Harsamaya
श्री स्वस्थानी व्रत कथा अध्याय - १५
श्री स्वस्थानी व्रत कथा । ग्राफिक्स : हर समय/Har Samaya

काठमाडाैं - श्री स्वस्थानी व्रत सुरु भएको आज १५औँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । 

श्रीस्वस्थानी व्रतकथाको पञ्चदशौँ अध्यायमा गणेशको उत्पत्ति, कुमार (कार्तिकेय) को जन्म र तारकासुर वधको पौराणिक कथा वर्णन गरिएको छ । पार्वतीले बनाएको द्वारपालको शिर महादेवले अज्ञानतावश काटेपछि हात्तीको शिर जडान गरी गणेशको उत्पत्ति हुन्छ । पछि अग्निद्वारा गंगामा उत्पन्न शिववीर्यबाट षडानन कुमार जन्मिन्छन् ।

महादेवको आज्ञामा गणेश र कुमारबीच सुमेरु परिक्रमा प्रतिस्पर्धा हुँदा गणेशले बुद्धिद्वारा वरदान प्राप्त गर्छन् । गंगाले स्वस्थानी व्रत गरेपछि कुमार शीघ्र प्रकट हुन्छन् र उनी पनि पूजाअघि स्मरण गरिने देवता ठहरिन्छन् ।

यसै अध्यायमा ब्रह्माबाट वरदान पाएको तारकासुर दैत्यले देवताहरूलाई पराजित गरी अमरावती कब्जा गरेपछि महादेवका पुत्र कुमारको नेतृत्वमा देव–दानव युद्ध हुन्छ । अन्ततः कुमारले चन्द्रबाणद्वारा तारकासुरको वध गरी देवताहरूलाई पुनः अमरावतीको राज्य दिलाउँछन् । यस अध्यायले स्वस्थानी व्रतको महिमा, गणेश–कुमारको दिव्यता र अधर्ममाथि धर्मको विजयलाई उजागर गर्दछ ।

यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रतकथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं । आज १५औँ दिन पञ्चदशौँ अध्याय यहाँहरूसमक्ष प्रस्तुत छ । 

अथ पञ्चदशोऽध्यायः 

कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! एकदिन पार्वतीले बुकुवा घस्ता निस्केको मयलको मूर्ति बनाई द्वारमा पाले राखेकी थिइन् । महादेव बाहिरबाट आएर भित्र जान खोज्दा त्यस मूर्तिले जान दिएन र त्यससित युद्ध गरी त्यसको शिर छेदन गरेर भित्र जानुभयो । अनि पार्वतीले महादेवसित 'द्वारमा कोही बसेको थिएन ?' भनी सोधिन् र महादेवले 'त्यसको त मैले शिर छेदन गरेर आएँ' भन्नुभयो । अनि पार्वतीले 'त्यो त मेरो पुत्र हो । किन शिर छेदन गर्नुभयो ?' भनी पुत्र- भावले स्नेह र शोक गर्न लागिन् । अनि महादेवले - 'हे पार्वती ! मैले थाहा नपाएर त्यस्तो गरेँ, बचाइदिन्छु, शोक नगर' भनी बुझाई आफ्ना गणहरूलाई डाकी- 'हे गण हो ! चारै दिशामा गई पहिले जे भेट्दछौ त्यसैको शिर छेदन गरेर ल्याओ ।' भनी चन्द्रबाण दिएर पठाउनुभयो । गणहरू 'जो आज्ञा' भनेर चारै दिशामा हेर्दै जाँदा निकै बेरपछि यौटा हात्ती फेला पारे र महादेवको आज्ञानुसार त्यसका उपर चन्द्रबाण प्रहार गरे । 

त्यो चन्द्रबाण गएर हात्तीको गर्धनमा लागेर शिर छेदन भयो र त्यो हात्ती यौटा मात्र दाँत भएको अग्लो र राम्रो थियो । त्यस्तो हात्तीको शिर लगेर महादेवको अगाडि राखिदिए । अनि- 'हामीले यही पायौँ भनी बिन्ती गरे । तब श्रीमहादेवले हात्तीको शिर मृत मूर्तिमा जोरेर जीवित पारि- दिए । त्यही मूर्तिको नाम 'गणेश' भई पार्वती- पुत्र कहलाए । त्यसपछि महादेव त पार्वतीसित मात्र भुलेर भित्र नै रहन लागे । महादेव - बिना यो ब्रह्माण्ड संसाको रक्षा कसरी होला ? अतः यस्तो विचार गरेर इन्द्रले अग्निलाई डाकेर- 'हे अग्नि ! तिमी गएर महादेवलाई बाहिर ल्याउने काम गर' भनी अग्निलाई अह्राए । इन्द्रको वचन सुनी अग्निले 'हवस्' भनी कैलासपर्वतमा गएर भित्र जान लाग्दा द्वारपालले जान दिएन र वायुरूप भई ताल छिराउने प्वालबाट भित्र पसेर भिक्षुकरूप भई महादेव-पार्वती एकान्त गरिरहेका स्थानमा पुगे । त्यस्तो किसिमले भित्र आएका अग्निलाई देखेर महादेव रिसाई भस्म पार्न लाग्नुभयो । तब जगत्माता पार्वतीलाई दया लाग्यो र बिन्ती गरिन् - 'हे नाथ ! भिक्षा माँग्न आएका भिक्षुकलाई भस्म पार्नु अनुचित हो । नजानेर  आएछन्, बरु केही दिऔँ र जाऊन्' भनिन् । अनि महादेवले आफ्नु हातमा आफ्नै वीर्य थापेर 'लौ भिक्षा ले' भनेर दिनुभयो । अग्निले पनि त्यो वीर्य निलिदिए । शिवको अमोघ वीर्यले अग्निलाई गर्भ रह्यो र अग्नि डराई यो अनर्थ हुन लाग्यो भनी त्यहाँबाट गंगाको किनारमा गएर कुशको झाङमा उकेलिदिए । त्यो वीर्य आगो बले - झैं झाङमा बलिरहेको थियो । सप्तऋषिका पत्नीहरू गंगा स्नान गरेर फर्कदा आगो बलेको देखेर 'कसले आगो बालेर गएछ, ताप्न जाऔँ' भनेर गए । यौटीले चाहिँ 'अर्काले बालेको आगो ताप्नु हुँदैन' भनी गइनन् । छः जना मात्रै आगो तापेर घर गए । ती आगो ताप्ने जतिलाई गर्भ रह्यो र ऋषिहरूले थाहा पाई- 'तिमीहरूलाई कसरी गर्भ रह्यो ?' भनी सोधे । ऋषि- पत्नीहरूले केही उत्तर दिन सकेनन् र ऋषिहरू रिसाई श्राप दिए । अनि ती ऋषिपत्नी हरूले त्यो वीर्य गंगामा उकेली आकाशमा गएर षट्कृत्तिका तारा भई रहे । पछि त्यही वीर्यबाट षट्वक्त्र अर्थात् छः मुख भएका कुमार उत्पन्न भएर गंगाका पुत्र भई श्रीमहादेवकहाँ कैलासमै रहे । त्यसपछि कुनै दिन महादेवले गणेश र कुमार दुवैलाई डाकेर  आज्ञा भयो- 'हे गणेश ! हे कुमार ! तिमी दुवै जना गएर सुमेरु परिक्रमा गरेर आओ । जो पहिले आउला त्यसलाई वरदान दिनेछु ।' यति श्रीमहादेवको आज्ञा सुनी कुमार मयूरमा चढेर सुमेरु परिक्रमा गर्न हिंडे |

कुमार हिंडेको देखेर गणेश आत्तिई अब कसो गरुँ भन्दै आफ्नू वाहन मूसो छेउ गए । मूसोले गणेशलाई चिन्तित देखेर- 'हे विनायक ! किन चिन्तित हुनुभयो ? के आपत् अइपर्यो ?' भनी सोध्यो । अनि विनायकले भने- सुमेरु परिक्रमा गरेर आओ भनी महादेवले आज्ञा भएको र कुमार हिंडिसकेको सारा कुरा सुनाइसकी - 'अब कसो गरुँ, तँ त्यस्तो, म यस्तो लामू सूँढ़ र ठूलो पेट भएको । म हिंड्नै सक्तिनँ, तँ उड्नै सक्तैनस् ।' यति विनायकले भनेको सुनी मूसो भन्दछ- 'हे गणेशजी, तपाईंलाई म केही ज्ञान दिन्छु, सुन्नुहवस् - महादेव, पार्वती र गंगा तीनै जना बसेको स्थानमा गएर अञ्जलि जोरी- 'हे पिता-माता ! मेरा सुमेरु पर्वत पनि हजुर, सम्पूर्ण देवताका देवता पनि हजुर' भनी तीन प्रदक्षिणा गरेर दण्डवत् गर्नोस्, अनि हजुरलाई अवश्य वरदान प्राप्त हुनेछ ।' आफ्नू वाहनको त्यस्तो अर्ति मानेर गणेशजीले त्यसै गरे । अनि महादेव  प्रसन्न भएर- 'हे गणेश ! तिमी धन्य रहेछौ, वरदान लेऊ । स्वर्ग, मर्त्य, पाताल तीनै लोकमा कसैले कुनै पनि काम गर्दा पहिले तिम्रो पूजा नगरेर गयो भने सिद्ध हुनेछैन ।' यस्तो वरदान दिनु- भयो । उता सुमेरु परिक्रमा गर्न गएका कुमार आइपुगेनन् र गंगाले महादेवसित बिन्ती गरिन हे जगदीश्वर ! गणेशले वरदान पाए, तर मेरो पुत्र कुमार आइपुगेन । गङ्गाको यस्तो वचन सुनी महादेव भन्नुहुन्छ- 'हे गंगे ! तिमी स्वस्थानी परमेश्वरीको व्रत गर, अनि तिम्रा पुत्र कुमार आइपुग्नेछन् ।' यति शिवले आज्ञा भएको सुनी गङ्गा प्रसन्न भइन् र व्रत-विधि सोधिन् । अनि महादेवले स्वयं व्रत-विधि बताउनुभयो- 'हे गंगे ! पौषशुक्ल पूर्णिमाको दिनदेखि हात-खुट्टाका नङ काटी, स्नान गरी, पवित्र भई, एकभक्त रही, एकचित्त गरी मेरो पुत्र कुमार झट्ट आइपुगोस् भनी नित्य मध्याह्न कालमा श्रीमहादेवको पूजा गर्न लागिन् । महीना दिन भयो र माघशुक्ल पूर्णिमाको दिन अष्टोत्तर सय रोटी, अष्टोत्तर सय बेली- पुष्प, अष्टोत्तर सय अक्षता, अष्टोत्तर सय पान, अष्टोत्तर सय कुड्का सुपारी र पञ्चामृत, वस्त्र, फल-फूल, धूप-दीप, नैवेद्य आदि समस्त वस्तु तयार पारेर आर्शीमा ॐकार लेखी श्रीस्वस्थानी परमेश्वरीको पूजा गरिन् र अर्घ्य दिई । स्तुति गरिसकेर प्रसाद झिक्न लाग्दा श्रीस्वस्थानी परमेश्वरीको व्रतको प्रभावले कुमार टुप्लुक्क आइ- पुगे । अनि गंगाले धन्य श्रीस्वस्थानी परमेश्वरी भनी आफ्नू पुत्रलाई प्रसाद र आशीर्वाद दिइन् । 

अनि कुमारले महादेवकहाँ गई बिन्ती गरे- 'हे पिता ! म पनि वरदान पाऊँ ।' अनि महादेवले आज्ञा भयो- 'हे कुमार ! स्वर्ग, मर्त्य, पाताल तीनै लोकमा कसैले केही काम गर्दा पहिले तिम्रो पूजा नगरेर गरे भने त्यो कार्य सिद्ध नहोओस्' भनी वरदान दिनुभयो । यति कथा सुनिसकी अगस्त्य मुनि फेरि बिन्ती गर्दछन्- 'हे कुमार ! तारकासुर दैत्यले कसको  तपस्या गरेर वरदान पाई अमरावती समेत लियो फेरि त्यसलाई कसले र कसरी मारे र इन्द्रले फेरि अमरावती प्राप्त गरे ? यो वृत्तान्त आज्ञा गर्नुहवस् ।' यति अगस्त्य मुनिको बिन्ती सुनी कुमारजी आज्ञा गर्नुहुन्छ- 'हे मुने ! कश्यप ऋषिको पुत्र तारकासुर एकदिन 'दुग्धप्रभा' तीर्थमा स्नान गर्न गएको थियो । त्यहीँ पेची मुनिले तपस्या गरेको देखेर उसलाई पनि तपस्या गर्न मन लाग्यो र पेची मुनिसँग सोध्यो- 'हे मुनीश्वर ! तिमीले तपस्या गरेको देख्दा मलाई पनि तपस्या गर्न मन लाग्यो।अतः कसरी त्यो गर्ने हो ?” मुनिले भने- 'हे तारकासुर ! तिमीलाई तपस्या गर्ने इच्छा भए यिनै दुग्धप्रभा नदीको सिह्वानमा हिमालय पर्वत छ, त्यहीँ गई यसरी यसरी ब्रह्माजीको तपस्या गर ।' मुनिको त्यस्तो उपदेश सुनी त्यतैबाट सरासर हिमालय पर्वत पुगी, ठूलो कष्ट सहेर हजार वर्षसम्म ब्रह्माको तप र आराधना गर्यो । अनि ब्रह्माजी प्रसन्न भएर सामुन्ने आई आज्ञा भयो- 'हे तारकासुर ! तिम्रो तपस्याले म प्रसन्न भएँ, वरदान माँग।' अनि तारकासुरले ब्रह्मालाई दण्डवत् प्रणाम गरी बिन्ती चढायो- 'हे ब्रह्मन् ! हजुरले सृष्टि गरेका पाँच वर्ष नाघिसकेका कुनै पनि प्रणीले मलाई संग्राममा मार्न नसकून् । फेरि जसले मेरो शिर भूमिमा खसाल्ला त्यसको पनि तत्काल शिर फुटेर मरोस् । फेरि म समस्त देवतालाई जिल्ल समर्थ होऊँ ।' यस्तो वर माँग्दा ब्रह्माजीले 'तथास्तु' भनी ब्रह्मास्त्र समेत दिई अन्तर्धान हुनुभयो । त्यसपछि तारकासुर उन्मत्त भएर कसैलाई तृण- बराबर पनि नठानी अनेक दानव साथ लिई अमरावती गयो । त्यसरी सैन्यसहित तारकासुर आएको देखी देवराज इन्द्र रिसाई सकल देवता साथ लिई आफाफ्ना शस्त्रास्त्र लिई संग्राममा अगि सरे । दुवै पक्षको भयंकर युद्ध हुँदा देवताहरूले तारकासुरका कोटि-कोटि सैन्य मारिदिए । आफ्ना सेना त्यसरी नाश भएका देखी तारकासुरले आफ्ना गुरु शुक्राचार्यलाई बिन्ती गर्यो- 'हे गुरो ! देवताहरूले मेरा कोटि-कोटि सेना मारिसके, म के उपाय गरूँ ? अब हजुरले हाम्रो उद्धार गर्नुपर्यो।' तारकासुरको त्यस्तो प्रार्थना सुनी शुक्राचार्यले संजीवनी विद्याको प्रयोग गरेर जल छर्किदिनासाथ मरेका दैत्य समस्त जीवित भएर फेरि युद्धमा अगि सरे । त्यसरी आफूले मारिसकेका दैत्यहरू फेरि शुक्राचार्यले बचाइदिएको देखी इन्द्र रिसाई ऐरावत हात्तीमा चढेर वज्र प्रहार गरे । यसरी देवता र दैत्यको दश हजार वर्षसम्म घोर युद्ध भयो । त्यसमा दुवै पक्षका कोटि- कोटि सेनाको संहार भयो । दैत्यहरू मरे पनि शुक्राचार्यले बचाइदिने र देवताहरू मरेको मन्ये हुने भएर इन्द्रसमेत समस्त देवता हार मानी स्वर्गबाट भागी गुरु बृहस्पतिकहाँ गएर संग्रामको सारा स्थिति बताए । अनि गुरु बृहस्पतिले भने- 'हे सुरराज ! यस संग्राममा तिम्रो विजय हुन सक्तैन किनकि तारकासुर दैत्यले हजार वर्षसम्म कठोर तप गर्दा ब्रह्माजी प्रसन्न भई मैले सृष्टि गरेका पाँच वर्ष नाघेका प्राणीले तँलाई मार्न सक्नेछैनन् भनी यस्तो वर दिनुभएको छ । अतः तिमीहरू क्यै काल कतै बिताई महादेवका पुत्र भएपछि मात्र अनि तिमीहरू महादेवका शरणमा जाओ' भन्दा देवताहरू त्यहाँबाट आई मर्त्यमण्डलको मृगस्थ- लीमा लुकेर बसेका थिए । देवताहरू भागेपछि तारकासुर तीनै लोकको राज्य भोगी सुखपूर्वक रहेको थियो । 

हे मुने! अमरावतीबाट लखेटिएका सुरेन्द्र धेरै कालसम्म त्यहीँ लुकिरहे । पछि एकदिन समस्त देवतालाई डाकेर भने- 'हे देवता हो ! पापिष्ठ तारकासुरले अमरावती खोसेर हामीलाई दुःख दिएको धेरै समय भइसक्यो । अब त्यसको संहार गरेर फेरि अमरावती लिनुपर्दछ । त्यो कसरी भने- महादेवका कुमार र गणेश दुई पुत्र भएका छन् । तिनले हाम्रो शत्रु तारकासुरलाई अवश्य मारिदिनेछन् । अब कैलासमा गई महादेवसित आफ्नो दुःख बिन्ती गरौँ ।' यति सल्लाह गरेर सबै देवता- सहित इन्द्र शिवजीकहाँ पुगे । अनि- 'हे जगदीश्वर ! पापिष्ठ तारकासुरले अमरावती खोसी हामीलाई दुःख दिएको धेरै काल भयो । अब त्यसको संहार गरी समस्त देवताको कल्याण गर्नुहवस् । इन्द्रादि देवताहरूको यस्तो प्रार्थना सुनी महादेवले भन्नुभयो- 'हे देवता हो ! तारकासुरलाई मैले मार्नु हुँदैन । मेरा पुत्र कुमारले मारिदिनेछन् । अब समस्त देवता, यक्ष, गन्धर्व आदि सबैले कुमारलाई सेनापति बनाई युद्ध गर्न जाओ, पछि म पनि आउनेछु।' यति महादेवको आज्ञा सुनी इन्द्रादि तेत्तीस कोटि देवता, यक्ष, गन्धर्व, भूत-प्रेत, प्रमथगण समेत भई तारकासुरसँग युद्ध गर्न पिनाक धनु लिई प्रस्थान गरे । तर गणेशलाई भन्न बिर्सेछन् । अनि गणेशले आफ्नू वाहन मूसोसित भने- 'हेर, मलाई वरदान दिएर पनि हेलाँ गरे ।' गणेशजीको कुरा सुनी मूसोले भन्यो- 'हे विनायक ! हजुरलाई अन्यथा गरेको होइन, भन्न बिर्से । म अहिल्यै सम्झाएर आउँछु' भनी गएर प्रस्थान गरिराखेको पिनाक धनुको ताँदो काटेर आयो । त्यस्तो देखेर देवताहरूले यो प्रस्थान शुभ भएन, विघ्न पर्यो भन्न लागे तब महादेवले आज्ञा भयो- 'हे देवता हो ! विघ्न परेको होइन, तिमीहरूले गणेशलाई भन्न बिर्सेछौ, उसलाई पनि लिएर जाओ।' यति महादेवले आज्ञा गरेपछि गणेश- सहित सबै देवता अमरावतीमा युद्ध गर्न गए । देवता र दैत्यको परस्पर भयंकर संग्राम भयो । तारकासुर दैत्यले कुमारको रथ घचेटी एक योजन पछि हटायो । त्यो देखेर कुमारले तारकासुरको रथ घचेटी चार योजन पछाडि हटाइदिए । अनि तारकासुरले खड्ग प्रहार गयो । कुमारले आफूतिर खड्ग आएको देखेर कानसम्म धनु खैंची तारकासुर दैत्यको घिच्रो ताकी चन्द्रबाण प्रहार गरे । त्यो चन्द्रबाण गएर दिनको सूर्य अस्ताई रातको तारा नदेखिँदै साँझको वेलामा पुगेर तारकासुर दैत्यको शिर च्वाट्टै छेदन गर्यो । त्यो देखेर श्रीमहादेव तत्काल त्यहाँ पुगेर तारकासुरको शिर भूमिमा पर्न नपाउँदै बीचैमा समाउनुभयो । गिँड युद्ध-भूमिमा ढल्यो । त्यसरी  तारकासुर मरेको देखेर अरू दैत्यहरूले संग्रामबाट भागेर आफाफ्नू प्राण-रक्षा गरे । अनि समस्त देवताहरूले 'धन्य धन्य कुमार !' भनी उनको गुण-गान गर्दै कैलास पुगे । उहाँ गै इन्द्रले बिन्ती गरे- 'हे ईश्वर ! हजुरको कृपाले शत्रुको संहार गरेर आयौँ । अब आज्ञा पाए अमरावती जाने थियौँ ।' यति देवेन्द्रको प्रार्थना सुनी महादेवले- 'तिम्रो राज्य निष्कण्टक हवस्' भनी बिदा दिनुभयो र इन्द्रादि देवताहरू श्री महादेवलाई दण्डवत् प्रणाम गरी अमरावती गएर सानन्द राज्य गर्दा भए ।

।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां तारकासुरदैत्यवधवर्णनं नाम पञ्चदशोऽध्यायः ।। १५ ।।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update