माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसले एमालेसँग भएको सहमति कायम राखेर जाने भएको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको नयाँ केन्द्रीय कार्यसमितिलाई मान्यता दिएपछि एमालेसँग भएको सहमति के हुने भन्ने चासो थियो भने काँग्रेस प्रवक्ता देवराज चालिसेले राष्ट्रिय सभा निर्वाचनलाई चुनावी गठबन्धनको रूपमा बुझ्न नहुने बताए ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
अप्राकृतिक र सत्ताकेन्द्रित चुनावी गठबन्धन नगर्ने कांग्रेसको निर्णय : नेपाली कांग्रेसले कुनै पनि किसिमको अप्राकृतिक र सत्ताकेन्द्रित गठबन्धन नगर्ने निर्णय गरेको छ ।
शनिबार बसेको केन्द्रीय समिति बैठकले कुनै पनि किसिमको चुनावी गठबन्धन नगर्ने र सँधै मूल्य र सिद्धान्तमा अडिक रहने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उनले भने,‘कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित गठबन्धन हामी गर्नेवाला छैनौं भन्ने प्रतिबद्धता फेरि पनि हामीले गरेका छौं । हामी सँधै मूल्य र सिदान्तमा अडिक रहने छौं । संविधानको रक्षा गर्दै,नव युवाको आंक्षाको प्रतिनिधित्व गर्दै जनताको अपेक्षा पूरा गर्ने दृढता व्यक्त गर्ने निर्णय गरेका छौं ।’
निर्वाचन आयोगको निर्णय मान्य छैन, सर्वोच्च अदालत जान्छौं : शेर बहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले निर्वाचन आयोगले माघ २ गते (हिजो) गरेको निर्णय संविधान, प्रचलित कानून र पार्टी विधानविपरीत रहेको दाबी गरेका छन् ।
शनिवार सानेपामा बसेको देउवा पक्षको कार्यसमितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता महतले निर्वाचन आयोगले एकलौटी रूपमा निर्णय गरेको भन्दै न्यायका लागि सर्वोच्च अदालत जाने बताए ।
उनले भने, ‘निर्वाचन आयोगले २०८२ माग २ गते गरेको निर्णय नेपालको संविधान प्रचलित कानून, नेपाली कांग्रेसको विधानको व्यवस्था विरुद्ध गरिएको ठहर गरिएको छ । कथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य वैधानिकता, उपस्थित संख्या समेत नहेरी एकलौटिरुपले गरिएको निर्णय दुषित मनसायले प्रेरित भएको बैठकले ठहर गरेको छ ।’
रवि लामिछानेविरुद्ध युवा संघको विरोध प्रदर्शन : नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथिका मुद्दा कमजोर बनाउन गरिएको प्रयास र भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोधमा प्रदर्शन गरिएको हो ।
विरोध प्रदर्शनमा संघका उपाध्यक्ष महमराज गुरुङले सरकार निर्वाचन सफल गराउने भन्दापनि विभिन्न सेटिङको काममा व्यस्त रहेको भन्दै आपत्ति जनाएका छन् ।
मकालु आरोहणका क्रममा शेर्पा आरोहीको मृत्यु, इरानी पर्वतारोही बेपत्ता, उद्धार जारी : विश्वको पाँचौँ अग्लो हिमाल मकालु (८,४८५ मिटर) को सफल आरोहणपछि मानवीय क्षति भएको समाचार सार्वजनिक भएको छ ।
शिखरबाट फर्किने क्रममा भएको दुर्घटनामा एक शेर्पा आरोहीको ज्यान गएको छ भने एक इरानी पर्वतारोही अझै बेपत्ता छन् । घटनापछि उद्धार चुनौती थप जटिल बन्दै गएको छ ।
मकालु एडभेन्चरको टोलीका सदस्य फुर्वा ओङ्गेल शेर्पा करिब ७,५०० मिटर उचाइमा रहेको क्याम्प–४ माथिबाट लडेर ज्यान गुमाएका हुन् । त्यस्तै, ओरालो झर्ने क्रममा इरानी पर्वतारोही अबोल्फजल गोजाली क्याम्प–४ नजिकैबाट बेपत्ता भएका छन्।
कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा सिग्देल नियुक्त : कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले खेलकुद विकास बोर्डको सदस्य सचिवमा उपसचिव दुर्गाप्रसाद सिग्देललाई तोक्ने निर्णय गरेको छ ।
गत असोज २४ गतेदेखि रिक्त भएको बोर्डको सदस्य सचिवमा अर्को व्यवस्था नभएसम्मका लागि सदस्य सचिव तोकिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिएका छन् ।
पाकिस्तानको पञ्जाबमा भीषण सडक दुर्घटना, १४ जनाको मृत्यु : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार घना कुहिरोका कारण भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ भने केही अन्य व्यक्ति घाइते भएका छन्।
उद्धार अधिकारीहरूका अनुसार अत्यन्त कम दृश्यताका कारण मिनी–ट्रक अनियन्त्रित भई सडकबाट खस्दै सुक्खा नहरमा पुगेको थियो। दुर्घटनास्थलमै सात जनाको मृत्यु भएको थियो भने गम्भीर घाइतेहरूलाई तत्काल नजिकका अस्पतालमा लगिएको थियो।
उपचारका क्रममा थप सात जनाको मृत्यु भएपछि मृतक संख्या १४ पुगेको जनाइएको छ। कुहिरोका कारण मोटरवे बन्द भएपछि चालकले वैकल्पिक स्थानीय मार्ग प्रयोग गरेको बताइएको छ।

