देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
राजनीति
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि अहिले मतदान भइरहेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो । राति १० बजेसम्म १२८२ जनाले मतदान गरेका छन् । एमालेको मतदान ८ बजे भनिएपनि ९.१५ बाट सुरू भएको थियो । अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो मत हाल्न कुर्दा सवाँ घन्टा मतदान सुरू गर्न ढिला भएको थियो । ओली र अर्का उम्मेदवार ईश्वर पोखरेल दुबैले मत हाल्न एक घन्टा बढी समय लगाएका थिए ।
भोट हालेपश्चात् ओली फोटो सेसनमा व्यस्त भए । उनले गायिका ज्योति मगर देखि कमल वलीसँग फोटो सेसन गरे र गायव भए । अहिले भने फेरि उनी मतदानस्थल पुगेका छन् । एमालेले विद्युतीय प्रविधिबाट मतदान भनेपनि एकदमै सुस्त थियो । ईश्वर र उनको खेमा निरन्तर मत माग्न मैदानमा थिए । एउटै व्यक्तिले तीन घण्टा बढी लगाएर मतदान गरेका थिए । महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले चिट चोरेर(लिस्ट हेरेर) भोट हाल्दा ढिला भएको गुनासो गरेको छ । मतदान रातभर चल्ने छ । नतिजा भोलि कुन बेला हुने हो टुंगो छैन ।
यता, प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालका लागि चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेट गरेकी छिन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन् ।
यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने बताएका छन् । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले त्यसका लागि सरकारले सुरक्षाको वातावरण, विभिन्न जेलबाट फरार भएका कैदी पक्राउ र लुटिएका हातहतियार बरामद गर्नुपर्नेमा जोड दिए ।
यस्तै काँग्रेस सभापति सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनका लागि डेलधुराबाट सिफारिस भएका छन् । कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावतले जिल्लाबाट सर्वसम्मत् रुपमा आएको कांग्रेस सभापति देउवाको नाम प्रदेश कार्यसमितिले आज केन्द्रीय कार्यालयमा पठाएको जानकारी दिए ।
राष्ट्रियसभा निर्वाचन नजिकिदै गर्दा निर्वाचन आयोगले मतदानस्थल र मतदान केन्द्र तोकेको छ । आयोगले आज सातवटै प्रदेशका लागि मतदानस्थल निर्धारण गरिएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । सरकारले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्न लागेको छ ।
घटनाहरू
देशभर भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बैतडीमा स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको हो । मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्टको मङ्गलबार मृत्यु भएको हो ।
यस्तै काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको वयोदा अस्पताल बल्खुमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै गोरखामा माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोलामा मृतावस्थामा भेटिएको हुन् ।
यता प्रहरीले ठूलो परिणाममा प्रहरी गाजा बरामद गरेको छ । १७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा प्रहरीले चालकलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगर–१७ अलौबाट बा २१ च ७८५५ नम्बरको भ्यानमा परालले लुकाइराखेको १७६ किलो गाँजा मङ्गलबार बरामद भएको हो । भ्यानका चालक रामेछाप खडादेवी गाउँपालिकाका २८ वर्षीय सुबराज श्रेष्ठ पक्राउ परेका छन् ।
आर्थिक समाचार
आज सुनचाँदी, अमेरिकी मुद्रा र सेयर बजार बढेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा ७०० सय र त्यतिनै परिमाणको चाँदी १७० ले बढेको छ । आज एक तोला सुनको मूल्य दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल चार हजार ५५ निर्धारण भएको छ ।
यस्तै नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ । यस्तै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ ।
आज नेप्से परिसूचक ५.७० अंकले बढेर दुई हजार ६२५ दशमलव ७० बिन्दुमा कायम भएको हो । आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर ५८ हजार ९६ पटक खरिदबिक्री हुँदा चार अर्ब पाँच करोड ३७ लाख २० हजार ७८२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
तोकिएको समयावधिभित्र सम्पन्न हुन नसकेर वर्षौँदेखि अलपत्र परेका विकास निर्माणसम्बन्धी ठेक्काहरूको गलत व्यवस्थापनका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको निर्माण व्यवसायीहरूले बताएका छन् । निर्माण व्यवसायीहरूका अनुसार विगत १५ वर्षदेखि ठेक्काहरू सम्पन्न नहुनुको मुख्य कारण व्यवसायीको अकर्मण्यता होइन, बरु सरकारी कार्यालयहरूको निर्णयहीनता, राजनीतिक हस्तक्षेप, नेतृत्वको निरन्तर परिवर्तन र बजेटको अभाव हो ।
सरकार परिवर्तनसँगै प्रोजेक्ट म्यानेजर, महानिर्देशक र सचिव परिवर्तन हुने, योजनाको प्राथमिकता फेरिने प्रवृत्तिका कारण ठेक्काहरू अलपत्र परेको उनीहरूको दाबी छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले हर समयसँगको कुराकानीमा हाल निर्माण व्यवसायीहरूले सरकारसँग करिब साढे ६ अर्ब रुपैयाँ बराबरका योजनामा ठेक्का सम्झौता गरिसकेको बताउँदै ती योजनाहरू सम्पन्न गर्न आवश्यक स्रोत सरकारसँग नभएकै कारण अधिकांश ठेक्काहरू रुग्ण अवस्थामा पुगेको जनाएका छन् ।
खेलकुद
दुबईमा जारी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । समूह ‘बी’ को समूह चरणको आफनो अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो । यता, काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालको एपिएफ क्लब समूह उपविजेता बन्दै फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेरश्वरस्थित दशरथ रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा भारतको इस्ट बङ्गालसँग गोलरहित बराबरीमा खेल्दै एपिएफ उपविजेताका रुपमा फाइनलमा प्रवेश गरेको हो ।
यस्तै, १५ औं इन्टरनेसनल फ्रेन्डसिप तेक्वान्दो पुस ४ देखि हुने भएको छ । इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) नेपालबाट सुरु भएको तेक्वान्दो प्रतियोगिता हो। सन् २००० मा पहिलो पटक इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दोको आयोजना भएको थियो। अहिले यो १५औं संस्करणमा आइपुगेको छ। फेरि यो प्रतियोगिता नेपालमै आयोजना हुन गइरहेको छ।
अन्य समाचार
नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई वटा हात्ती आज कतार पठाइएको छ । कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर कार्गो जहाजबाट आज दिउँसो ५ बजे खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट पठाइएको हो । यसअघि विसं २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरे अनुसार ती हात्ती पठाइएको हो ।
ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं २१ दक्षिणकाली गणलाई “ललितपुर महानगर गौरव पुरस्कार”द्वारा सम्मान गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज ललितपुर महानगरपालिका पुल्चोकस्थित महानगरपालिकाको प्राङ्गणमा भएको महानगरपालिकाको १०७औँ स्थापना दिवसको अवसरमा गणलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।
नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले बन्जी जम्प गरेर साहस र आत्मविश्वासको उदाहरण प्रस्तुत गरेकी छन् । सिन्धुलीकी दीपा देवकोटाले सिन्धुपाल्चोकको द लास्ट रिसोर्टमा सफलतापूर्वक बन्जी जम्प गर्दै साहसिक खेलकुदमा अपाङ्गता बाधा होइन अवस्था मात्रै हो भन्ने सन्देश दिएकी छन् ।


