Harsamaya
सुम्निमा पारुहाङ प्रतिष्ठान परियोजनामाथि  अख्तियारले थाल्यो अनुसन्धान, मेयर  हर्क साम्पाङ आक्रोशित

काठमाडौं - अख्तियार  दुरुपयोग अनुसन्धा आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अगाडि बढाएको सुम्निमा पारुहाङ प्रतिष्ठान परियोजनामाथि अनुसन्धान थालेको छ । गत १४ गते अख्तियारले पत्र पठाउँदै प्रतिष्ठानमा रकम अपचलन भएको आशंका रहेको भन्दै छानबिन अगाडि बढाउने बताएको छ ।

अख्तियारले प्रारम्भिक चरणमै दर्ता, विधान, पदाधिकारी, आर्थिक अभिलेख, आय-व्यय विवरण, बैङ्क खाताको स्टेटमेन्टदेखि जग्गा खरिद–बिक्रीसम्मका कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरेको छ ।

मेयर साम्पाङ भने अख्तियारको उजुरीप्रति आक्रोशित बनेका छन् । सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।

आफूहरूले लामो समयदेखि सुम्निमा पारुहाङको प्रतिमा बनाउने कोसिस गरेको भन्दै भनेका छन्, ‘हामीले गरेको राम्रो कोसिस देखि नसहेर कुन चाहिँ फटाहा, चोर, गधाले उजुरी हालेछ ।’

उनले यस्ता उजुरी आफ्नो लागि नौलो नभएको समेत बताए । धरानमा फूल रोप्दा, बिरुवा रोप्दा वा ९८ दिनमा कोकाहाबाट पानी ल्याउँदा पनि उजुरी परेको बताए । अख्तियारले सोधेको प्रश्नको जवाफ हिजो नै पठाएको पनि बताएका छन् । यस्ता खाले गतिविधिहरूलाई निरुत्साहित गर्नुपर्ने पनि बताएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update