Harsamaya
श्री स्वस्थानी व्रत कथा अध्याय - १८
श्री स्वस्थानी व्रत कथा । ग्राफिक्स : हर समय/Har Samaya

काठमाडाैं - श्री स्वस्थानी व्रत सुरु भएको आज १८औँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । 

श्रीस्वस्थानी व्रतकथाको अष्टादशौँ अध्यायमा जालन्धर वध, सती वृन्दाको श्राप र त्यसबाट शालिग्राम, तुलसी, कुश र पीपलको महिमा स्थापित भएको प्रसंग वर्णन गरिएको छ। वृन्दाको पतिव्रता धर्म नष्ट भएपछि महादेवले जालन्धरको वध गर्छन् भने पति वियोगमा पीडित वृन्दाले विष्णुलाई श्राप दिँदा उहाँ शालिग्राम, तुलसी, कुश र पीपलका रूपमा प्रकट हुनुभयो । यससँगै यी वस्तुहरू नारायणस्वरूप मानी पूजा गर्ने धार्मिक मान्यता स्थापित हुन्छ ।

यसै अध्यायमा शालिग्राम, तुलसी, कुश र पीपलको धार्मिक, आध्यात्मिक तथा सामाजिक महिमा विस्तारमा वर्णन गरिएको छ। शालिग्राम पूजा मोक्षदायी, तुलसी भक्ति पापनाशक, कुश सम्पूर्ण वैदिक कर्मका लागि अनिवार्य र पीपल शनिदेवसहित देव–पितृहरूको वासस्थान भएको विश्वास प्रस्तुत गरिएको छ ।

अन्त्यतिर पार्वतीको आज्ञामा अश्वत्थामा ऋषिले पाताललोक पुगेर दुःखी नागिनीहरूलाई श्रीस्वस्थानी परमेश्वरीको व्रत गराउँदा व्रतको प्रभावले उनीहरूका पति फर्किन्छन् र दुःख नाश भई समृद्धि प्राप्त हुन्छ । यस अध्यायले पतिव्रता धर्म, स्वस्थानी व्रतको महिमा र भक्ति तथा श्रद्धाबाट दुःखमोचन हुने सन्देश दिन्छ ।

यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रतकथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं । आज १८औँ दिन अष्टादशौँ अध्याय यहाँहरूसमक्ष प्रस्तुत छ । 

अथ अष्टादशोऽध्यायः

कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्य मुनि ! त्यसपछि महादेवले विष्णुलाई बिदा दिई जालन्धरसित युद्ध गर्न लाग्नुभयो । महादेव र जालन्धरको भयंकर संग्राम भयो । वृन्दाको पतिव्रता धर्म विष्णुले हरण गरिसकेका हुनाले जालन्धर शक्ति- क्षीण भई महादेवसित युद्ध गर्न नसकी- आकाशमा गएर माया- युद्ध गर्न लाग्यो । महादेव पनि आकाशमै गएर युद्ध गर्न लाग्नुभयो । त्यसपछि जालन्धरको शक्ति क्षीण भएको जानी विष्णुले वृन्दाको सत्य डगाइसकेछन् भन्ने ठानी तेजिलो त्रिशूल लिई तीनै नेत्रबाट अग्निको ज्वाला निकाली  क्रोधपूर्वक जालन्धरको छातीमा प्रहार गर्नुभयो । त्यस त्रिशूलको चोटले जालन्धर मरी अन्तःपुरको चोकमा ठूलो शब्द गरेर पछारियो । त्यो चको शब्द सुनी वृन्दाले केको शब्द हो भनी हेर्न जाँदा आफ्नै स्वामी जालन्धर मरेको देखी अनेक प्रकारले विलाप गर्दै रुन लागिन् - 'हे स्वामी ! मलाई यस्तो अवस्थामा एक्ली पारेर कहाँ जानुभयो ? पापिष्ठ विष्णुले छल गर्दा तपाईंको यो गति भयो र मेरो यो अवस्था भयो । तपाईं - बिना म प्राण राख्न सक्तिनँ । तपाईं जहाँ जानुभयो म पनि उहीं जान्छु' भन्दै केश फिंजाई विष्णुको मुखमा हेरेर भन्न लागिन् - 'हे पापिष्ठ विष्णु ! तिमीले छली मेरो पतिव्रता धर्म नष्ट गरिदिनाले मेरा स्वामीको यो गति भयो । अब म तिमीलाई  श्राप दिन्छु- झार हुनुपरोस् १, घाँस हुनुपरोस् २, कल्पवृक्ष भएर रहनुपरोस् ३, ढुङ्गा भएर रहनुपरोस् ४। यति चार थोक श्राप दिएँ भनी आफ्ना स्वामीसित सती गई वृन्दाले देह त्यागिन् ।

हे अगस्त्य मुनि ! पतिव्रताको श्राप विष्णुलाई लाग्यो र झार हुनुपरोस् भनेकोमा 'तुलसी' भएर रहनुपर्यो । घाँस हुनुपरोस् भनेकोमा 'कुश' भएर रहनुपर्यो । कल्पवृक्ष हुनुपरोस् भनेकोमा 'पीपल' भएर रहनुपर्यो । ढुंगा हुनुपरोस् भनेकोमा 'शालिग्राम' भएर रहनुपर्यो । यसैले तुलसी, कुश, पीपल र शालिग्राम नारायण-रूप हुन् भनेंर सबैले पूजा गरेको कारण यही हो । हे मुनि ! पतिव्रता धर्म भनेको ठूलो धर्म हो । त्यसपछि वृन्दाको श्राप मोक्ष गर्न पृथ्वी-तलमा जान्छु भनी विष्णु भगवान् पृथ्वीमा शालिग्राम, तुलसी, कुश र पीपल भएर रहनुभयो । 

शालिग्राम-महिमा
हे अगस्त्य मुनि ! 'ढुङ्गा हुनुपरोस्' भन्ने वृन्दाको श्रापले नारायण विष्णु भगवान् आफ्ना कुनै अंशले शाली नदीको बगरमा आएर शिला भएर रहनुभयो, तिनै शिलालाई मानिसहरू 'शालिग्राम' भन्दछन् । हे अगस्त्य मुनि ! जो जन सधैँ शालिग्रामरूप नारायणको श्रद्धाभक्तिपूर्वक पूजा गर्ने गर्दछन्, अनि निरन्तर 'ॐ नमो भगवते वासुदेवाय' यो ब्राह्र अक्षरी मन्त्र या 'ॐ वासुदेवाय नमः' यो आठ अक्षरी मन्त्र जपिरहन्छन् वा दिनहुँ एक सय आठपल्ट बिहान-बिहान जप्ने गर्दछन्, त्यस्ताले मरेपछि यमलोक वा यमराजका दूतहरूलाई देख्तै देख्तैनन्, किनकि ती भक्तहरू सरासर विष्णुलोक जान्छन् । अथवा मरेपछि मुक्ति चाहनेहरूले चक्र बनेको शालिग्राम-शिलाचक्रमा दिनहुँ 'ॐ वासुदेवाय नमः' भन्दै चन्दन र फूलले विष्णुको पूजा गर्ने गर्नू । किनकि त्यो शिलाचक्रमा सारा पापलाई नाश गर्ने, नित्य पूजा गर्ने हरूलाई  पुण्य दिने, मरेपछि मुक्ति दिलाउने त्यो शालिग्रामशिला त्यस्ता शक्तिसम्पन्न विष्णुको वासस्थान हो । शालिग्रामशिलाको चक्रमा जो जन प्रतिदिन पूजा गर्ने गर्छ, त्यसले प्रत्येक दिन एक हजार राजसूय यज्ञ गर्यो भन्ने ठान्नु- पर्दछ । ती जान्नयोग्य अविनाशी परब्रह्म विष्णुलाई नित्य नमस्कार गर्दा जो पुण्य प्राप्ति हुन्छ, मनुष्यहरूलाई त्यही पुण्य शालिग्रामशिलाको नित्य  पूजा गर्नाले पनि प्राप्त हुन्छ । जस्तै; ठूल्ठूला काठमा आगो, रहन्छ र कुनै मौकामा उसको शक्ति प्रकट हुन्छ, त्यस्तै प्रकारले हरि भगवान् सर्वव्यापी हुनुहुन्छ तापनि शालिग्राममा उहाँको शक्तिप्रकाश प्रकट हुन्छ । हे अगस्त्य मुनि ! जसले ठूला- ठूला पाप गरेका छन्, जसलाई शुभकर्मको अनुष्ठान गर्ने अधिकार छैन, त्यस्ताले पनि शालिग्रामको पूजा गर्ने गरे भने ती जन नरक जाँदैनन् । विष्णु भगवान् लक्ष्मीमा रमण गर्दा पनि त्यति प्रमुदित हुनुहुन्न, अनि आफ्नू पुर वैकुण्ठमा पनि त्यति रमाउनुहुन्न, जति शालिग्राम- शिलाचक्रमा सदा उहाँ रमाउनुहुन्छ । जुन व्यक्तिले शालिग्रामको शिलामा बनेको चक्रमा हरिको पूजा गर्छ, मानों, उसले अग्निहोत्रीको आचरण गर्दै सागर- पर्यन्तको भूमि दान गर्यो भन्ने ठाने हुन्छ । मनुष्यले एकैपल्ट पनि शालिग्रामशिलाको पूजा गर्छ भने त्यसका सबै पापहरू, जसरी सूर्योदय भएपछि अन्धकार नाश हुन्छ, त्यसै गरी नाश हुन्छन् ।

हे अगस्त्य मुनि ! जसले शालिग्राममा बनेका बाह्रओटा शिलाचक्रको विधिपूर्वक पूजा गरेको छ, अब म तिमीलाई त्यसको प्रभाव बताउँछु, मन लाएर सुन- सुवर्णनिर्मित कमलहरूद्वारा बाह कल्प- पर्यन्त बाह्रकोटि शिवलिङ्गको पूजा गर्नाल जो फल मिल्छ, त्यो फल बाह्रओटा शालिग्राम- शिलाको पूजा गर्नाले एकै दिनमा मिल्छ । फेरि जो व्यक्ति भक्तिपूर्वक एक सय शालिग्राम-शिलाको पूजा गर्दछ, त्यो व्यक्ति हरिको लोक वैकुण्ठधाममा चिरकालसम्म बसेर पृथ्वीतलमा जन्मी चक्रवर्ती राजा हुन्छ । काम-क्रोध-लोभले व्याप्त भएको जो कोही सज्जनले पनि शालिग्रामशिलाको पूजा गर्ने गर्यो भने त्यसका प्रभावले त्यो पनि हरिको लोक वैकुण्ठधाममा जान्छ । जो मनुष्य सधैँ शालिग्राममा गोविन्दको पूजा गर्दछ, त्यस्तो जन निश्चय नै प्रलय नभएसम्म अधोगतिमा प्राप्त हुँदैन । मनुष्यहरू विना- तीर्थ, विना-दान, विना- यज्ञ, विना - बुद्धि पनि शालिग्रामशिलाको पूजा गर्ने गर्नाले मुक्तिमा प्राप्त हुन्छन् । शालिग्राममा हरिको पूजा गर्ने जन उग्र पापी नै भए पनि पछि उसको न नरकवास, न गर्भवास हुन्छ, न त उ कीरा- फट्याङ्गा आदि कुत्सित योनिमा नै जन्मन्छ अर्थात् त्यस्तो तिर्यक् योनि यानि तेर्सो शरीर हुने योनिमा जाकिदैन । दीक्षा-विधान र मन्त्र जान्नेवाला जो जन सधैँ शालिग्राममा विष्णुको पूजा गर्दछ भने  त्यो जन वैष्णवधाममा जान्छ । शालिग्रामशिलाको जलले जो आफूलाई अभिषेक गर्दछ, मानों, उसले सबै तीर्थहरूमा न्वाहेको हुन्छ र सबै यज्ञहरूमा दीक्षित भएको हुन्छ । गङ्गा-गोदाबरी- रेवा आदि जो मोक्ष दिने नदीहरू छन्, ती सब तीर्थ- सहित भएर शालिग्रामशिलाको जलमा निवास गर्दछन् । तसर्थ, नाना प्रकारका नैवेद्यहरूले, फूलहरूले, दीप हरूले, चन्दनहरूले र स्तोत्र- पाठ-बाजागाजा- गीत आदिहरूले शालिग्राम शिलाको पूजा गर्नुपर्दछ । 

कलियुगमा जो मनुष्य भक्तिपूर्वक शालिग्राम- शिलाको उक्त विधानले पूजा गर्दछ, त्यो मनुष्य हज्जारौँ करोड़ वर्षसम्म हरिको निकटमा रमाउँदै रहन्छ । आफूले दर्शन गरिएका, पूजा गरिएका, स्तुति गरिएका करोडौँ शिवलिङ्गहरूले जो फल मिल्छ, त्यो फल यौटै पनि शालिग्रामशिलामा गरिएको दर्शन, पूजन, स्तवनले प्राप्त हुन्छ । जो मनुष्यहरू शालिग्रामशिलाबाट उद्भव विष्णुलिङ्गमा एकपल्ट पनि पूजा गर्दछन् ती जन अध्यात्मज्ञान-रहित भएका भए पनि मुक्ति प्राप्त गर्दछन् । शालिग्राम-शिलारूपी केशव भगवान् जहाँ रहनुहुन्छ, त्यहीं यक्ष- देवता- सिद्ध  र चौधै भुवन रहन्छन् । जो मनुष्य शालिग्राम- शिलाको अगाडि रहेर पितृहरूको श्राद्ध गर्दछ, त्यसका पितृहरू तृप्त भएर सय कल्पसम्म स्वर्गमा निवास गर्दछन् । जो मनुष्य नित्यप्रति शालिग्राम- शिलाको जल पिउँछन्, त्यस्ताले हजारौँपल्ट पञ्चगव्य आचमन गर्नाले के प्रयोजन ? अर्थात् क्यै प्रयोजन छैन । जुन ठाउँमा शालिग्रामशिला रहन्छ, त्यहाँबाट चारैतिर तीन योजन अर्थात् बाहु कोशसम्म त्यो स्थान तीर्थसमान मानिन्छ । त्यहाँ गरिएको दान, होम सबै करोड़गुना अधिक फलदायक हुन्छ । शालिग्रामशिलाको जल एवं गोमतीचक्रको जल यी दुवै जल मिलाएर जो मनुष्य रोजै पिउँछ र शिरमा- शरीरमा छर्कन्छ ता त्यसको शरीर नै चक्रले चिह्नित भएको जस्तै हुन्छ, यमसा कुनै संशय छैन । जो चक्र संसारमा गुप्त रहन्छ, त्यो चक्र यमलोकका धर्मराजलाई छोडेर अरू कसैले पनि देख्तैन । हरिभक्तहरूको चरणोदकको सेचनले यमराज भयभीत रहन्छन् । यसैकारण, वैष्णव हरूको उत्तम घरमा जान आफ्ना दूतहरूलाई निषेध गरेका छन् । 

जो कोही नदीहरू सोझै समुद्रमा मिल्नेवाला छैनन्, माघमासमा तिनमा स्नान गर्नाले त्रिरात्रव्रतको  फल मिल्छ । सोझै समुद्रमै मिसिने नदीहरूमा स्नान गर्नाले एकपक्षे व्रतको फल मिल्छ । समुद्रमै स्नान गर्नाले एकमहीने व्रतको फल मिल्छ । गोदाबरीमा स्नान गर्नाले छः महीना व्रत गरेको फल मिल्छ । गङ्गामा स्नान गर्नाले एक वर्ष व्रत गरेको फल मिल्छ । तर शालिग्रामशिलारूपी न भगवान्‌को चरणोदकले स्नान गर्नाले बाह्र वर्ष व्रत बसेको फल मिल्छ । 
यदि माघ महीनामा स्नानका लागि शालिग्रामको पवित्र जल मिल्यो भने करोड़ तीर्थको सेवाले वं क्यै प्रयोजन छैन । जो मनुष्य आमाका दूधका साथमै मिलाएर शालिग्रामशिलाको जल एक थोपो मात्रै पनि पिउँछ भने त्यो मनुष्य मोक्ष हुन्छ । तै शालिग्राम शिलाको नजीकको एक कोश वरिपरिको भूमिमा कीरो पनि मन्यो भने त्यो ई पक्कै वैकुण्ठ लोकमा जान्छ । जो मनुष्य शालिग्राम शिलाको उत्तम चक्र दान गर्छ, उसले गरेको फल पाउँछ । जो जन शालिग्राम-शिलाको पर्वत औ जङ्गल - सहितको भू-मण्डलको दान मोल लाउँछ, बेच्छ अथवा बेच्ने राय दिन्छ अथवा जो मनुष्य उसको जाँच-बुझ गर्छ, ती सबै नै मरेपछि प्रलय- पर्यन्त नरकमा जाकिन्छन् । यसकारण, शालिग्राम-शिलाको किनबेच गर्नु हुँदैन पापसँग डराउने मान्छेहरूले सधैँभरि सारा पाप नाश गर्ने वासुदेव भगवान्‌को स्मरण गर्नुपर्छ । इन्द्रिय- दमनपूर्वक घोर जङ्गलमा तपस्या गर्नाले मनुष्य जुन फल पाउँछ, त्यो फल गरुड़ध्वज विष्णुको स्मरण गर्नाले नै पाउँछ । अज्ञानले वशीभूत भएर जानी-नजानी धेरै प्रकारको पाप गर्ने मनुष्यले पनि सारा पाप हर्ने हरिलाई सम्झेर नमस्कार गर्यो भने त्यो जन नरक जाँदैन । पृथ्वीमा जति तीर्थ छन्, अनि जति पुण्यस्थानहरू छन्, विष्णुको नामको कीर्तनले नै ती सबैमा गरिएको पुण्यफल प्राप्ति हुन्छ । शार्ङ्गधनुर्धारी, शरणागतवत्सल विष्णु भगवान्‌को शरणमा जो व्यक्ति पर्दछन्, तिनीहरूले न यमराजलाई देख्नुपर्छ, न त तिनीहरू नरकै जान्छन् ।

नारी जातिहरू त धोका दिई झुक्क्याई परनारी- को सतीत्व डगाउने विष्णुको त्यो भडुवा अंश नै शालिग्राम भएको हो, तसर्थ, नारीजातिमात्रको अपमान गर्ने त्यो अंश हो भन्ने ठानी शालिग्राम- शिलालाई छँदै छुदैनन् र पूजा पनि गर्दैनन् । त्यस्ताले त केवल शालिग्राम धोएको वा शालिग्राम चोभेको जललाई नै उनै साक्षात् निर्दोष अंशका  त्रैलोक्यनाथ विष्णुको चरणोदक मानी 'ॐ नमो वासुदेवाय' भन्दै अचाएर शिरमा दिनहुँ छर्कने गरे पनि अथवा प्रत्येक एकादशीको व्रत बस्ने गरे पनि, तथा बाह्रै महीनामा आउने त्यस-त्यस पूर्णिमाको र मलमासमा पर्ने मलमासकै पूर्णिमाको कथा सुन्ने गरे मात्रै पनि सधैँ शालिग्रामको पूजा गरेको पुण्यफल पाउँछन् ।

तुलसी - महिमा 
हे अगस्त्य मुनि ! 'घाँस हुनुपरोस्' भन्ने सती - वृन्दाको सरापले आफ्ना एक अंशले तुलसी भएका तुलसीका पातहरूले जो मनुष्य हरिको पूजा गर्दछ, त्यो मनुष्यलाई, – पानीमाथि पानीमै रहेको कमलको पातलाई पानीले नभिजाएझैँ-, कुनै पापले पनि छुन सक्तैन । एक तोला सुन या चार तोला चाँदी दान गर्नाले जो फल प्राप्त हुन्छ, त्यो फल कुनै पनि एकादशीको दिन तुलसी- पत्रले हरिको पूजा गर्दा प्राप्त हुन्छ । एकादशीका दिन तुलसीपत्रले पूजा गर्दा भगवान् विष्णु जस्तो प्रसन्न हुनुहुन्छ, त्यस्तो प्रसन्नता रत्न-मणि-वैदूर्यमणि अनि मूगा आदिले पूजा गर्दा पनि प्रसन्न हुनुहुन्न । एकादशीको दिन जुन जनले तुलसीका मञ्जरीहरूले केशव भगवान्- को पूजा गर्दछ, त्यसले जन्मदेखि गरेका पापका घुरान सबै बढार्दछ । अनि जन्मजन्मान्तरका दश हजार वर्षदेखि गरि आएका आफ्ना सारा पापकन खाक गरिदिन्छ । सधैँ दर्शन गरिएकी, सधैँ स्पर्शन गरिएकी, सधैँ ध्यान गरिएकी, सधैँ कीर्तन गरिएकी, सधैँ स्तुति गरिएकी, स्वयं रोपिएकी, स्वयं सेचिएकी, सधैँ पूजा गरिएकी र सधैँ ढोगिएकी तुलसी कल्याणकारी हुन्छिन् । यी उक्त नौ प्रकारले जो जन प्रतिदिन तुलसीको भक्ति गर्दछन्, त्यस्ता जन हजारौं करोड़ युगसम्म हरिको घर वैकुण्ठमा वास गर्दछन् । हे अगस्त्य मुनि ! रोपिएकी तुलसीले जति जरा फैलाउँछिन्, त्यति हजार युगसम्म रोप्नेको पुण्य फैलाउँ- छिन् अर्थात् बढाउँदछिन् । हे अगस्त्य मुनि ! जुन जनद्वारा रोपिएको तुलसी जबसम्म आफ्ना हाँगाबिगा, शाखा- प्रशाखाहरूले र उनका बीयाँ, पुष्प र पत्रले पृथ्वीतलमा बढिरहन्छन्, ती पुरुषका कुलमा जो-जो जन्मिएका छन्, जो-जो पछि जन्मिनेछन् र जो-जो बितिसके ती सब जनको दुई हजार कल्प वर्षसम्म हरिको धाममा अर्थात् वैकुण्ठमा वास हुन्छ ।

हे अगस्त्य मुनि ! झाङका झाङ तुलसीको झाड़ी रोप्नेले यमराजको दर्शन गर्नुपर्दैन । किनकि तुलसीको बूटो सबै पापलाई नाश गर्ने, चिताएको २) कल्याणकारी कुरो पुऱ्याउने, पुण्य दिने हुन्छ । जुन घरमा झाङिएको तुलसीको मठ रहन्छ, त्यो घर पुण्यतीर्थ- समान हो, त्यहाँ यमराजका दूतहरू जाँदै-जाँदैनन् । जो जन आफ्ना घरको आङनमा तुलसी रोप्तछन्, ती जन त्यस तुलसीको बोटमा जति बीज र तुलसीदल हुन्छन्, अनि ती बीजका सन्तान - दर्सन्तान फैलिदै चलिरहन्छन्, त्यति हजार वर्षसम्म स्वर्गमा बस्तछन् । तुलसीको बास्ना सुँघेर प्रसन्न मन भएका पितृहरू गरुडमा चढेर चक्रपाणि विष्णुको भवन वैकुण्ठमा जान्छन् । नर्मदाको दर्शन, गङ्गाको स्नान तथा तुलसीका झाड़ीको स्पर्शन यी तीनै अर्थात् यी तीनैको पुण्य उत्तिकै कहिएको छ । तुलसी रोप्नाले-हुर्काउनाले- सेच्नाले-दर्शन गर्नाले मात्रै पनि मनुष्यहरूले आफ्ना मन-वचन- शरीरले सञ्चय गरिएको पापलाई डढाउँछ अर्थात् विनाश गर्छ । जो जन तुलसीका मञ्जरीहरूले नारायण हरिको पूजा गर्दछ, त्यो जन मरेपछि मुक्त हुन्छ, उसले फेरि गर्भवासको ओहोर-दोहोर गर्नुपर्दैन । पुष्कर आदि तीर्थहरू तथा गङ्गा आदि नदीहरू अनि वासुदेव आदि देवताहरू सबै नै जो तुलसीको बोट रोपेर त्यसका पातले विष्णु भगवान्‌को पूजा गर्दछ, त्यो त्यस्तो जन जहाँ भगवान् चतुर्बाहु विष्णु रहनुहुन्छ, अन्तमा प्रसन्नतापूर्वक उहीँ रहन पाउँछ । यसकारण, आफ्नू सदा कल्याण चाहने नर-नारीले आफ्नै घर-आङनमा गहिरोसम्म जरा पुग्ने गरी मलिलो माटो भरी बनाएको मठमा तुलसी रोपी तिनै तुलसीको सधैँ पूजा गर्नुपर्दछ र पूजाको अन्तमा भक्तिपूर्वक यो स्तुति गर्नुपर्दछ अनि नम्रतापूर्वक ती तुलसीलाई ढोग्नुपर्दछ- 

या दृष्टा निखिलाऽघसंघशमनी, स्पृष्टा वपुः - पावनी
रोगाणामभिवन्दिता निरशनी, सिक्ताऽ न्तकत्रासिनी ।
प्रत्यासन्नविधायिनी भगवतः कृष्णस्य साऽऽरोपिता,
 न्यस्ता तच्चरणे विमुक्तिफलदा तस्यै तुलस्यै नमः ॥

अर्थात् जसको दर्शनले समस्त पाप-समूह शान्त हुन्छ, जसलाई छुनाले शरीर पवित्र हुन्छ, जसलाई ढोग्नाले सारा रोगहरू नाशिन्छन्, जसको जल मस्तकमा सेचन गयो भने यमराज पनि डराउँछन्, जसको पत्र शिरमा चढायो भने भगवान् कृष्णको अत्यन्त नजीकै बस्न पाउने गराउँछिन्, भगवान्‌का चरणकमलमा चढायो भने मुक्ति दिलाउँछिन्, त्यस्ती तुलसीलाई नमस्कार छ ।

कुश- महिमा 
'झार हुनुपरोस्' भन्ने सती वृन्दाको सरापले कुशरूपमा झार हुनुभएको कुशमा विष्णुका अधिकांश शक्तिशाली शक्ति रहेका छन् । भाद्रकृष्ण औँसी अर्थात् कुशेऔंसीका दिन जरैसमेत उखेलेर राखेको कुश फेरि अर्को कुशे औँसी नआएसम्म पवित्रै रहन्छ, अरू दिन उखेलेको चाहिँ त्यसै दिनभरि मात्र पवित्र रहन्छ । कुश अत्यन्त पवित्र र पुण्यदायी झार हो । काँचो दूधमा दूधको मात्रा अनुसार दुई-चार बोट हरियो कुश हालेर राखिदियो भने त्यो दिनभरि त्यो दूध फाट्तैन । ग्रहण लागेको वेलामा घरमा राखेको पानीमा कुश हालेर राखिदियो भने ग्रहण लाग्दा हुने वातावरणको दूषित दोष त्यस पानीमा पर्दैन । समस्त देवकार्यमा तथा समस्त पितृकार्यमा अनि वेदमन्त्र र चण्डीमन्त्र जस्ता पवित्र मन्त्रहरूले कुनै वस्तुलाई मन्त्रने कार्यमा एवं वेदका मन्त्रहरू पढेर गरिने समस्त संस्कार एवं हवन कार्यहरूमा अनि प्रतिज्ञा गर्ने काममा,  दान गर्ने काममा, संकल्प गरिने काममा, दिएको दियै गरिने महादानहरूमा कुश नभै हुँदैन । तिल- जौ -जल यी तीन शक्तिसहितका ब्रह्मा-विष्णु- महेशस्वरूप तीन टुक्रा कुश हातमा लिएर गरिएको समर्पण कार्य उसैले वा उसका सन्तानले फर्कायो वा खोस्यो भने त्यस्तो खोस्ने जनको अप्ताली नै पर्छ या दुर्गति हुन्छ । कुश छोएर वा लिएर झुटो बोले या किरिया हाले त्यस्तालाई कोढ निस्कन्छ । वेदका मन्त्रहरूले मन्त्रेको कुशले मात्रै पितृहरूभाठौं ह पिण्ड- पानीको सारतत्त्व र समाचार पुऱ्याउँछ, य देवताहरूलाई हविको भाग दिलाउँछ, मन्त्रिएको वस्तुमा विष्णुशक्ति-सम्पन्न गराउँछ अर्थात् हरेक सं पवित्र कार्यलाई सुसम्पन्न पार्दछ । कुश चोभेको न जललाई विष्णुको चरणोदक नै मानिन्छ, यसैउसले कुशले जल छर्किएर अभिषेक गरिन्छ, अछूत कसैले छोइएर वा छोएर अशुद्ध भएको वस्तुलाई कुशजलले शुद्ध पवित्र पारिन्छ । यसकारण, सबैले कुशलाई साक्षात् विष्णुस्वरूप नै मान्दछन् र मान्नु पनि पर्दछ । पहिले-पहिलेका राजाहरूले देवी-देवताको पूजा-आजा चलाउन कुश समाती दान गरेको भूमि पछि-पछिकाले हड्पेर भोग गरे अथवा रैकरमा गाभे भने त्यस्ताहरूको पनि चालीस वर्षभित्रै चिल्लीबिल्ली बिचल्ली हुन्छ । तसर्थ, कुशको अपमान गर्नु साक्षात् विष्णुको नै अपमान गर्नु जस्तै हुन्छ । किनकि प्रत्येक वनस्पतिमा सधैँ- कुनै-न- कुनै गुण अवश्य रहेको हुन्छ त कुशमा साक्षात् विष्णु नै रहनुभएको हुन्छ । त्यसैले तिल - जौ - जलसहितको कुश पक्रेर संकल्प गर्दा पहिले 'हरिः ॐ तत्सत्' भनिन्छ । अर्थात् ॐ माने सत्त्व-रज-तम मिलेको शक्ति ॐ नै हरि यानि विष्णु हो, तत् माने त्यो विष्णु नै सत् यानि सत्य वस्तु हो । तसर्थ, त्यो कुशरूप विष्णुलाई समातेर म यो संकल्प गर्दै छु । त्यसरी संकल्प गरेको वस्तु जो हड्पन्छ, त्यो अवश्य नाशिन्छ ।

पीपल-महिमा 
सती वृन्दाको 'रूख हुनुपरोस्' भन्ने सत्य श्रापले गर्दा आफ्नू कुनै एक अंशले विष्णु भगवान् पीपलको रूख हुनुभयो । तसर्थ, पीपलको रूखलाई मान्छेहरू साक्षात् विष्णुरूप जस्तै ठानेर नर वा नारी सबैले प्रयत्नपूर्वक प्रत्येक शनिश्चरवार मात्र पूजा गर्ने गरून्, जीवनमा वार-वार नसके पनि एकपल्ट त शनिवारको दिन- शनिवारको दिन पारेर यथाशक्ति गरी पीपलको प्रदक्षिणा एक लाख अवश्य पुऱ्याऊन् ।

पीपलको फल पाकेको महीनामा वन्ध्या नारीले। यदि शनिवारको दिन पारी पीपलको रूखमनि विधिपूर्वक राधा- दामोदरको यानि लक्ष्मी- नारायणको पूजा गरून् र राधा- दामोदरको स्वरूप मानेर ब्राह्मण-दम्पतीलाई श्रद्धा-भक्तिपूर्वक यथेष्ट भोजन गराई दक्षिणा दिइसकेपछि नबोलीकन एकदम मौनतापूर्वक आफू पनि भोजन गरून् । त्यसपछि आउने कुनै दिन पनि पर सरेको चौथो रात बितेको भोलिपल्टको दिनमा गाईको दूधमा पीपलका पाकेका फल दुई तोला जतिको खीर पकाएर त्यो दिन त्यो खीर मात्र खाऊन् त एकदम वन्ध्या नारी पनि छोरै पाउने गरी सीधा अङ्गप्रत्यङ्गका पतिसंभोगले गर्भिणी हुन्छे हुन्छे भने अरू छोरी छोरी मात्र पाउनेको त कुरै छैन ।

त्यस्तै प्रतिशनिवार पीपलको पूजा गरेर फलामको दक्षिणा चढाउनाले साढेसातीका शनि-दशा हुनेलाई शनिश्चरले पिर्दैन । अनि पीपलको पूजन-दर्शन- स्पर्शन- प्रदक्षिणा यी सबै शनिश्चरवार मात्रै गर्नुपर्छ । किनकि पीपलको रूखमा मात्रै शनिश्चरले  टिक्ने ठाउँ पाएकाले अरू वार गर्यो भने शनि रिसाउँछ र त्यो पूजन आदि गर्ने मनुष्य सदा महादरिद्र रहन्छ । किनकि पीपलको वृक्षमा शनिश्चरको पनि वास छ र अरू अरू भूत-प्रेत, पिशाच-राक्षस, शाकिनी- डाकिनी आदिको वास पनि छ । तिनीहरूलाई त्यहाँ बस्नका लागि भगवान् विष्णुले नै अभय दान दिनुभएको छ । यसैले पीपलको बोट- नजीकैको घरमा पिशाचदेखि डराउने पितृहरू जाँदैनन् । प्रातः - मध्याह्न- सायम्- आधारातमा भूत-प्रेत-पिशाच नाच्ने हुनाले 'त्यो लाग्छ' भनेर मानिसहरू पीपलको बोट भएको ठाउँमा त्यतिखेर जाँन्दैनन् र केटाकेटीलाई पनि जान दिदैनन्, निग्रानी राख्छन् । यसैकारण, भूतप्रेतादिको आश्रयस्थान भएको पीपलको रूख काट्नाले या उसको दाउरा बाल्नाले त्यो काट्ने वा बाल्ने व्यक्तिको अप्ताली नै पर्छ, किनकि पीपलको वृक्ष भूत-प्रेतादिको निवासस्थान हो र वृन्दाका श्रापले पिरिएका साक्षात् विष्णुको स्वरूप नै हो ।

हे अगस्त्य मुनि ! त्यसरी वृन्दाको सत्य डगाउने काम सकी शिवजीसँग बिदा भई विष्णु भगवान् वैकुण्ठधाम गएपछि शिवजी आफ्नू काम फत्ते  पारी हर्षले साँढेमा चढी सकल देवता अघि-पछि लगाई अनेक खुशीका बाजा बजाई, अप्सराले नाची, गन्धर्वले गाना गरी, पुष्प वृष्टि गर्दै कैलासमा प्रवेश गर्नुभयो । अनि प्रमथगणसहित शिव-शक्ति- स्वरूपले रहनुभयो । त्यसपछि सबै देवताहरू महादेवसित बिदा माँगेर आफाफ्ना आश्रममा गई आनन्दपूर्वक रहन लागे ।

हे अगस्त्य मुनि ! अब पातालका कुरा कहन्छु, तिमी ध्यानपूर्वक सुन-पार्वतीको आज्ञाले अश्वत्थामा ऋषि सप्त-पातालको मूल रसातलमा पुगे । कस्तो पाताल भने-सूर्यको प्रकाश झैं प्रकाशमान भएको, अनेक प्रकारका रत्नहरू जडेर बनाइएको सुवर्णको पुरीमा असंख्य सम्पत्ति भएका शेषनाग, तक्षकनाग, कर्कोटकनाग, पद्मनाग, शंखनाग, कुलिकनाग र करुणनाग बसेका र नागिनीहरू पनि हीरा- मोती, मणि-माणिक्य आदिका गहना एवं उत्तम- उत्तम वस्त्रालंकार पहिरी ऊभन्दा ऊ राम्री, ऊभन्दा ऊ राम्री भएर बसेका त्यस्तो स्थानमा पुगेपछि अश्वत्थामाले - 'हे शेषनाग ! पार्वतीको आज्ञाले श्रीस्वस्थानी परमेश्वरीको व्रत गराई जो दुःखी छन्, जो दरिद्री छन्, तिनको उद्धार गर्न म यहाँ आएको हुँ । यहाँ कोही दुःखी छन् कि ?' भनी सोधे । अश्वत्थामाको वचन सुनी शेषनागले भने- 'हे ऋषे ! यहाँ उस्ता दुःखी र दरिद्री कोही पनि छैनन् । त्यहाँ त्यस वनको नगीचै शंखचूडनाग, रत्नचूड़नाग, कृपादत्तनाग र धार्तराष्ट्रनागको घर छ । तिनका स्त्रीहरू साह्रै कष्टमा छन् । त्यहीं गएर सुध्याऊ ।' यति शेषनागले भनेपछि अश्वत्थामा तिनै नागिनीहरूकहाँ गए । त्यहाँ शंखचूड़नागकी स्त्री हीरावती, रत्नचूड़नागकी स्त्री रत्नावती र कृपादत्तनागकी स्त्री मृगावती एवं धार्तराष्ट्रनागकी स्त्री मदनावती थिए । यति ती नाग-नागिनी परस्पर अनन्य प्रीतिले बस्दा दैव-संयोगले दुःख पाई घरमा बस्न नसकी ती चारै जना नागहरू परदेश गएका रहेछन् । अनि नागिनीहरू पनि पति परदेश गएपछि, चारै जनाले सल्लाह गरी घर छाडेर वनमा बसी दुःखका दिन बिताउन लागेका रहेछन् । ती नागिनीहरू दुःखमा परे पनि महासत्यवादिनी थिए । नागहरू परदेश लागेको बाह्र वर्ष बित्दा पनि नागहरूले नागिनीहरूको र नागिनीहरूले नागहरूको केही समाचार पाउन सकेका थिएनन् । अश्वत्थामा ऋषि त्यस्ता दुःखका सिन्धुमा डुबिरहेका ती नागिनीहरूलाई हपार्दै उहीँ पुगे । ती नागिनीहरूले  सुनेर 'को हपार्दछ' भनी गुफाबाट निस्केर हेरे। अनि अश्वत्थामा ऋषिलाई देखेर सोधे-'हे अश्वत्थामा ऋषि ! आज हामी पापिनी, दुःखिनीका घर के कामले आउनुभयो ?' तब अश्वत्थामा भन्दछन् - 'हे नागिनी हो ! पार्वतीको आज्ञाले श्रीस्वस्थानी परमेश्वरीको व्रत गराई जो दुःखी छन्, जो दरिद्री छन्, जसका पुरुष छैनन्, जो सन्तानहीन छन् तिनको उद्धार गर्न आएको हुँ ।' यति अश्वत्थामाको वचन सुनी नागिनीहरूले मनमा आनन्द मानी- 'हे ऋषीश्वर ! हामी दुःखी पनि छौं, दरिद्री पनि छौं, पापी पनि छौं, हाम्रा सन्तान पनि छैनन्, पुरुष पनि छैनन् । अतः हामीलाई त्यो व्रत अवश्य गराउनुहवस्' भनी नागहरू परदेश गएको र आफूले दुःख पाएको सबै विस्तार गरिसकी आदरपूर्वक उनलाई आसनमा बसाले । अनि अश्वत्थामा भन्दछन् -“हे नागिनी हो ! ध्यानपूर्वक सुन-सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले श्रीमहादेव स्वामी पाउन भनी श्रीस्वस्थानी परमेश्वरीको व्रत गरेको विधि भन्दछु-पौषशुक्ल पूर्णिमादेखि हात गोडाका नङ काटेर स्नान गरी पवित्र भई, एकभक्त रही, एकचित्त गरी मेरो फलानू कामना सिद्ध हवस् भनी नित्य मध्याह्न  कालमा श्रीस्वस्थानी परमेश्वरीको पूजा गर्नू र २ उनैको कथा सुन्नू । माघशुक्ल पूर्णिमाको दिन १ १०८ रोटी, १०८ अक्षता, १०८ बेलीपुष्प, १०८ यज्ञसूत्र, १०८ पान, १०८ कुड्का सुपारी, जौ, तिल, फल-फूल आदि सबै एक सय आठ एक सय आठ, सगुन समेत नाना उपचार तयार पारेर आर्सीमा ॐकार लेखी गंगाजलले स्नान गराउनू र श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, अबीर, पुष्पमाला चढाई धूप-दीप, नैवेद्य, वस्त्र, भेटी, अर्पण गर्नू । यसरी पूजा सकेर अर्घ्य दिनू । अनि प्रसाद झिकेर अष्टोत्तर सयमा आठ रोटी, आठ अक्षता, आठ पुष्प, आठ पान, आठ कुड्का सुपारी, सगुन-समेत आफ्ना पुरुषलाई दिनू, पुरुष नभए छोरालाई र छोरा नभए मीत छोरालाई तथा मीतछोरा पनि नभए 'मेरो फलानू कामना पूर्ण हवस्' भनेर गंगामा बगाउनू र सय रोटी आफूले फलाहार गर्नू, अनि रात्रिमा जाग्राम बस्नू । यति गरेपछि तिमीहरूको दुःख नाश होला । यसमा अन्यथा नमाने ।"  यति अश्वत्थामाले भनेको सुनी नागिनीहरू खुशी भई भन्न लागे - 'हे अश्वत्थामा ऋषि ! हामी स्त्री जातिलाई त्यस्तो ज्ञान कहाँबाट प्राप्त हुनु ! तपाईं बसेर त्यो व्रत गराई हामी अभागिनीहरूको उद्धार गरिदिनुहवस् ।' यति भनी ऋषिलाई सम्मानपूर्वक घर लगेर बसाई राखे । 

त्यसपछि पौषशुक्ल पूर्णिमा आयो र विधिपूर्वक व्रत आरम्भ गराई महीना दिन पुगेपछि माघशुक्ल पूर्णिमाको दिन समस्त सामग्री तयार गराई स्वस्थानी परमेश्वरीको पूजा गराए । पूजा सकिएपछि अश्वत्थामा ऋषिले भने- 'हे नागिनी हो ! अब अर्घ्य दिई जप-पाठ, ध्यान, स्तुति गर ।' अनि नागिनीहरूले अंजलि जोरी- 'हे ईश्वरी ! हामी दुखियाहरूको पूजाले प्रसन्न भई यो दुःखको समुद्रबाट पार लगाउनुहवस्' भनेर स्तुति गर्दागर्दै पूर्व दिशाबाट हजार सूर्यको जस्तै तेज भएकी श्रीस्वस्थानी परमेश्वरी प्रकट भएर दर्शन दिई- 'हे नागिनी हो ! तिमीहरूको श्रद्धा-भक्तिले म अत्यन्त प्रसन्न भएँ, वरदान माँग' भन्नुभयो । अनि ती नागिनीहरूले बिन्ती गरे- 'हे ईश्वरी ! हामी दुःखिनीहरूको दुःख हरण हवस् । हाम्रा स्वामीहरू चाँडै आइपुगून्' भनी वर माँगे, अनि ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् । त्यसपछि प्रसाद झिक्न लाग्दा श्रीस्वस्थानी परमेश्वरीको व्रतको प्रभावले परदेशबाट नागहरू आइपुगे र  नागिनीहरूले मनमा आनन्द मानी धन्य-धन्य, स्वस्थानी परमेश्वरी ! भनी प्रसाद झिकेर आठ रोटी, आठ अक्षता, आठ बेलीपुष्प, आठ पान, आठ कुड्का सुपारी, सगुन-समेत आ-आफ्ना पतिलाई दिएर दण्डवत् प्रणाम गरे । अनि अश्वत्थामा ऋषिलाई भोजन गराई दक्षिणा दिई बिदा गरे । त्यसै दिनदेखि ती नाग-नागिनीहरू असंख्य सम्पत्ति पाएर आनन्दले रहँदा भए ।

।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमार अगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां नागिनीव्रतकरणं नाम अष्टादशोऽध्यायः ।। १८ ।। 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ०६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update