Harsamaya
मंसिर २४ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर समय/harsamaya

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ । प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेगरी टुङ्ग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिए ।  

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

सरकार र जेनजीबीच हस्ताक्षर: सरकार र जेनजी आन्दोलनका प्रतिनिधिहरूबिच लिखित सहमति भएको छ । विभिन्न चरणमा भएको छलफलपछि बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सहमतिअनुसार अब राज्यको राष्ट्रप्रमुख (राष्ट्रपति), तीनै तहका सरकारका कार्यकारी प्रमुख (प्रधानमन्त्री, मुख्यमन्त्री र स्थानीय तहका प्रमुख/अध्यक्ष) तथा मन्त्रीपरिषद्का सदस्यहरूको पदावधि निश्चित गरिएको छ। जसअनुसार यी पदमा रहेका व्यक्तिहरूले दुई पूर्ण कार्यकाल भन्दा बढी पदमा रहन नपाउने उल्लेख छ ।

क्रियाशील सदस्यता छानबिन समिति गठन: नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा सहमहामन्त्री महेन्द्र यादवलाई मनोनयन गरिएको छ ।कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति’ को संयोजकमा यादवलाई आज मनोनयन गरेका हुन्।

भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ठप्प: भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ । यही मङ्सिर २० गतेदेखि लागू भएको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति विमति जनाउँदै भन्सार ‘एजेन्ट’ आन्दोलित भएका हुन् । मङ्गलबार पेट्रोलियम पदार्थको भन्सार जाँचपासबाहेक सबै काम ठप्प रह्यो । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले भन्सार ऐन, २०८२  बाट सिर्जित समस्या समाधान हुनुपर्नेमा जोड दिएका छन् ।

एक करोड ४४ लाखबढीको धान खरिद: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड तुलसीपुरले यस वर्ष दाङको देउखुरी क्षेत्रका तीन पालिकाका २१२ जना किसानले उत्पादन गरेको पाँच हजार क्विन्टल धान खरिद गरेको छ । कार्यालय प्रमुख तुलमाया लोवाले दिएको जानकारी अनुसार लमही, गढवा र राप्ती गाउँपालिकाका किसानले उत्पादन गरेको धान खरिद गरिएको हो । उक्त धान रु एक करोड ४४ लाख ८९ हजार ८०० मा खरिद गरिएको उनले जानकारी दिए। गढवाबाट दुई हजार क्विन्टल, लमही र राप्ती गाउँपालिकाबाट एक हजार ५०० क्विन्टल धान खरिद गर्ने कार्यालय र पालिकाबीच भएको सहमतिअनुसार धान खरिद गरिएको कार्यालयले जनाएको छ । 

झोंकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको होइन: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ गर्न आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । बुधबार काठमाडौंमा सम्पादकहरुसंगको छलफलका क्रममा पोखरेलले आफूले कुनै झोंकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको नभइ कार्यसम्पादनको शैलीलाई सहि दिशामा फर्काउन र सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ गर्न उम्मेदवारी घोषणा गरेको बताएका हुन् । उनले आफू पार्टी नेतृत्वमा उठ्ने विषय पार्टीको औपचारिक बैठक र अध्यक्षलाइ समेत जानकारी गराएको बताए ।

लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश: लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी क्वालिफायरमा प्रवेश गरेको हो । काठमाडौँ भने बाहिरिएको छ । जितका लागि पाएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । जसमा डार्सी सर्टले सर्वाधिक ३३ रनको योगदान गरे । काठमाडौँका सन्तोष यादवले दुई विकेट लिए ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  २२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update