हेटौँडा काठमाडौं वैकल्पिक राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदीको जुरीखेतमा टाटा सुमो दुर्घटना भएको छ ।आइतबार साँझ भएको सुमो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी दुर्घटना हुँदा घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । मृतकहरूको सनाखत हुन बाँकी छ ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
न्यायपालिकाप्रति अभद्र अभिव्यक्ति स्वीकार्य छैन : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले देशको हालको राजनीतिक र सामाजिक अवस्था अत्यन्त संवेदनशील रहेको बताएका छन् ।
आइतबार सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले न्यायपालिकाको प्रतिष्ठा र मर्यादाप्रति लक्षित सुनियोजित अभद्र अभिव्यक्तिहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिरहेको बताएका हुन् ।
प्रधानन्यायाधीश राउतले भने, ‘देशको अहिलेको अवस्था अत्यन्त तरल, संवेदनशील र गम्भीर छ । यस अवस्थामा ख्यातिप्राप्त राज्यको चौथौं अंगको रूपमा मैले आफ्नो कुरा भन्नैपर्छ । न्यायपालिका, अदालत र न्यायाधीशप्रति लक्षित सुनियोजित रूपमा अराजक अभिव्यक्तिहरू, आपत्तिजनक टिप्पणी र अशक्तकर सामग्रीहरू सामाजिक सञ्जालमा फैलिरहेका छन् ।
कानुनमन्त्री सहभागी कार्यक्रममा द्वन्द्वपीडिहरुले गरे नाराजुलुस : बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगप्रति असन्तुष्ट द्वन्द्वपीडित समूदायका व्यक्तिहरुले नाराजुलुस गरेका छन् ।
लामो समयदेखि आयोग खारेजको माग गर्दै आएका द्वन्दपीडित समुदायले आयोगको पदाधिकारी र यसको प्रक्रियाविरुद्ध काठमाडौंमा आइतबार नाराजुलुस गरेका हुन् ।
आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बबरमहलस्थित आयोजना गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको कार्यान्वयनका आवश्यक नियमावलीको मस्यौदामाथि छलफल कार्यक्रममा उपस्थित पीडित समुदायले आयोगको पदाधिकारी नियुक्ति प्रक्रियाको प्रारम्भिक चरणदेखि नै कैफियत रहेको र पीडितको परामर्श बेगर जबर्जस्ती गर्दै अगाडि बढेकोमा आपत्ति जनाउँदै उनीहरूले बिरोध जनाएका हुन् ।
रास्वपाले सात जनालाई गर्यो केन्द्रीय समितिमा मनोनयन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दलबाट आएका सातजनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।
आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले रञ्जु दर्शना लगायतका सातजनालाई औपचारिक रुपमा मनोनयन गरेको हो ।
गिरफ्तार गरिएका एक हजार बढी जेनजीहरुलाई रिहा नगरे आन्दोलन :
जेनजी अर्जुन शाही लगायतका हजारभन्दा बढी गिरफ्तार जेनजीहरुको रिहाईका लागि जेनजेड २.० ले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । आइतबार काठमाडौंस्थित संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै उक्त जेनजी समूहले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
सोही क्रममा जेनजी २.० का प्रवक्ता अबिन लिम्बुले जेनजी आन्दोलनमाा सहभागि भएका कारण थुनामा राखिको व्यक्तिहरु पनि छन् उनीहरुलाई दोषि होइन भनेर प्रमाणसहित जाँदा पनि सुशीला कार्की सरकार कान थुनेर बसिरहेको बताए ।
उनले भने, ‘हामीले पटक पटक दोषी होइन जेनजी आन्दोलनमा सहभागी भएको कारण उनीहरुलाई थुनामा राखिको छ भनेर प्रमाणसहित जाँदा पनि सरकार किन कान थुनेर बसिरहेका छ ।’
धार्मिक सद्भाव बिथोल्नेविरुद्ध शून्य सहनशीलता :
जिल्ला प्रशासन कार्यालय, पर्साले सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वेष फैलाउने र झुठा अफवाह फैलाउने विरुद्ध कठोर कानुनी कारबाहीको चेतावनी दिएको छ ।
पछिल्लो समय डिजिटल प्लेटफर्मको दुरुपयोग गरी समाजमा भ्रम छर्ने र राष्ट्रिय एकतामा आँच पुर्याउने गतिविधि बढेको भन्दै प्रशासनले यस्तो कदम चालेको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपिलमा फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालका खाताहरूको सूक्ष्म रूपमा निगरानी भइरहेको उल्लेख छ ।
मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी शासन : भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएर देश बाहिर लगिएको केही घन्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले कम्तीमा अस्थायी रूपमा भेनेजुएला चलाउने र यसको विशाल तेल भण्डार अन्य राष्ट्रहरूलाई बिक्री गर्ने योजना बनाएको बताएका छन् ।
उनले शनिबार पत्रकारहरूसँग कुरा गर्दै नेतृत्वको शून्यतालाई प्रयोग गरी तेल पूर्वाधार सुधार्ने र ठूलो परिमाणमा तेल निर्यात गर्ने तयारी रहेको स्पष्ट गरे ।
यो नाटकीय घटनाक्रम दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामाथि ट्रम्प प्रशासनले महिनौँदेखि गर्दै आएको गहिरो दबाब र गोप्य योजनाको परिणामका रूपमा देखिएको छ ।
खेलकुद शिक्षकलाई एथलेटिक्स विधाका खेल सिकाउँदै उमाकुण्ड गाउँपालिका :
विद्यालयमा खेल क्षेत्र सुधारको लागि उमाकुण्ड गाउँपालिकाले माध्यमिक विद्यालयका खेलकुद शिक्षकलाई लक्षित गर्दै एथलेटिक्स विधाका खेलसम्बन्धी तालिम दिन लागेको छ ।
गाउँपालिकाले सात दिने आधारभूत प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा उक्त प्रशिक्षण भइरहेको छ ।
वडा खेलकुद विकास समितिबाट सिफारिस गरिएका प्रतिनिधि तथा माध्यमिक तहका खेलकुद शिक्षक सहभागी रहेको प्रशिक्षण कार्यक्रम एक हप्तासम्म सञ्चालन हुनेछ ।

