काठमाडौं - नेपाल प्रहरीले बदलिँदो परिस्थितिअनुसार प्रहरी सेवा प्रभावकारी बनाउन स्वचालित मूल्यांकन प्रणाली लागू गरेको छ ।
प्रहरी महानिरीक्षकलाई दैनिक रिपोटिङ हुनेगरी उक्त प्रणाली सुरु गरिएको र आज जिल्लाबाट रिपोर्टिङ भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
उक्त प्रणालीका लागि ७० वटा सूचक बनाइएको र प्रहरीको तल्लो इकाइबाट बिहान ९ बजेभित्र उक्त प्रणालीमार्फत देशभरको विवरण प्रहरी महानिरीक्षकसम्म आइपुग्ने उनले जानकारी दिए ।
प्रहरीको अन्वेषण विभागले अध्ययन गरेर उक्त प्रणाली तयार पारी पुस १ गतेदेखि लागू गरिएको हो । उक्त प्रणालीका आधारमा हरेक प्रहरी कार्यालयको मूल्यांकन हुनेछ । त्यसैका आधारमा कुन कार्यालयले कति नम्बर पायो भनेर सबैले देख्न सकिने र त्यही आधारमा पुरस्कार र दण्डकोसमेत व्यवस्था गरिने उनले बताए ।
७० वटा सूचक बनाएर कार्यान्वयन गरिएको र त्यसमा नम्बरिङसमेत गरिनेछ । जनताका गुनासा कति सम्बोधन गरियो ? कसरी गरियो सबै कुरा समावेश हुनेगरी प्रणालीको विकास गरिएको छ ।
उनका अनुसार आज दिनभरिको गतिविधि भोलि बिहान ७ बजे प्रहरी र गणले प्रदेश प्रहरीलाई रिपोर्ट गर्नेछन् । प्रदेशले एकीकृत गरेर हेडक्वाटरको प्रदेश समन्वय विभागलाई पठाउनेछ र विभागले बिहान ९ बजे प्रहरी महानिरीक्षकको सचिवालयमा रिपोर्ट गर्नेछ ।
यसले चेनअफ कमान्डमा नबस्ने, सरुवा बढुवाको भनसुन गर्ने र नीति नमान्नेलाई कारबाही गर्न र राम्रो गर्नेलाई पुरस्कृत गर्न सहज हुने प्रहरीको विश्वास छ ।

