 'हुन्छ' भनी सरासर जालन्धरका घर पुगी 'भिक्षांदेहि' भने । अनि वृन्दाले झ्यालबाट हेरिन् र अत्यन्त राम्रो योगी देखी यस्तो राम्रो र अलौकिक योगी मैले आजसम्म देखेकी थिइनँ, मेरो घरमा माँग्न पनि कहिल्यै आएको थिएन । यस्तो नवीन योगीलाई भिक्षा दिनैपर्दछ- इत्यादि विचार गरी भिक्षा लिएर गइन् - 'हे योगिराज ! के माँग्नको इच्छाले आयौ ? भन' भनिन् । अनि योगीले भने- 'केही माँग्ने इच्छाले आएको हुँ, दिने भए माँग्छु, नदिने भए व्यर्थ के माँग्नु ?' त्यति सुनी वृन्दाले भनिन् - 'मैले दिन हुने वस्तु जे माँगे पनि दिनेछु' भनी वाचा (प्रतिज्ञा) गरेपछि योगीले भने-'अरू केही चाहिन्न, केवल तिमीले कोठामा थुनिराखेकोलाई माँग्दछु, त्यही यौटा देऊ ।' योगीको वचन सुनेर वृन्दा मनमनै विचार गर्न लागिन् - 'अब के गरूँ ? यस योगीले छल गरेर वाचा- बन्धन गराई माँग्यो । नदिए वाचा हारिन्छ । जे भए पनि वाचा हार्नु अनुचित हो' यस्तो विचार गरेर कोठामा थुनिराखेका जालन्धर - रूप विष्णुलाई बाहिर ल्याई योगीको जिम्मा लगाइदिइन् । यसरी विष्णुलाई साथमा लिएर योगी बाहिर निस्की अन्तर्धान भई कैलास पुगेर शिवजीलाई सारा कुरा सुनाए । यता विष्णु बाहिर आएपछि मनमा तर्कना गर्न लागे-'म वृन्दाको सत्य डगाउन आएको, उसैले नै छली यतिका दिनसम्म थुनेर राखी, महादेवले के भन्नुभयो होला' इत्यादि चिन्तन गर्दै गरुडमा चढेर कैलास पुग्दा भए । विष्णु कैलास जाँदा गरुड़ उडेको चर्को शब्दले जालन्धर मूर्च्छाबाट जागेर केको शब्द हो भनी विचार गर्दा विष्णुले कैलासको चर्चा गरिरहँदा रहेछन्, अतः पार्वतीलाई छल्न कठिन मात्र होइन कि असम्भव पनि रहेछ, अब यहाँ नबसूँ, घरै जाऊँ भनेर जालन्धर आफ्नू घर गयो । उता विष्णु महादेवको सामुन्ने गएर प्रणाम गरी एकातिर उभिइरहे । विष्णुतिर हेरेर महादेवले आज्ञा भयो- 'हे विष्णु ! तिमी वृन्दाको सत्य डगाउन गएका यतिका दिनसम्म त्यहाँ के गरि- रह्यौ ? आफ्नू काम अर्थात् उसको सत्य डगाउन सक्यौ कि सकेनौ ?' महादेवको यस्ता वचन सुनी विष्णु बिन्ती गर्दछन् ! 'हे शम्भो ! हजुरको आज्ञाले म गएँ, तर वृन्दाले छली म फर्केर नआएसम्म कोठामै बसिरहनू भनी प्रतिज्ञा गराई मलाई थुनेर आफू बाहिर निस्की । ऊ आउली भनेर बस्ता - बस्ता कैयौं दिन बिते । वाचा हारेको प्रतिज्ञा गरेको हुनाले त्यहाँबाट निस्कन नसकेर बसिरहेको थिएँ, पछि यौटा योगीको साथ लगाई छाडिदिई र हजूरको दर्शन गर्न हाजिर भएँ। विष्णुको यस्ता वचन सुनी महादेवले ब्रह्मा, इन्द्र आदि तेत्तीस कोटि देवता, यक्ष, गन्धर्व, किन्नर, नन्दी- भृङ्गी, चतुःषष्ठी योगिनी, भूत-प्रेत, पिशाच, राक्षस सबै जम्मा गरी आज्ञा भयो- 'हे देवता हो ! तिमीहरू गएर पापिष्ठ जालन्धरलाई मारेर आओ !' यति शिवजीको वचन सुनी देवताहरू 'हवस्' भनी तयार भए । अनि शिवजीले नारद मुनिलाई डाकी- “हे मुने ! तिमी गएर जालन्धर लाई- “तिमीसित लडाइँ गर्न समस्त देवताहरू आउन लागेका छन् । तिमी संग्रामको तयारी गर' भनि- देऊ ।” शिवजीको आज्ञा अनुसार नारदजी तत्काल जालन्धरको घर जाँदा भए । 

हे मुने ! उता जब कैलासबाट जालन्धर आफ्नू घर गयो, तब वृन्दाले स्वामी आएको देखेर पाऊ धुवाई भित्र लगेर बसेपछि सोधिन् - 'हे स्वामी । पार्वतीलाई छल्न जानुभएको के कसो भयो अनि जालन्धर भन्दछन् - 'हे प्रिये ! त्यस विषयमा विस्तारले भन्दछु, सुन-म महादेवको भेष धारण गरी कैलास पुग्दा पार्वतीले देखिन् र सुवर्णको कमण्डलुले मेरो खुट्टा धुन आइन् । त्यसै वेला मैले उनलाई देखें, ती- भन्दा सुन्दरी स्त्री तीनै लोकमा हुनु असंभव छ, अतः तिनको अनिन्द्य रूप देख्नासाथ मेरो होश हराई मूर्च्छा परेर भूमिमा ढलेको थिएँ । पछि चेत आयो र उठेर हेर्दा पार्वती कता गइन् केही जान्न सकिनँ र घर फर्केर आएँ ।' त्यति आफ्ना स्वामीको वचन सुनी वृन्दा भन्दछिन् - 'हे स्वामी ! तपाईं यहाँबाट हिंडेपछि विष्णुले तपाईंको रूप धारण गरी मलाई छल्न आएका थिए, तर मैले चिह्नेर निकै दिनसम्म कोठामा थुनिराखेकी थिएँ । पछि यौटा अनौठो भिक्षुक आएर माँग्दा विष्णुलाई दिई पठाएँ ।' यति आफ्नी स्त्रीको वचन सुनी जालन्धर रिसाई- 'हे प्रिये ! त्यस्तो हो भने म पार्वतीलाई नछली छाड्दिनँ । फेरि जान्छु' भन्दै जालन्धर घरबाट निस्कनु र शिवजीको आज्ञाले गएका नारद मुनि टुप्लुक्क पुग्नु एकसाथ भयो । अनि नारदजीले सोधे-'हे जालन्धर ! तिमी कहाँ जान हिंडेका ?" 

उसले भन्यो- 'म भिक्षा माँग्न हिंडेको हुँ ।' तब नारदजीले फेरि भने- 'हे जालन्धर ! मिथ्या कुरा किन भनिरहेका छौ ? तिमी जान लागेको मैले जानिसकें, पार्वतीलाई छल्न हिंडेका हौ ।' सुन- तिमीसित लडाइँ गर्न ब्रह्मादि सकल देवताहरू आउन तयार भई खबर दिन मलाई पठाएका हुन् । अब तिमी अन्त कतैतिर जानपट्टि नलागेर आफ्ना फौज र शस्त्रास्त्र लिई संग्रामको तयारी गर ।' यति नारदजीको कुरा सुनी 'त्यसो भए घरै फर्कन्छु' भनी आफ्नी पत्नीलाई नारदसित भएका सबै कुरा बुझाई- 'अब म संग्राममा जान्छु, तिमी घरको सम्भार गरे' भनी हातमा त्रिशूल लिएर आफ्ना समस्त सेना जम्मा गरी देवताहरूसित लडाइँ गर्न कैलासतर्फ गयो । नादजीले कैलास पुगी जालन्धरसित भएको सारा कुरा शिवजीलाई बिन्ती चढाए । त्यसपछि महादेवले ब्रह्मा, विष्णु, इन्द्र, यम आदि सकल देवतालाई युद्ध गर्न जाओ भनी आज्ञा दिनुभयो । महादेवको आज्ञा पाउनासाथ समस्त देवताहरू नाना तरहका बाजा बजाई सिंहनाद गर्दै, प्रलयकालको मेघ झैं गर्जदै कैलासबाट हिँडे । बाटोमा दुवै तर्फका सेनाको जम्काभेट भएर भयंकर संग्राम आरम्भ भयो देवताहरूले बेसरी चिच्याई अनेकानेक शस्त्रास्त्र प्रहार गरे । तर तिनको प्रहारले जालन्धरलाई केही हानि गर्न सकेन । आफूले प्रहार गरेका शस्त्र-अस्त्रले शत्रुको केही हानि गर्न नसकेको देखेर देवताहरू मनमा दिक्क मानी आफाफ्ना शस्त्रास्त्र झिकी चुपचाप भए । तब वैकुण्ठनाथ विष्णु रिसाई पाञ्चजन्य शंख बजाई कौमोदकी गदा प्रहार गरे । त्यस गदाले जालन्धरलाई हुँदै छोएन । अनि देवराज इन्द्र रिसाई वज्र प्रहार गरे । त्यसले पनि केही गर्न सकेन । जालन्धरले नटेरी तृण- समान मानेर चुप लागिरह्यो । त्यति हुँदा पनि देवताहरूले शस्त्र प्रहार गर्न छाडेका थिएनन् । आखिरमा विष्णु भगवान्‌ले अब यस्तो चालले केही हुन सक्तैन भनी महादेवकहाँ गएर- 'हे जगदीश्वर ! हामीले जालन्धरलाई मार्न सकेनौँ, तपाईं बिना त्यसलाई मार्न अरूको शक्ति पनि छैन । अब तपाईंले नै संग्राममा जानुपयो ।' यदि विष्णुका वचन सुनी महादेव आज्ञा गर्नुहुन्छ- 'हे विष्णु ! जालन्धरकी स्त्री वृन्दाको पतिव्रता धर्मले गर्दा जालन्धरलाई कसैले पनि मार्न सक्तै-न । अतः तिमी आफ्नो मायाले छोपी जालन्धरको रूप धारण गरी अन्तःपुरमा गएर वृन्दाको पतिव्रताधर्म नष्ट गराऊ । म गएर त्यस पापिष्ठलाई मार्दछु ।' यति शिवजीको आज्ञा सुनी विष्णु त्यहाँबाट बिदा भई तुरुन्त जालन्धरको रूप धारण गरेर बायाँ हातमा त्रिशूल लिई र दाहिने हातले डमरु बजाई आफ्नू मायाले छोपी अन्त: पुरमा जालन्धरको घर पुगे । भेषधारी जालन्धर आएको देखी वृन्दाले हात-पाउ धोइदिएर कोठामा लगेर आसनमा बसालेर सोधिन् - 'हे स्वामी ! महादेवसित युद्ध गर्न जानुभएको के गरेर आउनुभयो ?' त्यति सुनेर भेषधारी विष्णु आज्ञा गर्दछन् - 'हे प्रिये ! महादेवसितको युद्धमा थकाइ मारूँ भनी विश्राम गर्न आएको हुँ । भोक लागिरहेछ, केही खानेकुरा ल्याऊ ।' त्यति सुन्नासाथ वृन्दाले चौरासी व्यंजन तयार पारी भोजन गराइन् । अनि रात परेपछि वृन्दासँग अनेक तरहका वार्तालाप गरेर त्यसको पतिव्रता-धर्म नष्ट पारिदिए । रात बितेपछि जालन्धरको रूप छाडी आफ्नो स्वरूप चार बाहुमा शंख, चक्र, गदा, पद्म धारण गरी दर्शन दिए । त्यो देखेर वृन्दा रिसाई- 'हे पापिष्ठ विष्णु ! तिमीले कपट गरेर मेरो पतिव्रता धर्म नष्ट गरिदियो' भनिन् । अनि विष्णु आज्ञा गर्नुहुन्छ- 'हे वृन्दा ! जालन्धरलाई शिवजीले हिजै मारिसके । अब तिमीले म वैकुण्ठको अधिपति भएको नारायण जस्तोलाई स्वामी पाएपछि तिमीलाई केको चिन्ता ? तिमी पत्याउन्नौ भने एकछिनमा समाचार पाउली' भनी नाना तरहसित वृन्दालाई बुझाउँदा भए ।

।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां वृन्दापतिव्रताधर्महरणं नाम सप्तदशोऽध्यायः ।। १७ ।। 

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  ०५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update