Harsamaya
अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ
प्रतिकात्मक तस्विर : हर समय/Har Samaya

काठमाडौं - अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात चिनियाँ नागरिक पक्राउ परेका छन् । 

गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरूलाई आज काठमाडौँ महानगरापालिका–२७ स्थित ज्याठाबाट पक्राउ गरेको हो ।
 
उनीहरूले चिनियाँ नागरिक लिउ प्यानले सञ्चालन गरेको होटलमा इन्टरनेटको प्रयोग गरी कल बाइपास गर्ने गरेको अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ । कल बाइपास गर्ने उपकरणसहित पक्राउ परेका चिनियाँ नागरिकमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । 
 
यसैबीच, ब्यूरोको टोलीले जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार कैदी कृष्णबहादुर मिजारलाई काठमाडौँको तारकेश्वरबाट आज पक्राउ गरेको छ । कारागारबाट फरार रही काठमाडौँ उपत्यकामा लुकीछिपी बसेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । मिजारलाई कारागार कार्यालय जगन्नाथदेवल पेस गरिएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update