काठमाडौं - माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसले एमालेसँग भएको सहमति कायम राखेर जाने भएको छ ।निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको नयाँ केन्द्रीय कार्यसमितिलाई मान्यता दिएपछि एमालेसँग भएको सहमति के हुने भन्ने चासो थियो भने काँग्रेस प्रवक्ता देवराज चालिसेले राष्ट्रिय सभा निर्वाचनलाई चुनावी गठबन्धनको रूपमा बुझ्न नहुने बताए ।
राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदै छ । त्यसमध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । उनको ठाउँमा सरकारको सिफारिसमा अर्को व्यक्तिलाई राष्ट्रपतिले नै मनोनीत गर्नेछन् ।
बाँकी १८ पदका लागि गत पुस २३ मा मनोनयन भइसकेको छ । निर्वाचन आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये काँग्रेस र एमालेले भागबन्डा गरेर क्रमशः ९ र ८ सिटमा उम्मेदवारी दिएका छन् ।

