रौतहट सहित मधेशका जिल्लामा दुई दिन देखिको बाक्लो हुस्सु तथा शितलहरका कारण अत्यधिक चिसो बढेको छ । विगत केही दिनको तुलनामा मधेशमा शुक्रबार र शनिबार अत्यधिक जाडो बढेको हो । बिहीबारसम्म पारिलो घाम लागेको भए पनि दुई दिन देखि हुस्सु तथा शितलहरका कारण चिसो बढेको गरुडाका स्थानीय पवन उपाध्याले बताए ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
काठमाडौं आइपुगे रवि लामिछाने: सहकारी ठगी प्रकरणमा पक्राउ परेर हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ आइपुगेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बाहिर उनलाई स्वागत गर्न रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूको ठूलो भीड जम्मा भएको थियो । विमानस्थलबाट बाहिरिने क्रममा समर्थकहरूले नाराबाजी गर्दै लामिछानेको भव्य स्वागत गरेका थिए । विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले आफ्नो न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन् । उनले आफूले यसलाई विजयका रूपमा नलिएको स्पष्ट पार्दै भने, ‘न्यायको लडाइँ बाँकी नै छ । मैले यो विजयको कुरा गरेको होइन ।
सय दिनमा प्रधानमन्त्रीको दाबीः प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा निर्वाचनका लागि सरकारले आफ्नोतर्फबाट सम्पूर्ण तयारी पूरा गरेको बताएकी छन् । सुरक्षाको सवालमा कुनै कसर बाँकी नराख्ने उनले बताएकी छन् । ‘एकीकृत निर्वाचन सुरक्षा योजना’ स्वीकृत भइसकेको र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको उनले प्रष्ट पारेकी छन् । ‘आन्दोलनका क्रममा लुटिएका एक हजार ३४२ थानमध्ये अधिकांश हतियार बरामद गरिसकिएको छ, यस अतिरक्त अन्य ३२ थान हतियार पनि प्रहरीले नियन्त्रणमा लिएको छ‚’ प्रधानमन्त्रीले कार्कीले भनिन्, ‘क्षतिग्रस्त भएका ४६५ वटा प्रहरी कार्यालयलाई पुनः सञ्चालनमा ल्याइएको छ ।’
संसद् पुन:स्थापनाबारे कांग्रेस-एमालेबीच छलफल: नेपाली कांग्रेसका नेता श्याम घिमिरे र नेकपा एमाले नेता महेश बर्तौलाबीच संसद् पुन: स्थापना लगायतका विषयमा छलफल भएको छ ।उनीहरूबीच शनिबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो । कांग्रेस संसदीय दलको कार्यालयमा समसामयिक विषयमा छलफल भएको नेता बर्तौलाले जानकारी दिए । बर्तौला विघटित प्रतिनिधिसभामा नेकपा एमाले संसदीय दलका मुख्य सचेतक हुन् भने घिमिरे नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् ।
साफ महिला च्याम्पियनसिपः दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा इस्ट बङ्गालले नेपालको एपिएफ क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । इस्ट बङ्गलाको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल गरिन् भने शिल्कीदेवी हनाम एक गोल गरिन् ।
स्वास्थ्य परीक्षण शुल्क वृद्धिसम्बन्धी निर्णय खारेज: वैदेशिक रोजगारमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण शुल्क वृद्धिसम्बन्धी हालै गरिएको निर्णय खारेज गरिएको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाले लिने सेवा शुल्क रू. ९ हजार ५ सय कायम गर्ने भनी २०८१ चैत ८ गते गरिएको निर्णय खारेज गरिएको हो। सो निर्णयअनुसार लागू गरिएको ‘वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२’ को सातौं संशोधनसमेत अमान्य भएको मन्त्रालयले जनाएको छ।
ईश्वर पोखरेल पक्षको निर्णय: नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको छ । शनिबार काठमाडौंमा आयोजित ईश्वर पोखरेल पक्षको भेलाले पार्टीभित्र महाधिवेशनमा उठाएका पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवादको आधारमा पार्टी निर्माण, नेतृत्व निर्माण, पार्टीको आन्तरिक लोकतान्त्रीकरण लगायतका विषयहरूलाई निरन्तर पार्टीको विधि विधानभित्र बसेर उठाउने निर्णय गरेको पार्टीका उपमहासचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।

