Harsamaya
पुष ३ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर समय/harsamaya

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

राजनीति
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतले पराजित गरेका छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार नेता ओलीले एक हजार ६६३ मत प्राप्त गरेका छन् भने प्रत्यासी पोखरेलले पाँच सय ६४ मत प्राप्त गरे । 

यता,  उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई ३ करोड ७४ लाख धरौटीमा छाड्न आदेश गरेको हो । 

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा २४ बुँदे राजनीतिक प्रस्ताव पारित गरेको छ । महाधिवेशनको समापनसत्रमा प्रस्ताव लेखन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गर्नुभएको सो प्रस्ताव पारित भएको हो । पारित प्रस्तावमा मुलुकलाई संविधानको लिकमा फर्काउन संसद् पुनःस्थापनालगायत विषय समेटिएका छन् ।

यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीन लामो समयदेखिको असल छिमेकी रहेको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् । ‘चाइना–नेपाल मिडिया समिट’मा सम्बोधन गर्दै मन्त्री खरेलले नेपालको विकास र सद्भावका निम्ति चीन सरकारको निरन्तर सहयोगको सराहना गरे । 

रास्वपाले स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका तथा निर्वाचित जनप्रतिनिधिसँग समन्वय गर्न ‘स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल’ गठन गरेको छ । पार्टीको सचिवालय बैठकले सो कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । 

सरकारले नुवाकोटको बिदुरमा निर्माण भएको केन्द्रीय कारागारको ब्लकलाई बाल सुधार गृहको रुपमा सञ्चालन गर्ने भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको हो । विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्ष माथिका किशोरहरूलाई त्यहाँ राखिनेछ ।

बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । 

अपराध
प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौँ तारकेश्वर–८ शान्तिटोल ४३ वर्षीय यमबहादुर बस्नेत, झापा कचनकबल गाउँपालिका–३ घर भई हाल ललितपुर महालक्ष्मी–१ इमाडोल बस्ने ५१ वर्षीय कृष्णबहादुर कटुवाल तथा झापा भद्रपुर नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वर बस्ने ४१ वर्षीय सूर्यबहादुर खड्का रहेका छन् । 

अर्थ
सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुन तोलामा ७०० सय र चाँदी २५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६० हजार ४०० कायम भएको छ भने एक तोला चाँदीको मोल ४ हजार ८० निर्धारण भएको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशतअर्थात् १६ अर्ब ११ करोड सात लाख ८२ हजार राजस्व संकलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ । 

वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा ३८ लाख ६२ हजार राहत उपलब्ध गराएको छ । सिकार आरक्षले बागलुङ, म्याग्दी र पर्वतका पीडित किसानलाई राहत उपलब्ध गराएको हो । वन्यजन्तुको आक्रमणबाट घर पालुवा घोडा, खच्चड, भेडाबाख्रा र गाईभैँसीलाई मार्ने हुँदा किसानले लाखौँ मूल्य बराबरको नोक्सानी व्यहोर्दै आएका छन् । 

खेलकुद
एनपिएलको दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले यही पुस ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ ।  लुम्बिनी लायन्सले आज सार्वजनिक गरेको तालिकाअनुसार बाँके र बर्दियाबाट सुरु हुने टुर पुस १५ गते रुपन्देहीमा आए पूरा हुनेछ ।

यता, जेनजी आन्दोलनका सहिदप्रति समर्पित गरिँदै जेनजी एमआरसी फुटसल प्रतियोगिता हुने भएको छ । मनाङ मर्स्याङ्दी फुटसल कोर्टमा हुने प्रतियोगिता पुस ४ र ५ गते हुनेछ । विजेता टोलीले एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५० हजार ५ सय ५५ रुपैयाँ पाउनेछ । 

अन्य
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरणडाभार क्षेत्रमा गणकहरू खटिएका छन् । 

ललितपुर स्थित उच्च अदालत पाटनमा बलात्कार पीडित युवतीले आत्महत्या प्रयास गरेकी छन् । बिहीबार पीडित ३० वर्षीया युवतीले आत्महत्या प्रयास गरेपछि प्रहरीले उनलाई उद्धार गरेर पाटन अस्पतालमा उपचारको लागि पठाएको छ ।कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको भन्दै पीडितले किटनाशक औषधी सेवन गरेकी हुन् । 

यता, श्रीलंकाली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा तीन जनालाई बिहीबार पक्राउ गरेको छ। प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा राखी घटनाको थप अनुसन्धान गर्न समय मागिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update