सिन्धुपाल्चोक - आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा १ हजार ७८७ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) माग गरेको छ । नेपाल प्रहरीतर्फ १ हजार ७०८ र सशस्त्र प्रहरी बल नेपाल तर्फ ७९ जना म्यादी प्रहरी मागेको हो ।
दरखास्त पुस २५ देखि माघ १ गतेसम्म मागे पनि आवश्यक सङ्ख्यामा नआएपछि थप तीन दिन म्याद थपिएको सशस्त्र प्रहरी बल नेपाल न.१६ गण हेड क्वाटर बन्देउका एसपी अच्युत मजगैयाले जानकारी दिए ।
अब म्यादी प्रहरीका लागि माघ ४ गतेसम्म दरखास्त आव्हान गरिएको छ । दरखास्त दिन चाहनेले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र सशस्त्र प्रहरी बल नेपाल न.१६ गण हेड क्वाटर बन्देउमा दरखास्त दिन सक्नेछन् ।
बिहान १० बजेदेखि ४ बजेसम्म दरखास्त दिन सकिने प्रहरीले जारी गरेको सूचनामा भनिएको छ । १८ वर्ष लागेर ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । नियुक्ति पाएको ४० दिनसम्म उनीहरूले सरकारले तोकेको पारिश्रमिक पाउनेछन् ।

