Harsamaya
महँगो भएकोले स्वास्थ्य परीक्षण शुल्क वृद्धिसम्बन्धी निर्णय खारेज
फाइल फोटोः हर समय/harsamaya

काठमाडौं- वैदेशिक रोजगारमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण शुल्क वृद्धिसम्बन्धी हालै गरिएको निर्णय खारेज गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाले लिने सेवा शुल्क रू. ९ हजार ५ सय कायम गर्ने भनी २०८१ चैत ८ गते गरिएको निर्णय खारेज गरिएको हो। 

सो निर्णयअनुसार लागू गरिएको ‘वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२’ को सातौं संशोधनसमेत अमान्य भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार स्वास्थ्य परीक्षण शुल्क वृद्धि महँगो भएको भन्दै वैदेशिक रोजगार व्यवसायी संघसहित विभिन्न संस्थाबाट गुनासो आएपछि निर्णय पुनरावलोकन गरिएको हो।

यस क्रममा २०८२ असोज ३० गते प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरबाट गरिएको निर्णय र त्यसलाई कार्यान्वयन गर्ने भनी भएको निर्णय खारेज गरिएको मन्त्रालयको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update