महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । आजदेखि स्वास्थ्य बिमामार्फत गराइने सबै उपचार सेवा बन्द गरिएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए ।
उनले स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रममार्फत उपचार गराएको भुक्तानी उपलब्ध नगराउँदा बिमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको बताए ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता : उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी(युनाईटेड जेनजी)बिच एकता भएको छ । बिहीबार एक कार्यक्रमकाबिच उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । पार्टीका एकता कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि उदाएको सबैभन्दा नयाँ पार्टी भएको दाबी गरे ।
जेनजी आन्दोलनले जन्माएको राष्ट्रिय परिवर्तन र उज्यालो पार्टी एकता भएको जानकारी गराउँदै उनले अब उज्यालो पार्टी नयाँ शक्तिको रूपमा उदाएको बताए ।
‘बलिदानी दिवस’ मनाउने जसपा नेपालको निर्णय : जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठकले माघ ५ गते प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा ‘बलिदानी दिवस’ मनाउने निर्णय गरेको छ ।
बिहीबार पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकले बलिदानी दिवसका अवसरमा मधेश आन्दोलन, लोकतान्त्रिक संघर्ष तथा संघीयता र समावेशीताका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूको स्मरण गर्दै देशभर विविध कार्यक्रम आयोजना गरिने पार्टीले जनाएको छ ।
त्यसै गरी बैठकले माघ ३ गते मधेश भवनमा प्रदेश स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ । सो अवसरमा संघीयता, प्रदेश अधिकार र मधेश आन्दोलनका उपलब्धिमाथि केन्द्रित विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।
गगन थापा नेतृत्वको पहिलो कांग्रेस केन्द्रीय समिति बैठक : नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको पहिलो केन्द्रीय समिति बैठकले थापाकै संयोजकत्वमा 'घोषणापत्र निर्माण समिति' गठन गरेको छ।
आज ललितपुरमा बसेको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी घोषणापत्र तयारी र निर्वाचन परिचालन समिति गठन गरेको नेता देवराज चालिसेले जानकारी दिए ।
चालिसेले भने, 'यो घोषणापत्र केवल घोषणाका लागि नभई एक्सनका लागि भिजन सहितको हुनेछ। कति वर्षमा कस्तो काँग्रेस र कस्तो देश बनाउने भन्ने ठोस योजना र कार्य पद्धति यसमा समेटिनेछ।'
नेपालमा नेपाली सरकार हुनुपर्दछ, विदेशीको सरकार होइन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नेपालीकै सरकार हुनुपर्नेमा जोड दिएका छन् । ४२ औँ ‘पिस्कर सहिद स्मृति’ दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले इतिहासदेखि नै सङ्घर्ष, त्याग र बलिदानको परम्परा निरन्तर चलिरहेको बताए ।
अध्यक्ष ओलीले सङ्घर्ष आफूहरूबाट मात्रै सुरु नभएको उल्लेख गर्दै भने,‘इतिहासमा पहिले पनि सङ्घर्ष थियो, अहिले पनि छ । बलिदानको शृङ्खला पहिले पनि थियो, अहिले पनि जारी छ । जनतामाथि आक्रमण र दमनका बिचमा पनि जनताले सङ्घर्ष जारी राख्दै उपलब्धि हासिल गरेका छन् ।’ उनले उपलब्धि र सङ्घर्ष दुवै सँगसँगै अघि बढिरहेको उल्लेख गर्दै अझै पनि त्याग र बलिदान गर्नुपरेको बताए ।
एमालेले माघ ४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने : नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित बिशेष जनप्रदर्शन गर्ने भएको छ ।
एमाले बागमती प्रदेश कमिटीले बिहीबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर माघ ४ गते काठमाडौंमा आयोजना गर्न लागेको निर्वाचन केन्द्रित बिशेष जनप्रदर्शनको तयारी पुरा भएको जनाएको छ ।
काठमाडौंको प्रदर्शनीमार्गबाट सुरु हुने जनप्रदर्शन कमलादीस्थीत प्रज्ञा भवनमा पुगेर सभामा परिणत हुने एमालेका सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए ।
सभाबाट एमालेले निर्वाचन केन्द्रीत विशेष कार्यक्रमको घोषणा गरिने उनले बताए । बस्नेतले आफ्नो प्रदेश निर्वाचन केन्द्रित विशेष अभियानमा तीव्रताका साथ लागेको बताउँदै चुनावका लागि आवश्यक वातावरण बनाउन आग्रह गरे ।
सोमबार जनकपुरमा रवि र बालेन पहिलो पटक एउटै मञ्चमा उभिँदै : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले माघ ५ गते जनकपुरमा पार्टीको अभियान उद्घोष सभा आयोजना गरिने जानकारी दिएका छन् । आज उक्त सभाको तयारी र कार्यक्रमबारे जानकारी दिँदै उनले जनकपुरको कार्यक्रममा विशेष राजनीतिक महत्त्व र पार्टीका सभापति रवि लामिछाने तथा भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका बालेन्द्र शाह पहिलो पटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने बताए ।
प्रवक्ता झाले भने, ‘माघ ५ गते जनकपुरमा आयोजना हुने उद्घोष सभामा पार्टीका सभापति रवि लामिछाने र पार्टीको निर्वाचन अभियानअन्तर्गत भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका बालेन्द्र शाह पहिलो पटक संयुक्त रूपमा एउटै राजनीतिक सभामा सार्वजनिक हुनेछन् ।’

