सिन्धुपाल्चोक- जिल्लामा हाल कायम मतदाता सङ्ख्या २ लाख ७४ हजार ९९८ पुगेको छ। जिल्लाभरका १२ स्थानीय तहका १०३ वडामा १४६ मतदान स्थलमार्फत ३३८ मतदान केन्द्र कायम रहेका छन्।
मतदाता विवरणअनुसार जिल्लामा महिला मतदाता १ लाख ३१ हजार ६९६ र पुरुष मतदाता १ लाख ४३ हजार ३०२ रहेका छन्। समग्रमा पुरुष मतदाता सङ्ख्या महिलाभन्दा ११ हजार ६०६ ले बढी देखिएको छ।
सिन्धुपाल्चोक जिल्ला दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा विभाजित छ। प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत त्रिपुरा सुन्दरी, भोटेकोसी, लिसंखु पाखर, बाह्रबिसे, जुगल, बलेफी र सुनकोशी गाउँपालिका तथा चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नम्बर २, ३, ४, ९ र १० पर्दछन्।
यस क्षेत्रमा ८३ मतदान स्थल र १७२ मतदान केन्द्र रहेका छन्। क्षेत्र नम्बर १ मा महिला मतदाता ६५ हजार ७२३ र पुरुष मतदाता ७१ हजार २६२ गरी कुल १ लाख ३६ हजार ९८५ मतदाता रहेका छन्।
यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नम्बर १, ५, ६, ७, ८, ११, १२, १३ र १४, मेलम्ची नगरपालिका, इन्द्रावती, पाँचपोखरी थाङ्पाल तथा हेलम्बु गाउँपालिका समेटिएका छन्।
यस क्षेत्रमा ६३ मतदान स्थल र १६६ मतदान केन्द्र रहेका छन्। क्षेत्र नम्बर २ मा महिला मतदाता ६५ हजार ९७३ र पुरुष मतदाता ७२ हजार ०४० गरी कुल मतदाता सङ्ख्या १ लाख ३८ हजार ०१३ पुगेको छ।
दुवै निर्वाचन क्षेत्रको तुलनामा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा क्षेत्र नम्बर १ भन्दा १ हजार २८ मतदाता बढी रहेका छन्। स्थानीय तह, मतदान स्थल, मतदान केन्द्र तथा मतदाता संख्याको वितरण आगामी निर्वाचन व्यवस्थापन, सुरक्षा समन्वय तथा मतदाता सहभागिता वृद्धि गर्ने तयारीका लागि महत्त्वपूर्ण आधारका रूपमा लिइएको छ।
यसै गरी जिल्लामा मतदान स्थल व्यवस्थापन, मतदाता पहुँच विस्तार तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका मतदातालाई सहजीकरण गर्ने विषयलाई ध्यानमा राख्दै आवश्यक तयारी अघि बढाइएको सम्बन्धित पक्षले जनाएको छ।

