एजेन्सी - भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएर देश बाहिर लगिएको केही घन्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले कम्तीमा अस्थायी रूपमा भेनेजुएला चलाउने र यसको विशाल तेल भण्डार अन्य राष्ट्रहरूलाई बिक्री गर्ने योजना बनाएको बताएका छन् ।
उनले शनिबार पत्रकारहरूसँग कुरा गर्दै नेतृत्वको शून्यतालाई प्रयोग गरी तेल पूर्वाधार सुधार्ने र ठूलो परिमाणमा तेल निर्यात गर्ने तयारी रहेको स्पष्ट गरे ।
यो नाटकीय घटनाक्रम दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामाथि ट्रम्प प्रशासनले महिनौँदेखि गर्दै आएको गहिरो दबाब र गोप्य योजनाको परिणामका रूपमा देखिएको छ । सन् २००३ मा इराक आक्रमणपछि शासन परिवर्तन हासिल गर्ने यो सबैभन्दा आक्रामक अमेरिकी कदम मानिएको छ ।
तर, कङ्ग्रेसको स्वीकृति बिना गरिएको यस सैन्य कारबाहीको कानूनी वैधतामाथि कानूनी विज्ञहरूले तुरुन्तै प्रश्न उठाएका छन् ।
मदुरो र उनकी पत्नी सिलिया फ्लोर्सलाई राजधानी काराकासस्थित एक सैन्य आधारको निवासबाट रातारात नियन्त्रणमा लिई अमेरिकी युद्धपोतमार्फत अमेरिका लगिएको थियो । उनीहरूलाई ‘नार्को–आतंकवाद’ षड्यन्त्रमा संलग्न भएको आरोपमा अभियोजनका लागि ल्याइएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
मदुरोलाई बोकेको विमान शनिबार अपराह्न न्युयोर्क जिकै अवतरण गरेपछि संघीय एजेन्टहरूको कडा सुरक्षाबीच उनलाई म्यानहट्टनस्थित अमेरिकी लागुऔषध नियन्त्रण प्रशासन (डिइए) कार्यालय लगिएको थियो । ब्रुकलिनको संघीय जेलमा मुद्दाको पर्खाइमा उनलाई हिरासतमा राखिने अपेक्षा गरिएको छ ।
ह्वाइट हाउसद्वारा सार्वजनिक गरिएको भिडियोमा मदुरो मुस्कुराउँदै डिइए एजेन्टहरूको साथमा देखिएका छन् । यद्यपि अमेरिकी अधिकारीहरूले तत्काल उनी जेलमा रहेको औपचारिक पुष्टि गरेका छैनन् ।
यस कदमबारे भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले कडा आपत्ति जनाउँदै मदुरोलाई तत्काल रिहा गरी देशको वैध नेता मान्नुपर्ने माग गरेका छन् ।
भेनेजुएलाको कानूनअनुसार उनले अन्तरिम भूमिका ग्रहण गर्न सक्ने व्यवस्था भए पनि रोड्रिग्जले राज्य टेलिभिजनमार्फत आफू सत्ता लिन इच्छुक नरहेको र ‘भेनेजुएलामा एक मात्र राष्ट्रपति निकोलस मदुरो मोरोस नै हुनुहुन्छ’ भन्ने धारणा व्यक्त गरिन् ।

