Harsamaya
पुष २२: तीन जना मन्त्रीहरुको राजीनामा देखि निकोलस मादुरोसँग सम्बन्धित सम्पत्ति जफत गर्ने निर्णय सम्म
ग्राफिक्सः हर समय/harsamaya

प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीहरुको राजीनामा मागेकी छिन् । कार्कीले कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा मागेकी हुन् । 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री कार्कीले तीन मन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रीहरू राजनीतिक दलमा सहभागी भएपछि सरकारको विश्वसनियतामाथि प्रश्न उठेको छ । 

मन्त्रिपरिषद् बैठक सकिएपछि ती मन्त्रीसँग प्रधानमन्त्रीले अलग्गै भेटेर पनि आफूलाई सहयोग गर्न आग्रह गरेको ती मन्त्रीले बताए। 

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

बालेन प्रधानमन्त्री बन्ने हो भने पहिले जेनजीका माग पूरा गर्नुपर्छ : मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले काठमाडौं महानगरप्रमुख बालेन शाहलाई चुनाव लड्ने र देशको प्रधानमन्त्री बन्ने हो भने पहिला जेनजीको माग पूरा गर्न चुनौति दिएका छन् ।

मंगलबार जेनजी र महाअभियानसहित राष्ट्रवादी समूहहरुको संयुक्त जनआन्दोलन घोषणा सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘म २३ गतेको आन्दोलनमा सहभागी हुँदा बालेनजीले कुनै राजीतिक दलका नेता र बैलाहा अभियान्ताहरु नआउनुहोला भन्नुभयो । म होइन तपाई बौलाहा हो । तपाईलाई चुनाव लडेर देशको प्रधानमन्त्री बन्ने इच्छा छ भने पहिला जेनजीको माग पूरा गर्नुहोस् ।’ त्यस्तै उनले जेनजी अगुवा रक्षा बमप्रति पनि आलोचना गरेका छन् ।

विमलेन्द्र निधिमाथि दुर्व्यवहारको विरोधमा महामन्त्री थापाविरुद्ध कोटेश्वरमा प्रदर्शन : नेपाली काँग्रेसका महामन्त्री गगन थापाविरुद्ध तरुण दलका केन्द्रीय सदस्य सुशील बुढाथोकीको नेतृत्वमा काँग्रेस कार्यकर्ताहरूले कोटेश्वर चोकमा प्रदर्शन गरेको छ । 

पार्टी उपसभापति एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधिलाई दुर्व्यवहार गरेको आरोपमा उनीहरूले थापाविरुद्ध राँको बालेर नाराबाजी गरेका हुन् ।

प्रचण्डको दाबी -  राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति भएको छैन : नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको दाबी गरेका छन् । 

मंगलबार पार्टी कार्यालय पेरिसडाडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीन वटा सिट लिने गरि अन्य दलसंग तालमेल गर्ने सहमति नभएको दावी गर्नुभएको हो । उहाले राष्ट्रियसभामा आफ्नो दलको मतभार अनुसार नै सिट पाउने अधिकार नेकपाको भएको उल्लेख गरे । 

कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, आठ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीहरूलाई सरकारमा सहभागी गराएका छन् ।

मुख्यमन्त्री कार्कीले यसअघिका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमतिअनुसार नयाँ मन्त्रिपरिषद् गठन गरेका हुन् ।

मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूलाई शपथ गराएका हुन् ।

यस्ता छन् सरकारका ३५ निर्णयहरू : सरकारले सार्वजनिक निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्नेसम्बन्धी सुझाव कार्यदलबाट पेश भएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । 

मंगलबार सिंहदरबारमा पुस ११ र २१ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता जगदीश खरेलले राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगाएतका निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधानमा एकरुपता कायम गर्नेसम्बन्धी सुझाव कार्यदलबाट पेश भएको प्रतिवेदन कार्यान्वयनका लागि अर्थ मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिए ।

रोहितकी कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा : आईसीसी टी-२० विश्वकप क्रीकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रीकेट संघ क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा  १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । भारत र श्रीलङ्कामा आयोजना हुने यो प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ । जसमा नेपालको प्रतिद्वन्द्वीका रूपमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बङ्गलादेश र इटाली छन् ।

स्विट्जरल्यान्डद्वारा निकोलस मादुरोसँग सम्बन्धित सम्पत्ति जफत गर्ने निर्णय : स्विट्जरल्यान्ड सरकारले अपदस्थ भेनेजुएलाली राष्ट्रपति निकोलस मादुरोसँग सम्बन्धित स्विट्जरल्यान्डस्थित सम्पत्तिहरू तत्काल जफत (फ्रिज) गर्ने निर्णय गरेको छ ।ती सम्पत्तिहरू गैरकानुनी रूपमा आर्जित भएको पुष्टि भएमा भेनेजुएलाली जनताको हितमा प्रयोग गरिने स्विस सरकारले जनाएको छ । स्विस संघीय सरकारले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै मादुरोसँग सम्बन्धित सबै स्विस–आधारित सम्पत्तिमा यो निर्णय तत्काल लागू हुने स्पष्ट पारेको हो ।

 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update