काठमाडाैं - श्री स्वस्थानी व्रत सुरु भएको आज १६औँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
श्रीस्वस्थानी व्रतकथाको षोडशौँ अध्यायमा शिव–पार्वती, देवता र जालन्धर–रावणसँग सम्बन्धित महत्वपूर्ण घटनाक्रम वर्णन गरिएको छ । शिवजी मृगरूप धारण गरी श्लेष्मान्तक वनमा विहार गर्दा देवताले खोजी गर्दै उहाँको दिव्य दर्शन पाउँछन् र गोकर्ण क्षेत्रमा शिवको सीङ स्थापना हुने प्रसंग आउँछ । यसै क्रममा रावणले तपस्याबाट वर माग्दा मायारूप स्त्री पाएर भ्रमित हुन्छ भने विष्णुको मोहिनी रूपले अनर्थ टर्छ ।
अन्त्यतिर जालन्धरले शिवको रूप धारण गरी पार्वतीलाई छल्न खोजेपछि पार्वतीले विष्णुको शरण लिन्छिन् र जालन्धर विनाशको भूमिकाका लागि घटनाक्रम अघि बढ्छ ।
यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रतकथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं । आज १६औँ दिन षोडशौँ अध्याय यहाँहरूसमक्ष प्रस्तुत छ ।
अथ षोडशोऽध्यायः
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! ध्यानपूर्वक सुन-फेरि कुनै दिन शिवजीलाई वन विहार गर्ने इच्छा थाहा भयो र कसैलाई पनि नदिई श्लेष्मान्तक वनमा मृग-स्वरूप भई अनेक मृग - मृगीहरूका साथ परम आनन्दले रहन लाग्नुभयो । यता पार्वतीले महादेवलाई नदेखी अनेक स्थानमा खोजिन्, तर कहीं भेट्टाउन नसकी महादेवले अघि पनि मलाई यसै गरी दुःख दिनुभयो, अब फेरि कहाँ जानुभयो होला ! भनी ध्यान- दृष्टिले विचार गर्दा श्लेष्मान्तक वनमा मृगरूप धरेर विहार गरिरहेको थाहा पाइन् र आफू पनि वाग्मती नदीको किनारमा गएर अनेक कष्ट खपी तपस्या गर्न लागिन् । कैलासमा शिव- पार्वती दुवैलाई नदेखी ब्रह्मादि देवताले स्थान- स्थानमा खोजी गरे, तर कहीं पनि पत्ता पाउन सकेनन् र हार मानी आफाफ्ना आश्रममा जान लाग्दा वाग्मती नदीको किनारमा पार्वतीलाई तपस्या गरिरहेकी देखेर सबै देवताहरूले प्रणाम गरी सोधे- 'हे जगत्माता ! कैलासमा हजुर र महादेव नरहँदा संसारै शून्य जस्तो भयो र हामीहरू असहाय ( अनाथ जस्ता भयौँ, अब हामी माथि दया गरेर २) महादेव कहाँ हुनुहुन्छ ? आज्ञा हवस् । फेरि हजुर पनि यस्तो स्थानमा आएर एक्लै किन बस्नुभएको हो ? यी सबै कुरा हामीलाई आज्ञा हवस् ।' यति देवताहरूको प्रार्थना सुनी पार्वती भन्नुहुन्छ- 'हे देवता हो ! महादेव यतै आउनुभएको हुनाले म उनैको आराधना गरेर यहाँ बसेकी हुँ । श्लेष्मान्तक वनको नैर्ऋत्य कोणमा यौटा जंगल र सरोवर छ । महादेव त्यहीं मृगस्वरूप भएर वन-विहार गर्दै हुनुहुन्छ । कस्तो मृग भने सुवर्णको जस्तो वर्ण भएको, तीन नेत्र र एक सीङ भएको, मृगहरूको समूहमा सबैभन्दा ठूलो मृगस्वरूप धारण गरेर बस्नुभएको छ । अब तिमीहरू त्यहीं गएर खोजी गर, अनि महादेवको दर्शन पाउनेछौ ।' पार्वतीको वचन-अनुसार देवताहरूले त्यहीं गई खोजी गरे, तर पाउन सकेनन् । ब्रह्मा, विष्णु, इन्द्र तीनै देवताले अनेक स्तुति गर्दै खोज्न लागे । उसै वेला अकस्मात् लाखौँ मृगको यौटा समूह देखे । त्यही फौजका माझमा अत्यन्त राम्रो, तीन नेत्र,'एक सीङ र सुवर्ण झैँ वर्ण भएको सबैभन्दा ठूलो मृगलाई परैबाट देखे । त्यस मृगलाई आफैतिर आउन लागेको यी तीनै देवताले देखेर अलिक नगीच गई बिन्ती गरे- 'हे भगवन् ! कैलास शून्य भएको धरै दिन भयो । हे दयासागर ! हामी त्रिदेव ब्रह्मा, विष्णु, इन्द्रमाथि दया गरी दर्शन दिनुहवस् ।' यस्तै अनेक स्तुति गर्दै मृगरूप शिवका नगीचै गए । आफूतिर आउन लागे- का देवतालाई देखेर रुद्र-मृग उफ्री उफ्री भाग्न लागे । रुद्रमृगको त्यस्तो चाला देखेर विष्णु भगवान् भन्नुहुन्छ- 'हे देवेन्द्र ! हामीहरूको प्रार्थनाले महादेव चैतन्य हुने भएनन् । अब हामी तीन व्यक्तिले तीन तर्फबाट घेरा दिएर समातौं ।' विष्णुको यस्तो वचन सुनेर 'हुन्छ' भनी तीन देवताले तीनतिर उभिई घेरा दिएर रुद्र- मृगको सीङको जरामा विष्णुले र माझमा ब्रह्माले, टुप्पामा इन्द्रले बलपूर्वक समाते । ती त्रिदेवले समाउना- साथ रुद्र- मृग अन्तर्धान भए । सीङ मात्र त्रिदेवका हातमा रह्यो । त्रिदेवले बेसरी समातेका हुनाले त्यो सीङ तीन टुक्रा भई तीनै देवताका हातमा एक-एक टुक्रा आयो । त्यस्तो भएको देखेर- 'यो हामीले ठूलो अपराध गयौँ, साह्रै अनर्थ भयो, अब के गर्ने ?' भन्दै तीनै देवताले-हे शम्भो, हाम्रो यो अपराध क्षमा गरिबक्सियोस्' भनी स्तुति गर्न लागे । ब्रह्मा, विष्णु र इन्द्रले त्यसरी स्तुति गरेको देखेर दयाका सागर महादेव प्रसन्न भई ज्योतिः स्वरूपको दर्शन दिनुभयो । अनि देवताहरू खुशी भई दण्डवत् प्रणाम गर्दा भए । अनि महादेव आज्ञा गर्नुहुन्छ- 'हे देवता हो ! तिमीहरूको स्तुतिले म प्रसन्न भएँ, वर माँग ।' महादेवको त्यस्तो आज्ञा सुनेर ब्रह्मा, विष्णु र इन्द्र बिन्ती गर्दछन् ! 'हे प्रभो ! हजुरको ध्यान कहिल्यै पनि नबिसौं, सदा हाम्रो हृदयमा रहिरहोस् । अरू हामी- लाई केही पनि वर चाहिन्न, केवल हजुरका चरणको भक्ति चाहन्छौँ ।' देवताहरूको त्यस्तो वचन सुनेर महादेवले 'तथास्तु' भन्नुभयो । फेरि तीनै देवताले भने- 'हे ईश्वर ! यो हजुरको सीङ तीन टुक्रा पारेको हामीहरूको अपराध क्षमा गरी यी सीङका तीन टुक्रा के गर्ने हो ? आज्ञा हवस् ।' अनि शिवजीले आज्ञा गर्नुभयो- 'हे देवता हो ! मेरो सीङ तीन टुक्रा पारेको तिमीहरूलाई कुनै अपराध लाग्दैन र शंका मान्नुपर्दैन । बरु इन्द्रका हातको इन्द्रलोकमा, ब्रह्माका हातको मर्त्यमण्डल नेपालको गोकर्ण भन्ने स्थानमा र विष्णुका हातको पातालमा लगेर स्थापना गर्नू ।' यति शिवजीको आज्ञा सुनी ब्रह्मा, विष्णु र इन्द्र तीनै देवताले दण्डवत् प्रणाम गरी बिदा भएर उपरोक्त तीनै स्थानमा लगी सीङ स्थापना गरेर आफाफ्ना आश्रममा गए । अनि महादेव सरासर गएर तपस्या गरिरहेकी पार्वतीलाई काखमा लिई त्यहाँबाट अन्तर्धान भएर कैलास पर्वतमा पुगी नन्दी, भृङ्गी, चतुः षष्ठी योगिनी, भूत-प्रेत पिशाच, प्रमथगण सहित भई परम आनन्दसाथ रहनुभयो ।
हे मुने ! त्यसपछि नैर्ऋत्य कोणको लंकापुरीबाट दशशिर रावण नित्य गोकर्णमा आएर श्रीमहादेवका चरणमा दण्डवत् गरी नाच-गान गरी तपस्या गरेर जान्थ्यो । त्यही क्रमले निकै दिन बितेपछि एकदिन शिवजीले विष, भाङ, धतुरो खाई अचेत भइरहेको बेलामा रावण आएर दण्डवत् गरी नाच-गान र मृदङ्ग बजाई स्तुति गर्न लाग्यो र दिगम्बर शिव प्रसन्न हुनुभयो । अनि 'हे रावण ! तेरो तपस्या र सेवाले म प्रसन्न भएँ, वरदान माँग । जे माँगे पनि दिन्छु । मेरो निम्ति संसारमा अदेय केही पनि छैन ।' महादेवको यस्तो वचन सुनी रावण भन्दछ- 'हे ईश्वर ! हजुरको कृपाले माँग सबै वस्तु छ, मलाई केही पनि चाहिन्न ।' रावणको त्यस्तो कुरा सुनी महादेवले फेरि आज्ञा भयो- 'हे रावण ! केही एक थोक नमाँगी सुख पाउन्नस्, लौ माँग् ।' शिवको त्यस्तो इच्छा बुझी रावणले मनमा विचार गर्यो- 'अब मैले माँग्ने के छ र माँग्ने ? महादेवका काखमा बसेकी कुरा सकल लक्षण-युक्त पार्वती नै माँग्दछु' यस्तो निश्चय गरेर बिन्ती चढायो- 'हे प्रभो ! मलाई अरू केही पनि चाहिन्न, केवल यौटी पार्वती बक्सनुहवस्' भन्यो र महादेवले 'लौ लैजा' भनेर पार्वती जिम्मा लगाइदिनुभयो । रावण पनि जगत्माता पार्वतीलाई पीठमा बोकेर शिवजीसँग बिदा माँगी हिंड्यो । यो सबै कुरा वैकुण्ठनाथ विष्णुले थाहा पाई 'अनर्थ हुन आँट्यो' भन्दै तत्काल हावाभन्दा पनि शीघ्रगतिले मोहिनीरूप धारण गरी रावणकहाँ पुगेर भन्नुभयो- 'हे महाशय ! तिमी को हौ ? कहाँबाट आइरहेका छौ ? पीठमा बोकेकी यी सुन्दरी को हुन् ? किन बोकेर ल्यायौ र कहाँ लैजाने विचार छ ?' रावणले भन्यो- 'हे सुन्दरी ! लंकापुरीको राजा रावण भनेको मै हुँ । मेरो तपस्याले प्रसन्न भई महादेवले मलाई आफ्नी स्त्री पार्वती दिनुभयो र यी तिनै पार्वती हुन् । म यिनलाई बोकेर लंकापुरी जाँदै छु ।' यति रावणको कुरा सुनी मोहिनी भन्न लागिन् - 'हे वीर रावण ! के तिमीलाई लाज लाग्दैन ? के ती पार्वती हुन् ?
तिमीलाई छलेर महादेवले मायाद्वारा रचेकी यी स्त्री दिएछन्, तिमी जस्ता राजा र वीर व्यक्तिले यस्ती स्त्री पीठमा बोकेर हिंडेको कसैले देखे भने के भन्लान् ? यी पार्वती होइनन् । तिमीलाई महादेवले झुक्याएछन् । बरु पार्वती लैजाने इच्छा भए म तिमीलाई पार्वती पाइने स्थान बताइदिन्छु, सुन । महादेवले आसन गरी राखेको बाघको छालाभित्र साँच्चिकी पार्वती लुकाई राखेका छन्, त्यही माँगेर लैजाऊ ।' यति भनी अनेक हाउ- भाउ कटाक्षले छोपी मोहिनीरूप विष्णुले कुरा गर्दा रावणको चित्त बुझ्यो र पार्वतीलाई त्यहीं छाडेर आफू फेरि कैलास पुग्यो । यता विष्णुले पार्वतीलाई वैकुण्ठ लगी पूजा र सत्कार गरेर राखे । उता महादेव कुचेष्टा भइरहेकै थिए, त्यसै वेला रावण पुगेर बिन्ती गर्यो- 'हे ईश्वर ! हजुरले मलाई छलेर पार्वती भनी मायाले यौटी स्त्री बनाई दिनुभएछ, त्यो कुरा थाहा पाई मैले बाटैमा फालेर आएँ । दिने इच्छा भए हजुरले आसन गरी राखेको बाघको छाला-भित्रकी पार्वती दिनुहवस् ।' रावणले यति भनेको सुनी महादेवले ध्यान- दृष्टिले विचार गर्दा पार्वतीलाई विष्णुले लगेछन् भन्ने थाहा पाई मायाले यौटी स्त्री उत्पन्न गरेर आसन गरिराखेको बाघको छाला भित्रबाट झिकेर 'लौ लैजा' भनी दिनुभयो । रावण अत्यन्त प्रसन्न भएर माया - रचित स्त्रीलाई पीठमा बोकी लंकापुरी गयो । यता विष्णुले पार्वतीलाई महादेवकहाँ पुऱ्याई वैकुण्ठ जानुभयो ।
कुमारजी भन्नुहुन्छ- हे अगस्त्य मुनि ! एकचित्त भएर सुन एकदिन महादेवले पार्वतीसित सल्लाह गरी 'मानसरोवर' तलाउमा राजहंस भएर जल- क्रीडा गर्न जानुभएको थियो । त्यसै मौकामा 'अन्तःपुर' नामको नगरमा बस्ने यौटा जालन्धर थियो । त्यसकी वृन्दा नामकी अत्यन्त पतिव्रता स्त्री थिइन् । एकदिन ती दुवै पति-पत्नी बसेर ठट्टा गरिरहेका थिए, त्यसै बखत जालन्धर अकस्मात् बेसरी हाँस्यो र वृन्दाले सोधिन्- 'हे स्वामी ! किन यसरी हाँस्नुभयो ?' जालन्धरले भन्यो- ' हे वृन्दा ! तिमी जस्ती सुन्दरी पत्नी अरू कसकी होली भन्ने लागेर हाँसेको हुँ । अरू कुनै कारण होइन ।' वृन्दाले उत्तर दिइन् - 'हे स्वामी ! म के राम्री छु र ? महादेवकी स्त्री पार्वतीलाई देखे के गर्नुहोला ?' वृन्दाको यस्ता कुरा सुनी जालन्धरले भन्यो- 'हे स्त्री ! यो कुरा साँचो हो ? त्यसो भए म पार्वतीलाई छल्न जान्छु ।' यति कुरा गरी मायाले महादेवको रूप धारण गरी कैलास पुग्यो । पार्वतीले महादेव आउनुभयो ढोकामा भनी सुनको कमण्डलु लिई पाउ धुन आइन् त पार्वतीलाई देख्नासाथ महादेव - रूपधारी जालन्धर मूर्च्छा परेर लड्यो । अनि पार्वतीले ध्यान- दृष्टिले विचार गर्दा आफूलाई छल्न महादेवको रूप धारी जालन्धर आएको थाहा पाई द्वारपाललाई भनिन्- 'हे नन्दी, हे भृङ्गी ! यहाँ कोही आए पनि मलाई नसोधी भित्र पस्न नदिनू' भनी आफू कसैले नदेख्ने स्थानमा गएर लुकी रीसले चूर भई विष्णुको आराधना गरिन् । पार्वतीले क्रोधित भएर आराधना गरेको विष्णु भगवान्ले थाहा पाई गरुडमा चढेर तत्काल कैलास पर्वतमा पार्वतीकहाँ पुग्नुभयो । 'हे पार्वती ! मलाई किन आराधना गरेकी ?' भनी सोध्नुभयो । अनि पार्वती भन्दछिन् - "हे विष्णु ! महादेव जल- क्रीडा गर्न मानसरोवर तलाउमा राजहंस भई आनन्द मनाउँदै हुनुहुन्छ । यही मौकामा मलाई छल्न महादेवको रूप धारण गरी पापिष्ठ जालन्धर आयो र मैले थाहा नपाई महादेव नै पाल्नुभयो भनी पाउ धुन बाहिर ढोकामा जाँदा मलाई देख्नासाथ मूर्च्छा परी भूमिमा ढलेको देख्दा महादेव भए मलाई देख्नासाथ मूर्च्छित हुनु पर्दैनथ्यो, यो कुन पापी मलाई छल्न आयो होला भनी ध्यान- दृष्टिले विचार गर्दा जालन्धर रहेछ भन्ने जानी द्वारपाललाई 'यहाँ कोही आए पनि भित्र नपठाउनू' भन्ने आदेश दिएर यहाँ आई तपाईंको आराधना गरेकी हुँ । अब जे गर्नुपर्ने हो, तत्काल गर्नुहवस् ।” यति पार्वतीको वचन सुनी विष्णु भगवान् भन्नुहुन्छ 'हे पार्वती माता ! पापिष्ठ जालन्धरले तपाईंलाई दगा गर्न मायारूप धारण गरेर आएपछि म गएर त्यसकी पतिव्रता स्त्री वृन्दाको सत्य डगाएर आउँछु, यसमा कुनै शंका छैन । म पहिले मानसरोवर गएर महादेवलाई यहाँ पठाइदिन्छु ।' यति भनेर पार्वतीसित बिदा भई ठूलो वेगले मानसरोवरतिर जाँदा भए ।
।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां विष्णुमानसरोवरगमनं नाम षोडशोऽध्यायः ।। १६ ।।


