Harsamaya
मंसिर १८ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर समय/harsamaya

सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर वान खेल्ने पक्का गरेको छ ।  लिग चरणमा लगातार ६ खेल जित्दै १२ अंक जोडेको अपराजित सुदूरपश्चिमले शीर्ष दुईमा रहने पक्का गरेपछि पहिलो क्वालिफायर खेल्ने भएको हो ।

सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर एक बलमा १२० रनमा अल आउट भयो । चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाए पनि जित दिलाउन सकेनन् ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

रास्वपाले सुरु गर्यो समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया, आवेदन दिन आह्वान : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।

पार्टीले योग्यता पुगेका इच्छुक सदस्यहरूलाई अनलाइन आवेदन दिन आह्वान गरेको हो। कार्तिक २२ गतेदेखि मंसिर २५ गतेसम्म उम्मेदवारीका लागि आवेदन दिन सकिने रास्वपाले जनाएको छ।

भारतको सबैभन्दा ठूलो विमान कम्पनी इन्डिगोद्वारा एक हजार २०० उडान रद्द, हजारौँ यात्रु अलपत्र : भारतको सबैभन्दा ठुलो विमान कम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेको छ । इन्डिगोले उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएका छन् । ठुलो सङ्ख्यामा उडान रद्द भएपछि हजारौँ यात्रुहरू अलपत्र परेका छन् । कम्पनीले अवरोधलाई प्राविधिक त्रुटि, प्रतिकूल मौसमी अवस्था र कामदारहरूको लागि नयाँ नियमलगायतका ‘अप्रत्याशित परिचालन चुनौती’ का कारण  समस्या भएको जनाएको छ । 

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की : प्रधानमन्त्री सुशीला कार्कीले युवा शक्तिको हातमा सत्ता सुम्पिनका लागि फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण तयारीमा जुटेको बताएकी छिन् । 

बिहीबार वसन्तपुरमा आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यकासाथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको बताउँदै यस अभियानलाई सफल पार्न सबै नेपालीको सहयोगको अपेक्षा राखिन् । उनले भनिन्,‘सरकारले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तिव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने हाम्रो दायित्व हो । तसर्थ घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यकासाथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको छ । यस अभियानलाई सफल पार्न सबै नेपालीको सहयोगको अपेक्षा गर्दछु ।’

सुम्निमा पारुहाङ प्रतिष्ठान परियोजनामाथि अख्तियारले थाल्यो अनुसन्धान, मेयर हर्क साम्पाङ आक्रोशित : अख्तियार  दुरुपयोग अनुसन्धा आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अगाडि बढाएको सुम्निमा पारुहाङ प्रतिष्ठान परियोजनामाथि अनुसन्धान थालेको छ । गत १४ गते अख्तियारले पत्र पठाउँदै प्रतिष्ठानमा रकम अपचलन भएको आशंका रहेको भन्दै छानबिन अगाडि बढाउने बताएको छ ।

अख्तियारले प्रारम्भिक चरणमै दर्ता, विधान, पदाधिकारी, आर्थिक अभिलेख, आय-व्यय विवरण, बैङ्क खाताको स्टेटमेन्टदेखि जग्गा खरिद–बिक्रीसम्मका कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरेको छ ।

मेयर साम्पाङ भने अख्तियारको उजुरीप्रति आक्रोशित बनेका छन् । सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।

रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी : मस्कोमा भएको उच्च–स्तरीय वार्ताबाट रुस–यूक्रेन शान्ति प्रस्तावमा सकारात्मक संकेत भेटिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । ट्रम्पले भनेका छन,‘रूसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न चाहन्छन भन्ने कुरा वार्ताबाट बुझीएको छ ।’

बुधबार अमेरिकी विशेष दूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले मास्कोमा पुटिनसँग पाँच घण्टा लामो वार्ता गरेका थिए । २०२२ फेब्रुअरीमा सुरु भएको रूस–यूक्रेन युद्ध अन्त्य गर्ने सम्भावित मार्गहरूमा वार्ता केन्द्रित थियो ।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,‘पुटिनको जारेड कुश्नर र स्टिभ विट्कफसँग निकै राम्रो भेटवार्ता भयो । त्यसबाट के निस्कन्छ, अहिले नै भन्न सकिँदैन किनकि यसमा दुवै पक्षको सहकार्य आवश्यक हुन्छ ।” उनले थपे, “उहाँ (पुटिन) युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने धारणा उनीहरूले ल्याएका छन् ।”

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  २२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update