काठमाडौं- सरकार र जेनजी आन्दोलनका प्रतिनिधिहरूबिच लिखित सहमति भएको छ । विभिन्न चरणमा भएको छलफलपछि बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सहमतिअनुसार अब राज्यको राष्ट्रप्रमुख (राष्ट्रपति), तीनै तहका सरकारका कार्यकारी प्रमुख (प्रधानमन्त्री, मुख्यमन्त्री र स्थानीय तहका प्रमुख/अध्यक्ष) तथा मन्त्रीपरिषद्का सदस्यहरूको पदावधि निश्चित गरिएको छ। जसअनुसार यी पदमा रहेका व्यक्तिहरूले दुई पूर्ण कार्यकाल भन्दा बढी पदमा रहन नपाउने उल्लेख छ ।
यसै गरी, युवाहरूको राजनीतिमा प्रत्यक्ष सहभागिता बढाउने उद्देश्यले उम्मेदवार बन्ने उमेर हदमा पनि परिमार्जन गर्ने सहमति भएको छ। अब प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको जनप्रतिनिधिका लागि उम्मेदवार हुन न्यूनतम उमेर २१ वर्ष कायम गरिने भएको छ।
हाल प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि २५ वर्ष उमेर पुग्नुपर्ने संवैधानिक व्यवस्था रहेकोमा यो सहमति कार्यान्वयन भएपछि २१ वर्षका युवाले पनि सांसद बन्न पाउने बाटो खुल्नेछ।
सरकार र आन्दोलनरत पक्षबिच भएको यो सहमतिलाई कार्यान्वयन गर्नका लागि सरकारले आवश्यक संविधान तथा कानुन संशोधनको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।

