काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीहरुको राजीनामा मागेकी छिन् ।
कार्कीले कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा मागेकी हुन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री कार्कीले तीन मन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रीहरू राजनीतिक दलमा सहभागी भएपछि सरकारको विश्वसनियतामाथि प्रश्न उठेको छ ।
मन्त्रिपरिषद् बैठक सकिएपछि ती मन्त्रीसँग प्रधानमन्त्रीले अलग्गै भेटेर पनि आफूलाई सहयोग गर्न आग्रह गरेको ती मन्त्रीले बताए। वर्तमान सरकारले निष्पक्ष निर्वाचन गराउने लक्ष्य लिएकोमा मन्त्रीहरू दलमै आबद्ध भएर निर्वाचनमा सहभागी हुने अवस्था उपयुक्त नहुने भन्दै प्रधानमन्त्रीले ती मन्त्रीहरूलाई पद त्याग गरेर सहज बनाइदिन आग्रह गरेकी हुन् ।
उर्जा, जलस्रोत एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको अगुवाइमा रहेको दल उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकतामा गएपछि मन्त्री घिसिङ सो दलको उपसभापति भएका छन् ।
खेलकुद मन्त्री बब्लु गुप्ता भने रास्वपा र उज्यालो नेपालबीच एकताका लागि भएको वार्तामा सहभागी थिए । सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री जगदीश खरेलले रास्वपा र बालेन्द्र शाहबीचको एकतापछि त्यसको स्वागतमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका थिए ।

