काठमाडौं - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ गर्न आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
बुधबार काठमाडौंमा सम्पादकहरुसंगको छलफलका क्रममा पोखरेलले आफूले कुनै झोंकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको नभइ कार्यसम्पादनको शैलीलाई सहि दिशामा फर्काउन र सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ गर्न उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।
उनले आफू पार्टी नेतृत्वमा उठ्ने विषय पार्टीको औपचारिक बैठक र अध्यक्षलाइ समेत जानकारी गराएको बताए । पोखरेलले पार्टी र आन्दोलनको हितलाई केन्द्रमा राखेर आफूहरु अघि बढ्ने स्पष्ट पारे । उनले निर्वाचनमा भाग लिइसकेपछि त्यसको परिणामलाई स्वीकार गर्न आफू तयार रहेको भन्दै भीम रावल र माधव नेपालको जस्तो दृष्टान्त आफूहरुमा लागू नहुने जिकिर गरे ।
पोखरेलले महाधिवशेनको हलमा वर्तमान अध्यक्ष केपी ओलीले आफु संरक्षकको भूमिकामा रहेर अरु कसैलाई पार्टीको नेतृत्वमा अघि सारे सहमति हुन सक्ने बताए । तर केपी ओलीले नै अध्यक्षमा दावी कायमै गरे सहमति हुन नसक्ने उनको भनाइ छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगप्रति केहि असन्तुष्टि रहेपनि आयोगले बोलाउँदा अध्यक्ष केपी ओली बयान दिन जानुपर्ने समेत बताए ।

